२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लकडाउनमा चित्रकार : कोही चित्र कोर्दै, कोही आत्मकथा लेख्दै

सुशीला तामा‌ङ

काठमाडौँ — लकडाउन जारी छ । सडक सुनसान । यस्तोमा आर्ट ग्यालरी खुल्ने कुरै भएन । कहिले कला प्रदर्शनी त कहिले कार्यशालातिर व्यस्त भइरहने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य लकडाउन अवधिलाई भिन्नै ढंगले सिर्जनशील बनाइरहेका छन् । 

लकडाउनमा चित्रकार : कोही चित्र कोर्दै, कोही आत्मकथा लेख्दै

‘खासमा कोरोनाबाट सुरक्षित हुन होम क्वारेन्टाइनमा छु,’ उनले भने, ‘यो समयको उपयोग गरेर आत्मवृतान्त लेखिरहेको छु ।’ लामो समयदेखि आत्मवृतान्तको योजना बनाएको भए पनि समय अभावले त्यत्तिकै थाँति रहेको र अहिले लकडाउनले मौका मिलेको उनले बताए ।

सहरका ग्यालरी बन्द रहे पनि सामाजिक सञ्जालबाटै प्रदर्शन गर्न अभ्यास सुरु गरे राम्रो हुने उनको मत छ । ‘यस्तो अभ्यासले नागरिकको आत्मबल बढाउन अभिप्रेरित पनि गर्न सक्छ,’ उनले भने ।


प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर पनि लकडाउनको समयलाई सिर्जनशील बनाइरहेका छन् । सार्वजनिक सुरक्षा र स्वास्थ्यलाई ध्यान दिँदै सरकारले नै घरमा बस्न अनुरोध गरिरहेको बेला पहिलो प्राथमिकताचाहिँ स्वास्थ्यमै दिनुपर्ने उनी बताउँछन् । ‘चित्रकारहरुका लागि चाहिँ सिर्जनाका लागि यो सही समय हो,’ उनले भने, ‘डर र त्रासमा बसेर मात्र समस्या समाधान हुँदैन । समयलाई जतिसक्दो सिर्जनशील बनाउन प्रयत्नरत छु ।’

अग्रज चित्रकार राधेश्याम मुल्मी सामाखुसी रानीबारीस्थित घरमा चित्र साधना गरिरहेका छन् । अर्ध अमूर्त शैलीका चित्रहरु पूरा गर्ने क्रममा रहेका उनी यसलगत्तै मानव जीवन र यात्रालाई चित्रमा प्रस्तुत गर्ने योजनामा छन् । त्यसको स्केचसमेत तयार भइसकेको उनले बताए । अर्का चित्रकार डिराम पाल्पाली पनि चित्र सिर्जनमै व्यस्त छन् । गोंगबुस्थित घरमा जलरंग र ऐक्रिलिक माध्यममा चित्र बनाइरहेका उनी कोरोनाले दिएको मानसिक तनाबलाई सिर्जनाकार्यले राहत दिइरहेको बताउँछन् ।

उनी यतिबेलाको तनावयुक्त समयलाई समेत चित्रमा प्रतिबिम्बित गराइरहेका छन् । ‘सामाजिक सञ्जालमा आउने कोरोनासम्बन्धी समाचारले झनै मुड अफ हुन्छ,’ उनले भने, ‘चित्र कोर्न अल्छी लागको बेलामा लोकगीत सुन्छु ।’

अर्का चित्रकार एनबी गुरुङ पनि यतिखेर जलरंगको चित्र सिर्जनामै व्यस्त छन् । लकडाउन सुरु भएदेखि नै उनले सामाजिक सञ्जालमार्फत् जलरंगमा नै लाइभ चित्रहरु कोरिरहेका छन् । बिक्रीभन्दा पनि मनको शान्ति र आनन्दका लागि स्वतन्त्ररुपमा सिर्जना गरिरहेको उनी बताउँछन् । कलामा समाज र अहिलेको कठीन परिस्थिति चित्रण गरिरहेको बेला केही हदसम्म भए पनि मनमा त्रास कम हुने उनले बताए ।

चित्रकार सम्झना राजभण्डारीको दैनिकी पनि चित्रमय बनेको छ । लकडाउनको अवधिलाई राजभण्डारीले अवसरका रुपमा लिएकी छन् । ‘अरुबेला स्कुल, कलेज र कार्यक्रममा धाउँदा चित्र बनाउने समय नै हुन्न,’ उनले भनिन्, ‘अहिले सरकारले नै हामी कलाकारलाई एकाग्र हुन समय दिएजस्तो लागिरहेको छ ।’ काठमाडौं सितापाइलास्थित घरमै बसेर चित्रकर्ममा रमाइरहेकी छन् । उड कट माध्यममा उनले मण्डला सिरिजकै चित्रलाई अगाडि बढाएकी छन् । अहिले तयार भएका चित्रलाई सम्भव भएसम्म अर्को महिनामा नै उनले एकल प्रदर्शनीमा ल्याउने योजना बनाएकी छन् । दुईवटा प्रिन्ट र सातवटा चित्रको ब्लक तयार पारिसकेको उनले जनाइन् ।

प्रिन्टमेकिङ विधालाई अगाडि बढाइरहेका अर्का चित्रकार कविराज लामा बौद्धस्थित आफ्नो ग्यालरीमै सुरक्षित कलाकर्म गरिरहेका छन् । हाल उनी स्टोन प्लेटमार्फत् भूकम्पपछिको दीर्घकालीन असरलाई चित्रमा उतारिरहेका छन् । उनले यस समयलाई आर्टथेरापी र सिर्जनाको अवसरका रुपमा प्रयोग गरेका छन् ।


चित्रकला, साहित्य र पर्फमेन्स आर्टलाई समेत सँगसँगै अगाडि बढाइरहेका अर्का चित्रकार सुन्दर लामा लकडाउन अवधिलाई अझै ऊर्जाशील बनाउने मुडमा छन् । लकडाउनअघि बौद्धस्थित तारागाउँ म्युजियममा मानव जीवन, सपना, रहर र संघर्ष समेटेर कवितासंग्रह ‘सुसेलीरहेको मान्छे’ र सोही शीर्षकमा चित्रकला प्रदर्शनीसँगै पर्फमेन्स आर्ट प्रस्तुत गरेका लामा कवि विप्लव प्रतीकलगायतका कविहरुको सिर्जना संकलन गरी त्यसलाई चित्रकलामा अभिव्यक्त गरिरहेका छन् । उनका अनुसार यो समय उनीजस्ता चित्रकार तथा कलाकारका लागि आफूलाई चिन्ने स्वतन्त्र समय हो ।

प्रकाशित : चैत्र १९, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?