कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

लकडाउन : दयाहाङ, विपिन, स्वस्तिमा, ऋचा र नाजिरका सिफारिस

फिल्म हेर्नुस्, किताब पढ्नुस्
रीना मोक्तान

काठमाडौँ — अभिनेता दयाहाङ राईको दिनचर्या हिजोआज अस्पतालमा बितिरहेको छ । बहिनी पत्थरीको बिरामी । त्यसैले उपचारका लागि उनी अस्पतालमै छन् ।

लकडाउन : दयाहाङ, विपिन, स्वस्तिमा, ऋचा र नाजिरका सिफारिस

अहिले उनको क्वारेन्टाइन अस्पताललाई नै हो । पछिल्लो समय फिल्मकै काममा व्यस्त दया लकडाउनको खाली समय कस्तो फिल्महरु हेर्न सुझाउँछन् त ?

लामो समयदेखि फिल्ममै व्यस्त भएर दयाले पनि खासै नयाँ फिल्म हेर्न पाएका छैनन् । उनी लकडाउनमा नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ र यसपालीको ओस्कर विजेता कोरियन फिल्म ‘प्यारासाइट’ हेर्न सिफारिस गर्छन् । ‘युट्युबमा भेट्छ कि भेट्दैन नत्र नुमाफुङ हेर्दा हुन्छ । प्यारासाइट पनि हेर्दा हुन्छ,’ उनले भने ।

अभिनेता विपिन कार्की भने लकडाउनको समय परिवारसँगै बसेर बिताइरहेका छन् । विशेष त छोरीसँग समय बिताउने समय पाएका छन् । भर्खरै उनले मलयाली फिल्म ‘सुपर डिलक्स’ हेरे । पछिल्लो समय हेरेका फिल्महरुमा यो फिल्म मनपरेको विपिन बताउँछन् । उनी ‘सुप्पर डिलक्स’ हेर्न सुझाउँछन् ।

‘मलाई सुपर डिलक्स एकदमै राम्रो लाग्यो । यो फिल्मसँगै ‘जोजो र्‍याबिट’ र ‘प्यारासाइट’ हेर्न सुझाउँछु । त्यस्तै ‘जोजो र्‍याबिट’ले पनि ओस्कारमा एडप्टेड स्क्रिनप्लेमा अवार्ड हात पारेको थियो ।

अवार्ड जितेकै कारण प्यारासाइट सबैको रोजाईमा परेको छ । त्यसैले विपिन जोजो र्‍याबिट हेर्न जोड दिन्छन् । हालै उनले मदन पुरस्कार जितेको उपन्यास ‘रणहार’ पढी सिध्याए । ‘यो उपन्यास राम्रै रहेछ । हुन त अगाडिकै पुस्तक हो । त्यसैले यो पुस्तक पढ्न पनि सल्लाह दिन्छु’ विपिनले भने ।

अभिनेत्री स्वस्तिमा खड्का सबै विधाका फिल्महरु हेरिरहेकी हुन्छिन् । नेटफ्लिक्समा हेरेको सिरिजमा उनलाई ‘दिल्ली क्राइम’ मनपरेको छ । त्यस्तै हिन्दी फिल्म ‘डियर जिन्दगी’ पनि उनलाई मन परेको फिल्ममा पर्छ । उनी फोपी एपमा रहेको आफ्नै फिल्म 'बुलबुल' पनि दर्शकलाई हेर्न सल्लाह दिन्छन् ।

‘डियर जिन्दगी पनि राम्रो छ । नेटफ्लिक्समा हेरेको दिल्ली क्राइम मलाई मन पर्‍यो । अब मेरै फिल्म फोपी एपमा छ । यी फिल्महरु नै हेर्दा हुन्छ’ उनले सुनाइन् । लकडाउनको समय फिल्महरु हेरेरै बिताइरहेकी छिन् स्वस्तिमा ।

अभिनेत्री ऋचा शर्मा कमेडी अनि फेमली ड्रामा फिल्महरु हेर्न रुचाउँछिन् । हालै उनले परिवारसँग बसेर ‘बलिदान’ र आफ्नै ‘टलकजंग भर्सेस टुल्के’ हेरिन् । यी दुई फिल्म सजिलै उपलब्ध रहेकोले दर्शकलाई उनी यी फिल्म हेर्न सुझाउँछिन् ।

‘बलिदान, टलकजंग भर्सेस टुल्केसँगै नेटफ्लिक्सको माइन्ड हन्टर्स सिरिज, हिन्दी फिल्म तुम्हारी सुलु, हेर्न सक्नुहुन्छ,’ उनले भनिन् । हालै उनले भूमिका श्रेष्ठको बायोग्राफी सकिन् । अहिले उनी स्याला एड्लरको 'एक्टिङ' बाइबल पढ्दैछिन् । उनी यिनका अलावा 'मैले देखेको दरबार' पनि पढ्न सुझाव दिन्छिन् ।

अभिनेता नाजिर हुसेन नेटफ्लिक्समा ‘यह ब्याले’ हेर्न सुझाउँछन् । यो दुई भारतीय युवाहरुको जीवनीमा आधारित फिल्म हो । हिन्दी र अंग्रेजी दुवै भाषामा फिल्ममा छ । नेटफ्लिक्सको पहुँच हुनेले यो फिल्म हेर्न उचित ठान्छन् उनी । उनका लागि लकडाउन फिल्म हेर्ने उपयुक्त समय भएको छ । नेपाली फिल्मलाई नजिकबाट नियाल्न पनि यो समय उपयुक्त रहेको उनले बताए । त्यसैले नाजिर सबै दर्शकलाई नयाँ पूरानो सबै नेपाली फिल्म हेर्न सल्लाह दिन्छन् ।

विगत दुई महिनामा ११ पुस्तक पढी सिध्याएका उनी यो खाली समयलाई पुस्तक पढेर सदुपयोग गर्नुपर्ने बताउँछन् । रावतको कविता संग्रह, खलिल जिब्रानको ‘द प्रोफेट’, उपेन्द्र सुब्बाको 'खोलाको गीत', नोर उन्हारको 'आइ वाज दि मुन’ र रुमिका कविता पढ्न उनी सिफारिस गर्छन् । नाजिरले भने, ’रुपी कौरको 'मिल्क एण्ड हनी', सोन्या रेनी क्टेलरको ‘द बडी इज नट एपोलजी' पनि पढ्दा हुन्छ । मैले भनेको किताब पाउन गाह्रो छ । पाउने जति पढ्नुहोला ।‘

हालै नाजिरले ३ वटा कविता पनि लेख्न भ्याएका छन् । उनले सोमबारमात्रै लेखेको ईतिहास शीर्षकको कविता यस्तो छ:

‘म तिमीलाई इतिहास सुनाउँछु है

सायद भन्न नसकुँला सबै सबै

साँच्चै बोल्न सक्ने भए खोलाले भन्थ्यो होला

इतिहास

रुखले भन्थ्यो होला,

यो आकाशले भन्थ्यो होला,

घाम र जुनले भन्थ्यो होला

पहाड र उ फाँटहरुले भन्थ्यो होला

हाम्रो इतिहास

तिमीसँग लाएको मायाको इतिहास

खै तिमीले चाहीँ बिर्सेउ कि !'

प्रकाशित : चैत्र १२, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?