क्‍वारेन्टाइनमा के गर्दैछन् कलाकार ?

रीना मोक्तान

काठमाडौँ — अभिनेता विपिन कार्की अरुबेला फिल्ममै व्यस्त हुन्छन् । व्यस्त सेड्यूलबाट परिवारका लागि समय निकाल्न उनलाई हम्मेहम्मे पर्थ्‍यो । तर, सरकारले सबैलाई क्‍वारेन्टाइनमा बस्‍ने निर्देशन दिएसँगै विपिनले पनि परिवारका लागि समय पाएका छन् ।

गत मंसिरमा उनी छोरीकी बुबा बने । तर, फिल्मकै कारण छोरीसँग पनि समय बिताउन पाइरहेका थिएनन् । क्‍वारेन्टाइनमा बस्दा अहिले विपिन आफ्नो धेरै समय परिवारसँग नै बिताइरहेका छन् ।


‘धेरै त परिवारसँग समय बिताइरहेको छु । बेबीलाई समय दिन पाएको छु । अरुबेला फिल्ममै व्यस्त भइन्थ्यो,’ उनले सुनाए । क्‍वारेन्टाइनको समयमा कलाकारले आफ्नो समय विभिन्‍न फिल्म अनि किताब पढेर सदुपयोग गर्नुपर्ने उनको धारणा छ । ‘अब हामीले यो समयमा धेरै फिल्म अनि किताब पढ्न सक्छौं,’ उनले भने ।


अभिनेता दीपकराज गिरी ‘छक्कापञ्जा’का पटकथाकार पनि हुन् । क्‍वारेन्टाइनको समय उनी ‘छक्का पञ्‍जा ४’को स्क्रिप्ट सकाउने तयारीमा छन् । ‘के-के गर्ने यकिन योजना त छैन तर म ‘छक्का पञ्जा ४’को स्क्रप्टि बनाउन व्यस्तु हुन्छु,’ उनले सुनाए ।


दीपकले बिहान र बेलुका भने सामाजिक सञ्जालका लागि समय छुट्टाएका छन् ।


सञ्जालमार्फत दर्शकलाई जनचेतना फैलाउने किसिमको भुमिका निभाउने योजनामा छन् । बिहान घर नजिकैको चौरमा मर्निङ वाकमा पुग्छन् ।


क्‍वारेन्टाइनको यो खाली समयमा फिल्मकर्मीले आफूलाई सिर्जनशील बनाउनु पर्ने दीपक बताउँछन् । ‘सिर्जनशील काम गर्नेहरुले आफ्नो काममा ध्यान दिनुपर्‍यो । कतिको फिल्म टेबलमा रोकिएको छ, कति फिल्मको छायांकन रोकिएको छ । 'टेबलमा फिल्म रोकिएकाहरुले अब त्यसलाई थप कसरी राम्रो बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्‍यो,' दीपकले भने,'कतिले हतारमा फिल्मको छायांकन थालेको हुन्छ । हतारमा छायांकन थालेकोले अब यो समयमा कसरी बाँकी छायांकन राम्रो बनाउने हो त्यतातिर कसरत गर्नुपर्‍यो । अनि कतिको प्रदर्शन मिति धकेलिएको छ । उनीहरु अब फिल्मलाई कुन मितिमा ल्याउने, कसरी दर्शक आकर्षित गर्ने भन्नेतिर सोच्नुपर्‍यो ।'


कलाकारले योतिबेला आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने दीपक बताउँछन् । समाजसँग नजिक हुन पाउँदैनन् कलाकार । त्यसैले यो समयमा ‘सोसल रिलेसन’मा ध्यान दिन सक्ने उनले बताए ।


काम नहुँदा र सेल्फ क्‍वारेन्टाइनमा बस्दाको गतिविधिमा खासै फरक पाउँदिनन् अभिनेत्री सुरक्षा पन्त । तर यो खाली समयमा आफैलाई नियाल्नुको मज्जा बेग्लै रहेको उनी बताउँछिन् । ‘हामी केही न केही गरिरहेका हुन्छौं घरमा । बुझ्‍ने सिक्ने काम । तर आफैंलाई आइसोलेसनमा राखेर हेर्दा अर्कै अनुभव हुन्छ । अहिले समयमा सुत्‍ने र उठ्ने समय पाएको छु,’ उनी सुनाउँछिन् । त्यससँगै योगाको समय पनि बढेको सुरक्षा सुनाउँछिन् । पढ्न अल्छी लागेका किताबलाई पल्टाउने समय पाएकी छिन् सुरक्षाले ।


‘घरमा कति काम हुँदो रहेछ भन्ने थाहा भएको छ । फुर्सद नै नहुने । खानपिनमा पनि बढी ध्यान जाँदो रहेछ यस्तो बेला,’ सुरक्षा सुनाउँछिन्,‘आफ्नो क्षमता बढाउने समय पाएको छु । म पेन्टिङ गर्न रुचाउने मान्छे । तर पछिल्लो पटक बिर्सिनै सकेको थिएँ । अहिले फेरी सुरु गरेकी छु ।’ अल्छि लागेको समयमा नजिकैको डाँडामा ट्रेकिङमा जाँन्छिन्, विशेष त अहिले सरसफाईमा ध्यान जाने गरेको सुरक्षा बताउँछिन् ।


अभिनेत्री केकी अधिकारी कलाकारले यो समयलाई धेरै फिल्महरु हेरेर सदुपयोग गर्नसक्ने सल्लाह दिन्छिन् । ‘एक्टिङ सम्बन्धि किताब पढेर अनि युट्युबबाट एक्टिङ सिकेर यो समय सदुपयोग गर्न सक्छौं,केकी भन्छिन्’ सकारात्मक रहने कोसिस गर्नुपर्‍यो ।’ अहिले उनी एक्टर प्रिपियर्स भन्ने पुस्तक पढ्दै छिन् । प्रकाशित : चैत्र १०, २०७६ २२:०१

प्रतिक्रिया
पठाउनुहोस्

अस्वस्थ पृथ्वी, रोगी मान्छे

कोभिड–१९ जस्ता दोहोरिरहने महाव्याधिहरुले ल्याउने संकटबाट मुक्त हुने एउटा उपाय प्रकृतिप्रतिको हाम्रो दृष्टिकोणमा फेरबदल हो ।
उत्तमबाबु श्रेष्ठ

काठमाडौँ — १४ डिसेम्बर १९२९, क्रिसमसको दस दिनअघि । अमेरिकाको मेरिल्यान्ड उद्योग वाणिज्य संघका महासचिव सिमोन मार्टिनले आफ्नी पत्नी लिलियन मार्टिनलाई सुगा उपहार दिए । दुर्भाग्यवश, क्रिसमसकै दिन उक्त सुगा रोगले मर्‍यो ।

लगत्तै श्रीमती र छोरीज्वाइँ बिरामी परे । उनीहरु चिकित्सकलाई भेट्न पुगे । चिकित्सक मार्टिन परिवारलाई लागेको अनौठो रोगबारे जानकार थिए । उनीहरुलाई सुगाबाट मानिसमा सर्ने सरुवा रोग सुगाज्वार अर्थात् सिटाकोसिस लागेको थियो । उक्त घटनापछि वासिङ्टन पोस्टले ‘सुगाज्वारले डाक्टर अचम्मित’ शीर्षकमा समाचार छाप्यो । त्यसपछि मार्टिनले सुगा किनेको पसलका कर्मचारी, उनीहरुलाई जाँच्ने चिकित्सक एकपछि अर्को गर्दै बिरामी परे ।

तीमध्ये केही मरे । अमेरिकी सञ्चारमाध्यमहरु उक्त रोगले तरंगित बने । महिनादिनपछि सुगाज्वार अमेरिकाको राष्ट्रिय संकटमा परिणत भयो । उक्त रोगबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएका राष्ट्रिय सरसफाइ प्रयोगशालाका वैज्ञानिक चार्ल्स आम्स्ट्रङलाई समेत उक्त रोगले समात्यो । मर्ने वा बाँच्ने दोसाँधमा पुगेका उनले एउटा असामान्य निर्णय गरे ।

उक्त रोग लागेर निको भएका बिरामीको रगत झिकेर आफ्नो शरीरमा चढाए । उनी बाँचे, तर प्रयोगशाला संक्रमित भएकाले सबै कुरा नष्ट गरियो । प्रयोगशालामा ताला लाग्यो । त्यसको दुई महिनापछि उक्त प्रयोगशालाले थप अनुसन्धानका लागि दाम मात्रै पाएन, नयाँ नाम पनि पायो— नेसनल इन्स्टिच्युट अफ हेल्थ अर्थात् एनआईएच । गत वर्ष एनआईएचको वार्षिक अनुसन्धान बजेट २६ बिलियन डलरभन्दा बढी थियो ।

१ डिसेम्बर २०१९, चीनको वुहान सहर । सर्प, चरा, चमेरा, लोखर्के, खरायो लगायतका वन्यजन्तुको मासु वा जिउँदो बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरुमा निमोनिया जस्तो अज्ञात रोग देखा पर्‍यो । रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या हुने संक्रमितहरु एक्कासि बढ्न थाले । तीमध्ये केही मरे । पाँच हप्तापछि जनवरी ७ मा उक्त अज्ञात रोगको पहिचान गरियो— कोभिड–१९ । यो लेख तयार पार्दासम्म उक्त रोगबाट साढे ३ लाखजति मानिस संक्रमित भएका छन्, तीमध्ये करिब १५ हजारको मृत्यु भइसकेको छ । १९२ देशमा फैलिसकेको कोभिड–१९ को घातांकीय फैलावट जारी छ ।

९० वर्षअघि अमेरिकाको राष्ट्रिय संकट बनेको सुगाज्वार र अहिले विश्वकै महाव्याधि कोभिड–१९ मा थुप्रै भिन्नता छन् । संक्रमण भएका व्यक्तिको मृत्युको अनुपात, रोगको फैलावट, रोगको आर्थिक, सामाजिक र राजनीतिक असर मात्रै होइन, रोगको कारक पनि फरक छन् । सुगाज्वारको कारक क्लाइमेडिया सिटाकी नामक ब्याक्टेरिया थियो भने कोभिड–१९ को कारक सार्स कोभ–२ नामक कोरोना परिवारको भाइरस । तथापि सुगाज्वार र कोभिड–१९ बीचमा एउटा ठूलो समानता छ— दुवै रोगको उत्पत्तिस्रोत वन्यजन्तु हुन् । सुगाबाट मानिसमा सुगाज्वार सरे जस्तै कोभिड–१९ सम्भवतः चमेराबाट सालक हुँदै मानिसमा सरेको हुन सक्ने पछिल्ला वैज्ञानिक अनुसन्धानहरुले देखाएका छन् ।

महाव्याधिका कारक : अस्वस्थ प्रकृति
सुगाज्वर र कोभिड–१९ मात्रै होइन, पछिल्लो समयमा संसारमा देखा परेका महामारीहरु एचआईभी/एड्स, इबोला, एचवानएनवान, सार्स, मेर्स र जिका रोगहरुसम्म सबैको उत्पत्तिस्रोत विभिन्न वन्यजन्तु नै थिए । कुनै बेला विश्वमै सनसनी मच्चाएको एड्स वन्यजन्तुको सिकारका क्रममा चिम्पान्जीसँगको मानिसको संसर्गबाट मानिसमा सरेको थियो भने, इबोला, मेर्स र सार्स जस्ता रोगहरु वन्यजन्तुको मासु बजारबाट मानिसमा सरेको विश्वास गरिन्छ ।

एउटा प्रतिवेदन अनुसार, जनावरबाट मान्छेमा सर्ने सरुवा रोगका कारण संसारमा वर्षेनि १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । ‘प्लस वान’ जर्नलमा प्रकाशित लेखका अनुसार, सन् १९८० देखि २०१३ सम्म विश्वमा २१५ वटा महामारी फैलिएका थिए, जसले विश्वभरका साढे ४ करोड मानिसलाई संक्रमित बनाएको थियो । तीमध्ये ६० प्रतिशतभन्दा बढी रोगहरुको उत्पत्तिस्रोत जनावर थिए र जसमध्ये दुईतिहाइ रोगहरु जंगली जनावरमा पाइने ब्याक्टेरिया, भाइरस लगायतका जीवाणुका कारण मानिसमा सरेका थिए । मानिसका अनौठा सोख र उपभोगका कारण वन्यजन्तुसँग मानिसको बढ्दो हिमचिम र वनविनाश लगायतका वन्यजन्तुको वासस्थानमा आएको ह्रासका साथै जलवायु परिवर्तनका कारण वन्यजन्तुबाट मानिसमा रोग सर्ने वातावरण बनिरहेको छ ।

गत वर्ष प्रकाशित संयुक्त राष्ट्रसंघीय प्रतिवेदन — जसमा मैले सहलेखन गरेको थिएँ — का अनुसार, मानिसको दोहनका कारण यतिखेर पृथ्वी ठूलो संकटबाट गुज्रिरहेको छ । ५० वर्षयता पृथ्वीको फोक्सो मानिने उष्ण प्रदेशीय वनको विनाश बढेको छ । मृगौला मानिने सिमसार सखाप भएको छ । हजारौं वन्यजन्तु लोप र लाखौं लोपोन्मुख भएका छन् । प्लास्टिक लगायतको प्रदूषण बढेको छ । जलवायु परिवर्तन र मिचाहा प्रजातिका जीवजन्तुको बढोत्तरी भएको छ । मानवदोहनका कारण प्रकृतिले मानिसलाई दिने १८ वटा प्रमुख योगदानमध्ये १४ वटामा व्यापक कमी आएको छ । समग्रमा मान्छेका कारण पृथ्वी अस्वस्थ बनेको छ । त्यही कारण प्रकृतिले महामारीसँग प्रतिरोध गर्ने, पानी र हावालाई शुद्ध बनाउने, विपत्तिसँग लड्ने जस्ता प्राकृतिक क्षमता गुमाउँदै छ ।

मानिसको सोखका कारण विश्वभर वन्यजन्तुको वैध–अवैध व्यापार फस्टाउँदो छ । यतिखेर मानिसले हजारौं वर्षयता पाल्दै आएका घरपालुवा जनावरहरुको संख्या ठूलो मात्रामा बढेको मात्रै होइन, नयाँ जनावरहरु मान्छेका आहारा वा पाल्तु बनेका छन्, जसका बारेमा हामीलाई निकै कम जानकारी छ । उदाहरणका लागि, कुकुर मानिससँगै बसेको ४० हजार वर्षभन्दा बढी भएको अनुमान गरिन्छ । लामो आत्मीय सम्बन्धका कारण मानिस र कुकुर दुवैका अनुवंशमा समेत फेरबदल (को–इभल्भ्ड) भएका छन् ।

तर नेपालबाट तस्करीसमेत हुने कोभिड–१९ को सम्भाव्य कारक मानिएको सालकसँग मानिसको सम्बन्ध नयाँ हो । सालक, चमेरा जस्ता जनावर पाल्न योग्य हुन् या होइनन्, त्यस्ता जनावरसँगको सामीप्यले मानिस वा जनावरलाई कस्तो प्रभाव पर्छ भन्ने जानकारी अझै छैन । वुहानका मासुपसलहरुको अवस्था हेर्दा मानिसहरु त्यस्ता अनजान जंगली जनावरहरुसँगै बसेका देखिन्छन्, जसको परिमाणबारे उनीहरु अनभिज्ञ छन् । वुहानमा जस्तो मानिस र वन्यजन्तुको निकटता अन्यत्र विरलै पाइन्छ ।

एकातिर मानिसहरु सोखका कारण आफूले कम बुझेका जंगली जनावरको समीपमा पुगेका छन् भने, अर्कातिर वनविनाश र अतिक्रमणका कारण जंगली जनावरहरु मानवबस्तीमा पसेका छन् । मानव इतिहासमै यसअघि कहिल्यै नदेखिएको मानव र वन्यजन्तुको यस्तो सामीप्य जीवजन्तुबाट मान्छेमा रोग सर्ने सेतु बनेको छ ।

संसारमा भूमध्यरेखा वरपरका उष्ण प्रदेशमा अन्यत्रभन्दा ज्यादा र पृथक् प्रजातिका जीवजन्तु र वनस्पति पाइन्छन् । भूमध्यरेखाबाट जति बढी उत्तर वा दक्षिणतिर गइन्छ, त्यति नै प्रजातिको संख्या घट्दै जान्छ । त्यसो त भूमध्यरेखा वरपरका उष्ण प्रदेशीय क्षेत्र मानिसलाई रोग लगाउने जीवाणुहरुको पनि खानी हो । त्यसैले वैज्ञानिकहरु भन्छन्— जसरी भकारी फोर्दा त्यहाँबाट थुप्रै कीराहरु निस्कन्छन्, त्यसरी नै उष्ण प्रदेशीय जंगल विनाश गर्दा त्यहाँ भएका जीवाणुहरु निस्कन्छन् । वर्ल्ड इकोनोमिक फोरमका अनुसार, जिका, इबोला लगायतको महामारीको सीधा सम्बन्ध वनविनाशसँग छ । पछिल्लो समयमा जलवायु परिवर्तनले यस्तो महामारीलाई थप सघाएको छ । जस्तै— जलवायु परिवर्तनका कारण नेपालका उच्च पहाडी भेगसम्म लामखुट्टे पुगेको छ, जसका कारण त्यस क्षेत्रमा लामुखुट्टेले सार्ने रोगहरुको बढोत्तरी भएको छ ।
अज्ञात संसारको यात्रा
पृथ्वीमा कति प्रजातिका जीवजन्तु छन्, त्यसको अवस्था अज्ञात छ । हालसम्म करिब १२ लाख प्रजातिको मात्रै पहिचान गरिएको छ । लेखिका मेरी क्लेर एरियटका अनुसार, पृथ्वीमा अनुमानित ५ नो निलियन (३० वटा शून्य) ब्याक्टेरिया छन्, जुन यस ब्रह्माण्डमा भएका ताराहरूको संख्याभन्दा ज्यादा हो । पृथ्वीमा भएका ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा लगायतका सूक्ष्म जीवाणुहरुको तौल संसारभरका सम्पूर्ण वनस्पति, जीवजन्तुको कुल तौलभन्दा बढी छ । मानिसको शरीरमा लगभग ४० हजार प्रजातिका ब्याक्टेरिया र १०० ट्रिलियन ब्याक्टेरियाका कोषहरू हुन्छन् । मान्छेको शरीरमा मानव कोषभन्दा बढी ब्याक्टेरियाका कोषहरु हुन्छन् ।
हाम्रो शरीरमा ती ब्याक्टेरिया विकासक्रमसँगै उत्पत्ति र विकासित भएका हुन्छन् र पारस्परिक रूपमा सहयोगी बन्दै जान्छन् । हाम्रो पाचनशक्तिदेखि ‘मुड’ को फेरबदल गर्नेसम्मका काम ती ब्याक्टेरियाले गर्छन् भने, मानवशरीरले तिनलाई गाँस र बास उपलब्ध गराउँछ । अन्य जीवजन्तुको जीवाणुसँगको सम्बन्ध पनि त्यस्तै हुन्छ । जब एक जनावरबाट त्यस्ता जीवाणुहरु अर्को नयाँ जनावर वा मानिसमा सर्छन्, तिनले रोग निम्त्याउँछन् । जस्तै— पोथी एनाफेलिस लामखुट्टेबाट मानिस लगायतका जनावरमा प्लाज्मोडियम जीवाणु सरेमा औलो रोग लाग्छ । सम्भवतः चमेरा, सालक, चिम्पान्जीबाट मानिसमा सरेका भाइरस लगायतका जीवाणुहरुले महामारी निम्त्याउँछन् । तर त्यस्ता असंख्य जीवाणुबारे हाम्रो ज्ञान निम्छरो छ । मानिसलाई संसारमा भएका करिब १ प्रतिशत वन्यजन्तु भाइरसबारे मात्रै थाहा छ । मानव अज्ञानताको यस्तो भयावह अवस्थाले समयसमयमा मानवजाति महाव्याधिको समीप पुग्ने गर्छ । पछिल्लो समय देखिएको कोभिड–१९ को अवस्था दुई महिनाभन्दा अघि अज्ञात थियो ।

नयाँ चुनौती, पुरानै तरिका
९० वर्षअघि अमेरिकामा सुगाज्वार बढेपछि तत्कालीन अमेरिकी राष्ट्रपति हर्बर्ट हुवरले संक्रमण बढ्न नदिन सुगा आयातलाई प्रतिबन्ध लगाए । त्यसै गरी कोभिड–१९ को महामारीपछि चीनले वन्यजन्तुको ओसारपसार र व्यापारमा प्रतिबन्ध लगाएको छ । तर यतिखेर अमेरिकामा ८३ लाख सुगा घरपालुवाका रहेको अनुमान गरिन्छ । जसरी अमेरिकी सुगा निर्यातको प्रतिबन्ध सीमित समयका लागि मात्रै रह्यो, सायद हालको वन्यजन्तु व्यापारमाथिको चिनियाँ प्रतिबन्ध पनि कोभिड–१९ को नियन्त्रणपछि त्यस्तै हुन सक्छ र हामी अर्को महामारी नहुँदासम्म पुरानै पारामा फर्किसकेका हुनेछौं । तर १९२९ को अमेरिकाको सीमितता र २०२० को विश्वको व्यापकतामा यतिखेर धरती–आकाशको फरक छ ।

कोभिड–१९ लगत्तै चीनले ‘लक डाउन’ गरेर नियन्त्रणको प्रयास गरे पनि भूमण्डलीकृत विश्वमा कोभिड–१९ चीनबाट बाहिरिन कसैले रोक्न सकेन । मानिसले इतिहासमा विभिन्न महामारीमाथि विजय प्राप्त गर्दै आएको परिप्रेक्ष्यमा कोभिड–१९ माथि ढिलोचाँडो विजय प्राप्त होला नै, तर त्यसको मूल्य निकै चर्को हुनेछ । त्यसैले कोभिड–१९ जस्ता दोहोरिरहने महाव्याधिहरुले ल्याउने संकटबाट मुक्त हुने एउटा उपाय प्रकृतिप्रतिको हाम्रो दृष्टिकोणमा फेरबदल हो । आशा गरौं, कोभिड–१९ ले हामीलाई बारम्बार सम्झाउनेछ— मानवजाति पनि प्रकृतिकै एक अंग भएकाले मान्छे स्वस्थ रहन पृथ्वीको स्वास्थ्य ठीक हुन जरुरी छ ।

श्रेष्ठ इन्स्टिच्युट फर इन्टरडिसिफ्लिनरी स्टडिजसँग सम्बन्धित छन् ।
ट्वीटर : @uttambabu

प्रकाशित : चैत्र १०, २०७६ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×