सिनेम्याटिक डिजास्टर- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिनेम्याटिक डिजास्टर

कोभिड–१९ संक्रमणले विश्वका दुई ठूला फिल्म उद्योग हलिउड र बलिउड चरम संकटमा, घाटाको लेखाजोखा नै छैन

काठमाडौँ — गतमार्च ४ मा हलिउडबाट एउटा अप्रत्याशित खबर आयो, जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन सात महिना धकेलियो । निर्माण कम्पनीले पूर्वनिर्धारित अप्रिल ३ को प्रदर्शन स्थगित गर्दै नोभेम्बरमा रिलिज गर्ने घोषणा गर्‍यो । कोरोना भाइरस (कोभिड–१९) को त्रासले विश्व फिल्म उद्योगमा परेको पहिलो र ठूलो प्रभाव यही हो ।

जब कि त्यति बेलासम्म विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको थिएन, अमेरिका र बेलायतमा सिनेमा हल चालू नै थिए । त्यसैले निर्माण कम्पनीले हतारमा निर्णय गर्‍यो, २ सय ५० मिलियन डलर लगानी जोखिममा पर्‍यो, यसको असर प्रदर्शनका क्रममा रहेका अरू फिल्ममा पर्ने आशयका आवाज उठे । तर, तीन सातापछि जेम्स बन्डका निर्माताले जे गरे, त्यो सही थियो भन्नेमा विश्वका फिल्म पण्डित एकमत भएका छन् । कारण, कोरोनाको आतंक यति व्यापक बन्दै गयो की हल खुल्ने र सुटिङ हुने अवस्थै रहेन ।


कोरोनाको आतंकबीच चर्चित अभिनेता भिन डिजेलको ‘ब्लडसट्’ रिलिज भयो, व्यापक प्रचार गरिएकाले निर्माताले रिलिज सार्न चाहेनन् । तर, यो फिल्म बक्सअफिसमा असफल भयो । आफ्नो स्वास्थ्यको चिन्ताले सताइरहँदा सिनेमा हल ध्याउने कुरा व्यावहारिक रूपमा पनि सम्भव थिएन । जब हल सुनसान हुन थाल्यो, जमघट र भीडमा विभिन्न मुलुकले प्रतिबन्ध लगाउन थाले, त्यसपछि भने हलिउडका ठूला स्टुडियो पनि तर्सिए र प्रदर्शन रोक्नुको विकल्प रहेन ।


डिज्नेले प्रतीक्षित फिल्म ‘मुलान’ को रिलिज रद्द गरेको छ, नयाँ मिति तोकेको छैन । डिज्नेकै ‘एन्टलेर्स’ र ‘द पर्सनल हिस्ट्री अफ डेभिड कप्परफिल्ड’ को रिलिज पनि रोकिएको छ । मार्भलले मे १ मा ‘ब्ल्याक विडो’ नचलाउने घोषणा गरिसक्यो । ‘फास्ट एन्ड फ्युरियस ९’, ‘ब्लु स्टोरी’, ‘द लभ बर्डस्’, ‘फस्ट काउ’ लगायतका करिब डेढ दर्जन फिल्मको रिलिज टुंगो छैन । त्यसैले त हलिउडका बक्सअफिस विश्लेषक डुग स्टोन भन्दै छन्, ‘एकदमै डरलाग्दो स्थिति बन्दै छ ।’




हलिउड मात्र होइन, बलिउड पनि धरासायीको संघारमा छ । भारतको क्षेत्रीय सिनेमा उद्योग पनि कोरानाबाट उम्कने अवस्था छैन । भारतमा बर्सेनि औसत एक हजार फिल्म प्रदर्शन हुन्छन्, चालू वर्ष यो संख्यामा भारी गिरावट आउने पक्कापक्की भइसकेको छ । रिलिज भएका फिल्मले समेत बक्सअफिसमा गतिलो प्रभाव जमाउन सकेका छैनन् । टाइगर श्राफको ‘बागी ३’को व्यापारसमेत उत्साहजनक नभएपछि बलिउड फिल्मकर्मी आत्तिएका हुन् । यो फिल्मले रिलिजको दिन घरेलु बजारमा ३० करोड भारु कलेक्सन गर्ने अनुमान थियो तर १७ करोडमा सीमित भयो ।


त्यसपछि पनि फिल्मले ‘पिकअप’ लिन सकेन । इरफान खान र करिना कपुरको ‘अंग्रेजी मिडियम’ को हबिगत अझ दयनीय रहयो । त्यहीबीच अक्षयकुमार अभिनीत ‘सूर्यवंशी’ को रिलिज स्थगित भयो । वर्षको सर्वाधिक प्रतीक्षित फिल्म नै अनिश्चित समयका लागि सरेपछि बलिउडमा निराशा छाएको छ । केरेला, नयाँदिल्ली, जम्मु–कश्मीर, कर्नाटक र मुम्बईमा सिनेमा हल बन्द भइसकेका छन् । सन् १९८४ को दंगायता पहिलो पटक हल बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


आधिकारिक घोषणा नभए पनि कम्तीमा आगामी दुई महिना नयाँ हिन्दी फिल्म प्रदर्शनको सम्भावना देखिन्न । रिलिज तालिकामा त्यसको प्रभाव त्यसपछिका चार–पाँच महिनासम्म पर्ने बलिउडका व्यापार विश्लेषकले दाबी गरिरहेका छन् । यसअघि घोषणा गरिएअनुसार ‘सन्दीप और पिंकी फरार’ मार्च २४ र रणवीर सिंह अभिनीत ‘८३’ अप्रिल १० मा रिलिज नहुने भएका छन् ।


अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो–सिताबो’, वरुण धवनको ‘कुल्ली नम्बर १’, सलमान खानको ‘राधे’, अक्षयकुमारको ‘लक्ष्मी बम’, सैफअली खान र रानी मुखर्जीको ‘बन्टी और बब्ली २’ जस्ता ठूला स्टारका फिल्मसमेत निर्धारित समयमा चल्ने सम्भावना रहेन । बनिसकेका फिल्म नचल्दा निर्माणाधीन र निर्माणोन्मुख फिल्मसमेत अलपत्रमा पर्छन् । कोरोनाले फिल्म प्रदर्शनमा मात्र संकट निम्ताएको छैन, निर्माण पनि ठप्पै पारेको छ । भारतमा मार्च १९ बाट हरेक किसिमका सुटिङ रोकिएको छ ।




कोरोनाको संक्रमणको खतरा हुने भन्दै फिल्म र टेलिभिजनसँग सम्बन्धित संस्थाले मार्च ३१ सम्म सुटिङ नगर्ने निर्णय गरेका हुन् । सकारात्मक संकेत नदेखिए यो म्याद अझ लम्बने बताइएको छ । करण जौहरको धर्मा प्रोडक्सनले सम्पूर्ण प्रशासनिक र उत्पादनको काम रोकेको एक साता बितिसक्यो । ‘बक्सअफिसमा ४०–५० प्रतिशत असर पर्ने देखिन्छ तर त्योभन्दा बढी पनि हुन सक्छ,’ मुम्बईका फिल्म वितरक राजेश थडानीले पीटीआईसँग भनेका छन् । बलिउडको यो नोक्सानले भारतको मूल अर्थतन्त्रमै प्रभाव पार्नेछ । कलाकारदेखि प्राविधिकसम्म कामविहीन बन्नुपरेको छ । बलिउडका व्यापार विश्लेषक तरुण आदर्शले अहिलेकै स्थितिमा बलिउडले ८ सय करोड घाटा सामना गर्नुपर्नेछ । संकट लम्बँदै जाँदा घाटा पनि बढ्दै जान्छ ।


हलिउडमा त उसै पनि यस वर्ष टिकट बिक्री घटेको थियो । कोरोनाले त्यो घाउ थप चर्काउने भएको छ । सन् २०१८ मा ११ अर्ब ९० करोड डलरको टिकट बिकेको थियो तर यस वर्ष ११ अर्ब डलरमै सीमित हुने प्रक्षेपण गरिएको छ । चीन, इटाली, फ्रान्सजस्ता हलिउडको व्यापारको ठूलो हिस्सा ओगट्ने देश पनि कोरोनासँग प्रताडित छन् । कतिसम्म भने डिज्ने, वार्नर ब्रोज्, युनिभर्सल, सोनी, पारामाउन्टजस्ता ठूला स्टुडियोसमेत धरासायी हुने संकेत देखिएको छ । डिज्नेको मात्र यो वर्ष २० फिल्म रिलिज हुँदै थिए ।


‘अहिले विश्व फिल्म उद्योगले भोगिरहेको अवस्थालाई कुनै विगतको घटनासँग तुलना गर्न सहज छैन । भाइरसको संक्रमण कहिलेसम्म लम्बेला भन्न असम्भव छ,’ सीएनबीसी टेलिभिजनको अनलाइन संस्करणमा सराह विटेन लेख्छिन्, ‘यो समस्याको अन्त्य भइहाले पनि मान्छेलाई पुरानै दिनचर्यामा फर्कन लामो समय लाग्नेछ । स्टुडियो, फिल्ममेकर र हल सञ्चालकले कोरोनाबाट लामो समयका लागि आर्थिक बर्बादी खेप्नुपर्ने स्पष्ट देखिन्छ ।’ अमेरिकाको हकमा सेप्टेम्बर ११ को आतंककारी आक्रमणताका भन्दा अहिले सिनेमा हलले नोक्सान बेहोर्नुपरेको छ । त्यतिबेला दुई महिनामा हलको टिकट बिक्रीले पुरानै गति समातेको थियो । तर, यसपटकको माहोल भयावह बन्दै छ ।


एक त भाइरसको आतंक कहिलेसम्म ? जवाफ कोहीसँग छैन । अर्कातिर, भाइरस रोकिएपछि पनि हलमा दर्शक गइहाल्ने स्थिति हुन्न । आर्थिक र मनोवैज्ञानिक संकट हटिसकेको हुन्न, मनोरञ्जन गर्ने मनस्थिति हुन थप समय लाग्ने विज्ञहरूको दाबी छ । नेपालमा भूकम्प जाँदा त्यस्तै भएको थियो । भूकम्पको दुई महिनापछि अरू नियमित कामहरू सामान्य भए पनि हलले पहिलेकै अवस्थामा दर्शक पाउन एक वर्ष कुर्नुपरेको थियो । अब यो नियति कोरोना प्रभावित हरेक मुलुकले भोग्नुपर्ने भएको छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : चैत्र ९, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

सेल्फ आइसोलेसनमा वु लेई

एएफपी

सांघाई — चिनियाँ फुटबल संघ (सीएफए) ले ला लिगा क्लब स्पान्योलबाट व्यावसायिक फुटबल खेलिरहेका आफ्ना सुपरस्टार वु लेईलाई कोरोना संक्रमण देखिएको र उपचार भइरहेको जानकारी दिएको छ ।

‘वु लेईलाई कोरोनाको हल्का लक्षण देखिएको छ र उनको उपचार भइरहेको छ,’ ला लिगामा संघर्षरत क्लब स्पान्योललाई उद्धृत गर्दै सीएफएले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ फुटबल संघले वु र उनको क्लबसँग प्रत्यक्ष सम्पर्क गरिरहेको छ र आवश्यक परेमा सबै प्रकारको सहायता प्रदान गर्न प्रतिबद्ध छ । हामी वुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

चिनियाँ समाचार संस्था सिन्ह्‍वा का अनुसार चीनका लोकप्रिय फुटबलर वु लेई बार्सिलोनास्थित आफ्नो निवासमा ‘सेल्फ आइसोलेसन’ मा छन् ।

युरोपका शीर्ष पाँच लिगमा खेल्ने वु चीनका एकमात्र फुटबलर हुन् । उनी गत वर्षको जनवरीमा सांघाई सीआईपीजीबाट स्पान्योलमा अनुबन्धित भएका थिए । गत वर्षको अन्त्यमा मध्य चीनको वुहान सहरमा पहिलोपल्ट कोरोना संक्रमण देखिएको थियो । त्यसयता यस भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×