कोरोनाको असर कन्सर्टलाई 

सरकारले सिनेमा हल, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियमलगायत मनोरञ्जन स्थल वैशाख १८ गतेसम्म बन्द गरेको छ
गोकर्ण गौतम

काठमाडौँ — गायक राजेशपायल राईले गत फागुन २३ गते धरानमा सांगीतिक प्रस्तुति दिए । त्यसपछि लगातार बेलबारी, भद्रपुर, पर्सा र निजगढमा कार्यक्रम थियो । तर, कोरोना भाइरस (कोभिड–१९)को त्रासले कतै कन्सर्ट हुन सकेन । उनी बीचमै काठमाडौं फर्किनुपर्‍यो । ‘कन्सर्ट पछि सरेका होइनन्, रद्द नै भएका हुन् ।

अन्यत्रजस्तै कोरोनाले संगीत क्षेत्रलाई पनि समस्यामा पारेको छ,’ राजेशपायलले दुःखी हुँदै भने । देशभित्र मात्र होइन, विदेशका कार्यक्रम पनि रोकिएपछि उनी थप मर्माहत बनेका छन् । नेपाली नयाँ वर्षको अवसरमा नर्वे, स्विडेन, स्विट्रल्यान्ड र माल्टामा सो पक्का भएको थियो तर चारै देशमा रोकियो । ९ अप्रिलमा साइप्रसमा तोकिएको कार्यक्रम हुने/नहुने निधो भई नसकेको उनले बताए ।


सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियमलगायतका मनोरञ्जन स्थल वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको हो । त्यसैले अब कन्सर्ट मात्र होइन, म्युजिक भिडियो र फिल्म सुटिङ पनि रोकिने भएको छ ।




गायक/गायिकको आम्दानीको मुख्य स्रोत नै सांगीतिक कार्यक्रम हुन् । महोत्सव, मेला, पर्व तथा अन्य अवसरमा देश/विदेशमा हुने सोमा कलाकार व्यस्त हुन्छन् । सीडी वा डीभीडी बेचेर कमाउने जमाना अब रहेन । तर, फागु, शिवरात्रि, नयाँ वर्षजस्ता चाडकै छेकोमा कोरोनाले आतंक मच्चाएपछि कलाकारलाई संकटमा परेको छ । ‘कमाइभन्दा स्वास्थ्य ठूलो कुरा हो । त्यसैले जति नोक्सान भए पनि कर्न्सटमा जान मिल्दैन । अहिले हामी सबैले सर्तकर्ता अपाउनुपर्छ,’ राजेशपायलले भने ।


कन्सर्टमा भ्याईनभ्याई हुने गायक प्रमोद खरेल पनि यतिबेला फुसर्दमा छन् । कोरोनाले गर्दा चैत र वैशाखको सबै कन्सर्ट रद्द भएको प्रमोदले दुखेसो पोखे । ‘यो दुई महिनाको प्रभाव अर्को तीन महिनासम्म पर्छ, त्यसमाथि वर्षायाममा हामीकहाँ सो नै हुन्न,’ उनले भने । चैतमा ताप्लेजुङदेखि धनगढीसम्म ११ कन्सर्ट पक्कापक्की भइसकेको थियो । वैशाखमा बहराइनसहित चार देशमा कार्यक्रम गर्दै थिए तर सबै स्थगित भएका हुन् ।




विभिन्न पर्व र बिदाको मौकामा आयोजना गरिएकाले अब पुनः हुने सम्भावना नरहेको प्रमोदले बताए । भन्छन्, ‘कन्सर्टमा भीड हुन्छ । फ्यानसँग फोटो खिच्नुपर्ने हुन्छ । त्यस्तो बेला भाइरस सर्ने डर ज्यादा हुन्छ, त्यसैले हामी आफैं सचेत भएर समन्वयमै सो रोकिएको हो ।’ उनले अन्तिमपटक गत फागुन २० गते झापामा प्रस्तुति दिएका थिए ।

नेपालमा तीजदेखि फागुनसम्म सांगीतिक कार्यक्रम बढी हुने गर्छन् ।


विदेशमा बस्ने नेपालीमाझ पनि यही समयमा कन्सर्ट हुने गर्छ । नेपाली नयाँ वर्षको छेकोमा पनि कलाकार व्यस्त हुने गर्छन् तर कोरोनाले सिजनको दुई महिना बिथोलेको कलाकार गुनासो गर्छन् । लोकगायक पशुपति शर्माको चैत र वैशाखमा करिब दुई दर्जन कार्यक्रम रद्द भयो । उनी प्रतिसो औसत ६० हजार लिने गर्छन् । ‘तर, आर्थिक रूपमा कति घाटा भयो भनेर चिन्ता लिएर बस्ने बेला होइन यो । सचेत नागरिक हुनुका नाताले कोरोनाबाट बच्न कलाकारले सन्देश प्रवाह गर्नुपर्छ,’ पशुपतिले भने, ‘भाइरसको संक्रमण रोकथाम नभएसम्म कार्यक्रम नगर्नु उपयुक्त हुन्छ ।’ उनले हालै कोरोनाविरुद्ध सचेतना जगाउने गीत सार्वजनिक गरेका थिए ।


गायकद्वय दुर्गेस थापा र पुष्कल शर्माको पनि एक दर्जन सांगीतिक प्रस्तुति स्थगित भएको छ । उनीहरू प्रतिसो ५० हजार रुपैयाँ लिने गर्छन् । गायिका मेलिना राईको सिन्धुली, बनेपा, पाँचथर र धनकुटामा सो हुन पाएन । गत फागुन २० गते झापाको बाहुनडाँगीपछि कार्यक्रम नगरेको मेलिनाले जनाइन् । ‘डरैडर छ । हामी सबै सजक र सुरक्षित हुनुपर्छ,’ उनले भनिन् । गायिका अञ्जु पन्तलाई भने कोरोनाले खासै प्रभाव परेको रहेनछ । रियालिटी सो ‘नेपाल स्टार’ को निर्णायक भएकाले चैतमा उनको कन्सर्ट थिएन । युरोपमा कार्यक्रम गरेर उनी स्वदेश फर्किएको एक महिना बित्यो ।




कन्सर्ट नभएपछि कलाकारले रेकर्डिङमा समय दिएका छन् । चल्तीका कलाकारको हकमा कन्सर्टपछि आयको माध्यम रेकर्डिङ हो । तर, रेकर्डिङ पनि पहिलेभन्दा कम हुँदै गएको गायक प्रमोदले दुखेसो पोखे । काठमाडौंमा हुँदा उनी दैनिक औसत चार गीत रेकड गर्थे तर चैत लागेपछि जम्मा २ वटा रेकर्ड गरे । ‘फेसबुक र ट्वीटर खोल्यो भने कोरोना मात्र हुन्छ । मनोरञ्जन गर्ने मुड छैन,’ प्रमोदले चिन्तित हुँदै भने, ‘गीत–संगीतमा दर्शक/श्रोताको रुचि घटिरहेको छ । लगानीकर्ता हच्किरहेका छन् ।’ उनले म्युजिक भिडियोको सुटिङ पनि गर्ने माहोल नभएको बताए ।


गायक राजेशपायक राईले भने अहिलेसम्म रेकर्डिङमा खासै प्रभाव नपरेको जनाए । उनले दैनिक सरदर तीन गीत रेकर्ड गरिरहेका छन् । ‘रेकर्डिङ स्टुडियोमा चार–पाँच जना मात्र हुन्छन्, संक्रमणको खतरा कम हुन्छ,’ उनले भने, ‘त्यसैले पहिलेदेखि थाती रहेका गीत धमाधम रेकर्ड गरिरहेको छु ।’


पुतलीसडकस्थित म्युजिसियन रेकर्डिङ स्टुडियोका सञ्चालक किशोर थापाले भीड नहुने भएकाले रेकर्डिङमा समस्या नपरेको बताए । ‘अहिलेसम्म रेकर्डिङ घटेको छैन । स्यानिटाइजर प्रयोग गरेर सर्तकता अपनाइरहेका छौं,’ किशोरले भने । त्यस्तै, ठमेलको अकोस्टिक रेकर्डिङ स्टुडियोका सञ्चालकले पनि अर्को साताका लागि पनि स्टुडियो ‘बुक’ भइसकेको बताए । भन्छन्, ‘तर, महामारी रोकिएन भने स्टुडियोमा पनि संकट पर्न सक्छ ।’ प्रकाशित : चैत्र ६, २०७६ ०९:३२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संस्कृतिकर्मी सभामुख

अमृता अनमोल

बुटवल — विद्यार्थी राजनीतिबाट सुरु भएको पूर्णबहादुर घर्तीमगरको राजनीतिक यात्रा प्रदेश पाँचको सभामुखसम्म पुगेको छ । जनतामाझ भने संस्कृतिकर्मीका रूपमा परिचित छन् । हालैको दिन प्रदेशसभाको स्थापना दिवस कार्यक्रममा उनको भिन्न छवि देखियो । संगीतमय बनेको कार्यक्रममा सभामुख घर्तीमगर सँगसँगै बगे ।

कतिबेला हात त कतिबेला खुट्टा हल्लाउँथे । कतिबेला गुनगुनाएर कलाकारलाई सघाउँथे । ‘उहाँ आफैं गीतकार–संगीतकार हुनुहुन्छ,’ प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले भने, ‘उहाँकै कारणले कार्यक्रम संगीतमय बनेको हो ।’

साविक रूकुमको चुनवा–६, लाखर खोलामा जन्मिएका घर्तीमगर १७ वर्षको उमेरबाटै राजनीतिमा लागे, तर उनको यो यात्रा सांस्कृतिक क्षेत्रसित पनि उत्तिकै जोडियो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा उनी सुरुदेखि नै सामेल भए । त्यसमा पनि उनको प्रमुख भूमिका संगीतकर्मीकै रह्यो । ‘मुख्य उद्देश्य राजनीतिक परिवर्तन थियो,’ उनले भने, ‘त्यही उद्देश्य पूरा गर्न संगीतकर्मीको भूमिका गरेको थिएँ ।’

५२ बर्षे घर्तीले करिब तीन दर्जन गीत लेखेका छन् । तर, सबै गीत रेकर्ड भएका छैनन् । रेकर्ड नभए पनि अधिकांश गीत जनजिब्रोमा झुन्डिएका छन् । युद्धताका उनी क्रान्तिभावका गीत लेख्थे । संगीत भर्थे र त्यसलाई पस्किन्थे । उनी अवस्थालाई टपक्क टिप्थे । चित्र बनाउँथे र गीत पस्कन्थे । बिसं २०५२ मा सरकारबाट रोल्पामा ‘अप्रेसन रोमियो’ चलाउँदा त सुरक्षाकर्मीबाट निकै ज्यादती भयो । नागरिक मात्र होइन, कतिपय माओवादी कार्यकर्तासमेत विचलित भए । त्यसबेला घर्तीले ‘ढल्दैन त्यो बन्दुकले...’ बोलको गीत लेखे । त्यसलाई माइला लामा, सीता आचार्यलगायतले गाए ।

माओवादीले सशस्त्र द्वन्द्वको घोषणा गरेको बेला रोल्पाली मात्र होइन, सिंगो मुलुक नै प्रभावित भयो । त्यस अवस्थाको विश्लेषण गरेर घर्तीले अर्को उत्साहपूर्वक गीत लेख । ‘एकै रातमा धरती हल्लियो, संघर्षको आँधीबेहरीले, गाउँबस्ती ब्युँझी उठ्यो माओवादी जनयुद्धले ...’ गीत लेखे । गायनमा उनलाई सीता आचार्यले साथ दिइन् ।

यसपछिका दुई वर्ष उनले लेखेका र गाएका ‘जोसिलो अभिवादन...’, ‘यात्रा हाम्रो...’ लगायतले चर्चा पाए । जब सशस्त्र द्वन्द्व सफलतातर्फ उन्मुख हुन्थ्यो, घर्ती उत्साहका गीत लेख्थे र गाउँथे । जब युद्ध कमजोर बन्थ्यो, उनी आशा र भरोसाका गीत सुनाउँथे । उनी युद्धभूमिदेखि रंगभूमिसम्म गएर त्यसलाई पस्कन्थे ।

०५९ तिर पार्टीभित्र देखिएको सन्नाटा र निराशा चिर्न घर्तीले ‘कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन...’ बोलको गीत लेखे । उनीसहित र मोहित श्रेष्ठको संगीत र स्वरमा यो गीत रेकर्ड भएको छ । उक्त गीत माओवादी कार्यकर्ताका लागि निकै ऊर्जावान् बन्यो । ‘रुकुमको खारा युद्धमा माओवादीले ठूलो क्षति बेहोर्नुपर्‍यो भने कालिकोटको मालकोट र रोल्पाको थबाङमा दर्जनौं घर जलाइएका थिए,’ उनले भने, ‘यस्तो सन्नाटा चिर्न गीत गाएको हुँ ।’

यही बीचमा अर्को गीत गाए । ‘यात्रा हाम्रो लामो छ है हिँडौं साथी नथाकेर, नझुक्ने ती हिमालजस्तै हिँडौं साथी नथाकेर ...’ गाए । जुन गीत माओवादी मात्र होइन, अन्य सांस्कृतिक कार्यक्रममा पनि सुनिए । ‘द्वन्द्व राजनीतिक परिवर्तनका लागि भयो । यसमा शंका छैन,’ उनले भने, ‘तर, हामीले गाउने गीतले सर्वसाधारणको विचार फेर्न र स्वयं माओवादी कार्यकर्तालाई ऊर्जावान् बनेर युद्धमा लाग्नप्रेरित गर्थे । सायद यसले पनि परिवर्तन छिटो भएको हो ।’

घर्ती ०४७ देखि १७ वर्ष अखिल नेपाल जनसांस्कृतिक संघको केन्द्रीय समितिमा रहे । राप्तीस्तरीय सांस्कृतिक अभियानको नेतृत्व गरे । ०५८ देखि २ वर्ष माओवादी निकट केन्द्रीय सांस्कृतिक टोली संयोजक, केन्द्रीय श्रव्यदृश्य प्रमुख एवं केन्द्रीय सांस्कृतिक विभाग सदस्य भए । त्यसपछिका समय राजनीतिक रूपमा अन्य भूमिकामा रहे । तीन वर्ष भने रुकुम जिल्ला सेक्रेटरी बनेका उनी ०५७ मा रुकुमको पहिलो ‘जनसरकार प्रमुख’ मा निवाचित भए । ‘पार्टीले राजनीतिक भूमिका दिए पनि गीतमा कलम चलाउन र स्वर दिन भने छोडिनँ,’ उनले भने, ‘किनभने, मेरो नसा–नसामा संगीत छ । संगीतले सहज परिवर्तन सम्भव छ ।’
गायनकै क्रममा उनको सीता आचार्यसँग चिनजान भयो । चिनजान सहकार्य हुँदै प्रेममा परिणत भयो । त्यसपछि ०५१ मा उनैसित विवाह भयो । जसले संगीतयात्रा अझ गाढा बनायो । सीता अहिले पनि नेकपा केन्द्रीय सदस्य छन् । सामना परिवारमा सांस्कृतिक फाँटमै क्रियाशील छन् ।

०६३ सालमा बृहत् शान्तिसम्झौता भएर माओवादी शान्तिप्रक्रियामा आयो । घर्तीमा पार्टीको विभिन्न पद र जिम्मेवारी आयो । त्यसबेला पनि घर्तीको संगीत यात्रा चलिरह्यो । कहिले देखेका र सुनेका गीत गाए । धेरै आफैंले भोगेका लेखेर गाए । गीतबाटै नागरिकलाई सुसूचित गर्ने काम गरे । ‘गीत संगीतकै कारण हरेक खाले जनताको बीचमा जाने मौका पाएँ । उनीहरूमा परिवर्तनको इच्छा जगाउन र उत्साह भर्न सकें,’ उनले भने, ‘संस्कृतिकर्मीकै रूपमा आफूले गरेको काममा गौरव छ ।’ ०७४ मंसिरमा भएको प्रदेशसभाको निर्वाचनमा घर्ती रुकुम पूर्व २ बाट निर्वाचित भए ।

०७४ माघ २१ देखि प्रदेश ५ को सभामुखको भूमिकामा रहेका छन् । सभामुख बनेपछि उनी व्यस्त छन् । गीत लेखन र गायनमा समय दिन पाउँदैनन् । तर, गीत सुन्दा गुनगुनाउन छोडेका छैनन् । संगीत बज्दा हात चलाउन बिर्सेका छैनन् । बिर्सुन् पनि कसरी ! लामो समय राजनीति गरे पनि उनलाई चिनाउने अवयव नै गीत–संगीत हुन् । ‘नियमित गाउने अभ्यास गर्न मिल्दैन । तर, यसप्रतिको चासो र रुचि मरेको छैन,’ उनले भने, ‘गीत–संगीत सुन्दा हात चल्छन्न् । मन गुनगुनाउँछ । यसमैआनन्द लाग्छ ।’

प्रकाशित : चैत्र ६, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×