१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘कलाकार प्रमाणपत्र चाहियो’

आश गुरुङ

लमजुङ — नेपाली लोकगीतका मूर्धन्य नाम हो बिमाकुमारी दुरा । जीवनमा अनेकन भोगाइबाट अघि बढेकी उनले सिंहदरबार र विमानस्थलमा अनेकन दुःख खेप्नुपरेको गुनासो गरिन् ।

‘कलाकार प्रमाणपत्र चाहियो’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाले बेंसीसहरमा बिहीबार १९ औं वार्षिकोत्सव मनाइरहँदा दुराले दुःख बिसाइन् । भनिन्, ‘सिंहदरबार र विमानस्थलमा छिर्नै गाह्रो हुन्छ । हामी कलाकार हौं भनेर झगडा गर्ने कुरा पनि भएन । कलाकार भनिहाले पनि प्रमाणपत्र माग्छन् । हामीसँग छैन । नेपाली कलाकारको प्रमाणपत्र केही पनि हुँदैन ।’

‘विदेशी सिस्टममा हेर्ने हो भने उनीहरूलाई सरकारले सम्मान दिएको हुन्छ । नेपाली कलाकारको प्रमाण केही हुँदैन,’ उनले भनिन्, ‘नेपालभित्र मात्रै हामी कलाकार हो भन्ने छ । नेपालभित्र कलाकार भए पनि सिंहदरबारभित्र जाँदा यति दुःख हुन्छ कि, हाम्रो प्रमाणपत्र केही पनि छैन । केले जाने त ? दोहोरी गीत प्रतिष्ठानचाहिँ अलिकति गम्भीर हुनुपर्ने लाग्छ मलाई ।’

सिंहदरबारभित्र पस्दा कैयौंपटक उभिनुपरेको, जान नसकेको उनले सुनाइन् । ‘म दुई वर्षअघि बेलायत गएको थिएँ । त्यहाँ एउटा भवनमा इन्डियादेखिका कलाकारको सबैको मूर्ति खडा छ । नेपालका कोही छैनन् । नारायणगोपाल, तारादेवीलाई सम्झिएँ । गोपाल योञ्जनहरूलाई सम्झिएँ,’ उनले भनिन् ।

कलाकारलाई प्रमाणपत्र चाहिन्छ भन्नेबारे एउटा व्यक्तिले गरेर केही नहुने बरु संसद्भित्र कुरा उठाइनुपर्ने उनले बताइन् । प्रमाणपत्र भएदेखि म पनि बिमाकुमारी दुरा हुँ भन्न पाउने उनको भनाइ थियो । लोक गायनका बादशाह भनेर चिनिने राजु परियारले अनेक संघर्ष गरेर कलाकार देश र नागरिकको सेवामा जुटे पनि राज्यले हेर्ने दृष्टिकोणमा सकारात्मक हुन नसकेको बताए । ‘हामीले गर्ने भनेको देशका लागि हो । गाउने देशका लागि हो, देश चिनाउने हो,’ कुराकानीमा उनले भने, ‘कलाकारको सम्मान हुन सकेको छैन ।

लोकसंस्कृति, लोकगीत र लोकभाकाको सम्मान हुन सकेको छैन ।’ भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) जस्ता ठाडोभाका गाएर जीवन समर्पण गर्ने कलाकारको संरक्षण, ठाडोभाका संरक्षण र सम्वर्द्धन हुन नसकेको उनले बताए ।

पूर्वसांसद जमीन्द्रमान घलेका अनुसार पहिले गाउँघरका रोधींमा गाइने भाका नै पछिल्लो समय लोकगीत हुन आएको हो । ‘हामी रोधींमा लोकगीत गाउँथ्यौं । ती भाकालाई कलाकारले खोजी गरेर कर्णप्रिय बनाएका छन्,’ उनले भने, ‘लोकगीतलाई बचाउन, लोकदोहोरीलाई नेपालीपन बनाइराख्न हामी सबै यसको सदस्य बनेर संरक्षण र सम्वर्द्धनमा अघि बढ्न आवश्यक छ ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीका अनुसार स्थापना दिवसको अवसरमा बिहीबार मानव सेवा आश्रममा १० हजार रुपैयाँबराबरको खाद्यसामग्री प्रदान गरी वृक्षरोपणसमेत गरिएको छ ।

प्रकाशित : चैत्र १, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?