इतिहास खोतल्ने फिल्मकर्मी

यज्ञश

(बर्लिन) — प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा यसपटक एसियाली निर्देशकहरूले आफ्नो वचर्स्व कायम गरे । इरानी फिल्ममेकर मोहम्मद रसोउल्फको फिल्म ‘दिअर इज नो इभिल’ ले फेस्टिभलको सर्वोच्च पुरस्कार गोल्डन विअर जित्यो भने कोरियन निर्देशक होङ स्याङ स्योले फिल्म ‘दि वुमन हु र्‍यान’ का लागि उत्कृष्ट निर्देशकको सिल्भर वियर जिते । 

इतिहास खोतल्ने फिल्मकर्मी

यी दुई अलावा बर्लिनालको ७० औं एनिभर्सरी इडिसनमा अर्का एसियाली निर्देशक थिए, रीति पान, जसले आफ्नो प्रभाव छोडे । कम्बोडियाका रीति पान पहिलोपटक आफ्नो फिल्मसहित बर्लिन आएका थिए । बेलाबेला फिचर फिल्म पनि बनाउने रीति मूलतः डक्युमेन्ट्री फिल्ममेकर हुन् । कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ मा उत्कृष्ट फिल्मको अवार्ड जितिसकेका उनको नयाँ डक्युमेन्ट्री ‘इराडिएटेड’ यसपालि बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा थियो ।


फेव्रुअरी २९ मा बर्लिनाल पलास्तमा घोषणा गरिएको अवार्ड समारोहमा रीति पानको ‘इराडिएटेड’ उत्कृष्ट डक्युमेन्ट्री घोषित भयो । यससँगै डक्युमेन्ट्रीले ४० हजार युरोको पुरस्कार पनि पायो । यो रकम फेस्टिभलको नियमअनुसार निर्माता र निर्देशकबीच आधा–आधा बाँडिने छ ।


‘म झन्डै ४० वर्षदेखि फिल्म बनाइरहेको छु,’ अवार्ड समारोहभन्दा दुई दिनअघि बर्लिन फेस्टिभलको अन्तरवार्ता लाउन्जमा उनले मसँग भनेका थिए, ‘आज पनि हरेक नयाँ फिल्म बनाउँदा आफ्नो कुरा राम्ररी भन्न सकें कि सकिनँ भन्ने लागिरहन्छ ।’ उनले यसो भनेकै भोलिपल्ट ब्रिटिस अभिनेता जेरेमी आइरनले अध्यक्षता गरेको जुरीले उत्कृष्ट पुरस्कार दिएर उनले राम्ररी भनेको प्रमाणित गरिदिएको थियो ।


रीति पानको आफ्नै जीवन कथा कुनै फिल्मको जस्तो छ । जसरी चीनका पाँचौं जेनेरेसनका विख्यात निर्देशक च्याङ यिमाउ सांस्कृतिक क्रान्तिका कारण घर छोडेर भागेका थिए, त्यसैगरी रीति पान पनि कम्बोडियामा खमेरुजका कारण घर छोडेर भागेका थिए । यिमाउका बुबा कोमिन्ताङ सेनामा थिए, जसलाई माओका सेनाले मारेपछि यिमाउले बेइजिङ आएर इँटाभट्टामा समेत काम गर्नुपरेको थियो । रीति पानका बुबा पनि कम्बोडियाको सरकारी जागिरमा थिए । उनी शिक्षा मन्त्रालयको ‘जोइन्ट सेक्रेटरी’ थिए । खमेरुज सत्तामा आएपछि सन् १९७५ मा उनको परिवारलाई नै राजधानी नोमपेन्हबाट निकाला गरियो । उनीहरूलाई श्रम शिविरमा राखियो ।


निकै धेरै श्रम, कम खाना र स्वास्थ्य सेवाको अभावमा बुबा, आमा र दाजुको समेत मृत्यु भएपछि १९७९ मा उनी भागेर थाइल्यान्ड पुगे ।


‘मैले केही समय त्यहाँको शरणार्थी शिविरमा बिताएँ,’ उनले सम्झिए, ‘थाइल्यान्डमा भइन्जेल पनि मलाई लाग्थ्यो, म भागिरहेको छु, कसैले मेरो पिछा गरिरहेको छ ।’ फ्रान्सको पेरिस सहर पुगेपछि बल्ल उनले ढुक्कले सास फेरे ।


अहिले पनि रीति पानलाई कसैले पछ्याइरहेजस्तो लाग्छ । अहिले उनलाई जसले पछ्याउँछ त्यो कुनै व्यक्ति वा खमेरुजका गुरिल्ला नभएर इतिहास हो ।


‘इतिहासले हाम्रो पिछा गर्न छोड्दैन किनभने कुनै पनि व्यक्तिको चेतना र सोच उसको इतिहासद्वारा निर्मित हुन्छ । यदि तपाईं पृथ्वीमा उभिएको रूख हो भने जरा तपाईंको इतिहास हो,’ उनी भन्छन् ।


यसैले होला उनी प्रायः इतिहास खोतलेर फिल्म बनाइरहन्छन् । उनले निर्देशन गरेको फिल्म ‘दी मिसिङ पिक्चर’ ओस्करमा मनोनित हुने कम्बोडियन फिल्म थियो । यसले कान्समा अवार्ड पनि जितेको थियो । ‘दी मिसिङ पिक्चर’ र यसपालिको ‘इराडिएटेड’ दुवैले इतिहास उधिन्छन् । ‘इराडियटेड’ इतिहासले छोडेका हानिकारक विकिरणको कथा हो । एक त यसमा अमेरिकाले जापानमाथि हानेको अणुबमका साँच्चिकै विकिरणका पनि कुरा छन् । दोस्रो हिटलरले जर्मनीमा चलाएका ग्यास चेम्बर र तेस्रो खमेरुज शासनले चलाएको जनताको दमन र हतियार प्रयोगको कुरा छ । ती तीनैवटा घटनालाई उनले मानव इतिहासका क्रूरतम गतिविधिका रूपमा चित्रण गरेका छन् । निकै मिहिनेत गरेर जम्मा पारिएका पुराना फुटेजको यसमा प्रयोग गरिएको छ । पर्दालाई नै तीनवटा भागमा बाँडिएको छ ।


युद्धका फुटेजको मोन्टाज संग्रहजस्तो फिल्ममा न्यारेटरले एक ठाउँमा भन्छन्, ‘आकाशको सबभन्दा माथि पीडा बस्छ ।’ खमेरुजले परिवार नै सखाप पारेका यी निर्देशकले डक्युमेन्ट्रीमा त्यस्ता थुप्र्रै मानिसका तस्बिर प्रयोग गरेका छन्, जो त्यस समय इतिहासबाट विलिन भएका थिए । साथमा उनले जापनी बुटो नृत्यलाई पनि विम्बात्मक रूपमा प्रयोग गरेका छन् ।


छोटो अन्तरवार्तामा मैले उनलाई सोधें– मानिसले इतिहासलाई सम्झिइरहनु किन आवश्यक छ ? जब कि राजनीतिक नेता र विद्वान्हरू त हिजोलाई बिर्सेर अघि बढ्नुपर्छ भनिरहन्छन् ?


‘हामीले पछाडि नहेर्दैमा इतिहास मेटिन्छ ?’ उनले प्रतिप्रश्न गरे, ‘मेटिँदैन । हिजो भएका गल्तीहरू आज सच्याउनका लागि तिनलाई जान्न बुझ्न जरुरी हुन्छ । गल्तीलाई गल्ती मान्नका लागि पनि तिनलाई हेर्नुपर्छ । तपाईंले बिर्सिनु भन्दैमा सबैले बिर्सिन्छन् ?’


उनले यसको विस्तारमा व्याख्या थाले, ‘नयाँ पेज पल्टाउनुअघि पहिलेको पेजमा लेखिएको कुरा पढ्नु आवश्यक हुन्छ । तपाईं सबै पेज खाली राखेर नयाँ पल्टाउन सक्नुहुन्न । त्यसो गर्नुभयो भने तपाईंले न हिजोलाई बुझ्नुहुन्छ, न आजलाई । भोलि गएर तपाईंका नातिनातिनाले सोध्लान् हाम्रा पुर्खा केकस्ता थिए ? उनीहरूले के गरेका थिए ? उनीहरूका साथ के भएको थियो ? तिनका लागि पनि आजका र हिजोका कुरा हामीले डकुमेन्ट गरिदिनुपर्छ ।’

त्यसैले फ्रान्समा सिनेम्याटोग्राफीको पढाइ सकेर कम्बोडिया फर्किएपछि उनले आफ्नो पहिलो डक्युमेन्ट्री थाइल्यान्ड कम्बोडिया सीमा क्षेत्रमा रहेको शरणार्थी शिविरमाथि बनाए, ‘साइट २’ । यस्तै शिविरमा कुनै बेला उनी आफैं शरणार्थी थिए ।


त्यसपछि पनि उनले खमेरुज र पोलपोटको शासनमाथि थुप्रै डक्युमेन्ट्री र डक्युड्रामा बनाए । २०१३ को ‘दी मिसिङ पिक्चर’ मा उनले समाचार र डक्युमेन्ट्री फुटेज प्रयोग गरेका छन् । जुनजुन ठाउँका जुन पात्रका फुटेज थिएनन् तिनका लागि उनले माटोका प्रतिमा (क्ले फिगरियन्स) प्रयोग गरेका थिए । यो फिल्मले कान्समा अन सर्टेन रिगार्डमा अवार्ड जितेको थियो भने, ओस्करमा विदेशी भाषाको फिल्ममा मनोनित भएको थियो । १९९४ को उनले बनाएको फिक्सन फिल्म ‘राइस पिपल’ ओस्करमा पठाइएको कम्बोडियाको पहिलो फिल्म थियो ।


पछिल्लो ४० वर्षदेखि उनी सिनेमासँग जोडिएका छन् । मैले उनलाई सोधें, ‘यति लामो अवधिमा फिल्म बनाउने कर्मले तपाईंलाई व्यक्तिका रूपमा कति परिवर्तन गर्‍यो ? उनले यो प्रश्नलाई खासै महत्त्व दिएनन्, ‘सायद गर्‍यो होला । कसरी परिवर्तन गर्‍यो म भन्न सक्दिनँ ।’


मेरो अर्को पनि प्रश्न थियो– के तपाईं फिक्सन फिल्मभन्दा डक्युमेन्ट्री नै बनाउन धेरै रुचाउनुहुन्छ ?


यसमा भने उनले हल्का व्याख्या गरे । ‘त्यस्तो होइन, यी दुवैका आफ्ना विशेषता छन् । तर, जब इतिहास वा जेनोसाइडजस्ता कुरा आउँछन्, मलाई डक्युमेन्ट्री नै चाहिन्छ ।’


एक छिन्को मौनतापछि उनले थपे, ‘मलाई त्यस्ता फिक्सन फिल्म मन पर्छन् जो वास्तविकतामा आधारित हुन्छन् । मलाई रोसोलिनी, डेसिका, सत्यजित रे जस्ता फिल्ममेकरका फिल्म मन पर्छन् । नियो रियालिस्टहरू मन पर्छन् । केन लोसको शैली पनि मन पर्छ । (ब्रिटिस फिल्ममेकर लोसका दुई फिल्म २००६ को ‘दी विन्ड द्याट सेक्स दी बार्ली’ र २०१६ को ‘आई, ड्यानियल ब्लेक’ ले कान्सको सर्वोच्च पुरस्कार पाम डिअर

जितेका थिए ।)


उनको अन्तरवार्ता लिनलाई लाउन्जको अर्को कुरामा टीभी पत्रकारहरू क्यामेरासहित तयार भइसकेका छन् । मसँगै एक अस्ट्रियन पत्रकार छन् । पछिल्ला ३० वर्षदेखि लगातार बर्लिन, क्यान्स र भेनिसजस्ता फेस्टिभलको रिर्पोटिङ गरिरहेकी उनका आफ्नैखाले प्रश्न छन् ।


रीति पानलाई साना देशका नयाँ फिल्ममेकरलाई केही सुझाव छ कि भनी सोध्दा उनको अनुहार उज्यालो भयो । ‘छ, डक्युमेन्ट्रीबाट फिल्म बनाउने काम सुरु गर्नु । किनभने, डक्युमेन्ट्रीले तपाईंलाई मानिसको नजिक पुर्‍याउँछ । मानिसको वास्तविक भोगाइसम्म पुर्‍याउँछ । उनीहरूबारे साँच्चिकै थाहा पाउने मौका दिन्छ । मानिसको वास्तविक कुरा थाहा भयो भने फिक्सन फिल्म बनाउन पनि सजिलो हुन्छ ।’


अन्तरवार्ताका लागि दिइएको समयसीमा घर्किंदै थियो । उनकी प्रेस एजेन्ट घरीघरी आएर यसको संकेत दिइरहेकी थिइन् ।


तैपनि, अन्त्यमा यसपालि संसारभर धमाका गरेको कोरियन फिल्म ‘प्यारासाइट’ बारे सोधिहालियो । उनले यसको छोटो जवाफ दिए, ‘मलाई यो फिल्म मन पर्‍यो । तर, म यस्ता फिल्म बनाउँदिनँ । यो मैले बनाउनेजस्तो फिल्म होइन ।’ कुर्सीबाट उठ्दै उनले भने, ‘हेर्दा के मन पर्छ र आफूलाई के बनाउन मन लाग्छ भन्नेचाहिँ फरक कुरा हुन् नि !’

प्रकाशित : फाल्गुन २८, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?