कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानवीले जितिन् किड्स प्लानेट अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्डोनेसियाको बालीमा आइतबार सम्पन्न ‘किड्स प्लानेट इन्टरनेसनल’ प्रतियोगितामा सिनियर गर्ल्सतर्फ काठमाडौं धुम्बाराईकी १२ वर्षीया सानवी स्वाँर विजेता बनेकी छन् । गत कात्तिक महिनामा रेडियन्ट इभेन्टले गरेको ‘किड्स अफ द इयर– १०१९’ सिनियरतर्फको उपाधि पाएसँगै सानवीले अन्तर्राष्ट्रिय स्तरको बालबालिका सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाएकी थिइन् । 

सानवीले जितिन् किड्स प्लानेट अवार्ड

‘किड्स प्लानेट इन्टरनेसनल’ को ग्रान्ड फिनालेमा नेवारी समुदायमा प्रख्यात लाखे नाचसँगै ‘झ्यालिन्‍चा’ को प्रस्तुति शैली र यसको परम्परागत कथनसमेत उनले खुलाएकी थिइन् । निर्णायक समूहको ‘नेपालमा गएर के भन्छौ ?’ भन्ने प्रश्नमा उनले ‘किड्स प्लानेटले बालबालिकालाई कसरी हिँड्ने, कसरी बोल्ने पक्षमा क्षमता अभिवृद्धि, आत्मविश्वास र सामाजिकीकरण गर्न सघाउ पुर्‍याएको छ । यही भन्छु’ जवाफ दिएकी थिइन् । उपाधिसँगै उनले ट्रफी, सिल्भर क्राउन, गिफ्ट ह्याम्पर र बालीका विभिन्न खेलमा सहभागी हुने अवसर पाइन् ।


बालविकास र बालप्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेपाल, इन्डोनेसिया र अफ्रिकी मुलुकको ८ देखि १४ वर्ष उमेर समूहका ४५ जना बालबालिकाबीच गरिएको प्रतिस्पर्धामा नेपालबाट ६ जना सहभागी थिए । सिनियर र जुनियर बालबालिकाबीच गरिएको प्रतिस्पर्धामा नेपालबाटै चिराग बजगाईंले सिनियर र प्रतीक भट्टले जुनियर बोयज समूहमा सोही अवार्ड प्राप्त गरे । पेमा डोमा लामाले बेस्ट ट्यालेन्ट, जयश अग्रवालले बेस्ट लिडरसिप, यकिन अर्यालले मोस्ट ट्यालेन्ट उपाधि पाए ।


हालै मुलुक फर्केकी सानवीले अवार्ड पाएर निकै खुसी भएको बताइन् । जोन डिबे स्कुलमा ८ कक्षा अध्ययनरत सानवीलाई गायन, फेसन डिजाइन र खेलकुदमा रुचि छ । उनी भविष्यमा सफल इन्टेरियर डिजाइनर बन्न चाहन्छिन् भने र मोडलिङमा पनि उनको इच्छा छ । दृढ भएर उनले भनिन्, ‘मैले हाम्रो कन्ट्री र कल्‍चरलाई बालीमा देखाएँ ।’ उनलाई ‘झ्यालिन्‍चा’ बारे उनकी आमा सभ्यता खड्काले बुझाएकी थिइन् । नेपालका तर्फबाट नौलो रूपमा प्रतिनिधित्व हुने गरी कुमारी र लाखेबारे धेरै प्रस्तुति भइसकेकाले कमैलाई थाहा भएको ‘झ्यालिन्‍चा’ लाई नै लिइएको खड्काले बताइन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?