झुपडी हुँदै डिजिटल हल
बुटवल — बुटवल उपमहानगरपालिका ११ का ५५ वर्षीय विक्रम गलामीले पाँच जना साथीसित मिलन चलचित्र मन्दिरमा पहिलोपटक हिन्दी चलचित्र ‘बोर्डर’ हेरेका थिए । त्यसपछि भने उनी हल पसेका छैनन् ।
‘२०५४ मा त्यो फिल्म हेर्दा दर्शक खचाखच थिए,’ उनले भने, ‘अहिलेका हल कस्ता छन्, देखेकै छैन ।’ लामो समय भारतमा बसेकाले नेपाली सिनेमाघरको तुलनामा भारतीय स्तरीय लाग्ने गरेको उनले सुनाए । त्यसबेला नेपाली हलमा बिजुली काटिएपछि अँध्यारो हुन्थ्यो । पुनः बत्ती आएपछि फिल्म हेरेको उनको सम्झना छ । ‘एक्लै गइन्थेन,’ उनले भने, ‘साथीभाइ जाँदा अँध्यारोमा चिच्याइन्थ्यो ।’ अहिले शनिबारबाहेक हल खाली देख्ने गरेको उनले बताए । कतिपयले युट्युब र टेलिभिजनमै मन परेको चलचित्र हेर्ने गरेकाले हलसम्म नआउने उनको बुझाइ छ ।
तिलोत्तमाका नारायण काफ्ले फिल्म भनेपछि हुरुक्कै हुन्थे । ‘नयाँ चलचित्र लागेको दिन साइकलमा कुदिहाल्थें,’ उनले भने, ‘बुटवलको हाटबजार छेउमा झुपडीमा चलचित्र देखाइन्थ्यो ।’ उनका अनुसार तपतप पानी चुहिए पनि चलचित्र रोकिन्थेन । त्यसबेला भुइँमा बोरा बिछ्याएर र बेन्चमा बसेर हेर्ने गरेको उनले सुनाए । उनका अनुसार त्यसबेला र अहिलेका हलको अवस्थामा आकाश जमिनको फरक छ । ४४ वर्षअघि फस्ट क्लासमा बसेर चलचित्र हेर्दा १ रुपैयाँ, मध्यममा ७५ पैसा र अन्तिममा ५० पैसा तिरेर हेर्न पाइने उनले बताए । उनले ‘कान्छी’, ‘माइतीघर’ जस्ता नेपाली चलचित्र हेरेको बताए । बुटवलका महेश्वरगोपाल लाकोलले पहिलो चलचित्र मन्दिर (हल) स्थापना गरेका थिए । त्यसबेला बटौली (पारि बुटवल) स्थित आफ्नै घरमा हल खोलेर मिलन प्रकाश चलचित्र मन्दिर सञ्चालन गरेका थिए । उक्त हल २०३१ सालसम्म सञ्चालन भएको उनका भाइ कमलले बताए ।
बटौलीको हल बन्द भएपछि ४२ वर्षअघि सिद्धार्थनगर नगरपालिका–३, खजहनामा पञ्चरत्न चलचित्र मन्दिर सञ्चालनमा आएको स्थानीय रवि पन्तले बताए । ‘विद्यालय पढ्दा त्यहीं फिल्म हेर्थ्यौं,’ उनले भने, ‘त्यो हल बन्द भएको २५ वर्ष भयो ।’ त्यसबेला चलचित्र उत्पादन कमै हुन्थे । भारतबाट नयाँ चलचित्र आउन समय लाग्ने भएकाले यहाँका मानिस साइकल चढेर नौतनवा, गोरखपुरसम्म जाने गरेको उनले बताए ।
२०३५/३६ मा बुटवलका द्वारिका उदयले घुम्ती चलचित्र हल सुरु गरे । द्वारिकाका छोरा प्रदीपले राजेश टुरिङ नाम दिइएको हललाई विभिन्न स्थानमा पुर्याएर चलचित्र प्रदर्शन गरिन्थ्यो । ‘एउटै नाममा लामो समय चलाउन नपाइने भएपछि ०३९ बाट लक्ष्मी टुरिङ नाम राखेर चलायौं,’ उनले भने, ‘त्यतिबेला मेला, बजार र गाउँमा चलचित्र देखाउने चलन थियो ।’ त्यसबेला नौ वर्षका प्रदीपले बुबाकै मोवाइल हलमा चलचित्र हेरेको बताए । लामो समय घुम्ती हल सञ्चालन गरेपछि द्वारिकाले ०४३ मा बुटवल चलचित्र मन्दिर स्थापना गरेका थिए । त्यसबेला प्रदीपका दाइ राजकुमारले बुबासँगै हल हेर्थे । अध्ययन गरिरहेका प्रदीपले सघाउन थाले । उक्त हलमा १ हजार ७३ जना अट्ने क्षमता थियो । बुटवलवरिपरिका गाउँबाटै पनि मानिस बस चढेर फिल्म हेर्ने आउने गरेको प्रदीपले सम्झिए । त्यतिबेला एक करोड रुपैयाँ लगानीमा बुटवल चलचित्र मन्दिर खोलेपछि कपिलवस्तुको कृष्णनगर र नवलपरासीको सुनवलमा पनि उदयकै लगानीमा हल सञ्चालनमा आएका थिए । तर, द्वन्द्वकालको सुरुवातपछि हलमा मान्छे आउन कम भयो । कपिलवस्तु र सुनवलको हल बेचेर बुटवलको मात्र चलाएको प्रदीपले सुनाए । कान्छा छोरा प्रदीपले ०७३ सालबाट पुनः चलचित्र मन्दिरमा लगानी गरे । टुके प्रोजेक्टर, सराउन्डिङ साउन्ड, एसी, लक्जरियस सिट रहेको हलमा बुधबार द्वारिका डे स्वरूप १ सय ५० रुपैयाँ मात्र टिकट शुल्क लाग्छ । अन्य बेला २ सय ५० रुपैयाँ पर्छ ।
चलचित्र मन्दिर धमाधम खुल्न र सञ्चालनमा आउन थालेपछि एकै ठाउँमा रहेको जनसंख्या हेरेर मात्र चलचित्र हल खोल्ने प्रावधान गराउनुपर्ने उदयको मत छ । ‘भाषाभाषी संरक्षणका लागि बनेका चलचित्रलाई द्वारिका उदयमा न्यून शुल्क लिएर सञ्चालन गर्न सक्ने व्यवस्था भएकाले जातजाति र भाषासँग सम्बन्धित सबैलाई त्यस्ता चलचित्र उत्पादन गर्न पनि उनले सुझाएका छन् । सिद्धार्थनगरकी कल्पना सिंखडाले ‘कालीदास’ चलचित्र हेर्न हल जाँदा हलको बनावट उनलाई सामान्य लाग्थ्यो । थोत्रा कुर्सी, छिर्नेबित्तिकै ठुस्स गनाउने दुर्गन्धित हलमा कोच्चिएर फिल्म हेर्नुपर्थ्यो । ‘हलभित्र असभ्य भाषा प्रयोग हुन्थ्यो,’ उनले भनिन्, ‘परिवारसँग चलचित्र हेर्न जाने वातावरण नै थिएन ।’ अहिले उनी चलचित्र ‘आमा’ हेर्न गएको द्वारिका उदय सिनेमा हल सोचेभन्दा बेग्लै पाएको बताइन् ।
२०४१ मा बुटवलको राजमार्ग चौराहामा सञ्चालनमा आएको कालिका चलचित्र मन्दिर अहिले पनि चलिरहेको छ । हरिप्रसाद दुवाले त्यसबेला यहाँका मानिस चलचित्र हेर्न गोरखपुरसम्म जाने गरेको देखेर सिनेमा हल खोले चल्छ भन्ने लागेर लगानी गरेको उनका छोरा कपिल दुवाले बताए । त्यसै बेला मिलन चलचित्र मन्दिर पनि बुटवलको मिलनचोकमा सञ्चालनमा आएको थियो । उक्त चलचित्र मन्दिर पनि अहिलेसम्म चलिरहेको छ ।
रूपन्देहीको सिद्धार्थनगरमा मनोरन्जनको माध्यम बन्न ०५८ सालमा खुलेको पद्मश्री चलचित्र मन्दिरमा अहिले दर्शकको चाप खस्केको छ । यसका सञ्चालक राजु पौडेलले प्रविधिको विकासले सञ्चार क्षेत्रले फड्को मार्दा चलचित्र हातहातमा पुग्ने गरेको बताए । कासीपछि बुटवलमा डिजिटल माध्यमको पहिलो भयु सिनेमा हल सुरु भयो । अमरपथस्थित सिंह कम्प्लेक्समा सञ्चालित हलले दर्शकको आकर्षण राम्रै बटुल्यो । सिद्धार्थनगरमा सञ्चालित कासी सिने प्लेक्स आउँदो चैतमा ६ वर्ष पुग्दैछ । मोफसलकै पहिलो मल्टिप्लेक्सका रूपमा स्थापित यस सिनेमा घरमा ढाइ करोड रुपैयाँ लगानी गरेको सञ्चालक ओम जैशीले बताए ।
त्यस्तै देशैभरि शाखा विस्तारमा लागिरहेको क्यूएफएक्स सिनेमाजको मल्टिप्लेक्स हल बुटवलमा खुलेपछि दर्शकको ध्यान केन्द्रित गरेको छ । ‘सुतेरै चलचित्र हेर्न पाइने भएपछि बरु अलि महँगै भए पनि केही हुँदैन,’ क्यूएफएक्सबाट चलचित्र हेरेर फर्किएका प्रकाश मल्ल ठकुरीले भने, ‘यस्तो हल भयो भने बच्चाबच्चीलाई र वृद्धवृद्धालाई अझै गज्जब ।’ उनले यो हल सञ्चालनमा आएदेखि अन्यमा चलचित्र नहेरेको बताए । चलचित्रको पर्दाबाट पात्र आँखैअगाडि आएजस्तो हुने, जताबाट सुने पनि क्लियर आवाजले यसप्रति लोभ्याएको उनले सुनाए ।
गत मंसिरबाट बुटवलको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्सले नयाँ प्रविधिबाट मानिसलाई चलचित्र हेर्ने वातावरण मिलाएको क्यूएफएक्सका अप्रेसन म्यानेजर सुशील मानन्धरले बताए । बुटवलमा क्यूएफएक्सका दुइटा पर्दा सञ्चालनमा छन् ।
प्रकाशित : फाल्गुन १५, २०७६ ०९:२४