२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

आमा अनुभव 

जीवनको उत्तरार्द्धमा विवाह गरे पनि अभिनेत्री मिथिला शर्माले मातृसुख अनुभव गरेकी छैनन् 
सुशील पौडेल

काठमाडौँ — फिल्म ‘विश्वास’ मा तीन मिनेटको नृत्य शिक्षकको भूमिका निर्वाह गर्दै फिल्ममा होमिएकी अभिनेत्री मिथिला शर्माले तीन दशकभन्दा लामो करिअरमा सयमाथि फिल्म खेलिसकिन् । प्रायः चरित्र अभिनयमा रमाइरहेकी मिथिला यतिबेला ‘आमा’ की आमा भएर आएकी छन् । निर्देशक दीपेन्द्र के. खनालले उनलाई शीर्ष भूमिकामा प्रस्तुत गरेका हुन् । शुक्रबार फिल्म रिलिजको पूर्वसन्ध्यामा भेटिएकी अभिनेत्री शर्मा फिल्मलाई लिएर उत्साहित थिइन् ।

आमा अनुभव 

‘एउटा कलाकारलाई आफ्ना हरेक फिल्मको रिलिजमा एक्साइटमेन्ट हुन्छ नै । फरक यत्ति हो, ति फिल्ममा बोनसको रूपमा मात्रै हुन्थ्यौं । दर्शकलाई हामी फिल्ममा छौं भन्ने पनि कमै थाहा हुन्थ्यो,’ शर्माले कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘मैले फिल्ममा छोरी, बहिनी, दिदी, भाउजूका चरित्रमा निकै फिल्म खेलें । यसपटक आमाको नयाँ परिचयमा छु ।’


१० वर्षको उमेरमै २०३० सालदेखि रंगमञ्चमा देखिएकी अभिनेत्री शर्मा ‘आमा’ का लागि पहिलो रोजाइमा भने थिइनन् । सूर्यमाला खनाललाई लिएर निर्देशक खनालले केही दृश्य छायांकनसमेत गरिसकेका थिए । तर पूरा फिल्म वर्षामा खिच्ने तय गरिएको ‘आमा’ को छायांकन लम्बिने छाँटकाँट देखिएपछि सूर्यमालाले लामो समय दिन नसक्ने भइन् । अमेरिकामा रहेकी गर्भवती बुहारीलाई भेट्न जानुपर्ने थियो । त्यसपछि मिथिला शर्माले आमाको भूमिका पाइन् । ‘सौभाग्यले मेरो भागमा परेको हो,’ दीपेन्द्रको ‘पशुपतिप्रसाद’ दोहोर्‍याएर हेरेकी मिथिलाले उनैको फिल्म नखेल्ने कुरै थिएन, ‘उहाँले नै ‘आमा’ बनाउँदै हुनुहुन्छ, सुटिङ भइरहेको छ भन्ने पनि थाहा पाएको थिएँ । सूर्यमालाजी बुहारीलाई भेट्न अमेरिका जानुपर्ने भएपछि मलाई प्रस्ताव गरियो । स्क्रिप्ट पाएँ । दीपेन्द्रजीको लेखाइमा कताकता मैले शिव रेग्मीजी, कताकता नवल नेपालजीको जस्तो मार्मिकता पाएँ । चरित्रलाई पढें । पछि खेलें । उता, सूर्यमालाजी हजुरआमा बन्नुभयो, म यता ‘आमा’ बनेँ ।’


अभिनेत्री शर्मालाई ‘पशुपतिप्रसाद’ औधि मन परेको फिल्म हो । त्यसमा एक कर्तव्यपरायण छोराले आफ्नो बाबुलाई वैतरणी पार गर्न गरेको संघर्ष दर्साइएको छ भने ‘आमा’ ले पनि सन्तान र आमाबीचको सम्बन्धलाई नै व्यक्त गरेको छ । यसमा पनि सन्तानको कर्तव्यकै विषय प्रमुख छ । तर अभिनेत्री शर्मा भने यी दुई फिल्मबीच तुलना नहुने जिकिर गर्छिन् । बरु ‘आमा’ बारे नै भन्छिन्, ‘यो हामीले दिनरात भोगिरहेको आधुनिक समाजको एउटा पाटो हो । प्रत्येक व्यावहारिक मान्छेका लागि फिल्म सान्दर्भिक लाग्नेछ ।’


फिल्म मनोरञ्जनकै लागि हेरिन्छ । तर मिथिला शर्मा आँखाबाट आँसु झारेर होस् वा आफूले भन्न चाहेर पनि भन्न नसकेका कुरालाई फिल्ममार्फत हेरेर मन हलुंगो पारेर पनि मनोरञ्जन लिन सकिने जिकिर गर्छिन् । ‘म स्वयं यस्तो खालको मनोरञ्जन लिन रुचाउँछु । ‘आमा’ यस्तैमध्येको एक फिल्म हो,’ उनले भनिन् ।


अभिनेत्री शर्माको आमासँगको सम्बन्ध भने अनौठो छ । उनी आफ्ना तीन आमा भएको जिकिर गर्छिन् । आमा पूर्णलक्ष्मी शर्माले जन्म दिइन् । ठूलीआमा देवीका शर्माले हुर्काइन् र दिदी मधुरिका शर्माले संसार चिनाइन् । ‘आमा मैले थाहा नपाउँदै बित्नुभयो । आमाको दिदीले हुर्काउनुभयो । त्यसैले म कर्म दिने आमासँग धेरै नजिक छु,’ जन्म दिनुमा भन्दा कर्म दिनुलाई महत्त्वपूर्ण ठान्ने अभिनेत्री शर्माले तर्क गरिन्, ‘मातृ हृदयले सिन्चेको, हुर्काएको सन्तान अझ नजिक हुन्छ । आफैंले जन्माएको सन्तानप्रति कर्तव्य निर्वाह गर्नुपर्ने सामाजिक डर, बाध्यता पनि हुन्छ । तर मातृहृदयले हुर्काएको सन्तानमा केवल आमाको ममता हुन्छ । त्यसमा ग्रहणतत्त्व बढी हुन्छ ।’ आमाको भूमिकामा दिदीलाई पनि कम नदेख्ने शर्माले थपिन्, ‘तीनवटा आमा पाउने म कति भाग्यमानी ?’


तर जीवनको उत्तरार्द्धमा विवाह गरे पनि मिथिला शर्माले मातृसुख अनुभव गरेकी छैनन् । तर उनी आफूप्रतिको यस्तो अभिव्यक्तिलाई ठाडै नकार्छिन् । किन त ? भन्छिन्, ‘ईश्वरले मभित्र यति धेरै मातृत्व भरिदिएका छन् कि आफ्नै कोखबाट सन्तान नजन्माए तापनि म धेरै सन्तानकी आमा हुँ । ती सन्तानलाई पनि मैले जन्माएको भए सायद यति माया र साथ पाउँदिन थिएँ होला । नजन्माउँदा पनि त्यति नजिक र माया पाएकी छु । यसैमा खुसी छु ।’ उनले व्यक्तिगत रूपमा धेरै बालबच्चालाई सन्तानका रूपमा पालिरहेकी छन् । तर यसलाई प्रचारबाजी गर्न भने चाहँदिनन् ।


मिथिलाकी दिदी भन्नुहुन्छ रे, ‘एउटा सन्तान जन्मायो भने त्यही एउटा सन्तानलाई हुर्काउने र पढाउने मात्र ध्याउन्न हुन्छ । तर सन्तान नजन्माईकनै पनि कसैलाई पढाइन्छ, हुर्काइन्छ र सफलतामा पुर्‍याइन्छ भने त्यो जस्तो महान् काम अरू केही हुन सक्दैन । एउटा आत्माले अर्को आत्मालाई चिनेर मार्गदर्शन गर्नुजस्तो ठूलो धर्म अरू केही पनि हुन सक्दैन ।’ अभिनेत्री शर्माको जीवनमा पनि यही कुराले निकै प्रभाव पारेको छ ।


फिल्मको ट्रेलरपछि धेरै जनाले आमालाई फोन गरेको सुनाउँदा मिथिला खुसी भइन् । ‘अझ फिल्म नै हेरेपछि त पक्कै पनि टाढा रहेका छोराछोरीहरू नजिक हुनेछन् भन्ने विश्वास छ । कता कता रुमल्लिरहेका सन्तानलाई फिल्मले आमा सम्झाइदिनेछ,’ त्यसो त मिथिला स्वयं नै ‘आमा’ को ट्रेलर हेरेपछि सिधैं आमालाई भेट्न पुगेकी थिइन् । ‘आमा धेरै केही चाहदिनन् । केवल एक पल, एक क्षण, एक शब्द खोज्छिन् । सन्तानहरू उडेर जहाँसुकै जाऊन्, तर एक कल फोन गरिदिँदा संसार जितेजस्तो अनुभव गर्छिन्,’ उनी सन्तान र आमाबीचको सम्बन्ध लट्टाई र चंगाको जस्तै हुनुपर्ने तर्क गर्छिन्, ‘तर चेट् चाहिँ हुनुभएन ।’


मुग्लान जानुपर्ने वा बिदेसिनुपर्ने संस्कृति नयाँ हैन । पहिले मदनहरू मुना र आमालाई छोडेर भोट जानुपर्थ्यो । अहिले मदनसँगै मुनाहरू पनि आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि बिदेसिनु परिरहेको छ । तर मिथिला टाढा हुनुमा समस्या ठान्दिनन् । ‘कर्तव्य निर्वाह गर्न टाढियो भन्दैमा भावनात्मक, आत्मीय सम्बन्ध टुट्छ भन्ने छैन । टाढिनु अहिलेको आधुनिक समाजको एउटा बाध्यता हो । टाढिनु भनेको अलग्गिनु हैन । स–शरीर नभेट्दैमा हृदयमा आमाबाबु हुँदैनन् भन्ने हैन,’ उनले फेरि चंगा र लट्टाईको उदाहरण सम्झाउने गरी थपिन्, ‘बाआमा भनेको लट्टाईको धागोजस्तै हुन् । चंगालाई माथि–माथि उड्न सजिलो होस् भन्नका लागि धागो दिँदै जाने । सन्तानले आफ्नो कर्तव्य कति पालना गर्छन् वा गर्दैनन्, अलग कुरा हो तर प्रत्येक आमाबाहरू सन्तानको प्रगतिसँग रमाउँछन् ।’


छायांकन गरिरहँदा पनि धेरै ठाउँमा मनमा गाँठो पारेकी अभिनेत्री शर्माले भनिन्, ‘सुटिङमा ‘आमा’ चरित्रलाई छोडेर आएपछि पनि मिथिला शर्मालाई नै सम्हाल्न गाह्रो पर्थ्यो । आफू भएरै भक्कानिएको छु । मलाई लाग्छ, फिल्मले संवदेनशील मान्छेलाई हल्लाउनेछ ।’ पटकथासमेत आफैंले तयार पारेका निर्देशक खनालले ‘आमा’ आफ्नै आमालाई रिलेट गरेर लेखेको बताउँछन् । ‘सानोछँदा आमालाई यसो गर्छु, उसो गर्छु, विश्व घुमाउँछु भनेर सोचिन्थ्यो । तर अहिले केही गर्न सकिरहेको छैन । आफ्नै समस्यामा अल्झिइएको छु । झन् बिहे अनि सन्तान भएपछि आफ्नै जीवनमा रुमल्लिने रहेछ । अनि आमा त छुट्दै छुट्दै जाने रहिछन्,’ निर्देशक खनालले ‘आमा’ आफ्नै आमासँग बसेर हेर्ने योजना बनाएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?