१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रिलजस्तै रियल लाइफ

बुद्धि तामाङ भन्छन्– पैसा सोचेभन्दा बढी कमाएँ, दर्शकको माया मेरा लागि बोनस

काठमाडौँ — नयाँ फिल्म ‘धुलो’ मा बुद्धि तामाङको भूमिका छ– गाडा चलाउने र भारी बोक्ने । दिनभर पसिना नबगाए साँझ–बिहान छाक टार्न नसक्ने । राजधानीका साँघुरा गल्लीहरूमा यो चरित्रमा बाँचिरहँदा बुद्धि झसङ–झसङ हुन्थे । चरित्रले नखोज्ने वास्तविक जीवनको ‘फ्ल्यासब्याक’ ले घरी–घरी चिमोट्थ्यो । दुई दशकअघि यस्तै कष्टकर परिस्थितिबाट गुज्रिएका थिए । त्यो पनि एकाध दिन होइन, लगातार आठ वर्ष । त्यो ‘फ्ल्यासब्याक’ सुरु हुन्छ, विसं. २०५६ बाट । 

रिलजस्तै रियल लाइफ

काभ्रेको तिमालबाट काठमाडौं छिर्दा बुद्धिसँग दुई सपना थिए– पैसा कमाउने र पढ्ने । तर, यहाँ आउना आमालाई पाठेघरको समस्याले च्याप्यो । एक्लो छोरो । उपचार खर्च जुटाउनै पर्ने जिम्मेवारी आइलाग्यो । र, छुट्यो पढाइ ।


पहिलो काम थियो– इँटाभट्टामा । मंसिरदेखि वैशाखसम्म इँटा बनाउने सिजन । बिहान २ बजे भट्टामा पुगिसक्नुपर्ने । खाल्डोमा पस्यो, भिजाएर राखेको माटो कोदालीले खनेर बाहिर निकाल्यो । त्यसपछि इँटा बनायो, सुकायो, चाङ लगायो । त्यतिबेला एउटा इँटा बनाएको दुई रुपैयाँ आउँथ्यो, दैनिक एक हजार इँटा बनाउँथे । धेरै कमाउने होडमा लगातार १६ घण्टा खटिन्थे । ज्यान लिखुरे, कद होचो, तैपनि बलियो थिए । गाउँमा हलो जोतेर खक्कु भइसकेको । उनी सम्झन्छन्, ‘बच्चादेखि बूढाबूढीसम्म मरीमरी खटिरहेका हुन्थे, म त जवान थिएँ । उनीहरूलाई हेरेपछि मेरो दुःख हराउँथ्यो ।’


तीन सिजन भट्टामा काम गरे, आमालाई निको भयो । केही पैसा जम्मा भयो । त्यसपछि उनलाई लागेछ, कतिन्जेल यहीं रुमलिने ? जति गरे पनि भट्टाको मालिक हुने त होइन । अनि, बन्धनबाट मुक्त हुन आफ्नै व्यापार सुरु गरे । व्यापार कस्तो भने, काँधमा डालो राखेर बदाम बेच्दै हिँड्ने ।


बिहान सबेरै सूर्यविनायकस्थित डेराबाट निस्कन्थे, चाँगुनारायण, शालीनदी, साँखु, हुँदै जरसिंहपौवासम्म पुग्थे । प्रायः घर फर्कंदा रातको ९ बज्थ्यो, डालो रित्तो हुन्थ्यो । एउटै रुटभन्दा नयाँ–नयाँ गाउँ चहार्न मन पराउँथे । यही चक्करमा कहिलेकाहीं बाटो भुल्थे, मान्छे नै नभएको ठाउँ पुग्थे, बदाम बिक्दैन्थ्यो, दुःख मात्र हुन्थ्यो । उनी हाँस्दै भन्छन्, ‘तैपनि निराश हुन्नथें, नौलो ठाउँ पुगियो भनेर दंग पर्थें ।’ बदामपछि त्यसैगरी डुलेर बरफ बेचे, साइकलमा घरघर मसला पुर्‍याउन थाले ।


स्वतन्त्रता त थियो तर खटाइअनुसार नाफा हुन्नथ्यो । फेरि उनी सोच्न थाले, यसरी डुल्दै जति व्यापार गरे पनि प्रगति हुन्न । सटरमा पसल खोल्न सक्ने होइन । बरु जागिर खान पाए आनन्द हुन्थो ।

तर, जागिर कसले दिने ?


एक साथीसँग गुनासो पोखे । तीनपछि साथीले खुस खबर सुनायो । जागिर थियो, होटलमा भाँडा माझ्ने । साथीले आस देखाउँदै थप्यो, ‘राम्रोसँग भाडा माझ्देउ भने प्रमोसन हुन्छ ।’ बुद्धिले रत्तिभर नअन्कनाई ‘हुन्छ’ भनिदिए । होटल रहेछ, जमलमा । साहुजीले सोधेछन्, ‘यतै नजिक बस्ने भए मात्र काम लगाउँछु, टाढाबाट आउनुपर्ने हो भने गाह्रो हुन्छ ।’ उनले साहुलाई ढाँटे, भक्तपुर बस्छु भनेनन् । जागिर पक्का । तलब आठ सय । विसं. २०५८ तिरको कुरा हो यो । बिहानै होटल पुग्यो, जुठो भाँडाको डंगुर हुन्थ्यो, माँझ्यो, त्यहीं खायो, फेरि माझ्यो, एकछिन फुर्सद नहुने । काम सकिँदा आठ बज्थ्यो । घर कसरी फर्कने ? गाडी पाइन्नथ्यो । जमलबाट ठमठम हिँड्थे, कोटेश्वरसम्म बाटो फराकिलो थियो, अरू मान्छे भेटिन्थे, बत्ती बलिरहेका हुन्थे ।


कोटेश्वर कटेपछि भने बाटो साँघुरो र अध्याँरो । मान्छे होइन, कुकुर भेटिन्थे । कुकुरले लखेट्थ्यो, बेतोड दौडिन्थे, मुटु फुट्लाजस्तो हुन्थ्यो । तैपनि कुकुरले नलखेटेको दिनचाहिँ सकस हुन्थ्यो । किन ? उनी हाँस्दै भन्छन्, ‘कुकुरले लखेट्यो भने छिटो कोठा पुगिन्थ्यो, नत्र ढिला हुन्थ्यो । त्यसैले बाटोमा जहिल्यै कुकुर भेटियोस्जस्तो लाग्थ्यो ।’ जुन दिन थाकेर लखतरान हुन्थे, तीन घण्टा हिँड्ने साहस हुन्न्थ्यो, रत्नपार्कको मेचमै सुतिदिन्थे । ती कठोर पलहरू सम्झँदा उनका आँखा रसाए ।


टल्काएर भाँडा माझेपछि साहुजी प्रशन्न भए । साथीले भनेजस्तै उनको बढुवा भयो, होटलमा चाहिने सामान किनमेल गर्ने र खाना पकाउने जिम्मेवारी पाए । अलि समयपछि अर्को रेस्टुरेन्टले बोलायो । तर बिस्तारै उही भाव पलाउन थाल्यो, जति काम गरे पनि होटलको मालिक बन्न सक्दिनँ । त्यसैले यहाँ खटिरहनुको अर्थ के ? त्यसपछि होटल छोडिदिए । दुई/चार दिन डुलेरै बित्यो ।


त्यसपछि अर्को जागिरको अफर आयो, ट्रेकिङ एजेन्सीबाट । काम थियो, भारी बोक्नुपर्ने । पर्यटकसँगै पहाडी र हिमाली भेग जान पाउने भएपछि भरिया बन्न राजी भए । पहिलो यात्रा थियो, छो–रोल्पाको । दोलखा बजारसम्म गाडीमा गए । त्यसपछि ४० किलोको सामान बोकेर उकालो लागे । अनवरत भारी बोकिरहँदा ज्यान काँपिरहेको हुन्थ्यो, पसिनाले निध्रुक्कै हुन्थे, स्याँस्याँ हुन्थ्यो तर ध्यान कति दुखिरहेको छ भन्नेतिर हुन्नथ्यो । नाम्लोले चेपेको मुन्टो बंग्याउँदै गाउँ नियाल्थे, बटुवा भेट्नासाथ सोधखोज गर्थे । अनि भारी बिसाएपछि खल्तीबाट सानो डायरी निकालेर अघि छिचोलेका गाउँहरूको नाम टिप्थे । ‘भारी बोक्दाको पीडाभन्दा सुन्दर ठाउँ देख्न पाउँदाको सन्तुष्टि ज्यादा हुन्थ्यो,’ बुद्धि रमाउँदै भन्छन्, ‘छो–रोल्पा पुगेर हिउँ छुन पाएपछि त स्वर्गमा पुगेजस्तो भयो । म खुसी भएको देखेर पर्यटकहरू छक्क पर्थे ।’


भन्नलाई कामका आधारमा कसैलाई भेदभाव गर्नुहुन्न भनिन्छ । तर, व्यवहार ठ्याक्कै उल्टो छ हाम्रो समाजको । बुद्धिले तिनताका जति काम गरे, ती ‘तल्लोस्तर’ मा दरिन्थ्यो । कतिको हेपिनुपर्थ्यो ? यो प्रश्न खस्न नपाउँदै जवाफ फर्काए, ‘हेप्नलाई पहिले मान्छेझैं ठान्नुपर्‍यो नि ! धेरैले मान्छे नै मान्दैन्थे, अनि कसरी हेप्नु !’ यति भनेर रोकिए । लाग्थ्यो, उनको दिगागमा ती उकुसमुकुसपूर्ण क्षणहरू सल्बलाइरहेका थिए । एकछिन पछि भने, ‘कोहीचाहिँ एकदमै हेप्थे, दासजस्तै व्यवहार गर्थे । रिस त उठ्थ्यो तर बोल्ने आँट हुँदैन्थ्यो ।’ अन्य कामको तुलनामा भरिया हुँदा त पाइलैपिच्छे अपमान सामना गर्नुपर्थ्यो तर उही पैसा र घुम्ने लोभले सहनुको विकल्प हुन्थेन ।

सगरमाथा आधार शिविरबाट फर्किएपछिचाहिँ उनलाई भारी बोक्ने काम पनि अमन भएछ । हिउँले डढेर अनुहार कालो भएको थियो, ओठहरू फुटेका थिए । त्यही हुलियामा गाउँदेखिको साथी भेट्न सामाखुसी पुगे । साथीले अप्रत्याशित रूपमा सोध्यो, ‘नाटक खेल्ने हो ?’ स्कुल पढ्दा गाउँमा उनले नाटक गरेको त्यो साथीले देखेको थियो । ‘नाटक’ भन्नासाथ बुद्धि ‘नोस्टाल्जिक’ भए । घरी यता, घरी उता गर्दागर्दै जीवनको २३ वर्ष बितिसकेको थियो । स्थिरता र आत्मिक सन्तुष्टिको खोजीमा थिए । त्यसैले साथीको प्रस्ताव स्विकारे । उसैले डबली नाट्य समूह पुर्‍याइदियो ।


२०६३ मा डबली छिरेका थिए । ‘हैट’ का रूपमा हिट भए, २०७० बाट । यसबीच बुद्धिले अभावका अग्ला पहाडहरू छिचोले । भोकै कति बसे, ऋणले कति सतायो, भाडा नभएर काठमाडौंका सडकहरू कति पैदल नापे, एउटै कपडा लगातार कति दिनसम्म लगाए, घरबेटीलाई भाडा दिन नसकेर कति लुकीलुकी हिँडे... आदि–आदि, लेखाजोखा छैन । प्रायः सम्झदैनन् तर ‘धुलो’ को सुटिङ गरिरहँदा ती पलहरूले अचाक्ली पछ्यायो, सतायो । भावुक हुँदै सुनाए, ‘धुलो फिल्ममा कलाकार बुद्धि तामाङभन्दा व्यक्ति बुद्धि तामाङ हाबी छ ।’


बर्सेनि बुद्धि अभिनीत करिब एक दर्जन फिल्म प्रदर्शन हुन्छन् । प्रतिफिल्म औसत ४ लाख पारिश्रमिक लिन्छन् । लाखौं प्रशंसक कमाएका छन् । मण्डला नाटकघरको सेयर होल्डर हुन् । उनकै शब्दमा, पैसा सोचेभन्दा ज्यादा कमाए । दर्शकको माया बोनस हो ।

अनि पढाइ नि ? छुट्यो ?

त्यसको सानो कथा छ ।

डबलीमा उनी तानिनुको मुख्य कारण थियो, त्यहाँको पुस्तकालय । अफिसभर किताब देखेपछि उनमा पढ्न नपाएको भोक जाग्यो । त्यसपछि डबलीका पुष्कर गुरुङसँग बिन्ती बिसाए– ‘अफिसमै बस्छु, सबै किताब पढ्छु । त्यसको बदलामा अफिस सफा गर्ने, चिया पकाउने, सबै काम गर्छु ।’ पुष्करले नाइँ भन्ने कुरै थिएन ।


अर्थात्, पढाइ पनि अधुरो रहेन । नभएको प्रमाणपत्र हो, ज्ञान त छ नि । पढाइ भनेको सर्टिफिकेट हो र !

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?