३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राजेश हमालको कथा : आफ्नो बाटो आफैं खन्दै

रीना मोक्तान

काठमाडौँ — कुनैबेला नेपाली भाषामा वर्षभरी एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुङ्गो थिएन । यो क्षेत्रमा भविष्य खोज्नु नै मुर्खता मानिन्थ्यो । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेश हमालको फिल्म यात्राले ३३ वर्ष पूरा गरेको छ ।

राजेश हमालको कथा : आफ्नो बाटो आफैं खन्दै

यात्रा यति लामो होला भन्ने उनले कल्पनासम्म पनि गरेका थिएनन् ।

तीन दशकमा राजेश हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेतामात्र बनेनन् 'हिरो'को पर्याय नै बने । आज राजेशले खनेको बाटोमा यात्रा गर्ने अनगिन्ती यात्रीहरु थपिएका छन् । उनी आफ्नो विगतलाई अद्भूत यात्राको संज्ञा दिन्छन् ।

पहिलो पाइलामै ठेस

यात्रा लामो भए पनि पहिलो पाइलोमै हमाललाई ठेस लागेको थियो । २०४४ सालमा निर्देशक दीपक रायमाझीको फिल्म 'भाग्यरेखा'मा राजेश पहिलोपटक हिरो बनेका थिए । रुसमा फिल्म पढेर फर्किएका रायमाझी नेपालमा खासै नबनेकोजस्तो फिल्म बनाउन चाहन्थे । यसैले उनले अग्लो कद र लामो कपाल भएका आफ्ना भान्जा राजेशलाई हिरो बनाए । हिरोइन थिइन्- कृष्टि ।


'निर्देशकलाई मेरो अभिनय मन परेन,' नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा मेरो कथा सेसनमा आफ्नो कथा सुनाउँदै राजेशले भने, '१० प्रतिशत छायांकन सकिएको फिल्मबाट निर्देशकले मलाई निकालिदिनुभयो । यो व्यक्तिले अभिनय गर्न सक्दैन, सक्षम भएन भन्नेहरु थिए ।' उनले पहिलो रिजेक्सन सुनाए 'सुटिङ त गर्‍यौं तर तपाईँ यो फिल्मबाट हट्नु पर्‍यो भनेर मलाई निर्देशकले निकाल्नुभयो ।'

फिल्ममै भविष्य खोजेर आएका उनी त्यसबाट हतोत्साही भने भएनन् । कलाकार बनेरै छोड्ने अठोट लिए । २ वर्षपछि जसले उनलाई पहिलो फिल्मबाट हटाएका थिए त्यही टिमले अर्को फिल्मको लागि अफर गरे । पहिलेको व्यवहार दोस्रो फिल्ममा नदोहोर्‍याउने बाचासहित फिल्मको छायांकन सुरु भयो । त्यो फिल्म थियो, 'युगदेखि युगसम्म' ।

पहिलो फिल्म गर्दासम्म पनि यात्रा कहाँ पुगिएला भन्ने अन्यौल थियो । राजेशले फिल्म सुरु गर्दा भर्खर १२ वटा जति फिल्म बनेको थियो । तर उनको पहिलो फिल्मले नसोचेको सफलता पायो । त्योबेला पहिलो फिल्म गरे पनि दोस्रो फिल्म आउला नआउला निश्चित थिएन ।

बिस्तारै फिल्महरु बन्न थाले । त्यसपछि राजेश पनि लगातार फिल्ममै व्यस्त हुन थाले । पहिलो फिल्मले यस्तो क्रान्ति ल्याएको राजेश दाबी गर्छन् । 'अहिले फर्केर हेर्दा गर्व लाग्ने कुरा एउटै हो । मेरो पहिलो फिल्मले नेपाली फिल्म उद्योगमा सानो भए पनि क्रान्ति नै गर्‍यो,' उनले गमक्क पर्दै सुनाए ।

पहिलो फिल्म प्रदर्शन भएको १ वर्षपछि त उनी १७/१८ घण्टासम्म फिल्ममा व्यस्त हुने भइसकेका थिए । दिनमा तीनवटा फिल्मको छायाङ्कन भ्याउँथे । १२ वर्षसम्म यसरी नै लगातार फिल्म गर्नमै खटिरहे राजेश । कतिले उनलाई अहिले सोध्ने गर्छन्, किन यति धेरै फिल्म गर्नु भयो ?

'आजको चस्मा लगाएर विगतका कुराहरु सोध्नुहुन्छ उहाँहरु । हामीले के सम्झनुपर्छ भने त्यो बेलाको परिस्थितिलाई त्यहीबेलाको वातावरण र परिस्थिति अंगालेर प्रश्न गर्नुपर्छ, 'उनी भन्छन्, 'पहिलो फिल्मपछि दोस्रो कहाँबाटआउला भन्ने अन्यौल थियो । त्यसरी अगाडि बढेको व्यक्तिले के सोच्छ भने– धेरै फिल्म गरुँ ।'

धेरै फिल्म बने, इन्डस्ट्री फस्टाउन सक्छ भन्ने मान्यता थियो । त्यसैले उनी लगातार एकपछि अर्को फिल्म गर्नमै लागि परे ।

प्राविधिक जनशक्ति

राजेशले फिल्ममा काम सुरु गर्दा भारतबाट फिल्मका प्रावधिक बोलाइन्थ्यो । चाहे त्यो क्यामेरा पर्सन होस् या मेकअप आर्टिस्ट । तर, यसरी संख्यात्मक हिसाबले फिल्महरु बढ्दै गएपछि प्राविधिक जनशक्ति पनि नेपालमै निर्माण हुँदै गयो । भारतीय प्राविधिकसँग सहकार्य गर्दै आएका नेपालीहरुको बिस्तारै दक्ष जनशक्तिको रुपमा विकास हुँदै गयो ।

'एक दिनमा ४/५ वटा फिल्म छायाङ्कन भयो भने क्यामेराम्यानको अभाव हुन्थ्यो । 'देउता' फिल्मको मेकअपदेखि क्यामेराम्यान भारतबाट नै ल्याइएको थियो । तर चारवटा फिल्ममा असिस्टेन्ट गर्नु भइसकेका प्राविधिकहरु नै पछि फिल्ममा आफैं काम गर्न थाले,' उनी सुनाउँछन्, 'म एक्लैले फिल्म गर्ने होइन । म आवद्ध हुनासाथ ७०/८० जना पनि त मसँग संगलग्न हुन्छ । त्यसरी यो क्षेत्रको विकास भयो ।'

आफूले धेरै फिल्म गरेकोमा राजेशलाई पछुतो छैन । २०४६ पछि त मिडियाहरुको संख्या पनि थपिँदै गयो । राजेशलाई लाग्थ्यो, एकदिन फिल्मको पनि मिडियाजसरी बिस्तार हुँदै जान्छ ।

बुवासँगको सम्बन्ध अधुरो

राजेशका बुवा चुडाबहादुर हमाल कुटनीतिज्ञ थिए । महिलाले पढ्ने चलन नुहँदै उनकी आमाले भारतको लखनउमा पढेकी थिइन् । पाल्पाको मिसन अस्पतालमा राजेशको जन्म भयो । राजेश जन्मेको १ वर्ष नपुग्दै परिवार काठमाडौं हानिएँ ।


त्यसपछि बुवाले परराष्ट्र मन्त्रालयमा जागिर थाले । कुटनीतिक जीवन सुरु भएसँगै देशविदेश सरुवा हुनेक्रम जारी भयो । राजेश ३ वर्षको हुँदा बुवाको सरुवा पाकिस्तानमा भयो । उनले आफ्नो केही पढाई पाकिस्तानमा गरे ।


त्यसपछि दिल्ली सरुवापछि दिल्लीमा पढे । नेपालमा सरुवा हुँदा जावलाखेलको सेन्टजेभेयर्समा बाँकी पढाई थाले । त्यसपछि पनि रुस तथा थाइल्याण्डमा पढाई गरे । यसरी आफ्नो पढाईको सुरुवात नै विदेशी भूमिबाट भएको राजेश सुनाउँछन् ।

उच्च माध्यमिक सकाउनुअघि ३/४ देशका विद्यालयमा उनले अध्ययन अनुभव पाए । आफ्नो बाल्यकाल निकै असधारण रहेको बताउँछन् अभिनेता हमाल । विश्वविद्यालयको बाँकी शिक्षा भने पञ्जाब चण्डीगढबाट सकाएका हुन् उनले ।

विदेशी भूमिमा पढाइ सकेका राजेशले नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा उनका परिवार खुशी थिएनन् । बुवासँग त बोलचाल नै बन्द भएको थियो । त्यसैले उनले फिल्म करियरमा पारिवारको साथ पाएनन् । फिल्म क्षेत्र फस्टाइसकेको थिएन । राजेशको करियर बन्ला भन्ने सम्भावना नै परिवारले देखेनन् । 'छोरालाई देश विदेश घुमाएँ, पढाएँ । आखिरमा यस्तो पेसामा लाग्दैछ जसको भविष्य पनि छैन। वर्तमान छैन। कहाँ बढ्ने हो, के गर्ने हो ?' बुवाको गुनासो सुनाउँदा उनको अनुहार अँध्यारो भयो ।

साथीहरुको साथ पनि पाएनन् । तैपनि उनले आफ्नो मनको इच्छालाई नै पछ्याउने सोचे । 'भविष्य कस्तो होला उदाहरण केही थिएन । उदाहरण नभए पनि म नै पहिलो व्यक्ति हुन्छु कि भनेर आफ्नो प्यासनलाई फलो गरें,' उनले आफ्नो सुरुवातका दिन सम्झे 'आफूलाई मन लाग्ने केही नगरे जीवनको एउटा बिन्दुमा गएर पछुताउनु नपरोस् भन्ने सोचाई ममा थियो ।'

परिवारको साथ नपाउँदाको क्षण सम्झँदा उनको मन अमिलो हुन्छ । परिवारलाई उनको फिल्म करियरतर्फ खासै वास्ता हुन्थेन । उनी कुन फिल्मको छायाङ्कन गर्दैछन् ? कसैलाई थाहै हुन्थेन । पहिलो फिल्म 'युगदेखि युगसम्म'को प्रिमिर हुँदा पनि उनी एक्लै थिए । उनको हौसला बढाउन कोही आइदिएनन् । त्यस्तो समयमा पनि उनी आफ्नो हौसला आफैं बुलन्द पार्थे ।

जीवनको पहिलो सरुवा भएको ठाउँ पाकिस्तानमै उनको बुवाको निधन भयो । पाकिस्तानको राजदूतलाई भेटर आउँदा गाडीमै ५६ वर्षिय बुवाको निधन भएको थियो । उनका बुवालाई उच्च रक्तचाप थियो । बुवाको निधनले उनको दिमाग र हृदयमा लामो समय चोट पुर्‍यायो । अहिले पनि ती दिन सम्झँदा आफैंलाई साहसी ठान्छन् राजेश ।

बुवाको मृत्युसँगै उनको सम्बन्ध त्यतिकै अधुरो रह्‍यो । 'उहाँ पाकिस्तान जानु भएकोबेला म 'गोपीकृष्ण' भन्ने फिल्मको छायाङ्कन गर्दै थिएँ । पाकिस्तान जानुहुँदा मलाई बाई पनि भन्नुभएन । भेट्नु पनि भएन,' उनले सुनाए, 'मलाई के लागेको थियो, फिल्म गर्दै गएपछि एकदिन सफल हुन्छु अनि त सम्बन्ध सुध्रिहाल्छ नि । आखिर उहाँहरु मेरो सफलता चाहनुहुन्थ्यो । खाली मेरो पेसाको छनौटले बोलचाल बन्द भएको त थियो ।'

तर, सोचेजस्तो भएन। बुवासँग कुराकानी नभई बुवाले संसार छोडे । बुवा नुहुँदाको पीडा बोकेर जिन्दगी अगाडि बढाए । आज जीवनको सम्पूर्ण सफलताको स्रोत उनी आफ्ना बुवा आमालाई दिन्छन् ।

'परिवारले त्योबेला त जे गर्छस् गर भन्नुहुन्थ्यो । तर अहिले जे सफलता पाएको छु त्यसको श्रेय म उहाँहरुलाई नै दिन्छु,' उनले भने ।

चरित्र अभिनय

राजेशले फिल्म गर्दा व्यवसायिक मसला फिल्म बन्थे । उनले त्यस्तै फिल्म गरे । पछिल्लो समय यता चरित्रचित्रणका विषय उठ्न थालेका छन् । अभिनेता हमाल त्यो बेला फिल्म गर्दा पनि चरित्रमा मिहेनत गर्ने गरेको बताउँछन् । मजदूरको चरित्र गर्न मजदूरसँगै १ हप्ता संगत गर्नुपर्ने, समय बिताउनुपर्ने बिचार त्यतिबेला थालनी भइसकेको थिएन । तर उनले 'सेन्स अफ एम्पथी' प्रयोग गरे ।

'अंग्रेजीमा भन्छ नि एम्पथी यदि तपाईंले अरुको जुत्तामा उभिएर हेर्ने क्षमता राख्नुहुन्छ भने तपाईंले अरुको परिस्थिति बुझ्नुहुन्छ । भोको व्यक्तिको अनुभव गर्न, १० दिनको भोको व्यक्तिसँग गएर अन्तरवार्ता गर्नुपर्दैन । तर, १० दिनको भोको व्यक्तिले के महशुस गर्छ भन्ने दृष्टिकोण बुझ्ने यदि मैले क्षमता राखेको छु भने म बुझ्न सक्छु,' उनले तर्क गरे ।

'एक नम्बरको पाखे', 'भरिया', 'मजदूर', 'पालेदाइ'जस्ता फिल्मका चरित्र बनाउन उनले यही दृष्टिकोणबाट आफैंलाई हेर्थे ।

भरियादेखि खातेसम्म

'भरिया' फिल्मको प्रदर्शनताका उनी नारायणघाटको हलमा दर्शकसँगै फिल्म हेर्न पुगेका थिए । भीड बाक्लै थियो । हलबाट निस्केर गाडी पुग्दा दर्शकले उनको गाडी घेरे । त्यही भिडबाट हातमा नाम्लो बोकेर एक भरियाले झ्यालबाट चियाउँदै उनलाई भनेका थिए, 'तपाईँ पनि हामीजस्तै भरिया त हुनुहुँदो रहेछ नि । हेरे नि मैले तपाईँको भरिया फिल्म ।'

यस किसिमको प्रतिक्रियाले नै उनलाई फिल्म क्षेत्रमा सक्रिय बनायो ।

फिल्म गर्दाका सुरुका दिनमा उनी ठमेल वरपर रहेका सडक बालकहरुलाई भेट्न जान्थे । कहिलेकाहीँ खानपिन पनि गर्थे । एकदिन उनले ती बालकलाई खुवाउन लगेका थिए । आइसक्रिम खाँदै गर्दा एकजनाले राजेशको अनुपस्थिमा भन्दै थियो, 'तिमीलाई थाहछ राजेश दाइले हामीलाई किन माया गर्नुहुन्छ ?'

'थाहा छ नि, उहाँ पनि हामीजस्तै खाते हो नि पहिला,' अर्का बालकको यस्तो जवाफ दिँदा छेउमै बसेर उनी मुस्कुराइरहे । दर्शकको यस किसिमको प्रेमले नै उनलाई ३ दशक यो क्षेत्रमा सक्रिय रहन साथ दियो ।

'बनिबनाउ बाटो थिएन । आफ्नो बाटो आफैं खन्दै गएको हो । कहाँसम्म पुगिन्छ, के उपाधि पाइन्छ भन्ने थाहा थिएन ?' उनी सुनाउँछन् ।


प्रकाशित : फाल्गुन ६, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?