कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘सेन्टी भाइरस’ मा राजनीति मात्रै छैन

दीपक परियार

(पोखरा) — फिल्मको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ, ‘सेन्टी भाइरस’ राजनीतिक विषयवस्तुमा बनेको छ । फिल्ममा मुख्य भूमिकामा देखिएका सीताराम कट्टेल (धुर्मुस) भने राजनीति मात्र नभई सामाजिक र पारिवारिक विषयवस्तु पनि भएको बताउँछन् । 

‘सेन्टी भाइरस’ मा राजनीति मात्रै छैन

पोखरामा सोमबार उनले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ भए पनि कथावस्तु फरक रहेको बताए । फिल्मको निर्माण पक्षले मुनाफाको ५० प्रतिशत भने रंगशाला निर्माणमा खर्चिने सहमति भएको जानकारी उनले दिए । ‘हाम्रो पहिलो प्रयास हो, त्रुटि कमजोरी हुन सक्लान्,’ चलचित्र पत्रकार संघ कास्कीले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दर्शकले फिल्म हेरिदिनुभयो भने राष्ट्रको लागि योगदान हुनेछ ।’ रंगशाला निर्माणमा खटिनुपर्दा फिल्मको धेरै पाटो निर्देशक रामबाबु गुरुङले नै सम्हालेको उनले जनाए । फिल्ममा गरिब, सुकुम्बासीको उत्थान गर्ने नाममा राजनीति सुरु गर्ने समाजका ‘भाइरस’ लाई प्रस्तुत गरिएको उनले सुनाए ।


पत्रकार सम्मेलनमा उनले रंगशाला निर्माणका आरोहअवरोहको बेलिबिस्तार लगाए । धेरै हौसला र केही आलोचना पाए पनि आफू कहिल्यै विक्षिप्त नभएको उनको भनाइ थियो । ‘नेपाल हो टीकाटिप्पणी र आलोचना हुन्छ,’ उनले भने, ‘रंगशाला बनिसकेपछि आलोचना गर्नेले पनि सकारात्मक सोच्नुहुनेछ भन्ने आशाले कहिले विचलित भइनँ ।’ क्रिकेट रंगशालामा खटिरहँदा अभिनयको भोक भने ताजै रहेको उनले सुनाए । अबको तीन महिनामा मैदान र सम्भवतः २ वर्षभित्र सबै संरचना तयार हुने उनले जनाए । भने, ‘त्यसपछि निरन्तर कलाकारितामै आउने हो ।’ फरक–फरक भूमिका निभाएर गिनिज बुकमा नाम लेखाउने लक्ष्य भए पनि भूकम्पपछि आफू मोडिएको उनले सुनाए । राजनीतिको जग बसाल्न आफूले यो सबै नगरेको बताउँदै उनले भने, ‘जिन्दगीभर कुनै दलको झन्डा बोकेर राजनीति गर्नेछैन ।’


धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपछि नमुना बस्ती निर्माण, तराईको बाढीमा राहत, उद्धारलगायतमा पटकपटक रकम संकलन गरे पनि क्रिकेट रंगशाला बनाउन अन्तिमपल्ट सबैसँग हात फैलाएको उनी बताउँछन् । केही दिनपछि नै सार्वजनिक सुनुवाइ गरी आय–व्यय वितरण र आगामी योजना सार्वजनिक गर्ने उनले बताए ।


शिवरात्रिबाट प्रदर्शनमा आउने चलचित्रमा उनीसहित कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, एलिशा राई, सुनीता घिमिरेलगायतको अभिनय छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?