कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

फिल्म समीक्षा : कस्तो छ लभ आजकाल ?

काठमाडौँ — बलिउड निर्देशक इम्तियाज अलीको फिल्म मन नपराउनेले पनि स्वीकार्नै पर्ने सत्य के हो भने उनको कथावाचन मौलिक छ । खासगरी प्रेम, रोमान्स, करिअर र समाजप्रति नयाँ पुस्ताको दृष्टिकोणको वरपर रहेर उनी फिल्म बनाउँछन् । काव्यीक दृश्य सिर्जनु उनको खुबी हो । 

फिल्म समीक्षा : कस्तो छ लभ आजकाल ?

पहिलो फिल्म ‘सोचा ना था’ र त्यसपछिका ‘जब वी मेट’ अनि ‘रकस्टार’ त्यसका विशिष्ट उदारहण हुन् । तर ‘तमासा’यता इम्तियाजले लय पकड्न नसकेको भान हुन्छ । पात्र र उनीहरुको भोगाईमार्फत् आत्मीय संसार निर्माण गर्न चुकिरहेका छन् । यही नियतिको निरन्तरता हो, ‘लभ आजकल’ । दुविधाग्रस्त युवाको कथा भन्ने यस फिल्म हेरिरहदा लाग्छ, इम्तियाज आफैं त्यस्तै अलमलमा छन् । यसको पटकथाकार पनि उनै हुन् ।


११ वर्षअगाडि इम्तियाजले यही नामको फिल्म बनाएका थिए । तर, यो सिक्वेल वा प्रिक्वेल भने होइन । कतिपय पात्रको गुण र कथा भन्ने शैली समान छ । यो समय चर्चामा रहेका स्टार कार्तिक आर्यन र साराअली खान मुख्य भूमिकामा छन् । पुरानो ‘लभ आजकल’माचाहिँ साराका पिता सैफअली खान र दीपिका पादुकोणको जोडी थियो । दुई फरक कालखण्डको प्रेमयात्रा एकसाथ देखाउने इम्तियाजको प्रयास चुस्त पटकथाको अभावमा प्रभावकारी बनेको छैन ।


‘लभ आजकल’मा एउटा प्रेमकथा छ, आजको । इञ्जिनियर वीर (कार्तिक) इभेन्ट व्यवस्थापनमा करिअर बनाउन मरिहत्ते गरिरहेकी जोई (सारा)लाई मन पराउँछन् तर शारीरिक सम्बन्धका लागि आनाकानी गर्छन् । गम्भीर र दिगो सम्बन्धको पक्षमा छन् उनी । जोई पनि वीरलाई माया गर्छिन् तर उनका लागि सम्बन्ध ‘टाइमपास’ र मस्ती मात्र हो । प्रेमको चक्करले करिअरमा असर पर्छ भन्ने डर छ उनलाई । वीर र जोईको यही भिन्न सोचाईले सम्बन्धमा घरीघरी संकट आइलाग्छ ।


फिल्ममा अर्को प्रेमकथा छ– सन् ९० को दशकको । आफ्नो प्रेममा बाधा आउनासाथ जोई अफिसको हाकिम रघु (रणदीप हुडा)को प्रेमकथा सुन्न पुगिहाल्छिन् । रघुको छिमेकी लिना (आरुषी शर्मा) सँग माया बसेको हुन्छ । तर, त्यो समय प्रेमप्रति परिवार र समाज अनुदार छ ।


नितान्त अलग परिवेशको प्रेमकथालाई इम्तियाजले एकसाथ अगाडि बढाएका छन् । ‘फ्ल्यासब्याक’को अति प्रयोगले अहिलेको कथामा उल्झन आइलाग्छ । त्यसमाथि युवा रघुको भूमिकामा कार्तिक स्वयः छन् । त्यसैले रणदीप हुडाले मेरो कथा भनेर सुनाइरहे पनि कार्तिकको उपस्थितिका कारण दर्शक झुक्किन्छन् । एउटै कलाकारलाई भिन्न समयखण्डको भूमिकामा उभ्याउने इम्तियाजको प्रयोग मुर्त छैन ।


फिल्मको आधारभूत समस्याचाहिँ पात्रबीच स्वभाविक द्वन्द्व पैदा गर्न नसक्नु हो । जोई महत्वाकांक्षी र वीरको अन्तर्मुखी स्वभावबारे दर्शक जानकार हुन्छन् तर उनीहरुको सम्बन्धलाई रसिलो र रोचक लाग्दैन । आधुनिक पुस्ताको प्रेममाथि बनाइएका सिनेमाका पात्रभन्दा वीर र जोईको आनीबानी खास अलग छैन । दर्शकले जे सोच्छन्, कथा करिब त्यसैगरी अगाडि बढ्छ । जब दर्शकको अपेक्षालाई फिल्मले नाघ्दैन, तब त्यो नीरस हुनथाल्छ ।


मध्यान्तरसम्म पात्रको उस्तै मनोभाव र परिस्थितीमा फिल्म घुमिरहन्छ, कथाविकास एकमदै धीमा छ । तर, जोईमार्फत आजको पुस्ताको अन्यौलग्रस्त यथार्थलाई सतहमा ल्याउन निर्देशक सक्षम छन् । करिअरमै केन्द्रित भए पनि जोईलाई मायाको अभाव छ । एक समय यस्तो पनि आउँछ, उनी मायाका लागि सबथोक त्याग्न तयार हुन्छिन् । तर, जब प्रेम विवाहमा रुपान्तरण हुने विन्दु आउँछ, जोई भाग्छिन् ।


उनलाई लाग्छ, विवाहले सपना तुहाइदिन्छ । अनि, एकोहोरो करिअर बनाउन लागिपर्छिन्, जब त्यहाँ सफलताको शिखरमा पुग्दैहुन्छिन् तब आफू रित्तो भएको महसुस गर्छिन् । बेचैनी बढ्छ । आजको पुस्ताको साझा नियति हो यो । जे छ, त्यसमा खुशी नहुने । जे छैन, त्यसको अभावमा तड्पने । त्यसैले जोईमा कहिं न कहिं आफूलाई नपाउने युवा सायदै कोही हुन्छ ।


तर, जोईझैं वीर, रघु र लीना सशक्त लाग्दैन । त्यसमाथि निर्देशक घरी पुरानो प्रेमकथामा अल्झन्छन्, घरी नयाँलाई महत्व दिएझैं लाग्छ । यो सन्तुलन नमिलेकाले पात्रप्रति प्रेम हुनलाग्दा बीचमै बिथोलिन्छ । उस्तै अर्थ दिने दृश्यहरु बिना धक दोहोर्‍याइएको छ । जोईको अस्थीर स्वभावको सहारामा मध्यान्तरपछि सिर्जिएको ‘मेलोड्रामा’ अतिरञ्जित लाग्छ । रघुको कथाकै आधारमा उनको प्रेमप्रतिको दृष्टिकोणमा आएको बदलाव पत्याउन मुस्किल हुन्छ । बरु मुख्य प्रेमजोडीको सम्बन्ध स्वभाविक तवरले बुन्न र सोहीअनुरुप संवेदना प्रवाह गर्न इम्तियाज काबिल लाग्दैनन् यसपटक । रघु र वीरका केही गहकिला संवाद भने सम्झनलायक छन् । बुबाआमाको तिक्ततापूर्ण सम्बन्धले सन्तानमा पर्ने असरलाई मनोवैज्ञानिक कोणबाट वीरको चरित्रमा घुसाइएको छ ।


युवा रणदीप हुडा अर्थात् रघुका रुपमा कार्तिकको उपस्थिति स्वभाविक लाग्दैन । क्षणभरमै उनलाई आजको वीरका रुपमा आत्मसात् गर्न मुस्किल हुन्छ । तर, वीरलाई जीवन्तता दिने मामलामा कार्तिक तुलनात्मक सहज लाग्छन् । जोईचाहिँ पात्रको मागभन्दा बढी ‘लाउड’ लाग्छिन् । फिल्म खेल्नुअगावै यो जोडीले लोकप्रियता कमाएको थियो । फिल्मबाट त्यसलाई निरन्तरता दिन मुस्किल देखिन्छ । पर्दामा उनीहरुले प्रतिनिधित्व गरेको उमेर समूहलाई यो फिल्म ‘अल्छी’ लाग्नसक्छ । कारण हो, उमेरजन्य गतिशीलता र संवेदना प्रतिविम्बित नगर्नु । रणदीप हुडाको चरित्र उतारचढाव बिहीन छ, अभिनय पनि सामान्य । बरु यही फिल्मबाट बलिउडमा पाइला राखेकी आरुषी शर्माले सम्भावना देखाएकी छन् । उनको चरित्रमा लजालु र खरोपनको मिश्रण छ । कथाको भाव अनुकुल गीतको प्रयोग गरिएको छ ।


इम्तियाजका अघिल्ला फिल्म भन्दा ‘लभ आजकल’ नवीन छैन । र, विशेष पनि छैन । ‘तमासा’ र ‘जब हृयारी मेट सेजल’मा जुन प्रकृतिका कमजोरी थिए, यसमा त्यसकै पुनरावृत्ति छ । निर्देशक कथा र वाचनशैलीको ‘कम्फर्ट जोन’मै रमाउँदा परिणाम यस्तै नीरस हुन्छ ।


फिल्म : लभ आजकल

निर्देशक : इम्तियाज अलि

कलाकारहरु : कार्तिक आर्यन, साराअली खान, रणदीप हुडा, आरुषी शर्मा आदि ।



प्रकाशित : फाल्गुन ५, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?