हेमराजले पहिल्याए कमजोरी

गोकर्ण गौतम

काठमाडौँ — पहिलो फिल्म ‘होस्टेल’ रिलिज हुँदा २६ वर्ष पुग्दै थिए, हेमराज बिसी । फिल्म हिट भयो, उनलाई निर्देशन गराउन निर्माता मरिमेटेर लागिपरे । अचेल बोध हुन थालेको छ– त्यतिबेला निर्देशनका लागि परिपक्व र मानसिक रूपमा सबल नै थिएनन् । जब कि उनले मुम्बईमा टेलिसिरियलको सहायक निर्देशनमा सात वर्ष बिताइसकेका थिए । ‘निर्देशक बन्ने अवसर आयो, आफैंचाहिँ पूर्णरूपमा तयार थिइनँ’ उनी भन्छन् । 

यो आत्मविश्लेषण उनी किन गर्दै छन् भने उनका पछिल्ला तीन फिल्म लगातार फ्लप भए, ‘ग्याङस्टर ब्लुज’, ‘ब्रेकअप’ र ‘घामड शेरे’ । यी फिल्ममा उनको लगानी पनि भएकाले उनी थप मर्माहत पनि छन् । हरेस भने खाएका छैनन्, नयाँ प्रोजेक्टको गृहकार्य गर्दै छन् । ‘अरूलाई ढाँटे पनि आफैंलाई ढाँट्न सक्दिनँ । फिल्म असफल हुनुका अनेक कारण होलान्, तर मुख्य जिम्मेवारमै हुँ,’ कुनै समय हिट निर्देशकको छवि बनाएका उनी भन्छन्, ‘त्यसैले आफ्नो कमजोरी पहिल्याएर सुधार्ने प्रयासमा छु ।’ सँगै अर्को व्यावहारिक समस्या पनि सुनाए, ‘यो वर्ष ओस्कार विजेता निर्देशक वोङ जु हुले २० वर्षमा सात फिल्म बनाए, मैले सात वर्षमा सात फिल्म । जीविकोपार्जनकै लागि फिल्म बनाउनुपर्ने बाध्यताले हाम्रो स्तर खस्किरहेको छ ।’ यो ‘कन्फेसन’ को सुरुवात ‘होस्टेल’ बाटै हुन्छ ।


हेमराज लभस्टोरी फिल्मका फ्यान होइनन् तर डेब्यु नै लभस्टोरी बनाउनुपर्‍यो, दर्शकले पनि रुचाए । तर, उनलाई लागेछ, अब मन पर्ने फिल्म बनाउँछु, सोसल ड्रामा, ड्रामा कमेडी या थ्रिलर जानराको । सोही कारण ‘होस्टेल’ रिलिज नहुँदै ‘सम्बोधन’ मा अनुबन्ध भए । भ्रष्टचारविरोधी यस फिल्ममा राजनीतिक प्रणालीमाथि सवाल उठाउने चाह थियो तर फिल्म लेखिरहँदा आफैंसँग सवाल गर्न थालेछन्, ‘के यति गहन विषयमाथि फिल्म बनाउने क्षमता भइसकेको छ ?’ जवाफ स्पष्ट थिएनन्, आत्मविश्वास पूरा आइसकेको थिएन तर वाचा गरिसकेकाले पछि हट्न मिलेन ।


रिलिजका हिसाबले ‘सम्बोधन’ हेमराजको दोस्रो फिल्म होइन । पोस्ट प्रोडक्सनमा ढिलाइ भएकाले योभन्दा अगाडि ‘जेरी’ प्रदर्शन भयो । सालाखाला ‘होस्टेल’ जस्तै नयाँ पुस्ताको प्रेमकथा देखाइएको यस फिल्मले नाफा कमाए पनि समीक्षा औसत थियो । एकातिर सम्बोधन फ्लप, अर्कातिर जेरी हिट । उनले आफ्नो रोजाइ त्यागे, लभस्टोरी फिल्म नै बनाए, ‘गाजलु’ । यो फिल्म पनि चलिदियो ।


तर, निर्देशकको रूपमा हेमराजको मन भरिएको थिएन, तीन हिट फिल्म दिइसकेकाले चुनौती लिने आँट थियो । लगानीकर्ता पनि भेटिए । र, लागे ‘ग्याङस्टार ब्लुज’ तिर । नेपालगन्जमा हुर्किएका हेमराजले त्यहाँको सामाजिक तनाव, गुन्डागर्दी, युवाको आक्रोश नजिकबाट नियालेका थिए । सोही कारण अपराधकर्ममा होमिएको युवाको मनोदशा केन्द्रमा राखेर कथा लेखे । उनको भनाइमा त्यसमा लभस्टोरी थिएन तर बजारको माग झेल्नै सकेनन् । ‘अरूको भनाइबाट प्रभावित भएर लभस्टोरी पनि घुसाएँ, त्यसपछि कास्टिङ पनि त्यस्तै गर्नुपर्‍यो । जे सोचेको थिएँ, बनेन’ उनले दुःखेसो पोखे । प्रचारप्रसार राम्रै गरे पनि फिल्मको व्यापार चौपट भयो ।


हेमराजका अनुसार फिल्म हेरेर गाली खानुपर्दा सहन सकिन्छ तर फिल्मै नहेरी गाली गर्दाचाहिँ साह्रै चित्त दुख्छ । ‘ग्याङस्टार ब्लुज’ मा त्यस्तै भयो । न चाहेजस्तो फिल्म बन्यो, न लगानी बच्यो, न प्रसंशा मिल्यो । फेरि सजिलो बाटो रोजे लभस्टोरीकै । ‘तीन वटा लभस्टोरी फिल्म हिट भएकाले दर्शक स्वाद अनुसार फिल्म बनाउन सक्छु भन्ने लाग्थ्यो,’ उनले हाँस्दै भने, ‘तर, त्यो त भ्रम रहेछ ।’ जब ‘ब्रेकअप’ फ्लप भयो, उनले आफ्नो असली ‘हैसियत’ थाहा पाइहाले ।


रिलिज मिति चयनमा चुकेकाले पनि ‘ब्रेकअप’ त्यो हदसम्म असफल भएको उनको बुझाइ छ । यो फिल्म अनमोल केसीको ‘क्याप्टेन’ सँग प्रदर्शन भएको थियो । ठूलो बजेट र आफैंलाई पनि मन परेको ‘ब्रेकअप’ फ्लप भएपछि हेमराजमा बेचैनी पैदा भयो । न फिल्मबाट टाढा भाग्न सक्थे, न कस्तो फिल्म बनाउने भनेर निर्णय गर्न सक्थे । केही समयपछि उनले घोषणा गरे, ‘घामड शेरे ।’ आफूले किनेको जग्गा खोलाले बगाएपछि खोलालाई नै मुद्दा हाल्ने एकोहोरो पात्रको कथा थियो, ‘घामड शेरे’ । जहाँ हाम्रो सामाजिक व्यवहार, स्थानीय तहमा हुने घूसखोरी, राजनीतिको आवरणमा हुने अपराधमाथि व्यंग्य पनि गरिएको थियो । यो समय खुब रुचाइएको निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी मुख्य भूमिकामा थिए । ‘साली मन पर्‍यो...’ गीत हिट भयो । तर, हलमा फिल्म लागेपछि पहिलो दिनबाटै दर्शकको खडेरी सामना गर्नुपर्‍यो ।


‘मलाईचाहिँ करिअरकै उत्कृष्ट फिल्म भन्ने लाग्छ,’ उनले व्यंग्य मिसाउँदै भने, ‘हिजो नराम्रो लागेका फिल्म चले, आज राम्रो लागेको फिल्म चलिरहेका छैनन् ।’ संयोग के भइदिएको छ भने हेमराजका तिनै हिट फिल्ममा अनमोल केसी थिए, बाँकी चार फिल्म फ्लप भए । सोही कारण उनीमाथि अनमोलबाहेक अरू लिएर फिल्म बनाउनै नसक्ने आरोप छ । अनमोलसँग सम्बन्ध बिग्रिएपछि देखाउनकै लागि ‘ग्याङस्टार ब्लुज’ र ‘ब्रेकअप’ मा आशिरमान देशराजलाई अभिनय गराएको भन्ने पनि छन् । तर उनी आफैंलाई के लाग्छ ? भन्छन्, ‘अनमोल खेलेका फिल्म सफल भएको सत्य हो । अर्को सत्य के पनि हो भने हामीकहाँ कन्टेन्टभन्दा स्टार हेरेर फिल्म हेर्ने संस्कृति छ ।’ प्रकाशित : फाल्गुन ४, २०७६ ०८:४२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मछिन्द्रतिर मोडिएको लिग

अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ विजेता बनेको छ
राजु घिसिङ

काठमाडौँ — ए डिभिजन लिगमा डेब्यु गरेको तेस्रो वर्ष नै त्रिभुवन आर्मी क्लबले च्याम्पियन बन्ने अवसर पाएको थियो । आर्मीको अन्तिम खेल थियो विभागीय प्रतिद्वन्द्वी पुलिस क्लबविरुद्ध । अन्तिम खेलअघि आर्मी ६३ अंकसहित शीर्षस्थानमा थियो । १ अंक अन्तरमा थियो पुलिस । त्यसैले आर्मीलाई २०६३ सालको लिगमा च्याम्पियन बन्न पुलिसविरुद्ध बराबरी नतिजा पर्याप्त हुन्थ्यो । तर, रमेश बुढाथोकीले दुई गोल गरेपछि आर्मीलाई स्तब्ध पार्दै पुलिस पहिलोपल्ट च्याम्पियन भयो । त्यसपछि पुलिसले ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक नै पूरा गर्‍यो । आर्मी भने ओरालो लाग्यो ।

नेपाली सेनाको टिम एक दशकपछि फेरि बलियो भएर आयो । लिगको उपाधिमै धावा बोल्यो । फेरि अन्तिम खेलमा आएर २०६३ कै जस्तो कथा दोहोरियो । अर्थात् आधुनिक लिगको उपाधि पहिलोपल्ट जित्ने आर्मीको सपना फेरि तुहियो । यसपालि आर्मी रोक्ने काम गर्‍यो मछिन्द्रले ।

दशकअघि जस्तै १ अंक अगाडि भएकाले आर्मीलाई दशरथ रंगशालामा शनिबार मछिन्द्रसँग जितमात्र होइन, बराबरी पनि उपाधि जित्न पर्याप्त हुन्थ्यो । तर, खेलको कथाले अर्कै मोड लियो । पहिलोपल्ट लिग च्याम्पियन बन्न मछिन्द्रलाई जितको विकल्प थिएन । त्यही लक्ष्य पूरा गर्दै मछिन्द्र नयाँ च्याम्पियन बन्यो ।

मैदानको मध्यभाग नजिकबाट रन्जित धिमालले प्रहार गरेको फ्रि–किकलाई रोक्ने प्रयासमा आर्मीका डिफेन्डर विकास तामाङले गरेको हेडरमा बलले जाली चुम्न पुग्यो र मछिन्द्र ३३ औं मिनेटमा १–० ले अगाडि बढ्यो । अन्ततः त्यही आत्मघाती गोल मछिन्द्रलाई २०११ सालमा सुरु भएको ‘ए’ डिभिजन लिगको १६ विजेता बनाउन पर्याप्त भयो । राजधानीस्थित मछिन्द्र बहालको ४७ वर्ष पुरानो यो क्लबले २०६२ सालदेखि शीर्ष श्रेणीको लिग खेल्न थालेको हो । हाल राष्ट्रिय टिम सम्हालेका स्विडिस प्रशिक्षक योहान कालिन प्रशिक्षक छँदा २०७० सालमा उपविजेता हुनु नै यसअघि उसको सबैभन्दा राम्रो नतिजा थियो ।

यो सिजनको लिगको अन्तिम अर्थात् ९१ औं खेल कुनै प्रतियोगिताको ‘फाइनल’ जस्तै बन्यो । एउटा रोमाञ्चक फाइनलका लागि चाहिने मसलाको खेलमा कुनै कमी भएन । पहिलो हाफमा मछिन्द्र बलियो देखियो । दोस्रो हाफमा आर्मीले लय समात्यो । गोलकिपर विकेश कुथुले चोट बोक्दै पहिलो हाफमै मैदान छाडे । आर्मीले मौका पनि पायो तर चाहिएको गोल भने गर्न सकेन । अन्तिम १४ मिनेट मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङ पनि खेल्न सकेनन् । तनावमा आर्मीका खेलाडीहरूको हतारो र मछिन्द्रका खेलाडीको समय बिताउने नाटक प्रस्टै झल्किन्थ्यो । खेलाडीदेखि अििफसियलहरू बारम्बार तनावमा आउँदा रेफ्री नवीन्द्र महर्जन ‘प्लेयर बक्स’ मै कार्ड देखाउन पुगे ।

आर्मीले सन्तोष तामाङको फ्रि–किकमा २२औं मिनेटमै अग्रता लिने अवसर पाएको थियो तर सिक्स यार्ड बक्समा खाली रहेका भरत खवास र जर्जप्रिन्स कार्कीले उपयोग गर्न सकेनन् ।

देवेन्द्र तामाङले ६१औं मिनेटमा प्रहार गरेको बलमा आर्मीका सब्स्टिच्युट गोलकिपर विश्वास चौधरीले राम्रो बचाउ गरे । टंक बस्नेतको पासमा भरतको हेडरमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पनि ६८ औं मिनेटमा राम्रो बचाउ गरिदिए । लगत्तै सुमन अर्यालको दिएको बललाई टंक पोस्टमा प्रहार गर्न चुके । त्यस्तै ८७ औं मिनेटमा सेन्टरब्याक पिटर सेगुनलाई उछिनेर पनि नवयुग श्रेष्ठ बल प्रहार गर्न चुक्दा आर्मीले बराबरी गर्ने अवसरसँगै उपाधि जित्ने मौका गुमायो ।


शनिबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै मछिन्द्र र आर्मीका खेलाडी ।
‘रणनीति सफल’

मनाङ र थ्रीस्टारका नाम चलेका खेलाडीलाई भित्र्याएर बलियो बनेको हो मछिन्द्र । पहिलोपल्ट ए डिभिजन लिगको टिम सम्हाल्दै च्याम्पियन भएका प्रशिक्षक प्रवेश कटुवालले आर्मीविरुद्ध आफ्नो रणनीति सफल भएको बताए । ‘खेलमा सन्तुष्ट छु । योजनाअनुसार नै सफल भयौं,’ ३९ वर्षे उनले भने ।

‘आर्मी टिमवर्कमा यो लिगकै उत्कृष्ट टिम हो । उसले ४–५ वर्षयता एउटै टिमकै रूपमा खेलिरहेको छ । उसका खेलाडीलाई एकअर्काका सबै कुरा थाह छ । त्यसैले उनीहरूलाई हाम्रो जुन बलियो पक्ष हो त्यही उपयोग गर्ने भनेका थियौं,’ प्रशिक्षक कटुवालले भने, ‘गोल नखाने योजना थियो, किनभने गोल खानेबित्तिकै हामीले दुई गोल हान्नुपर्ने हुन्थ्यो । त्यसैले गोल नखाई फ्रि–किक, कर्नरलाई सदुपयोग गर्ने योजना थियो । ‘डेड बल’ मा अगाडिदेखि गोल पनि गरिरहेको थियो । त्यही अनुसारको योजनामा आज गोल भयो । दोस्रो हाफमा त्यही गोललाई रक्षा गर्नु थियो । फरवार्डलाई अगाडि खेलाउने र पछाडि कम्प्याक्ट खेल्नु थियो किनभने १–० को जित भए पनि जित नै हो ।

त्यहीअनुसार सफल भयौं ।’ आर्मी कहाँ चुक्यो त ? उनी प्रतिद्वन्द्वीबारे बोले, ‘हामीभन्दा बढी दबाबमा आर्मी थियो । कारण उसलाई जित वा बराबरीमा अवसर थियो । हामीलाई खेल जित्नैपर्ने थियो । यस्तोमा जित्नका लागि खेल्नुपर्ने हुन्छ, गोल नै नखाए पनि च्याम्पियन हुन्छौं भन्ने हुन्छ । हामीलाई आर्मीलाई परेको यही दबाबको फाइदा भयो । आर्मीलाई पनि जित्नैपर्ने भएको भए खेलको नतिजा जे पनि हुनसक्थ्यो ।’ १० जित, २ बराबरी र १ हारको नतिजा निकालेका प्रशिक्षक कटुवालले उपाधि चुम्नुको आधारबारे भने, ‘राम्रो टिमहरूसँगको खेल जित्यौं । अन्त्यमा आर्मीलाई हरायौं, जो हामीभन्दा राम्रो थियो । थ्रीस्टारबाट अंक लियौं । मनाङसँग चुके पनि शीर्ष ६ का अरु सबै टिमसँग अंक लियौं । हामी तल्लो टिम (हिमालयन शेर्पा) सँग हारेको हो, शीर्ष टिमसँग हारेको भए लिग च्याम्पियन हुँदैन थियो ।’

गति बिर्सेको आर्मी

एउटा टिमको रूपमा लिगकै उत्कृष्ट देखिएको र निरन्तर तीव्र गतिमा आक्रामक फुटबल खेलिरहेको थियो आर्मीले । आर्मीले गर्ने क्रस खतरनाक हुने गर्थ्यो । शारीरिक रूपमा पनि आर्मीका खेलाडीहरू फिट थिए । तर, अघिल्ला १२ खेल जस्तै आक्रामक देखिएन आर्मी अन्तिम खेलमा ।

‘सोचेअनुरुप प्रदर्शन दिन सकेनौं,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘दिइएको जिम्मेवारीमा खेलाडीहरू धेरै दबाबमा खेलेको अनुभूति भयो । बल सप्लाई नै हुन सकेन । त्यो नै कमजोरी बन्यो । २–३ पल्ट अवसर पाएका थियौं, क्लियर गरिदिए, गोल हुन सकेन ।’ उनको टिम दोस्रो चरणमा मनाङसँग १–० ले हारेको थियो । त्यसपछिको अपराजित यात्रालाई मछिन्द्रले १० खेलमा पूर्णविराम लगाइदियो ।

तीन वर्षयता आर्मी टिम सम्हालिरहेका प्रशिक्षक न्यौपानेले थपे, ‘मछिन्द्रले सोचेभन्दा धेरै नै राम्रो खेल्यो । मछिन्द्र सेटपिसमा धेरै राम्रो थियो, त्यो रोक्ने योजना थियो तर सकेनौं । फ्रि–किकमा विकेश अलि सुस्त (गोलको मुभ) भयो । तर, समग्र लिगमा केटाहरूले धेरै राम्रो खेलेको हो, इफोर्ट दिएको हो, चर्को दबाब दिने आधुनिक फुटबल खेलेको हो, मछिन्द्रविरुद्ध भने त्यसलाई कायम राख्न सकिएन ।’ घुँडाको चोटको कारण बाहिरिएका फरवार्ड दिनेश हेन्जनको स्थान लिएका टेकबहादुर बुढाथोकीको प्रदर्शन पनि आशाअनुरुप भएन ।

आफ्नो टिमको कमजोरीबारे उनले मुख खोले, ‘साइडबाट खेल्दै आक्रमण गर्ने भनेका थियौं, त्यो पहिलो हाफमा सफल भएन । दोस्रो हाफमा तीन डिफेन्स राखेर अगाडि बढ्यौं, क्रसिङ भयो, अवसरहरू पायौं तर गोल हुन सकेन ।’ नयाँ च्याम्पियन बन्ने अवसर गुमाएको सन्दर्भमा उनले भने, ‘यो नेपाली सेना र मेरो लागि धेरै ठूलो मौका थियो । खेलाडीको रूपमा चार उपाधिपछि कोच भएर पनि जित्ने सपना थियो । तर, जे हुन्छ राम्रोका लागि हुन्छ भन्छन्, अर्कोपल्ट अझ राम्रो बनेर आउने छौं ।’

कप्तान भरत खवासले पनि आर्मीको फिनसिङमा सुरुबाटै देखिएको कमजोरी अन्तिम खेलमा पनि सुधारिन नसकेको बताए । ‘अघिल्ला १२ खेलमा जस्तै तीव्र गतिमा खेल्न पनि सकेनौं, आक्रामणमा पनि कमजोरी भयौं, फिनिसिङ कमजोर,’ उनले भने, ‘२०६३ सालमा पनि यस्तै भएको रहेछ, अन्तिम खेल बराबरी गरे पुग्ने थियो, आज त्यही दोहोरिँदा चित्त दुखिरहेको छ ।’ उनले थपे, ‘यो नै अन्तिम होइन । धेरै लामो छ बाटो, धेरै लामो छ जिन्दगी, अब अर्को वर्ष अझ राम्रो भएर च्याम्पियनकै लागि आउँछौं ।’

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×