हलिउड निर्माता लरेन्स भन्छन्, 'संसारलाई भन्नुपर्ने धेरै कथा छ नेपालसँग'

रीना मोक्तान

काठमाडौँ — पहिलोपटक नेपाल आएका बलिउड निर्देशक प्रकाश झाले फिल्मको आर्ट फर्मसँग रमाउन आफू तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सहभागी भएको बताएका छन् । उनी निफका मुख्य निर्णायक समेत हुन् ।

ZenTravel

राष्ट्रिय सभा गृहमा आयोजित निफको उद्घाटन कार्यक्रममा उनले आफ्नो नेपालसँग छुट्टै सम्बन्ध रहेको बताए। 'मेरो गाउँ नेपाल सिमाना नजिक ‍पर्छ। सानोमा हामी धेरैपटक त्यो सिमाना नाघेर गाई चराउन नेपाल आउँथ्यौं,' उनले भने, 'अहिले फेरी यो फिल्मको उत्सवका लागि नेपाल आएँ। सांस्कृतिक रुपले भिन्न-भिन्न फिल्म हेर्न उत्सुक छु।'

कार्यक्रममा सभामुख अग्नि सापकोटा, कलाकार नीर शाह, निफ अध्यक्ष केपी पाठकलगायत फिल्मकर्मीको उपस्थिति थियो। कार्यक्रममा उपस्थित हलिउड निर्मातालरेन्स कासानोफ नेपाली फिल्मकर्मीलाई आफ्नै कथा भन्न उत्साहित थिए। कोरियन फिल्म 'प्यारासाइट'ले ओस्कार जितेको उदाहरण दिँदै उनले भने 'नेपालसँग संस्कृति छ। प्रविधि छ अनि प्रतिभा पनि। यी सब मिलाएर तपाईंले आफ्नो कथा भन्न सक्नुभयो भने ओस्कार टाढा छैन। मलाई लाग्छ संसारलाई भन्नुपर्ने धेरै कथा छन् नेपालसँग।'

Meroghar


हलिउड निर्माता लरेन्स कासानोफ। तस्बिर सौजन्य : आर्यन विमली

त्यस्तै अध्यक्ष केपीले भने गत वर्षभन्दा यसवर्ष प्रदर्शन गर्ने फिल्मको संख्या थपिँदै गएको र अन्तर्राष्ट्रिय फिल्मकर्मीको संख्या पनि बाक्लो रहेको बताए। 'विश्वका कथाहरुको कथ्य उत्सव भनेर नारासहित हामी अघि बढेका छौं, यो वर्ष,' उनले भने।

निफको सुरुवात नै 'द कम्पोजर' भन्ने चाइनिज फिल्मबाट भएको छ। फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइँदैछ।पाँच दिनसम्म चल्ने फेस्टिभलमा निर्देशक झाले भने फिल्म सम्बन्धि मास्टर कक्षा पनि लिँदैछन्।


प्रकाशित : फाल्गुन १, २०७६ १९:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुन्दरता, आत्मविश्वास र मनोबल : कपालको कथा

रीना मोक्तान

काठमाडौँ — कपालले कान छुन थालेको छ । काउकुती लगाउन थालेको छ । निधार छोपिने गरी बिस्तारै बढ्दै गरेको कपालसँगै अभिनेत्री सुरक्षा पन्तको मनोबल पनि शक्तिशाली बन्दै गएको छ ।

'पुन: जन्मेको अनुभव गर्दैछु,' नयाँ फिल्म 'आमा' प्रदर्शनको पूर्वसन्ध्यामा उनले भनिन्।

शीरमा कपाल नहुँदा के-के फरक पर्दोरहेछ भन्ने अहिले उनलाई बोध भएको छ। यसै पनि स्याम्पु र कन्डिसनरको विज्ञापनले बजार छोपेको ठाउँमा कुनै जवान युवतीले कपाल खौरिनु भनेको 'घाटा'को व्यापार हो। त्यसमाथि महिलाले कपाल छोट्याउँदामात्रै 'संस्कारमाथि हमला' भएको ठानिने समाजमा मुन्डन नै गर्नु ठूलो चुनौति थियो। सुन्दरताको प्रतीकसँग जोडिने कपाल खौरिँदा पनि सुरक्षाले आफ्नो सुन्दरता गुमेको महशुस भने गरेकी थिइनन्।

'कपाललाई सौन्दर्यको प्रतिक मानिँदै आएको हुनाले होला कपाल बढ्दै जाँदा सुन्दर भएको आभास हुँदो रहेछ। चाहेर पनि नचाहेर म नारी हुँ भन्ने शक्ति आउँदो रहेछ।'

उनलाई मानिसको आत्मविश्वास कति सानासाना कुराले बलियो र कमजोर हुँदोरहेछ भन्ने पनि यसपालि बोध भयो। कपाल खौरिनुअघि यसको आत्मविश्वाससँग र समाजले कुनै व्यक्तिलाई हेरेर उप्रति बनाउने धारणामा कति ठूलो भूमिका हुन्छ भन्ने उनले अनुमान गरेकी थिइनन्। कपाल खौरिएपछि बल्ल उनले त्यसको अनुभूति गरिन्।

'कपाल बढ्दै जाँदा आत्मविश्वास बढ्दै गएको महशुस गरें,' उनले भनिन्, 'कपाल पलाउँदै जाँदा झन इम्पावर्ड हुँदै गएको अनुभव भएको छ। नयाँ जीवन प्राप्त गर्दैछु भन्ने लाग्दो रहेछ।'
कपाल मुण्डन गरेका महिलाहरुको खास अनुभव उनीसँग छ। हिजोआज त आफूले त्यस्ता महिलाको प्रतिनिधित्व गरेको भान हुन थालेको छ उनलाई।

परिवारका सदस्य आफन्तको ध्यान पनि उनको बढ्दै गरेको कपालले तान्न थालेको छ। उनीहरु भन्न थालेका छन् 'यतिखेर त अलि लामो हुनुपर्ने, ढिलो बढ्दो रहेछ तिम्रो कपाल।' जवाफमा उनी कपालको आफ्नै बढ्ने अनुशासन हुने भनिदिन्छिन्।
०००

एक दिन एयरपोर्टमा रमाइलो भयो। टिसर्ट प्यान्ट लगाएर सुरक्षा एयरपोर्ट भित्र जाँचका लागि लाइनमा थिइन्। चेकिङ गर्ने महिलाले पुरुष पङ्ति देखाउँदै उनलाई भनिन्, 'तपाईँको लाइन यता होइन, उता हो। उता जानुस्।' सुरक्षाले अनुहार छोपिने गरी लगाएको मफ्लर खोलिन्। 'म फिमेल हुँ,' उनले यति भनेपछि ती महिला चकित भइन्। हाँसोको माहोल बन्यो। सुरक्षा पनि हाँसिदिइन्।

'त्यतिबेला मनभित्रै हाँसे। हामी कति कुरालाई बाहिरी स्वरुपले ब्याख्या गर्दो रहेछौं है,' उनले आफ्नो अनुभव सुनाइन्।

कतिपल्ट उनलाई बाटोमा मानिसहरुले एकोहोरो हेर्थे। आँखाबाट ओझेल नहुञ्जेल कुतुहलपूर्ण नजरले हेर्थे। सुरक्षालाई लाग्थ्यो कतै बटम अनि चेन खुलेको त छैन। हात त्यतै सलबलाउँथे। अनि बल्ल महशुस गर्थिन् शीर त कपालबिना उजाड पो छ ! हिँड्दै गर्दा उनी फेरि भुल्थिन् शीर उजाड छ भनेर। तर, यस्ता थुप्रै आँखाहरुले उनको ध्यान उजाड शीरमै पुर्‍याउँथ्यो।
अनि सम्झन्थिइन् लामो कपाल काट्दाको त्यो क्षण।

सुरक्षाले फिल्म 'आमा'को लागि कपाल मुण्डन गरेकी हुन्। 'घर' फिल्मको सुटिङताका निर्देशक दीपेन्द्र के खनालले उनलाई सोधेका थिए 'फिल्ममा कपाल खौरिने दृश्य छ भने के गर्छौं। स्क्रिप्ट राम्रो भए त्यो कुराले खासै फरक नपर्ने उनले बताएकी थिइन्। त्यो कुराले उनलाई छोएको थियो। कपाल नै काट्नुपर्ने फिल्म आइहाले के गर्ने होला भनेर सोच्न थालिसकेको धेरै भएको थिएन।

एक दिन उनलाई दीपेन्द्रले 'आमा' फिल्मको प्रस्ताव राखे। मुण्डन गर्न दृश्यसहितको फिल्म।
उनले सुरुमा फिल्मको स्क्रिप्ट पढ्ने रहर गरिन्। स्क्रिप्टले उनको मन छोयो। अनि त्यसपछि मुण्डनका लागि भित्रबाट आफैंलाई तयार गरिन्। परिवारलाई सुनाउने सोचिनन्। किनकि परिवारलाई मनाउन समय लाग्ने उनलाई थाहा थियो। स्क्रिप्ट पढेको भोलीपल्ट निर्देशकलाई आफू फिल्मको लागि तयार रहेको बताइन्।

'स्क्रिप्टमा कपाल काट्यो भने राम्रो हुन्छ भनेको थियो। काटेन भने अरु विकल्प थियो। फिल्म सानासाना गल्तीमा चिप्लिन सक्छ भन्ने लागेरै कपाल काट्ने निर्णयमा पुगें,' उनले भनिन्, 'प्रोडक्सनको त्यति दबाब पनि थिएन। जुन दिन स्क्रिप्टमा हस्ताक्षर गरें त्यस दिनदेखि कहिल्यै कपाल काट्नेबारे दोस्रोपटक सोचिन्।'

सुटिङ सेटमा पनि कसैले यो विषयमाथि मुख फोरेरै कुरा गर्न चाहेनन्। उनको निर्णयबारे सबै जानकार थिए। त्यसैले पनि सिन्धुलीमा अन्तिम दिन मुण्डन गरेको दृश्य दिन उनलाई सजिलो भयो।

शून्य भावमा मुण्डन
मुण्डन गर्ने दृश्य गर्दै गर्दा ब्लेडले खासै काम गरेन। तनावको माहोल सिर्जना भयो। त्यतिकैमा सुटिङ हेर्न आएका एकजनाले आफूलाई कपाल काट्न आउने बताए। उनले त्यही ब्लेडबाट कपालका जरा काटिदिन थाले। त्यसपछि सुरक्षा शून्य भइन्। क्यामेराले विभिन्न एङ्गलबाट दृश्य खिच्न थाल्यो।

सुरक्षाका वरपर कलाकार मिथिला शर्मा, निर्देशक दीपेन्द्र, फिल्ममा उनका श्रीमानको भूमिका निर्वाह गरेका मनिस निरौला थिए। 'क्रु'को टिम यताउता गरिरहेका थिए। पर बसेर सुटिङ हेर्न आएका गाउँलेहरुको भीड उस्तै। सुरक्षालाई भने कतिखेर सुटिङ सकिएला भन्ने भएको थियो।
शून्यमा परबाट कसैले 'एक्सन, सुरक्षा रेडी?' भनेको उनको कानमा ठोकिन्थ्यो। अनी बल्ल उनी सतर्क भएर चरित्रमा डुब्थिन्। 'कट' भनेको आवाज मधुरो सुन्थिन्। छेउछाउको चहलपहलले उनको मौनता तोडेन। आँखा उठाएर पर हेर्दा सुटिङ हेर्न आएका महिलाहरु सुक्सुकाउँदै गरेको देखिन्।

फिल्मका लागि पनि कपाल काट्नुपर्ने? भन्ने भावहरु उनीहरुका अनुहारमा झल्किएको सुरुक्षा बताउँछिन्। 'त्यो सिन कतिखेर सकिन्छ भन्ने भएको थियो। त्यो सिनमा क्यारेक्टर धेरै नै इमोसनल हुन्छ। म इमोसनल भइसकेको थिएँ,' उनले कपाल मुण्डनको खास अनुभव सुनाइन्, 'आफैलाई सम्हालिरहेको थिएँ। त्यो व्यक्तिले मायाले सुम्सुम्याउँदै कपाल काटिदिनु भयो। त्यो बेला बेस्सरी भक्कानिएँ।'

लगभग डेढ घण्टाको एक्सन कटपछि सुरक्षाको लामो कपाल शीरबाट छुट्टियो। अँध्यारो भइसकेको थियो। सुटिङ हेर्न आएका घर फर्किसकेका थिए। कपाल नरहेपछि उजाड शीरमा चिसोले हान्यो। दृश्य सकेर जुरुक्क उठ्दा निर्देशक खनालले उनलाई भने 'तिमी आनीजस्तै देखेकी छ्यौ।' उनलाई यसमा खासै प्रतिक्रिया जनाउन मन लागेन, बस मुस्कुराइदिइन्।

प्रोडक्सन म्यानेजरले उनलाई फेटा उपलब्ध गराए। उनी सरासर बाथरुम छिरिन्, नयाँ अवतार हेर्न। ऐनामा आफ्नो नयाँ रुप देखेर झसङ्गै भइन्। 'म नै हुँ र? भन्ने भयो। आफू अर्कै मान्छेजस्तै लागिरहेको थियो। तर एकछिन ऐनामा हेरेर आफैलाई स्वीकारें। अनि हाँसे,' नयाँ रुप हेर्दाको अनुभव उनले साटिन्।

आमालाई लागेको झट्का !

सुरक्षाको परिवार बुटवलमा बस्छन्। उनी एक्लै भक्तपुरको नयाँ ठिमीमा बस्दै आएकी छिन्। उनको नौलो स्वरुप देखेर उनका छिमेकी जिब्रो टोक्थे। कपाल काटेको १ हप्तासम्म घरका सदस्यसँग उनको सम्पर्क भएन। अचानक एक दिन आमाले मेसेन्जरमा भिडियो कल गरिन्। भिडियो अन भए पनि आमा अन्तै हेरेर कुरा गर्न मस्त थिइन्।

हालखबर सोधिसकेपछि उनले आमालाई भनिन् 'ममी यता हेर्नु त।' आमाले फनक्क फर्केर भिडियोबाट छोरीलाई जब हेरिन् अवाक् भइन् ५ मिनेट। आमालाई झट्का लाग्यो। निहुरिएकै अवस्थामा कहिले आँखा तन्काएर भिडियोबाट सुरक्षालाई हेर्थिन् त कहिले शीर झुकाउँथिन्। केही नबोली भिडियो उतैबाट काटिदिइन्।

'त्यो बेलाको महिलालाई कति औडाहा भएको होला नि है। बुझिरहेको थिएँ म ममीको भावना। भोलीपल्ट साँझतिर फोन गरेर सकरात्मक हुनुभयो', उनले आमासँगको साक्षात्कार सम्झिइन्,'ठीकै छ, अब झन बाक्लो कपाल आउँछ भनेर उहाँले भन्नु भएको थियो।'

बुबाको प्रतिक्रिया कस्तो होला भन्ने उनको मनमा प्रश्न थियो। 'दशैंमा घर जाँदा बुबाले यसलाई खासै ठूलो विषयको रुपमा लिनु भएन। बरु मेरो नयाँ अवतारसँग सेल्फी लिनुभयो। मलाई साह्रै खुशी लाग्यो,' उनले भनिन्।

मान्छेको सुन्दरता कपालमा अल्झेको हुँदैन रहेछ
कपाल हुँदाको सन्दरता कपाल नभएपछि हराउने हो कि भन्ने पीर थियो उनलाई। विस्तारै त्यो पीर हराउँदै गयो। कपाल नहुँदा पनि उनले आफूलाई सुन्दर देख्न थालिन्। 'मेरो सुन्दरता कपालमा अडेको होइन रहेछ भन्ने अनुभव भयो। सुन्दरता अरु नै ठाउँमा हुँदो रहेछ। कहाँ चाहिँ लुकेको रहेछ सुन्दरता, के गुमाउँदा मेरो सुन्दरता रहँदैन त? यस्तै प्रश्नहरु मनमा आउँथ्यो,' हाँस्दै सुनाइन्।
उनले कपाल नहुँदा पनि आफूलाई सुन्दर देखिन्। बाहिरी आवरणमा भन्दा पनि दिमागमा कि त मनमा सुन्दरता हुने उनको भनाई छ। दिमाग चल्न छोडेको दिन आफू कुरुप देखिने उनको तर्क छ।

कपाल भएको सुरक्षा र कपाल बिनाको सुरक्षामा फरक पाउनुभयो त?

प्रश्नको जवाफमा भनिहालिन्, 'केही फरक छैन साँच्चै भन्दाखेरी। भित्र त केही चेन्ज नै छैन। कपाल काटेपछि त अझै संसार हेर्ने दृष्टिकोण फराकिलो भएको छ। मानिसको कमि कमजोरीमा पनि मैले सुन्दरता देख्न थालें। सुन्दरता भनेको तपाईंको आँखामा हुँदो रहेछ। सबै हेर्ने दृष्टिकोणमा भरपर्दो रहेछ।'

कपाल काटेपछि प्यान्ट सर्ट लगाउनुपर्छ भन्ने उनलाई कहिल्यै लागेन। कपाल अनुसारको पहिरन मिलाउनतिर लागिनन्। सारी लगाइन्, त्यसमा आफूलाई सुहाएको महशुस गरिन्। कहिले कुर्ता लगाइन्। 'म आउट अफ द बक्स नै अनुभव गर्दै थिएँ। नेपालमा यस्तो अभ्यास खासै हुँदैन। कपाल काटेपछि क्याप नै लगाउनुपर्छ भन्ने छैन। सारी लगाएँ। त्यसमा आफूलाई सुन्दर नै देखें,' उनले सुनाइन्, 'त्यही सारीमा कन्फिडेन्टले हिँड्दिएपछि कति महिलाले कपाल काट्दा त राम्रै देखिने रहेछ। म पनि काटुँ कि क्या हो भन्ने पनि गर्नुहुन्थ्यो। त्यो कन्फिडेन्ट रहेछ के, कुनै चिजलाई सजिलै लिइयो भने सबैले त्यसलाई त्यसरी नै लिइँदो रहेछ।'

छोटो कपालका कारण फिल्मको अफर घट्यो
कपाल नभएकै कारण देखाउँदै धेरै फिल्ममेकर पछिल्लो समय उनीबाट तर्किए। कतिले कपाल लामो भएपछि नै काम गर्ने बाचा गरे। तर सुरक्षा आफैं भने त्यही कपाल नभएको सुरक्षामा नयाँ पात्र पाउँछिन्। तर, यस किसिमको पात्रतर्फ मेकरको ध्यान गएको छैन। उनीहरु अझै कपाल लामो भएको सुरक्षालाई फिल्ममा अनुबन्धित गर्ने सोच्छन्।

'कपाल छोटो हुँदा पनि फिल्मको स्क्रिप्ट आइदिएको भए कस्तो राम्रो हुन्थ्यो। यो त एउटा राम्रो क्यारेक्टर हो नि। क्यारेक्टर बनाउने ठाउँ छ नि त। तर त्यो माहोल पनि अरुले देखेनन्। जति मेकर भेटैं कपाल छोटो छ भन्दै पन्छिरहेका छन्,' उनले सुनाइन्।

फिल्मको लागि कपालै मुण्डन गरेकी सुरक्षा 'आमा'बाट सकरात्मक प्रतिक्रिया पाउनेमा आशावादी छिन्। 'आमा' फिल्ममा आफूले मात्रै नभइ सबै कलाकारको मिहिनेत उतिकै लागेको उनी बताउँछिन्। 'यो मेहनत व्यर्थमा जालाजस्तो पटक्कै अनुभव भएको छैन। फिल्मले उठाएको विषयवस्तु उठाउनु नै आँट हो, अस्पतालको बेथितिको विषय उठाउनु चुनौतीपूर्ण छ,' उनले भनिन्। फिल्म चल्छ/चल्दैन उनी अनुमान गर्न चाहनन्। तर यसको मेकिङलाई लिएर प्रशंसा पाउनेमा आशावादी छिन्।

यसमा भने उनको आशावादिता पहिलेको कपालजस्तै बाक्लो छ।

प्रकाशित : माघ २७, २०७६ १८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×