राष्ट्रिय बाल नाटक महोत्सव : रमाउँदै बालबालिका

काठमाडौँ — बालबालिकाले बालबालिकाका लागि आफ्नै विषयवस्तुमा आधारित रही तयार पारेका नाटक अनि दर्शक पनि बालबालिका नै । एक सातादेखि राजधानीको रसियन कल्चर सेन्टरमा शैली थिएटरले आयोजना गरेको राष्ट्रिय बाल नाटक महोत्सवमा यस्तै माहोल देखिँदै आएको छ । बुधबार ११ औं संस्करणको उक्त महोत्सवले ६ विधामा विजयी घोषणा गर्दै बिट मार्दै छ ।

राष्ट्रिय बाल नाटक महोत्सव : रमाउँदै बालबालिका

‘प्रायः नाटक वयस्कका लागि मात्रै हुन्छन् । तन्नेरीले नै खेल्छन् अनि दर्शक पनि यही उमेर समूहका नै बढी देखिएका हुन्छन्,’ शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले कान्तिपुरसँग भने, ‘तर बालबालिकाका लागि नाटक खोई त भन्ने मनमा लागेपछि हामीले यो महोत्सवको सुरुवात गरेका हौं । भाइबहिनीहरूको सहभागिता देख्दा हाम्रो प्रयास सफल भइरहेको ठानेका छौं ।’ यसपटक महोत्सवमा १६ वटा विद्यालयका भाइबहिनीले नाटक प्रस्तुत गरे ।

मंगलबार गोल्डेन सुनगाभा स्कुलको ‘ड्याड भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुलाकाजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नुपर्छ’ मञ्चन गरिए । ‘ड्याड भर्सेस मम’ ले आमा र बाबुबीच सम्बन्ध नराम्रो हुँदै सम्बन्धविच्छेदको अवस्थामा पुग्दा सन्तान कुन मनोदशाबाट गुज्रन्छ र उसको पढाइमा कस्तो असर पर्छ भन्ने देखाउन खोजेको थियो भने बाँकी दुई नाटकले पनि बालबालिकाका विषयलाई नै सम्बोधन गरेका थिए । दर्शकदीर्घामा रहेका बालबालिका आफ्नै सहकर्मीको अभिनयमा घरी भावुक भइरहेका हुन्थे भने ठट्यौली प्रस्तुतिमा जोडतोडले हाँसिरहेका हुन्थे । नाटक हेरिसकेपछि एक विद्यार्थीले खुसी हुँदै भनिन्, ‘फिल्महरू त खुब हेर्छु । तर यस्तो नाटक पहिलो पटक हेर्न पाएँ । एकदम रमाइलो हुने रहेछ ।’ उनले बालबालिकाकै बारेका नाटक हेर्न र बुझ्न सजिलो भएकाले पनि बढी रमाइलो लागेको प्रतिक्रिया दिइन् ।


महोत्सव संयोजक नारायण न्यौपाने नाटक मञ्चनको अघिपछि सहभागी बालबालिकासँग अन्तरक्रिया गरिरहेका हुन्थे । न्यौपानेले थप सक्रिय बनाउन बालबालिकालाई उनीहरूका क्षमताअनुरूप गीत गाउनदेखि अन्य गतिविधिका लागि फ्लोर उपलब्ध गराएर माहोल रोचक बनाइरहेका हुन्थे । महोत्सवमा शैली थिएटर आफैंले पनि नाटक ‘सुनौलो माछा’ अप्रतियोगीका रूपमा उद्घाटन सत्रमा मञ्चन गरिएको थियो । त्यसपछि राराहिल मेमोरियल स्कुलले बालबालिकालाई विभिन्न तरकारीका चरित्रमा मञ्चमा उतारेर ‘करेसा कन्सर्ट’ गरेको थियो । नाटकका निर्देशक केदार श्रेष्ठले नाटकमार्फत बालबालिकालाई तरकारी, फलफूलका महत्त्व दर्साएका थिए ।


त्यस्तै, महोत्सवमा जेन्युन स्कुलको ‘निष्कासन’ ले विद्यालयमा शिक्षकबाटै छात्रामाथि हुने दुर्व्यवहारका बारेमा आवाज उठाएको थियो भने क्रिएटिभ एकेडेमीको ‘अनमाया’, प्रज्ञा सदनको ‘डर’ र विनायक स्कुलको ‘काँडा कि फूल’ ले पनि विद्यार्थीकै समस्यालाई उठाएको थियो । रिलायन्स स्कुलको ‘ड्रग्स एब्युज’ मा खराब साथीको संगतले बालबालिका कसरी कुलतमा फस्दै जान्छन् र वृहस्पति विद्यासदनको ‘एक १’ ले अक्षरहरूसँग तर्सने समस्या भोगिरहेको एक विद्यार्थीले पछि कसरी पढ्न थाल्छ भन्ने कुरा रोचक ढंगले प्रस्तुत गरेको थियो ।


त्यसैगरी, लिभरपुल स्कुलको ‘टीका’, तारा सदन स्कुलको ‘वृन्दा’ नाटकले पनि दर्शकको मन जितेको थियो । महोत्सवमा उत्कृष्ट अभिनयका लागि दुई जनालाई १० हजार रुपैयाँका साथै उत्कृष्ट निर्देशक र नाटकलाई पनि ७–७ हजार रुपैयाँ तथा दुई जनालाई प्रोत्सहान पुरस्कार र पब्लिक च्वाइसमा ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । शैलीका अध्यक्ष बुढाथोकी महोत्सवलाई प्रतियोगितात्मक बनाउँदा भाइबहिनीहरूमा झन् राम्रो गर्नुपर्छ भन्ने सोचको विकास भएको आफूले पाएको सुनाए । उनले यस्तो महोत्सव गर्दा स्कुले बालबालिकाले रंगमञ्चको बारेमा आफैं सहभागी भई बुझ्न पाउने भएकाले भोलिको नेपाली रंगमञ्चमा फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : माघ २९, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?