‘संगीतले एक्लो हुन दिएको छैन’- मनोरञ्जन - कान्तिपुर समाचार

‘संगीतले एक्लो हुन दिएको छैन’

सुशीला तामा‌ङ

संगीतकार तथा गायक जगतमर्दन थापा माघ २७ गतेदेखि ८४ वर्षमा लागे । अचेल हार्मोनियममा उनका औंला ढिला हुँदै गइरहेछन् तर उनको मनले मानिरहेको छैन । राजधानीको लाजिम्पाट रानीबारीस्थित घरमा प्रत्येक दिन हार्मोनियममा करिब दुई घण्टा रियाज गरेपछि मात्र उनको मन शान्त हुन्छ ।

राणाशासनकालमा बाबु नरमर्दन थापाको जागिरे जीवनकै क्रममा सप्तरी बरमझिया जन्मेका थापा बाल्यकालदेखि गीतसंगीत र साहित्यमा तानिएका थिए । तिनताक रेडियो नेपालमा प्रसारण हुने ‘छात्र कार्यक्रम’ र ‘नारी कार्यक्रम’ मा उनले गीत, कविता तथा कथाहरू नियमित रूपमा वाचन गर्थे । सुरुमा बिनापैसा वाचन गरे पनि एक दिन नारी कार्यक्रमकी सञ्चालिका शान्ता श्रेष्ठले पुरस्कारस्वरूप दिएको २० रुपैयाँ उनलाई अझै याद छ ।


यो उमेरमा पनि संगीतप्रतिको उनको उत्साह घटेको छैन । यतिबेला पाँचौं एल्बम ‘म मक्किएको धुरी खाँबो’ निकाल्ने धुनमा छन् । लगत्तै छैटौं एल्बमका लागि थाती रहेको कामको पनि उनलाई चटारो छ । २०१३ बाट नै रेडियो नेपालमा गीत, कविता, कथा लेखन तथा वाचन कार्यक्रममा सक्रिय गायक थापाले २०१८ मा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा पहिलो गीत ‘माया लुकाई लुक्दैन...’, ‘कोइलीले सम्झाइदियो...’ जस्ता कालजयी सिर्जना रेकर्ड गराएका थिए । त्यसपछि ०२२ मा मुम्बईबाट ‘मायालु नयनको इसारा...’, ‘कुहिरोसँग डाँडाकाँडा...’ जस्ता गीत रेकर्ड हुँदासम्म उनी रेडियो नेपालमा बज्ने निरन्तर आवाज बनिसकेका थिए । यही बेला उनले कथासंग्रह ‘पलाँसको फूल’ र गीतिसंग्रह ‘दिलको आवाज’ प्रकाशित गरे । ‘जागिरे जीवनले गर्दा संगीतमा केही पछि परे’, उनी


सम्झिन्छन्, ‘त्यतिबेलाको गीतिसंग्रह पनि सुरक्षित हुन सकेन ।’ थापा र उनका छोरा यसकै खोजीमा लागेको लामो समय बितिसक्यो ।


सञ्चय कोष, कृषि चुन उद्योग, उद्योग मन्त्रालयजस्ता निकायमा तीन दशकभन्दा लामो समय उनले सरकारी सेवा गरे, तैपनि संगीत छोड्न सकेनन् । विभिन्न ठाउँमा हुने कार्यक्रममा उनी गाउने, लेख्ने गर्थे । तर नेपालमा सहजै रेकर्ड गर्ने वातावरण नहुँदा मात्र उनका गीतहरू औपचारिक रुपमा बाहिर आउन सकेनन् । उनले टेप रेकर्डरमै २०२७ मा रेडियो नेपालमा कार्यरत गणेश परियार, कृष्ण परियार, बटुकृष्ण ज्वालालगायतकाको सहयोगमा ‘जुनेली रात म कति पर्खूं...’ बोलको गीत रेकर्ड गरेका थिए ।


जागिरे जीवनमा धीमा बनेको उनको सांगीतिक यात्राले ५० को दशकमा अवकाश प्राप्तपछि पुनः गति लियो । ‘संगीतमा अझै थाकेको छैन’, उनी भन्छन्, ‘मेरो शरीर र श्वासले साथ दिएसम्म गाइरहन्छु ।’ संगीतप्रतिको तीव्र चाहना र साधनाको हुटहुटी नजागेको भए यस अवस्थासम्म नआइपुग्ने थापा जिकिर गर्छन् । उनको इच्छालाई बुझेर परिवारले पनि साथ दिएका छन् । विशेषगरी छोरा मोहितले घरव्यवहार सम्हालेपछि नै उनी संगीत साधनामा निर्धक्क भएर लाग्ने मौका पाए ।


पचासको दशकमा उनको पुनरागमन हुँदा नेपाली संगीत निकै अगाडि बढिसकेको थियो । गोपाल योञ्जन, अम्बर गुरुङ, नारायणगोपाल, फत्तेमान राजभण्डारी, अरुणा लामा, शान्ति ठटालजस्ता स्रष्टाहरूले संगीतको उचाइ निकै माथि उठाइसकेका थिए । त्यही संगीतको धारमा बग्न उनलाई शास्त्रीय संगीतको ज्ञान अझै लिनुपर्छ भन्ने लाग्यो र ६४ वर्षको उमेरमा संगीतगुरु प्रभुराज ढकालकहाँ पुगे र ९ वर्षसम्म शास्त्रीय संगीत सिके । उनले ७३ वर्षको उमेरमा भारतको इलाहाबाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी म्युज उत्तीर्ण गरे । यसपछि उनले ‘४० वर्षअघि र ४० वर्षपछि’ र ‘मनको शान्ति’ गीति एल्बम ल्याए । त्यस्तै २०७३ मा तेस्रो एल्बम ‘माया लुकाई लुक्दैन’ मार्फत निरन्तरता दिए । त्यसको दुई वर्षपछि ‘म पतझड तिमी मधुमास’ पनि सार्वजनिक गरे । यो एल्बममा भारतीय गायिका उषा मंगेशकरले पनि स्वर दिएकी छन् ।


साढे आठ दशक उमेरमा पनि गायक थापाको संगीत–भोक उस्तै छ । कुराकानीकै क्रममा सँगै रहेका छोरा मोहितले ‘उहाँ त ९० वर्षसम्म गाउँछु भन्नुहुन्छ’ भन्दै गर्दा उनले थपे, ‘९१ वर्षसम्म ।’ संगीतलाई समुद्रको गहिराइभन्दा पनि आकाशको उचाइसँग तुलना गर्ने उनी यसलाई दैनिक योग र बुढेसकालको सहाराका रूपमा पनि लिन्छन् । ‘जागिरे जीवनको विश्रामदेखि पत्नी वियोगमा पनि मैले संगीतले चित्त बुझाएँ’, उनी भन्छन्, ‘यसले मलाई कहिल्यै पनि एक्लो र कमजोर हुन दिएको छैन ।’


नयाँ पुस्तालाई उनी संगीतको गहिराइमा आउन आग्रह गर्छन् । माइक र गिटार समाएर स्टेजमा गीत गाउँदैमा गायक/गायिका बन्न नसक्ने उनको मत छ । ‘संगीतको मर्म र संरचना बुझ्‍न शास्त्रीय संगीतको ज्ञान अत्यन्तै जरुरी छ,’ उनी भन्छन्, ‘यही नै संगीतको व्याकरण हो ।’ थापाका अनुसार उनको पछिल्लो एल्बम फागुनको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइरहेको छ । जसमा सातवटा गीत छन् । ‘वसन्तको फूलसरी...’, ‘दैवसंयोग...’, ‘आलीआली हरियाली...’, ‘फेरि साथ मेरै...’ लगायतका गीतमा रत्नशमशेर थापा, सहदेव ढुंगाना, विवश बस्तीलगायतको शब्द रचना रहेका छन् । त्यस्तै शक्ति बल्लभ, कल्याण सिंह, रूपक शाहीलगायतको संगीत रहेको गीतमा उनलाई स्वरमा साथ जुनु गौतम र दिपेश किशोर भट्टराईले दिएका छन् ।

प्रकाशित : माघ २९, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

सन्तोषजनक नतिजाको पर्खाइमा नेपाल

अमेरिकासँग बुधबार हुने दोस्रो खेलमा पनि जित हात पार्दै नेपाल त्रिकोणात्मक शृंखला टुंग्याउने तयारीमा छ
विनोद पाण्डे

काठमाडौँ — नेपालसँग क्रिकेट विश्वकप लिग २ मा खेल्दा अमेरिकासँग बुधबार धेरै विकल्प हुने छैन । ओमानले लगातार चार खेल जितेर ‘क्लिन स्विप’ गरिसकेको छ । नेपालसँग पराजित भएमा अमेरिकाले नतिजाको हिसाबमा ठीक उल्टो ‘क्लिन स्विप’ हार बेहोर्नुपर्नेछ । 

अमेरिकाले तीन खेल हारिसकेको छ । त्यसमा दुई खेल ओमानसँग छ । ओमानसँग दुवै खेल हारेको नेपालले अमेरिकासँगको खेलमा ३५ रनको जित पाएको थियो । अमेरिकासँग दोस्रो खेलमा पनि जित हात पार्दै नेपाल सन्तोषजनक नतिजासाथ त्रिकोणात्मक शृंखला टुंग्याउने तयारीमा छ । अमेरिका भने पहिलो जित हात पार्न व्यग्र छ ।

ओमानविरुद्ध मंगलबार निसर्ग पटेलले अर्धशतक र एरोन जोन्सले अविजित ४७ रन बनाएकाले अमेरिकाका प्रशिक्षक जिम्मी पेमेन्ट नेपालसँगको खेलमा आशावादी छन् । ‘अरु खेलाडीले पनि यस्तै खेल्नुपर्नेछ । पटेल र जोन्सको प्रदर्शनले हामीलाई ठूलो बल दिएको छ । फिल्डिङमा हामी ७५ प्रतिशतमात्र देखिएका थियौं, ओमानजस्तो टोलीसँग खेल्दा त्यसको सजाय पाएका छौं,’ पेमेन्टले भने । नेपालसँगको पहिलो खेलमा अमेरिकाले चार सिमर खेलाएको थियो । शर्ट पिच बलमा नेपालले कमजोरी देखाएर अमेरिकाले तीव्र गतिको बलिङबाट आक्रामण गरे पनि त्यो पूरा सफल हुन सकेको थिएन । त्यसैले बुधबार अमेरिकाले लेग स्पिन अलराउन्र तिमिल पटेललाई खेलाउन सक्छ । उनले नेपाल ११ सँगको अभ्यास खेलमा ४ विकेट लिएका थिए । त्यसपछि उनलाई ओमानसँगको पहिलो खेलमा मात्र खेलाइएको छ, त्यसमा उनले ४ ओभरमात्र बलिङ गरे । तर प्रशिक्षक पेमेन्ट मूलपानी भएको अभ्यास खेलको विकेट क्रिकेटको मर्मअनुरुप नभएको बताउँदै पटेललाई खेलाउन सकिने बताउँछन् ।

‘हामीले आफ्नो क्षमताअनुसार खेल्न सकेका छैनौं, हामी आफ्नो योजना अनुसार पनि खेल्न सकेका छैनौं । खेलाडीहरू पनि फर्ममा छैनन्, राम्रो प्रदर्शन दिन सकेका छैनन् । इयान हल्यान्डलाई छाड्ने हो भने हाम्रो शीर्ष ब्याटिङपंक्तिको योगदान खासै छैन । स्पिन बलिङसामु हाम्रो ब्याटिङमा केही समस्या छ । तर आफ्नो खेलमा आत्मविश्वास पनि देखिएको छैन,’ अमेरिकालाई विजय दिलाउने आशामा रहेका प्रशिक्षक पेमेन्टले भने । विनोद भण्डारी र कुशल मल्लको अर्धशतकमा नेपालले १ सय ९० रन बनाए पनि अमेरिकासँगको पहिलो खेल जितेको थियो । अमेरिकासँगको त्यो खेल कुशलको एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ पनि थियो र त्यसमा ५० रन बनाउँदै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । अमेरिकाको ब्याटिङ स्पिन आक्रामणविरुद्ध कमजोर रहने गरेको छ, त्यसमा पनि विशेष गरी देव्रेहाते स्पिन बलिङमा ।

कुशलको आगमनले टोलीमा एक अतिरिक्त स्पिन बलर थपेको छ । यसले नेपालको अलराउन्ड पक्षलाई बलियो बनाएको छ । कुशल र अर्का देव्रेहाते स्पिनर सुसन भारीलाई झेल्नु अमेरिकाका लागि सजिलो हुने छैन । अमेरिकाको कमजोरी बुझेर नेपालले देव्रेहाते अर्का स्पिनर ललितनारायण राजवंशीलाई पनि खेलाउन सक्छ । ओमानसँगको पहिलो खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका सुसनले ३ खेलमा ७ विकेट लिइसकेका छन् भने ललित नेपालबाट पहिलो खेल खेल्ने आशामा छन् ।

ब्याटिङमा विनोद र कुशलप्रति नेपालको नयाँ आशा जागेको छ । एकरुपको प्रदर्शन गर्न नसकेका विनोदले शृंखलाका तीन खेलमा १ सय २० रन बनाएका छन् । कुशलले ओमानसँगको खेलमा पनि २८ रन बनाउँदै नेपाली टोलीलाई नयाँ जोस दिएका थिए । ओमानसँग अर्धशतक बनाएका कप्तान ज्ञानेन्द्र मल्लले ७८ रन बनाएका छन् । पूर्व कप्तान पारस खड्काबाट नेपाली टोलीले धेरै आशा राखेको छ ।

इल्यासको घरेलु मैदान
सन् २००० ताका एडनान इल्यास एसियाली क्रिकेटको एसोसिएट स्तरमा निकै चर्चामा आएको नाम थियो । उनले उमेर समूहको एक खेलमा १ सय ९९ रन बनाएका थिए । नेपालले सन् २००३ मा पाकिस्तानको कराँचीमा एसीसी यू–१९ एसिया कप जित्दा एडनान म्यान अफ द सिरिजमा चुनिएका थिए । एडनानले जस्तै एकै खेलमा उनका भाइ अकिब इल्यासले प्रदर्शन गर्न नसके पनि नेपाली क्रिकेटमा अहिले चर्चाका पात्र हुन् ।


नेपालसँगको खेलमा अविजित १ सय ९ रन बनाउँदै अकिब ओमानबाट एकदिवसीयमा शतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनको त्यो क्रममा मंगलबार लगातार दोस्रो खेलमा पनि जारी रह्यो । उनले अमेरिकासँग १ सय ५ रन बनाए । ‘लगातार दुई शतक बनाउनु जस्तो राम्रो अनुभूति ब्याट्सम्यानका लागि धेरै हुँदैन । दुई लगातार शतकका साथै लगातार म्यान अफ द म्याच पनि पाएको छु,’ अकिबले भने, ‘यस्तो कठिन विकेटमा रन बनाउन सजिलो छैन । त्यसमा रन बनाएर सबै खेलमा आफ्नो टोलीलाई जिताउनुका महत्त्व नै अर्कै छ । यस्तो अनुभति त ब्याट्सम्यानले सपनामा मात्र देख्छन् ।’

अकिब आफ्नो सफलताको श्रेय आफ्ना दाइ एडनानलाई दिन्छन् । सन् २०१६ को विश्वकप ट्वान्टी–२० यता एडनानले ओमानको टोलीबाट खेलेका छन् । दाइको श्रेयले नै आफू यहाँ आइपुगेको अकिब बताउँछन् । लिग २ मा उनी १० खेलमा सर्वाधिक ६ सय १० रन बनाउँदै अन्य ब्याट्सम्यानभन्दा २ सय रनले पछाडि छन् । उनले पछिल्ला ९ इनिङ्समा २ शतक र ४ अर्धशतक बनाएका छन् ।

‘हुनसक्छ म अहिले राम्रो समयमा छु । नेट्समा हामी टेक्निकमा समय खियाइरहेका थियौं । ब्याटिङ प्रशिक्षकले हाम्रो टेक्निकमा ध्यान दिइरहेका छन् । हामीले सबै खेलमा राम्रो गरिरहेका छौं । आत्मविश्वासले पनि मलाई राम्रो खेल्न प्रेरित गरिरहेको छ । विपक्षी टोलीका बलरले राम्रो नगरेको पनि हुनसक्छ । तर हाम्रा बलरले धेरै राम्रो बलिङ गरिरहेका छन्,’ अकिब आफ्नो र टोलीको सफलताको श्रेय खोतल्छन्, ‘राम्रो दिन चलिरहेको समयमा सबै राम्रो हुन्छ । बलिङमा आउँदा म पहिलो बलमै विकेट लिन सकिरहेको छु । शर्ट बल होस् वा राम्रो मैले विकेट लिइरहेको छु । यो खेल जीवनको एउटा हिस्सा । कहिले राम्रो दिन हुन्छ कहिले नराम्रो । अहिले मेरो राम्रो दिन चलिरहेको छ ।’

उनले कठिन मिहिनेतको फल आइरहेको जनाए । पछिल्लो तीन वर्ष धेरै राम्रो गरिरहेकाले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पनि छनोट हुन सफल भएको उनको ठम्याइ छ । मंगलबार पनि उनले अर्धशतक पूरा गरेपछि दर्शकतर्फ नै पहिला ब्याट उठाएका थिए । ‘मलाई दर्शकमाझ खेल्न मनलाग्छ । यहाँ आएर खेल्नुको आनन्द हामी उठाइरहेका छौं । यहाँ क्रिकेट खेल्दा निकै मजा आउँछ, त्यसले पनि हामीलाई सहयोग गरिरहेको छ,’ अकिबले भने, ‘नेपाल हामीलाई घरेलु मैदानजस्तै छ । दर्शकहरू हामीलाई समर्थन गरिरहेका छन्, उनीहरू क्रिकेटको समर्थन गर्छन् । घरेलु मैदानमै खेलिरहे जस्तो लाग्छ । घरेलु मैदानबाहिर गएर खेलिरहेको जस्तै लाग्दैन ।’

नेपालमा आएर ४ खेलमा ३ सय २ रन बनाएपछि उनलाई एभरेस्ट प्रिमियर लिगका फ्रेन्चाइज टोलीले नजर लगाएका छन् । उनी भन्छन्, ‘म विश्वको कुनै पनि कुनामा गएर खेल्न चाहन्छु । अवसर पाएँ भने नेपालमा पनि आएर खेल्नेछु । हेरौं, भविष्यमा के हुन्छ । तर अहिलेसम्म नेपालमा आएर फ्रेन्चाइज खेल्न कहींबाट प्रस्ताव आएको छैन ।’

ओमानको ‘क्लिन स्विप’
ओमानले अमेरिकालाई ९२ रनले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा ‘क्लिन स्विप’ गरेको छ । त्रिकोणात्मक शृंखलाका सबै चार खेल जित्नेक्रममा ओमानले अमेरिका र नेपालमाथि २–२ जित हात पारेको हो । ओमानले यस शृंखलामा लगातार चौथो खेल जितेर अमेरिकासँगको दूरीलाई अझ फराकिलो बनाएको छ ।

कप्तान जिसान मक्सुद र उपकप्तान अकिब इल्यासको शतकमा ओमानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७६ रन बनायो । जवाफमा आएको ओमान ३९.१ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । अमेरिकाले पहिलो तीन खेल नै हारिसकेको छ र टोलीले बुधबार नेपालसँग अन्तिम खेल खेल्दै छ ।

ओमान १० खेलमा ८ विजय हात पार्दै १६ अंकका साथ शीर्षस्थानमा छ । शृंखलाअघि शीर्षस्थानको अमेरिका ११ खेलमा ६ मा विजय हात पार्दै १२ अंकसाथ दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा एकमात्र जित हात पार्न सकेको छ ।


कीर्तिपुरको टर्निङ विकेटमा अमेरिकाका ब्याट्सम्यान मंगलबार पनि जम्न सकेनन् । निसर्ग पटेलले ३६ बलमा ५२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिकी खेलाडीले बनाएको यो सबैभन्दा तीव्र अर्धशतक हो । उनले ४ चौका र ४ छक्का प्रहार गरे । पहिलो दुई खेलमा ओपनरको रूपमा असफल भएका एरोन जोन्स ४७ रन बनाई अविजित रहे । जोन्सले ७९ बल खेली ३ चौका प्रहार गरे । ओपनर जेभियर मार्सल २३, इयान हल्यान्ड २८ र रुस्टी थेरोन १२ रनमा आउट भए । ओमानका अकिब इल्यास र बिलाल खानले ३–३ तथा कप्तान जिसन मक्सुदले २ र मोहम्मद नदिमले १ विकेट लिए ।

यसअघि ओमानबाट मक्सुदले १ सय ९ र इल्यासले १ सय ५ रन बनाएका थिए । इल्यासको यो लगातार दोस्रो शतक हो । नेपालसँगको खेलमा १ सय ९ रन बनाउँदै इल्यास एकदिवसीय अन्तर्राष्ट्रिय शतकमा बनाउने ओमान पहिलो खेलाडी बनेका थिए । त्यसलाई निरन्तरता दिँदै मंगलबार पहिला मक्सुद र त्यसपछि इल्यासले शतक बनाएका हुन् । जतिन्दर सिंह ९ र खावर अली १० रन बनाएपछि इल्यास र मक्सुदले तेस्रो विकेटमा २ सय १६ रनको साझेदारी गरे । मक्सुद आउट हुने पहिलो खेलाडी थिए । उनले १ सय ९ बल खेली १० चौका र ४ छक्का प्रहार गरे । मक्सुद र इल्यास दुवैलाई अमेरिका कप्तान सौरभ नेत्राभाल्करले आउट गरे । इल्यासले १ सय २३ बल खेली ११ चौका र १ छक्का प्रहार गरे । सन्दीप गौड १३ रनमा अविजित रहे । अमेरिकाबाट नेत्राभाल्कर र रुस्टी थेरोनले ३–३ विकेट लिए ।

प्रकाशित : माघ २९, २०७६ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×