सबटाइटलमा ओस्कर !

यज्ञश

काठमाडौँ — हुन त कथा फिल्मका लागि एउटा धागो हो । जसरी फूलका थुंगालाई धागोले मालाका रूपमा बाँधेर राख्छ, त्यसैगरी कथाले दृश्यहरूका थुंगालाई एउटा निश्चित आकारमा बस्न बाध्य पार्छ । फिल्मलाई खास आकार दिने काम पटकथा, छायाँकन, सम्पादन र प्रोडक्सन डिजाइनजस्ता विधाले गर्छन् । जसरी माटो बिना इँटा बन्दैन, धागो बिना कपडा बन्दैन, त्यसैगरी कथा बिना आख्यान बन्दैन । र, आख्यान बिना 'प्यारासाइट' बन्दैन । अनि, इतिहास बन्दैन । 

ZenTravel

यो हप्ता इतिहास बन्यो। दक्षिण कोरियाली निर्देशक बोङ जो हुको फिल्म 'प्यारासाइट'ले उत्कृष्ट फिल्म, निर्देशक, अन्तर्राष्ट्रिय फिल्म र पटकथाजस्ता महत्तवपूर्ण विधामा ओस्कर जितेर यो इतिहास लेख्यो। अंग्रेजीबाहेकको भाषामा बनेर पनि उत्कृष्ट फिल्मको ओस्कर जित्ने ९२ वर्षको इतिहासमा यो पहिलो फिल्म बन्यो। त्यस्तै, विदेशी भाषा र उत्कृष्ट फिल्म दुवैमा ओस्कर जित्ने पनि यो पहिलो फिल्म बन्यो। यसै वर्षको सुरुतिर प्रसिद्ध क्यान फिल्म फेस्टिभलमा पनि यसले यस्तै रेकर्ड बनाएको थियो। यो फिल्म क्यानको सर्वोच्च पुरस्कार पाम डि'अर जित्ने पहिलो कोरियन फिल्म बनेको थियो।

Meroghar

निर्देशक बोङ हलिउडका लागि अपरिचित होइनन्। यसअघि नै 'मेमोरिज अफ मर्डर' र 'द होस्ट'जस्ता फिल्मबाट उनी स्थापित भइसकेका थिए। बोङ दुई वर्षअघिको नेटफ्लिक्स फिल्म 'ओक्जा'पछि निकै चर्चामा आएका थिए। नेटफ्लिक्समा देखाइएको फिल्मलाई मोसन पिक्चर नमान्ने भन्दै क्यानले यो फिल्मलाई प्रतिस्पर्धामा राख्न अस्वीकार गरेको थियो।

दुई वर्षमा नै धेरै कुरा बदलियो। बोङले क्यान जिते र जिते ओस्कर। त्यो पनि एकै वर्ष ४ विधामा। दक्षिण कोरियालाई सिनेमाको उदाउँदो शक्ति मानिन्थ्यो, त्यसमा अब लालमोहर लागेको छ। ओस्कर हलिउड महिमागान गर्ने अवार्ड भए पनि संसारभर यसको धाक निकै ठूलो छ। त्यो किन पनि छ भने राजनीति र सामरिक शक्तिमा अमेरिकाको धाक अझै पनि सबभन्दा ठूलो छ। शक्तिशालीका सत्य बढी विश्वसनीय मानिएजस्तै अहिलेको समयमा बलशालीको लालमोहर पनि बढी चहकिलो देखिन्छ।

यो मान्यता पाउनका लागि कोरियाले आफ्नो फिल्म उद्योगमाथि कति लगानी गर्‍यो भने अलग कथा छ। कुनैबेला हलिउडको कब्जामा पुगिसकेको बजारलाई त्यसबाट निकाल्न कोरियाले ठूलो मिहिनेत र लगानी गरेको थियो। फिल्म एकेडेमी खोलेर युवाहरूलाई फिल्म पढाउनेदेखि फिल्म फेस्टिभलको आयोजनासम्म कोरियाले कुनै कसर बाँकी छोडेको थिएन। त्यही फिल्म एकेडेमीबाट १९९० मा ग्राजुयट गरेका बोङले तीस वर्षमा ओस्कर जिते। यसलाई कोरियन सफलताको एउटा पूर्ण चक्रका रूपमा अर्थ्याइएको छ।

बोङले आफ्नो ओस्कर भाषणमा हलिउड निर्देशक मार्टिन स्कोरसेजीको भनाई उद्धृत गरे- 'जे सबैभन्दा वैयक्तिक हुन्छ, त्यो नै सबभन्दा बढी सृजनशील हुन्छ।' उनले भने, 'यो कुरा मैले फिल्म एकेडेमीको विद्यार्थी छँदा पढेको थिएँ र यसबाट निकै प्रभावित थिएँ।' उनले मार्टिन स्कोरसेजीका फिल्मबारे नै एकेडेमीमा अध्ययन गरेका थिए। र, क्विन्टन टेरन्टिनोको आफूमा निकै प्रभाव रहेको बताउने गरेका थिए।

रोचक त के भने, यसपाली उत्कृष्ट निर्देशकमा उनीसँग उनका यी दुवै 'आइडल' प्रतिस्पर्धी थिए। स्कोरसेजी नेटफ्लिक्स ड्रामा 'दि आइरिसम्यान'का लागि र क्विन्टन 'वन्स अपन अ टाइम इन हलिउड'का लागि। बोङले यी दुवैलाई पछि पार्नु भनेको खासमा उनको मात्र जित होइन, यो जित हो कथाको। कथाको खोजी र वाचन शैलीको। बोङको यो जितको सबभन्दा ठूलो अर्थचाहिँ एक लाइनमा भन्न सकिन्छ। त्यो हो, '‌ओस्करले (स‌ंसारले) अब अंग्रेजीबाहेकका भाषा पनि बुझ्छ।'


तिमीसँग सुन्दर कथा र त्यसलाई भन्ने मौलिक शैली छ भने त्यसलाई जुनसुकै भाषामा भन, संसारले सुन्छ। सिनेमाको भाषाले पात्रको भाषालाई जितेको प्रमाणको रूपमा यसलाई लिन सकिन्छ। यसलाई केही अमेरिकी पत्रकार/समीक्षकहरूले 'सबटाइटल'को जितका रूपमा पनि व्याख्या गरेका छन्।

संसारका विभिन्न भाषाका फिल्मलाई दृश्यसँगै सबटाइटल पनि पढेर बुझ्ने हामीजस्ता दर्शकका लागि सबटाइटल सिनेमा एउटा छुट्टै जनरा नै हो। कतिपय त अंग्रेजी फिल्मसमेत सबटाइटल पढेर बुझ्ने दर्शक हुन्छन्। अंग्रेजी एउटै भाषा भए पनि पात्रको भाषिका र शैलीले गर्दा कतिपय संवाद बुझ्न गाह्रो हुन्छ। यस्तोमा एकेडेमी अफ मोसन साइन्स एन्ड पिक्चर्सका झन्डै सात हजार सदस्यले खाँटी अंग्रेजीको '१९१७', 'आइरिसम्यान' र 'वन्स अपन अ टाइम इन हलिउड'को सट्टा 'प्यारासाइट'लाई मत दिनु भनेको सबटाइटल जनरामाथि पनि लालमोहर लाग्नु हो।

बोङले ओस्कर समारोहमा कोरियन भाषा बोले। सर्वोत्कृष्ट अन्तर्राष्टिय फिल्मको अवार्डपछि अर्को अवार्ड लिन जाँदा उनले कोरियनमा भने- 'मैले त यतिमै मेरो अवार्ड सकियो होला भन्ठानेको थिएँ।' यसलाई कोरियन अनुवादकले अंग्रेजीमा उल्था गरिन्। आफ्नो फिल्मजस्तै बोङले ओस्कर समारोहलाई पनि उल्था र सबटाइटल समारोह बनाइदिए। उनी चारपटक अवार्ड थाप्न गए, चारैपटक अनुवादक लिएर। ट्विटरमा उनकी अनुवादकको निकै प्रशंसा भयो। एकजनाले लेखे- यदि उल्थाको ओस्कर हुन्थ्यो भने यिनलै पाउनुपर्थ्यो !

अनुवादका साथ ओस्कर मञ्चमा निर्देशक बोङ।

'प्यारासाइट' एउटा यस्तो आँखीझ्याल बनेको छ, जसबाट संसारले एसियालाई हेर्नेछ। सत्यजित रे र अकिरा कुरोसावाले पाएको मानार्थ ओस्कर धेरै वर्षसम्म एसियाका गर्व रहे। त्यसपछि पनि कहिले रिचर्ड एटनवरो र त कहिले ड्यानी बोयलका 'गान्धी' र 'स्लमडग मिलेनियर'का ठिमाहा कथामा एसियाको गर्वले आफ्नो मुख लुकाइरह्यो। ताइवानका निर्देशक आङ लीले बल्लबल्ल मुख देखाउनलायक बनाएका थिए। र, त्यसमा एआर रहमानले संगीतको धुन जोडिदिएका थिए।

पछिल्लो समय 'थ्री एमिगोज', अलेहान्द्रो गोञ्जालेज इनारितु (बर्डम्यान र दि रेभेनान्ट), एल्फोन्सों कुरों (ग्रयाभिटी र रोमा) र गुर्लिरमो डेल टोरो (सेप अफ दि वाटर) ले स्पेनी भाषा र मेक्सिकन कथालाई ओस्करको पयार्य बनाइरहेका थिए। यी तीन स्प्यानिस भाषीले लगातारजसो पाँच वर्ष उत्कृष्ट निर्देशकको ओस्करमा कब्जा जमाए। इनारितु र कुरोंले त दुई दुईपटक यो अवार्ड जिते। त्यसमा ब्रेक लगाउने काम गरिदिए, बोङले।

विश्व सिनेमामा एसियाली फिल्म भन्नाले मुख्यतः जापान, चीन र कोरियाका फिल्म बुझिन्छ। कुनैबेला एसियाको शक्ति राष्ट्रका रूपमा अमेरिकासँग युद्ध लडेको र एसियाको ठूलो भूभाग (चीन र कोरियासमेत) लाई कब्जामा लिएको जापान सिनेमामा पनि ठूलो शक्ति हो। चीनले ठूलो आर्थिक फड्को हान्नुअघि सम्म जापान नै अमेरिकापछि हलिउडको ठूलो बजार थियो। अहिले त्यो स्थान चीनले लिइसकेको छ।

जापान र चीनका साथमा कोरिया अर्को ठूलो बजार हो। प्रविधि र सिनेमा उद्योगमा कोरिया पनि तीव्र गतिमा अघि बढिरहेको शक्ति हो। यस्तै, हङकङ, ताइवान, भारत, इरान, मंगोलिया आदि देशका फिल्मले पनि बेलाबेला उपलब्धिहरू हासिल गरिरहेका छन्।

संसारको सबभन्दा धेरै जनसंख्या बसोबास गर्ने तर विकास र जीवनस्तरमा पछाडि रहेको एसिया कथाको मामिलामा निकै धनी छ। विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको वैभव एसियासँग छ। त्यसबाहेक जहाँ गरिबी छ, त्यहाँ द्वन्द्व छ। जहाँ द्वन्द्व छ, त्यहाँ कथा छ।

'प्यारासाइट' पनि यही गरिबी र द्वन्द्वको कथा हो। 'प्यारासाइट' दक्षिण कोरियाको राजधानी सियोलका दुई परिवारको आवरणमा दुई वर्गको कथा हो। एउटा गरिब परिवार घरको बेसमेन्टमा बस्छ, जसको घरमा घाम त के हावासमेत छिर्न मुस्किल छ। अर्को परिवारको यस्तो भिल्ला छ, जसका लागि घामसमेत 'प्राइभेट' छ भन्न सकिन्छ।

यी दुई फरक जीवन र आर्थिकस्तर भएका प्राणीहरूको जम्काभेट भए के होला? 'प्यारासाइट' त्यसको कथा हो। सतहमा हेर्दा धनका लागि गरिब परिवारले गर्ने बदमासी र ट्रिकहरूको कथा भए पनि यो खासमा वर्गीय द्वन्द्वको कथा हो। यो द्वन्द्वमा को कसप्रति आश्रित छ, कुनचाहिँ परिवारले अरुको रगत चुसिरहेको छ, त्यसको निराकरण गर्ने जिम्मा दर्शकलाई दिइएको छ।

के धनीको सेवामा खटिएका सबै गरिब परिजिवी हुन् त? कि सारा गरिबले काम गरेर पालिदिने, सुविधा पुर्‍याउने धनीहरू परजिवी हुन्? यही द्वन्द्व 'प्यारासाइट'को कथा हो। यो कथा कुनै पनि एसियाली अथवा विकासशील देशका लागि आमकथा हो। बस, त्यसलाई भन्नका लागि बोङले, डार्क कमेडी र थ्रिलरको शैली अपनाए। फिल्मको भाषामा जाने हो भने, हरेक सटको डिजाइनदेखि रंगमा निर्देशक बोङले अर्थ घुसाएका छन्। तपाईले राम्ररी हेर्नुभयो भने गरिब परिवार र बेसमेन्टका दृश्यमा लगाइएको फ्रेम र धनी परिवारको फ्रेम नै फरक छ। सट साइज र रंगको संयोजन फरक छ। लाइट र क्यामेरा एंगल फरक छ। कतिपय कुराहरू निर्देशकले संवादबाट मात्र होइन, क्यामेराबाट पनि भनिरहन्छन्।
तस्बिरहरु : रोयटर्स

स्कोरसेजीले भनेजस्तै, फिल्मको पर्दामा के देखिन्छ भन्नेमात्र होइन, केके कुरा देखिँदैन भन्ने पनि उत्तिकै अर्थपूर्ण हुन्छ। युरोपेली सिनेमामा पर्दाबाट विस्तारै कथा गायब भइरहेको छ। युरोप शैली र सिल्पतिर बढी उत्सुक छ। यसले फिल्मलाई शुद्ध कलाका रूपमा विकास त गरिरहेको छ तर मानिसहरूको कथा र संघर्षप्रतिको आकर्षणलाई मारिरहेको पनि छ। हलिउडका लागि फिल्म मुख्यत: अर्थोपार्जन, स्टारडम र ग्ल्यामरको उद्योग हो। यसैले त हरेक महिना दुईटा सुपरहिरो आकाशमा उडिरहेको देखिन्छन्।

यस्तोमा बीचमा बसेर कथा र आख्यानको खोजी गर्ने जिम्मा एसियाले उठाएको छ। द्वन्द्व, अभाव र अघि बढ्ने चाहनाको हुटहुटीमा पिल्सिइरहेको एसियाली समाजको कथा कहिले 'स्लमडग मिलेयिर' बनेर ओस्करको मञ्चमा गुञ्जिन्छ त कहिले 'प्यारासाइट' बनेर यसलाई चुस्न पुग्छ। भेनिस र बर्लिन फेस्टिभलमा पुगेका नेपालका 'कालो पोथी' र 'सेतो सूर्य'हरू पनि यस्तै कथा हुन्।
सोचनीय एउटा कुराचाहिँ के छ भने, ओस्कर एक किसिमले अश्वमेध यज्ञको घोडा हो। अश्वमेधको घोडाले जहाँजहाँ पाइला हाल्यो, त्यो जमिन यज्ञ गर्ने राजाको भएजस्तो ओस्कर पनि जहाँ जहाँ पुग्छ, त्यो बजार हलिउडको कब्जामा जाने खतरा हुन्छ। लामो समयसम्म ओस्करले अमेरिकी संस्कृति र हलिउडको बजार प्रभुत्वलाई फैलाउने काम गरेको हो। अमेरिकी सेनाले समेत हलिउड फिल्ममा लगानी गर्ने गर्थ्यो। यसको अर्थ हलिउड प्रोपोगान्डा टुलका रूपमा पनि प्रयोग भएको हो। विश्वसुन्दरीजस्ता प्रतियोगिताले सौन्दर्य प्रसाधनका सामाग्रीको विज्ञपान गरेजसरी ओस्करले पनि हलिउडकै प्रचार गर्छ।

यस्तोमा सवालचाहिँ यो ओस्करमाथि 'प्यारासाइट'को चढाइ हो कि, 'प्यारासाइट'मार्फत् हलिउडले आफ्नो हात अझै फैलाएको हो भन्ने हो। आउने दिनमा ओस्करप्रति एसियाको आकर्षण पक्कै बढ्नेछ। जसरी नेपालका फिल्महरू ठूला फिल्म फेस्टिभलहरूमा पुगेका छन्, त्यसैगरी ओस्कर पनि एक कदम नजिक आएकै हो। नेपाली वा यो क्षेत्रका सबैजसो फिल्म पश्चिमका लागि सबटाइटल फिल्म हुन्। क्यान, बर्लिन र भेनिसजस्ता ठूला फेस्टिभल सुरुदेखि नै सबटाइटलप्रति उदार थिए। ओस्कर पनि यसमा उदार देखिएको छ।

कुनै फिल्मले ओस्कर वा ठूलो फेस्टिभलमा अवार्ड जित्नु, मनोनित हुनु भनेको एउटा ट्रफीको मात्र कुरा होइन। यसले संसारभरको फिल्म बजारमा एकैपटक प्रवेशको ढोका खुल्नु हो। अब कुरा निर्भर गर्छ, हामीले बनाउने फिल्ममा। प्रवेशका अरु छिद्रहरू पनि खुल्दै जानेछन्। के त्यो छिद्रलाई मूलद्वार बनाउन हामी तयार छौं? हाम्रा फिल्ममेकर तयार छन्? मुख्यधाराका व्यवसायीक फिल्म बनाइरहेकाहरूको यतातिर ध्यान नहोला। प्रयोगात्मक मौलिक फिल्मको अभ्यास गरिरहेका र फिल्मको पढाइ गरिरहेको ठूलो युवा जमातमा अब यो निर्भर हुनेछ।

यो पनि पढ्नुहोस्ः
प्यारासाइट : सहर, सपना र आक्रोश

प्रकाशित : माघ २८, २०७६ २०:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भाजपा राजनीतिको तरंगमा बलिउड !

'छपाक' भर्सेस 'तानाजी'मा राजनीतिको चित्र
यज्ञश

काठमाडौँ — सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याएपछि भारतीय राजनीतिमा ठूलो परिवर्तन आयो । यसको प्रभाव भने बलिउडसम्मै देखियो । जसै राजनीतिमा हिन्दुवादी गंगा बगेको देखियो बलिउड पनि यसमा आफ्नो डुंगा खियाउन निस्किइहाल्यो ।

यस्तै एउटा डुंगामा सवार भएर अजय देवगन अहिले निस्किएका छन्, सत्रौं शताब्दीका एक मराठा योद्धा तानाजी मालुसरेले आफ्ना सम्राट छत्रपति शिवाजीको वफादारीमा प्रदर्शन गरेको वीरताको गाथामा 'तानाजी' लिएर।

यसैसँग दीपिका पादुकोणले निर्माण र मूख्य भूमिकामा अभिनय गरेको 'छपाक' पनि प्रदर्शन भइरहेको छ। 'छपाक'ले बलिउडलाई मात्र नभएर भारतीय राजनीतिलाई नै तरंगित बनाइदिएको छ। यो पनि वास्तविक पात्रको कथामा नै बनेको फिल्म हो। र, यसको मुख्यपात्र पनि एक योद्धा नै हुन्, एसिड आक्रमणमा परेर बाँचेकी लक्ष्मी अग्रवाल। फरक के छ भने तानाजीले हिन्दु साम्राज्य बचाउनका लागि मुगलसँग लडेका थिए। लक्ष्मीले यो समाज र समाजले हुर्काएका दानवहरुसँग।

यी दुई फिल्मको अहिलेको भारतको राजनीतिसँग के सरोकार छ भन्ने विषयमा म अन्तिममा आउनेछु। सुरुमा यी दुई फिल्मकै चर्चा गरौं।

पछिल्ला वर्षहरुमा आएका 'पद्मावत', 'केसरी', 'पानीपत', 'बाजीराव मस्तानी'जस्ता इतिहासका पात्र र घटनाकै वरपर घुम्ने फिल्म हो 'तानाजी'। यी सबै फिल्ममा समानता के छ भने यिनले प्राय: इस्लाम धर्म मान्नेहरु जो भारतमा आए ती घुसपैठी, अनैतिक र लुटेरा थिए भन्ने देखाउँछन्। उनीहरुसँग कतै मराठाले त कतै शिखहरुले भारतलाई जोगाए भन्ने सन्देश प्रवाहित गर्छन्।

आशुतोष गोवारिकरको फिल्म 'जोधा अकबर'चाहिँ यसमा अपवाद थियो। जबकि भारतको प्राचीन इतिहास खासगरी दिल्लीको इतिहासलाई हेर्ने हो भने मुगलको भूमिका लुटेराको नभइ भारतलाई एक विशाल साम्राज्य बनाउन लागिपरेको समूहको देखिन्छ। मुगलहरुले अन्य कालका घुसपैठीहरुले जसरी भारतबाट सम्पति लुटेर बाहिर लगेको पनि देखिदैन ।

यति इतिहासमात्रै भनेर त फिल्म बन्दैन। बने पनि त्यसमा ड्रामा पुग्दैन। मेलोड्रामा निर्माण गर्नका लागि चाहिन्छ खलनायक। इतिहासका हिरोहरु खोज्ने हो भने तीसँगै भिलेन पनि खोज्नु वा खडा गर्नुपर्ने हुन्छ। सुरुमै भने जस्तै जब हिन्दुवादी हावा चलेको छ भने त्यसमा सुकेका पातझैं उड्ने त मुसलमान पात्रहरु नै हुन्।

मराठा सम्राट छत्रपति शिवाजीका विश्वासपात्र सुवेदार मालुसरे। मराठा साम्राज्य जोगाउनका लागि ज्यान दिन पनि पछि नपर्नु भनेर बच्चैदेखि आफ्नो बाबुबाट दीक्षा पाएको लडाकु। अत्यन्त वीर, धीर र संयम। इतिहासले हिरो मान्नका लागि सबै गुणले नीपूण। राजाको खास भएर पनि दरबारमा नबसी गाउँमा बस्ने। आफ्नो खेतमा आफैं हलो जोत्ने मेहनती किसान। श्रीमतीलाई माया गर्ने पारिवारिक पनि।

अर्कातिर छन् दिल्लीका मुगल सम्राट औरंगजेब। मराठा साम्राज्यलाई कमजोर बनाएर पूरै हिन्दुस्तानलाई अधिनस्थ गर्ने सपना पालेर बसेका। उनको यो सपनाको बाटोमा तगारो बनेर उभिएका छन् उही छत्रपति शिवाजी। उनी यो तगारो पन्छाउन चाहन्छन्। यसका लागि उनको विश्वासपात्र अंगरक्षक उदयभान राठौर (जो राजपुत हिन्दु हो) लाई उनी अघि सार्छन्।

मुगलले आक्रमण गर्न लागेको थाहा पाउनासाथ तानाजी छोराको बिहे थाँती राखेर लड्न निस्किन्छन्। फिल्मको क्लाइमेक्स उदयभान र तानाजीले कोंढाणा नामक किल्लामा लडेको लडाइ हो।कोंढाणा जसलाई सिनागढ पनि भनिन्छ, यो किल्लामा भएको दुई फौजको घमासाना युद्ध नै तानाजीको कथाको केन्द्र हो र फिल्मको विशेषता पनि।

फिल्ममा आजसम्म कुनै हिन्दी फिल्ममा नदेखिएको युद्ध छ। पहाडी इलाकामा १७ ‍औं शताब्दीमा लडिएको गुरिल्ला युद्ध यति जीवन्त छ कि दर्शकलाई यसले आश्चर्यमा पार्छ। भाला, तीर र तरबारको युद्धलाई खिच्ने तरिका गजबको छ। केही दृश्यहरुमा हलिउड फिल्मको झलक नआउने होइन तैपनि यसलाई आफ्नो शैलीमा ढाल्ने प्रयास निकै राम्रो छ। 'तानाजी'को सबभन्दा राम्रो पक्ष नै यसको प्राविधिक पक्ष हो। संजयलिला भन्सालीको 'पद्मावत'को कलर र लाइट टोनलाई पच्छ्याएको फिल्मको स्पेसल इफेक्ट्स र भिएफएक्स प्रशंसायोग्य छ। यसकारण यो फिल्म थ्रीडीमा हेर्दा झन् बेस लाग्छ।

१६७० को फेब्रुअरीमा भएको युद्धको मूख्य पात्र र घटनाहरुलाई नै लिएर त्यसमा अरु मसला थपिएको छ। तर फिल्मको समस्या भने इतिहासलाई अहिलेको नजरबाट हेर्नुमा देखिन्छ। हिन्दुत्व, भगवा रंग र धर्म रक्षाको यति धेरै कुरा मिसाइएको छ कि घरीघरी त अहिलेकै भारतको कथा हेरेजस्तो प्रतीत हुन्छ।

फिल्ममा मुसलमान पात्रहरुलाई नै 'हामी मुगल त अवसरवादी नै हौं' भन्ने जस्ता संवादहरु बोल्न लगाइएको छ। मुगल दरबारका दृश्यहरुलाई सुरुदेखि नै षड्यन्त्रको अखडा जसरी पेस गरिएको छ। उदयभान राठौरलाई 'पद्मावत'को भिलेन अलाउद्दिन खिलजी जस्तै क्रुर र अत्याचारी देखाइएको छ। एउटा दृश्यमा उ खोलाको तिरमा गोहीलाई आगोमा पोल्दै खाइरहेको हुन्छ भने अर्को दृश्यमा आफ्नै कैदमा रहेका कैदीलाई यातना दिइरहेको।

आफ्नो पहिलो प्रेमलाई उठाएर ल्याएको उदयभान पूरै यात्राभरी उसको पालकीलाई साथै लिएर हिँड्छ। मानौं कुनै यात्री आफ्नो छायाँलाई साथ लिएर हिँडिरहेको होस् र त्यो छायाँमा नै उसको मृत्युको रहस्य लुकेको होस्।

ओम राउतले निर्देशन गरेको फिल्मले इतिहासलाई न त तटस्थ भएर हेरेको छ, न त्यसमा माथि कुनै प्रश्न उठाएको छ। वीरगाथा र गुणगाथामा निर्माताले ठूलै व्यापारको संभावना देखेजस्तो लाग्छ। जसलाई फिल्मको दुई दिनको व्यापारले सत्य पनि सावित गरिसकेको छ।

फिल्ममा मुख्य चारजना पात्र छन्। तानाजी अजय देवगन, तानाजीकी पत्नी सावित्री काजोल, उदयभान सैफअलि खान र शिवाजी शरद केलकर। अभिनयको सन्दर्भमा सुरुका तीनजना झन्डै २५-३० वर्षदेखि बलिउडमा चलेका कलाकार हुन्। सबै विभिन्न अवार्ड जितेका प्रभावशाली कलाकार हुन्। आफ्ना धेरै फिल्ममाजस्तै अजय देवगन यसमा पनि राष्ट्रभक्त पात्रका रुपमा सहज देखिन्छन्। फिल्मको डोरीवाला युद्ध दृश्यमा उनको मेहनत पनि देखिन्छ। 'ओमकारा'मा जस्तै खलनायका रुपमा सैफअलि यसमा पनि जमेका छन्। शरद केलकर यसबाट उम्दा अभिनेताका रुपमा उदाएका छन्। छत्रपति शिवाजीका रुपमा यी मराठी कलाकार, जसले 'बाहुबली'मा प्रभास (बाहुबली)लाई आवाज दिएका थिए, शानदार लाग्छन्।

अब कुरा गरौं, 'छपाक'को।

खूला सीमाना र भाषा संस्कृतिमा केही समनता भएको हुँदा भारतबाट धेरै कुरा नेपाल आयत हुन्छन्, चाहेर वा नचाहेर। पानी बगेर भारततिर जाने भए पनि धेरै सामाजिक कुरा बगेर नेपालतिर आउँछन्। यसरी नै उल्टो कोशीमा बगेर आएको रोग हो- युवतीलाई एसिड छ्याप्ने रोग।

पछिल्ला वर्षहरुमा नेपालमा थुप्रै युवतीहरु पागल प्रेमी, ईष्यालु छिमेकी र आफ्नै ठानेका मान्छेबाट प्रताडित भएका छन्। उनीहरुको अनुहारमा छ्यापिने एसिड खासमा नेपाली समाजको मुखमा पोतिएको कलंक हो। तर, यसलाई धेरै गम्भीर अपराधका रुपमा लिएको पाइँदैन। न त पीडितको पीडाको गहिराइलाई धेरैले बुझेजस्तो लाग्छ। गत वर्ष पोखरा साहित्य महोत्सवमा एसिड आक्रमणमा परेका दुई किशोरीहरु संगीता पुलामी र सीमा बस्नेतसँग कुरा गरेपछि मलाई उनीहरुको पीडाको केही ज्ञान भएको थियो।

'छपाक'ले तपाईंलाई त्यसैको ज्ञान दिन्छ। एसिडले युवतीको अनुहारको मात्रै छाला डढाउँदैन, यो कसरी शरीर हुँदै आत्मामा पुग्छ भन्ने यो फिल्मले देखाएको छ। पीडित, उसका परिवार र आफन्तले समेत कसरी यसको मूल्य चुकाउनु पर्छ भन्ने यो फिल्मले देखाउँछ। र, पीडकका लागि समाज कति उदार छ, कानून कति खुकुलो छ भन्ने पनि यसले देखाउँछ। पीडितको अनुहारको घाउ सेलाउन नपाउँदै पीडकको बिहे पक्का हुन्छ। र बिहेकै लागि भनेर अदालतले उसलाई जमानतमा रिहा गरिदिन्छ।

'छपाक' आजको समाजको कथा हो। लक्ष्मी अग्रवाललाई १५ वर्षको उमेरमा उनका छिमेकीले ईष्यावस एसिड प्रहार गरेका थिए। त्यसपछि उनको जीवनमा आएका उतारचढाव र उनले गरेका संघर्षको कथा यसमा छ। लक्ष्मी अग्रवाल अन्य 'एसिड एट्याक सर्भाइभर' भन्दा फरक किन भइन् भने उनले एसिडमा प्रतिबन्धको माग गर्दै जनहित याचिका दायर गरिन्। यसकै सुनुवाई गर्दै अदालतले एसिड बिक्रीलाई नियमन गर्न आदेश पनि दियो।
तर, फिल्मकै एक पात्रले भनेजस्तै आज पनि भारतमा एसिड कोल्ड ड्रिंकभन्दा सस्तोमा बिक्री हुन्छ।

'छपाक' महिलाको विषयमा महिलाले लेखेको, निर्देशन गरेको फिल्म पनि हो। यसकी लेखक तथा निर्देशक हुन्- मेघना गुलजार। प्रसिद्ध कवि/फिल्ममेकर गुलजारकी छोरी मेघनाले यसअघि अर्को चर्चित काण्ड 'आरुषि हत्याकाण्ड'माथि पहिलो फिल्म 'तलबार' बनाएकी थिइन्। दिल्लीकी एक किशोरी आरुषि तलबारको हत्याकाण्डको अनुसन्धानबारे यो फिल्म बनेको थियो। जसमा उनकै पिता राजेश र घरमा काम गर्ने नेपाली हेमराजमाथि हत्याको आरोप लगाइएको थियो ।

गत वर्ष आएको उनको फिल्म'राजी' थियो, जुन पाकिस्तानमा भारतको जासुसका रुपमा बिहे गरेर गएकी कश्मिरी युवतीको कथामा लेखिएको पुस्तक 'कलिङ सहमत' मा आधारित थियो।

मेघना आफ्ना पात्रहरुप्रति निकै संवेदनशील छन्। फिल्ममा एसिड आक्रमणमा परेपछि युवतीले भोग्ने पीडाका चरणहरुलाई निकै मिहीन तरिकाले दर्शाइएको छ। दीपिका पादुकोणले मालतीको भूमिकामा आफूलाई ढालेकी छन्। संजय भन्सालीकी 'पद्मावत'बाट निस्किएर उनी दिल्लीको सडकमा घुम्टोमा अनुहार लुकाउने पीडितको रुपमा देखिएकी छन्, जसका भाइलाई साथीहरुले भन्छन्- तेरो घरमा त भूत छ !

इतिहासमा चासो हुने र स्पेसल इफेक्ट्सको कमाल हेर्न चाहनेका लागि 'तानाजी' उपयुक्त होला। तर, आफू बाँचिरहेको समय र समाजबारे चासो हुनेका लागि निसन्देह: 'छपाक' उत्तम रोजाइ हुनसक्छ।

अब कुरा गरौं दुई फिल्मले सतहमा ल्याएको फिल्मको राजनीतिको।

फिल्मले दुई किसिमले राजनीति गर्छ। एउटा कुनै विषयलाई चित्रण गर्ने तरिकामा, विषयलाई उठाउने वा टुंग्याउने शैलीमा। र, दोस्रो दर्शकसँग संवाद गर्ने शैलीमा। फिल्मको विषय वा कलाकारलाई लिएर पर्दाबाहिर हुने राजनीतिचाहिँ तेस्रो हो।

'तानाजी' ले हिजोको कुरा गरे पनि अहिलेको धर्म र पार्टीका नाममा विभाजन देखिइरहेको भारतीय राजनीतिलाई सम्बोधन गर्छ। हिन्दु राम्रा मुसलमान बेइमान भन्ने जुन 'टोन' फिल्मले समातेको छ, त्यो फिल्मले आजका दर्शकसँग गरेको संवाद हो।

यो यस्तो समय हो जुनबेला भारतमा दुईवटा राजनीतिक प्रदर्शन चर्चामा छन्। एउटा मुलसमानलाई मात्र बाहिर राखेर गरिएको नागरिकता ऐनमा संशोधन। जसले अन्य धर्मावलम्वीलाई भने समेटेको छ। र, असमबाट लागु गर्न लागिकएको नागरिकता पुन:प्रमाणित गर्नुपर्ने कानून। अनि यी दुवैको विरोधमा भएका प्रदर्शनहरु। यही प्रदर्शनमा दिल्लीको जामिया मिलियामा प्रहरीले गरेको दमन।

दोस्रो बढेको शूल्क घटाउन माग गर्दै आन्दोलन गरिररहेका दिल्लीकै जवाहरलाल नेहरु विश्वविद्यालका विद्यार्थीमाथि नकावपोशहरुले गरेको हमला। र, यसको विरोधमा भएका प्रदर्शन। अनि ऐक्यबद्धता जनाउन पुगेका बलिउड कलाकारहरु, जसमा दीपिका पादुकोण पनि एक थिइन्।

यहींबाट हिजो र आजका विषयमा बनेका फिल्मको लडाई पर्दाबाहिर राजनीतिक मञ्चमा आइपुग्यो। वामपन्थी विद्यार्थीको बाहूल्य रहेको प्रदर्शनमा सहभागी भएको भन्दै (अर्को शब्दमा भन्दा सरकार विरोधी प्रदर्शनमा सहभागी भएकी भन्दै) दीपिकालाई बाइकट गर्ने अभियान सुरु भयो। भाजपाका नेता कार्यकर्ताले सुरु गरेको यो अभियानले दीपिकाको त्यो सहभागितालाई फिल्म प्रचारको फन्डा मात्र बतायो। पार्टी कार्यकर्ताहरुले सर्कुलर जारी गरेर फिल्म नहेर्न भने, बुक गरिसकेको टिकट क्यानसिल गरेका स्क्रिनसटहरु भाइरल बनाइए। अनि भन्न थालियो- 'तानाजी' हाम्रो फिल्म हो, 'छपाक' उनीहरुको।

जबकि 'छपाक'ले यो समाजको आलोचना गर्छ। प्रहरी प्रशासनको रवैया र न्याय व्यवस्थामाथि प्रश्न गर्छ। 'तानाजी'ले हिजोको गौरवशाली इतिहासको गाथा भन्छ जसमा आजका सबै समस्या ओझेल पर्छन्। शिवाजी र तानाजीको प्रतिमुर्ति यति अग्लोगरी ठडिन्छ कि यसले एसिडले अनुहार छियाछिया भएकी मालतीलाई सर्लक्कै ढाकिदिन्छ।

'छपाक'को बाइकट र 'तानाजी'को हाइहाइमा भारतीय राजनीतिको तस्बिर छर्लंग हुन्छ। किनभने, दीपिका वर्तमान सरकारका विरोधी वामपन्थी विद्यार्थीसँग उभिएको नाममा महत्वपूर्ण विषयको फिल्मलाई कमजोर बनाउने प्रयास गरिएको छ। उता यसको फाइदा उठाउनका लागि अजय देवगन र सैफअलि खान भने यति ठूलो सामाजिक विषयमा पनि मौन छन्। अनुभव सिन्हाजस्ता निर्देशकले प्रश्न उठाए पनि बाँकी यो मौनताप्रति मौन छन्। मेनस्ट्रिम बलिउड मसला फिल्मले दर्शकलाई जस्तो 'इस्केपिस्ट इन्टरटेनमेन्ट' दिन्छ त्यही शैलीमा उनीहरु पनि ज्वलन्त मुद्दामा मौन छन्। 'इस्केपिस्ट' फिल्मले दर्शकलाई आफ्नो समय र यथार्थभन्दा पर लगेर, मूल मुद्दाबाट भट्काउने र भुलाउने कोशिस गर्छ।

यसअघि शाहरुख खान र आमिर खान यसै प्रकार शिकार भएका थिए। दीपिकाजस्तै उनीहरुका फिल्मलाई पनि बहिस्कार गरिएको थियो। यसको नतिजा के भयो भने उनीहरु बोल्नै छोडे। अहिलेको हिंसा र प्रदर्शनबारे शाहरुख, सलमान र आमिरले पनि मुख खोलेका छैनन्। एकातिर बर्षा दत्तजस्ता पत्रकारले जेएनयु पुगेर दीपिका पादुकोणले बलिउडलाई जनपक्षीय राजनीतितिर आकार्षित गरेको भनेर प्रशंसा गरेका छन्। अर्कातिर बक्सअफिसमा 'तानाजी'को ग्राफ बढेको बढ्यै छ। उता यही घटनापछि दीपिकाले केही ब्रान्डका 'एम्बेसडर'को भूमिका गुमाउने आशंका पनि व्यक्त गरिएको छ। आमिर खानले पनि पहिले यो नियति भोगेका थिए।

लाखौं मानिसलाई प्रभावित गर्ने कलाकारको शक्तिलाई जतिखेर पनि प्रयोग गर्न लालायीत हुने राजनीतिक दल र नेताहरु कलाकार आफ्नै विवेकले अर्को कित्तामा उभिए भने तिनलाई कतिसम्म खेद्छन् भन्ने पनि यस्ता प्रकरणबाट थाहा पाइन्छ। चुनावताका भीड जम्मा गर्नका लागि आमसभामा मूख्य वक्ताका रुपमा पहिले स्टारहरुलाई उभ्याइन्थ्यो । त्यसको बदला कति कलाकार राज्यसभामा पनि पुग्थे । अहिले आमसभाभन्दा बढी कलाकारले ट्विटरमा हल्ला गर्छन् । नरेन्द्र मोदीजस्ता चलाख नेताले कलाकारहरुको फौज नै बेलाबेला जम्मा पारेर सेल्फी खिच्छन् । अनि चुनावअघि कहिले अक्षय कुमार त कहिले अजय देवगनजस्ता स्टारहरु उनको अन्तर्वार्ता लिन्छन् । सत्तासँग कलाको सम्बन्ध आलोचकबाट आश्रितमा बदलिन पुग्छ ।

क्षणिक राजनीतिक फाइदाको हिसाबले त विरोधमा ठूलो आवाज नआउँदा कुनै दल वा सरकारलाई फाइदा होला। तर, दीर्घकालीन हिसाबले र लोकतन्त्रका मान्यताका हिसाबले हेर्ने हो भने यो ठूलो चिन्ताको विषय हो। अझै ठूलो चिन्ताको विषयचाहिँ सत्तारुढ दलले नै कुनै कलाकारको करिअर र फिल्मलाई टार्गेट गरेर संयन्त्र परिचालन गर्नु हो। विपक्ष र आलोचकको संरक्षण गर्नुपर्ने लोकतान्त्रिक सरकारले नै त्यसो गर्नु सबैभन्दा डरलाग्दो संकेत हो।

हाम्रा लागि चिन्ताको विषयचाहिँ के हो भने, हामी भारतलाई धेरै कुरामा असाध्यै अनुकरण गर्छौं!

प्रकाशित : पुस २८, २०७६ १८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×