२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

फिल्म समीक्षा : सेल्फी किंङको सतही संवेदना 

काठमाडौँ — फिल्म होस् वा टेलिभिजन, जताततै हाँस्यकलाकारको जगजगी छ । चकलेटी र एक्सन हिरोहरुसमेत ओझेलमा परेका छन् । तर, हरबखत हँसाउने कलाकारको अन्तरवेदना ख्यालै गरिन्नँ ।

फिल्म समीक्षा : सेल्फी किंङको सतही संवेदना 

टेलर सार्वजनिक भएसँगै ‘सेल्फी किङ’ले कलाकारको यही पाटोलाई मानवीय कोणबाट पोख्ने अपेक्षा गरिएको थियो ।


यो फिल्मको केन्द्रमा अनेक पीडामा रुमल्लिरहेका हाँस्यकलाकार छन् । तर, लेखक/निर्देशक विशाल सापकोटाले मूल पात्रको भोगाईलाई संवेदनशील र सापेक्ष शैलीमा पस्कन नसक्दा ‘हाँसोभित्रको रोदन’अनुभूत हुन्न । कतै संवेदनाको प्रस्तुति हल्का छ, कतै अतिरञ्जित परिस्थिति निर्माण गरिएको छ ।


ट्रेलरबाट जे कथा अनुमान गर्न सकिन्छ, फिल्ममा त्योभन्दा विशेष केही छैन । हास्यकलाकारितामा 'सेल्फी किङ' उर्फ गोपाल (विपिन कार्की) ले खुब लोकप्रियता कमाएका छन् । सोलुको सल्लेरीमा स्टेज कार्यक्रम जानुपर्ने अघिल्लो दिन उनका बुबालाई अस्पतालमा भर्ना गर्नुपर्छ । पैसाको आवश्यकता र कलाप्रतिको इमानदारिताले बिरामी बाबुलाई छोडेर सल्लेरी जान तयार हुन्छन् । आयोजकको हवाई यात्राको व्यवस्था गरिदिँदैन, बाटोमा अनेक सास्ती झेल्नुपर्छ । जब उनको कमेडी हेर्न सयौं भेला भएका हुन्छन्, त्यहीबेला गोपालमाथि बज्रपात आइलाग्छ । दर्शक हँसाएर कलाकारका रुपमा आफ्नो दायीत्व पूरा गर्न गोपाल सक्षम होलान् ? उनले पाइला–पाइलामा बेहोर्ने संकटको फेहरिस्त हो फिल्म ।


कथाको विकासक्रममात्र होइन, क्लाइमेक्समा पनि खास नवीनता भेटिन्न । नेपाली फिल्मको आमसमस्या हो, पात्रलाई दर्शकले आत्मसाथ गर्न नसक्नु । सोही कारण न पात्रको खुशीमा दर्शक रमाउन सक्छन्, न त दुखले छुन्छ । चरित्र स्थापित विश्वसनीय नहुँदाको परिणाम हो यो । ‘सेल्फी किङ’यसबाट रत्तिभर अलग छैन । गोपाललाई असाध्यै चर्चित कलाकारझैं प्रस्तुत गरिएको छ, देख्ने जति हरेकले उनलाई चिन्छन् तर उनी कुन माध्यमबाट कसरी यतिविघ्न लोकप्रिय भए भन्नेचाहिँ पूरै वेवास्ता गरिएको छ ।

आमाबुबाले टेलिभिजनमा हेरेको केही फुटेजबाहेक गोपालको हाँस्यकारिता कतै देख्न पाइन्न । आजकल हल्काफुल्का हिट हुनासाथ मिडियाले घेरिहाल्छन् तर उनीचाहिँ एउटा साप्ताहिक पत्रिकाको पत्रकारले बकम्फुसे प्रश्न सोध्दा पनि दंग पर्छन् । पत्रकारको बोलीचाली उस्तै अस्वभाविक लाग्छ ।


गोपालका बाबुआमाको कुराकानीबाट सुरु हुने फिल्मको दृश्य नै बासी र पट्यारलाग्दो छ । आफन्त विरामी बनाएर पात्रमा समस्या सिर्जना गरिदिने सबभन्दा सजिलो उपाय हो । तर, त्यसलाई पनि गहकिलो ढंगबाट बुनेर मूल पात्रप्रति सहानुभूति पैदा गर्न चुकेका छन्, निर्देशक विशाल । उस्तै भावका दृश्य पटक–पटक आउनु र त्यसलाई लम्ब्याउनु अर्को कमजोरी हो । सुमोको टिकट लिँदा, सुमोका अन्य यात्रुको व्यवहार, खाजा खाएको होटल साहुको रवैया, आयोजक र अर्का दुई कलाकारसँग रक्सी पिएकोजस्ता कृत्रिम दृश्यहरु थोपरिएको छ । कतै पात्र बिनाप्रयोजन बोलेको–बोल्यै गर्छन्, त्यतिबेला फिल्म रेडियो नाटक जस्तो लाग्छ । कतै दृश्य अनाश्वयक रुपमा तन्काइन्छ, फिल्म टेलिसिरियल जस्तो लाग्छ । पात्रको उद्देश्य र केन्द्रिय द्वन्द्वप्रति निर्देशक आफैं द्विविधाग्रस्त छन् ।


गोपाललाई एक्लै पर्दामा देख्दा दर्शकले धेरथोर उनको राप महसुस गर्छन् तर अर्को पात्र प्रवेशले त्यो ‘मुड’भंग भइहाल्छ । आमा, बुबा, पत्नी, दिदी, बाटोमा भेटिएका यात्रुहरु, होटल साहु, सबै–सबै ‘लाउड’छन् । निर्देशकले सहायक पात्रमार्फत सिर्जन खोजेको संवेदना अप्राकृतिक लाग्छ । एउटा कलाकारप्रति आयोजकदेखि हरेक व्यक्ति यत्तिकै असंवेदनशील होलान् ? यद्यपि गोपालभित्रको स्वाभिमान, आक्रोश र कुन्ठालाई केही दृश्यमा प्रभावकारी ढंगले व्यक्त गरिएको छ ।


आफूभन्दा कनिष्ठ कलाकारलाई आयोजकले ज्यादा सुविधा दिएपछि गोपाल खुब भड्कन्छ तर भोलिपल्ट बिहान आफैं क्षमा माग्छ । मान्छेले चिन्छन् भनेर मास्क लगाएर हिँड्छ, जब मास्क खोल्नुपर्छ, तब लज्जाबोध गर्छ । गरिबीका कारण आफ्नै सहयोगीबाट मजाक झेल्नुपर्छ । सेल्फी किङका रुपमा चर्चा कमाएका छन् तर कहिल्यै सेल्फी खिच्दा खुशी हुँदैनन् । सिधैं भनिदिन्छन्, ‘स्टारडम मूतको न्यानो जस्तै हो ।’त्यसो हुनाले हरेक कलाकारले कहिं न कहिं गोपालमा आफूलाई पाउन सक्छन् ।


मध्यान्तरको गोपालको सपना र अन्तिमतिर उनलाई स्टेजमा देखेर दर्शक हाँस्ने दृश्य प्रतिकात्मक छ । ‘जीन्दगीको के छ र भर...’ गीत पात्रको भाव अनुकुल छ । तर, सल्लेरीबाट फर्कदा पनि अपत्यारिलो र अतिरञ्जित संकटले निरन्तरता पाइरहन्छ । लिफ्ट लिएको गाडी, मोटरसाइकल जहाँ पनि गोपाललाई समस्यामात्र आइलाग्छ । पात्रलाई एकपछि अर्को तनावमा फँसाएपछि दर्शकको आँखा रसाउँछ भन्ने धङधङी देखिन्छ, निर्देशकमा । जबकि बोलेर होइन, मर्मस्पर्शी शैलीमा दृश्यमै तनाव व्यक्त भयो भने मात्र दर्शकको मन भारी हुन्छ ।


रुन्चे ‘मनोलग’बाट गोपालप्रति सहानुभूति बटुल्न खोजेबाटै निर्देशकको अपरिपक्वता झल्कन्छ । अमेरिकामा फिल्मको औपचारिक अध्ययन गरेर आएका भनिएका विशालसँग त्यो सिर्जनशीलता देखिएन । अनि, छुटाउन नहुने कुराचाहिं ‘सेल्फी किङ’हाँस्यकलाकारको फिल्म हो तर यसले कलाकार हुनु पश्चतापमा पिल्सनु हो, परिवार र समाजबाट तीरस्कार सहनु हो, गरिबीमा फस्नु हो सन्देश प्रवाह गरेको छ ।


यो समयका प्रभावशाली अभिनेता हुन्, विपिन । वास्तविक जीवनमा पनि उनी गोपालझैं ‘स्टारडम’मा खास रमाउँदैनन्, अन्तरमुखी छन् । त्यसैले पात्रलाई जीवन्त बनाउन उनको सक्दो प्रयत्न देखिन्छ । तर, पटकथाभित्र पात्रको संसार साँघुरो र अविश्वसनीय भएकाले पर्दामा विपिन शानदार लाग्दैनन् । उनी संयुक्तभन्दा एकल दृश्यमा जमेका छन् । उनले कथा, पात्रसँगै निर्देशक चयनमा सजकता अपनाउनुपर्ने देखिन्छ । किचकिचे पत्नी लक्ष्मी बर्देवा अनि धुर्त आयोजक जीवन भट्टराईले प्रसंशनीय काम गरेका छन् । भुवन चन्द र अभय बरालको अभिनय अलि सहज देखिदैन । सिनेमाटोग्राफी र साउन्डमा तुलनात्मक हिसाबमा काम उम्दा लाग्छ । पहाडी भेगका केही मौलिक दृश्यले आँखा तान्छ ।


हाँस्यकलाकारको वियोगको कथा रोज्नु सकारात्मक हो, मसलेदार सुत्रलाई पनि अंगीकार गरेको छैन तर ‘क्लिसे’प्लट, निरस र सहती कथावाचनले ‘सेल्फी किङ’कमजोर कोटीमा दर्ज भएको छ । गोपालप्रति फिल्मका अन्य पात्रले झैं निर्देशक स्वंयले ‘मजाक’गरेको र संवेदनशीलता नदेखाएको प्रतीत हुन्छ । त्यसैले डेब्यु फिल्ममा विशाललाई धाप मार्न सकिन्न । आगामी दिनमा सिनेमाका आधारभूत गुणलाई पछ्याउनेछन् भनेर अपेक्षाचाहिं राखौं ।


फिल्म : सेल्फी किङ

लेखक/निर्देशक : विशाल सापकोटा

कलाकारहरु : विपिन कार्की, लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द आदि ।

रेटिङ : १.५

प्रकाशित : माघ २५, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?