यसरी टुंगियो ‘साङलो’ गीत चोरीको विवाद
काठमाडौँ — फिल्म ‘साङलो’को ‘झ्याम्मै आँखा झ्याम्मै...’ गीत चोरीको विवाद टुंगिएको छ । ५० हजार क्षतिपूर्ति दिने र गीतको रचनाकारमा सुदीप भूपाल सिंहको नाम सयर गर्ने सहमतिमा विवाद सुल्झाइएको हो ।
अब गीतकारमा सुदीप र सुरेश अधिकारी दुवैको नाम हुनेछ । यसका असली रचनाकार सुदीपभूपाल सिंहले जानकारी बिनै आफ्नो गीत प्रयोग गरेको भन्दै गायक निशान भट्टराई, संगीतकार सुरेश अधिकारी र फिल्म निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए ।
‘यो मेरो कसैसँग व्यक्तिगतभन्दा प्रतिलिपि अधिकार रक्षाको लडाईं थियो । सबै स्रष्टा सचेत हुनुपर्छ भन्ने सन्देश दिने प्रयास हो,’ सुदीपले भने । उनले क्षतिपूर्ती रकम स्वर्गीय फिल्मकर्मी केशव भट्टराईको परिवारलाई दिने घोषणा गरेका छन् । बोर्ड अध्यक्ष भट्टराईको गत मंसिर २९ गते निधन भएको थियो ।
प्रकाशित : माघ २२, २०७६ १७:०६