२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नबन्ने भयो 'दासढुङ्गा २', स्क्रिप्ट फेरबदल गर्न दबाब आएको निर्देशकको दाबी

रीना मोक्तान

काठमाडौँ — लामो समयदेखि फिल्म निर्माण अनुमतिका लागि संघर्ष गरिरहेको फिल्म 'दासढुङ्गा २' अन्तत: नबन्ने भएको छ । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको चितवनको दासढुंगामा भएको दुर्घटनामा मृत्यु भएको घटनामा आधारित रहेर यो फिल्म बनाउने घोषणा गरिएको थियो। 

नबन्ने भयो 'दासढुङ्गा २', स्क्रिप्ट फेरबदल गर्न दबाब आएको निर्देशकको दाबी

फिल्मलाई कुमार भट्टराईले निर्देशन गर्ने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डले फिल्म निर्माणको अनुमति नै दिएन । फिल्मको कथावस्तुले अहिले सत्तामा रहेकाहरुमाथि नै प्रश्न उठाउने भएपछि बोर्डले निर्माण अनुमति नदिएको हो । बोर्डले फिल्मको कथासार मदन भण्डारीका नाममा खुलेका संस्था मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्मृति प्रतिष्ठानलाई समेत पठाएको थियो । सो संस्थाहरुले पनि कथासारमा चित्त नबुझाएको बताइएको छ ।

निर्देशक कुमारले अनुमतिका लागि विभिन्न संघसंस्था धाए पनि उनी त्यसमा सफल हुन सकेनन् । मदन भण्डारीसँग जोडिएका संघसंस्थाले नै फिल्मको स्क्रिप्टमा फेरबदल गर्नुपर्ने भनेपछि निर्देशक भट्टराई फिल्म नबाउने निर्णयमा पुगेका हुन् ।

'यो फिल्म बनाउने भन्ने कुरामा पहिले जति सक्रिय थिएँ, अहिले छैन । अब उनीहरुले भने जस्तो सम्झौता गरेर फिल्म बनाउनुपर्छ । त्यसरी फिल्म बनाउन म चाहन्न । क्षणिक चर्चाको लागि फिल्म बनाउन खोजेको पनि होइन,' उनले भने, 'त्यो बेला यस्तो भएको रहेछ भनेर दस्तावेज रुपमा रहन्छ हामीले बनाएको फिल्म । उता संस्थाहरुबाट लिखित सर्तहरु पेश भएका छन्, यस्तो गर्ने भए बनाउन दिने भनेर । मैले सरकारलाई रिझाउन फिल्म बनाएको होइन । त्यसैले अब यो फिल्म बन्दैन।'

अस्ट्रेलियामा रहेको फिल्मका निर्माता अपिल विष्ट पनि फिल्म नबनाउने निर्णयमा पुगिसके ।

निर्देशक भट्टराई सत्तासँगको आफ्नो लडाईंमा कुनैपनि फिल्मकर्मीले साथ नदिएको बताउँछन् । फिल्मका लागि उनले लामो समय खर्चे । कलाकारहरु अनुबन्धित गरेर फिल्मको घोषणासमेत गरिसकेका थिए । यो दौरान ८ लाख खर्च भएको बताउँछन् निर्देशक भट्टराई ।

'एकजनासँग मात्र स्वीकृति लिएर यो फिल्म नबन्ने भयो । मदन भण्डारीसँग जोडिएका धेरै संस्था र व्यक्तिबाट स्वीकृति लिनुपर्ने देखियो । जसरी पहिले 'दासढुङ्गा' बनेको थियो अहिले त्यस्तो माहोल छैन । मैले मात्र एक्लै कति लड्ने । त्यसैले यो फिल्मलाई मैले थाँती राख्ने सोचेको छु,' उनले आफ्नो दु:ख पोखे ।


प्रकाशित : माघ १९, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?