विराज भट्टको ‘साङ्लो’ विवादमा, गीत चोरीको आरोपमा उजुरी

गाेकर्ण गाैतम

काठमाडौँ — विराज भट्टको ‘साङ्लो’ विवादमा तानिएको छ । यस फिल्मको गीत ‘झ्याम्मै आँखा झ्याम्मै...’ को शब्द चोरिएको भन्दै सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् । संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनीविरुद्ध शुक्रबार उजुरी दिएको सुदीपले जानकारी दिए ।

विराज भट्टको ‘साङ्लो’ विवादमा, गीत चोरीको आरोपमा उजुरी

सुदीपका अनुसार यो गीत कम्पोज गर्न तीन वर्षअगाडि सुरेशलाई दिएका थिए । सुदीपकै निर्देशनमा बनेको ‘रुद्रप्रिया’मा राख्ने योजना थियो तर अन्तितमा फिल्ममा गीत अटाएन । ‘अहिले एकै पटक युट्युबमा आएपछि थाहा पाएँ, न मलाई जानकारी दिइयो, न क्रेडिट दिइएको छ । त्यसैले प्रतिलिपि अधिकारीको रक्षार्थ उजुरी दिएको हुँ,’ सुदीपले भने ।

गीतका केही शब्द परिवर्तन गरिएपनि भाव उही भएको सुदीपको दाबी छ । अचम्म त के भने, यस गीतको पोस्टरमा रचनाकारमा सुरेश अधिकारीको नाम उल्लेख गरिएको थियो भने युट्युबमा रचनाकारमा निशान भट्टराई लेखिएको छ । ‘कस्को गीत हो भनेर उनीहरु आफैं द्धविधामा छन्,’ सुदीपले भने, ‘जसलाई सिर्जना गर्न दिइएको हो, उसैले चोरी गर्नु गम्भीर पेशागत अपराध हो ।’

क्षतिपूर्तिसहित फिल्मबाट गीत हटाउनु पर्ने माग छ उनको ।

गायक निशानले यो गीतको रचनाकारमा आफ्नो नाम देख्दा छक्क परेको बताए । ‘मैले एक वर्षअगाडि नै गाएको हुँ, युट्युबमा गीतकारमा मेरो नाम देखेपछि सुरेश सरलाई फोन गरें तर सम्पर्क हुन सकेन,’ उनले भने, ‘मैले गाएको मात्र हो, लेखेको होइन ।’

आफू कार्यक्रममा व्यस्त भएकाले यसको सोधखोजमा समय दिन नसकेको उनको भनाइ छ ।

यता, संगीतकार सुरेश अधिकारीचाहिं प्राविधिक कमजोरीले निशानको नाम पर्न गएको जिकिर गर्छन् । उनका अनुसार ‘रुद्रप्रिया’ निर्माणताका यो गीत टिममै लेखिएको हो, त्यसमा केही शब्दहरु सुदीपको पनि पर्न गएको छ । ‘प्राविधिक कमजोरीले गीतकारमा निशानको नाम परेको हो,’ सुरेशले भने, ‘यसमा मेरो र सुदीपजीको वा सुदीपजी एक्लैको नाम आउँदा पनि हुन्छ । मेरो नियत खराब छैन ।’

प्रहरीले आज आइतबार सबै पक्षलाई बोलाएर छलफल गर्ने बताइएको छ ।

प्रकाशित : माघ १९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?