३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दौरामा ठाँटिएर ‘ग्रामी’ मा मनोज सिंह

काठमाडौँ — संगीत क्षेत्रको चर्चित 'ग्रामी अवार्ड'मा गायक मनोज सिंह नेपाली पोसाकमा सहभागी भए । सिंह विश्वकै प्रतिष्ठित सांगीतिक अवार्डमा मनोनयनमा पर्ने पहिलो नेपाली हुन् । 

दौरामा ठाँटिएर ‘ग्रामी’ मा मनोज सिंह

लोकप्रिय ब्याण्ड १९७४ एडीका सदस्यसमेत रहेका बाँसुरी वादक मनोज ग्रामी अवार्डका लागि निकै उत्साहित देखिन्थे । उनको उत्साह सामाजिक सञ्जाल फेसबुकमा समेत देखियो। अवार्डमा सहभागी हुँदै गर्दा चार किसिमका पहिरनको तस्बिर फेसबुकमा राख्दै उनले लेखेका थिए ‘ग्रामी अवार्डमा सहभागी हुन यीमध्ये कुन पहिरन म पहिरिऊँ ?’

मनोजले अवार्डमा दौरा पहिरिएका थिए । घाँटीमा रुद्राक्षको माला र कम्मरमा पटुकी । पटुकीमा छड्के पारेर बाँसुरी भिरेका मनोजको तस्बिरमा एकजना फ्यानले कमेन्ट गरेका छन्, ‘नेपाली पोसाकमा राम्रो देखियो ।’ पहिलोपटक अवार्डमा नेपाली मनोनित भएका कारण पनि यो अवार्ड नेपाली दर्शकका लागि खास बन्यो ।

मनोजसँगै जर्मनीकी देवा प्रेमाल र इंग्ल्यान्डका मिटेनले सांगीतिक एल्बम 'देवा'मा सहकार्य गरेका थिए । यही एल्बम ग्रामीको 'बेस्ट न्यू एज एल्बम' विधामा मनोनयनमा परेको थियो । तर, आइतबार अमेरिकाको लस एन्जलसमा सम्पन्न अवार्डको यो विधामा पिटर कार्टरले 'विङ्ग्स' एल्बमबाट अवार्ड हात पारे ।

'देवा'मा रहेका सातवटा धुनमध्ये चारवटा मनोजले नै रचेका थिए । आफ्‍नो संगीतमा नेपालीपन दिन खोज्‍ने मनोज जितहारभन्दा पनि विश्वकै सर्वश्रेष्ठ अवार्डमा आफ्‍नो एल्बम मनोनयनमा पर्नुमा उनी खुशी देखिए ।

मनोजले १९७४ एडीका ब्याण्डसँग ‘सम्झी बस्छु’, ‘बाँच अनि बाँच्‍न देऊ’, ‘गुराँसै फुल्यो’ र ‘पिँजडाको सुगा’जस्ता चर्चित गीतमा बाँसुरी बजाएका छन् । मनोज अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका छन् ।

प्रकाशित : माघ १३, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?