१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘स्ट्रीट डान्सर’मा सुशान्त खत्री, कस्तो छ भूमिका ?

काठमाडौँ — शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘स्ट्रीट डान्सर थ्रीडी’ले व्यापार सुखद नै छ । प्रभुदेवा, वरुण धवन, श्रद्धा कपुरजस्ता स्टार अभिनित फिल्मका निर्देशक हुन्, रेमो डिसुजा ।

‘स्ट्रीट डान्सर’मा सुशान्त खत्री, कस्तो छ भूमिका ?

यो फिल्मको यहाँ किन चर्चा गरिदैछ भने यसमा नेपाली डान्सर सुशान्त खत्रीले पनि अभिनय गरेका छन् । सुशान्त उनै हुन्, जो भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन–२ को उत्कृष्ट चारमा पुग्न सफल भएका थिए । त्यतिबेलै शोका मुख्य निर्णायक डिसुजाले सुशान्तलाई फिल्म खेलाउने घोषणा गरेका थिए ।

यो फिल्म खासमा ‘एबीसीडी–२’ को सिक्वेल हो तर निर्माण कम्पनी डिज्नेले भारतमा फिल्म निर्माण बन्द गरेपछि नाम परिवर्तन गरेर ‘स्ट्रीट डान्सर थ्रीडी’ राखिएको हो । यसमा बेलायतमा रहेका भारत र पाकिस्तानका दुई डान्स समूहबीचको टकराव छ । अनि, सुशान्तचाहिं पाकिस्तानको टीममा ।

ट्रेलरसहित अन्य प्रचारात्मक सामग्रीमा सुशान्तलाई स्थान दिइएको थिएन, त्यसैले फिल्ममा उनको उपस्थितिमाथि शंका गरिएको थियो तर त्यस्तो होइन रहेछ । फिल्ममा उनलाई छोटु नामक महत्वपूर्ण चरित्रमा देख्न पाइन्छ । कथाअनुरुप बेलायतमा प्रभुदेवाको रेष्टुँरा हुन्छ, त्यहींको ‘वेटर’ हुन्छन् सुशान्त । जो पछि प्रभुदेवाकै समूहमा रहेर ‘ग्राउन्ड जिरो’ नामक प्रतियोगितामा आफ्नो नृत्यकला पस्कन्छन् । उनको भूमिका हास्यपरक छ ।

रिलिजको पूर्वसन्ध्यामा वरुण धवन र श्रद्धा कपुरले सुशान्तको तारिफ गर्दै भिडियो पोस्ट गरेका थिए । त्यस्तै, निर्माण कम्पनीले केहि महिनाअगाडि ‘स्ट्रीट टू स्ट्रीट डान्सर’ शिर्षकमा सुशान्तमाथि बनाएको भिडियो युट्युबमा सार्वजनिक गरेको थियो ।

सुशान्तबाहेक वाइल्ड रिपर्ज नामक नेपाली नृत्य समूह पनि फिल्ममा छ तर त्यति ‘नोटिस’ हुन्न ।


को हुन् सुशान्त ?

काठमाडौं कपनमा हुर्किएका हुन्, सुशान्त । एसएलसीपछि डान्सको सिक्न थाले । कोरियोग्राफर गम्भीर विष्टसँग पनि उनले प्रशिक्षण लिएका छन् । सुरुमा बि–बोइङप्रति झुकाव राख्थे । पछि पपिङ र हिप–अप गर्न थाले । डान्स प्लसपछि लिरिकल डान्सका रुपमा उनले आफ्नो पहिचान बनाए ।

सुशान्तले नेपाल टेलिभिजनको छमछमीमा भाग लिएका थिए । अगाडी बढ्न भने सकेनन् । तैपनी काठमाडौंमा हुने हिपअप डान्स प्रतियोगितामा भाग लिइरहे, कतिपयमा उत्कृष्ट ठहरिए पनि । त्यसपछि अवसरको खोजीमा मुम्बई हानिए । डान्सप्लस भन्दा पहिले इन्डिया डान्सिङ सुपरस्टारको टप १२ मा पुगेका थिए । उनले करिब एक दर्जन नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन् । अहिले मुम्बई र काठमाडौंमा एकसाथ करिअर बनाउन प्रयासरत छन् । डेढ महिनायता उनी मुम्बईमा छन् ।

प्रकाशित : माघ १२, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?