२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कंगनाको 'पंगा' समीक्षा : महिला सशक्तिकरणको व्यावहारिक चित्रण 

काठमाडौँ — निर्देशक अश्विनी अय्यर तिवारीले कंगना रनावतलाई भेट्नासाथ मेडल लगाइदिइन् । छक्क पर्दै कंगनाले सोधिछन्, ‘मेडल किन ?’  अश्विनीको जवाफ थियो, ‘म कबड्डीमाथि फिल्म बनाउँदैछु, तिमीले खेल्नुपर्छ ।’ त्यसपछि उनले कथा सुनाइन् ।

कंगनाको 'पंगा' समीक्षा : महिला सशक्तिकरणको व्यावहारिक चित्रण 

कगंनाले उत्तिखेरै भनिछन्, ‘यो त खेल्छु, खेल्छु ।’ त्यो फिल्म थियो, ‘पंगा’ ।


शुक्रबारबाट प्रदर्शित ‘पंगा’ हेरिरहँदा लाग्छ, फिल्मभित्र र बाहिर कंगनाको छवि हेरेरै उनलाई ‘कास्ट’ गरिएको हो । यसो पनि भन्न सकिएला, कंगनाकै लागि लेखिएको फिल्म हो यो । यो ‘स्पोट्स ड्रामा’मा उनलाई सात वर्षपछि कबड्डीमा फर्किएकी आमाको भूमिकामा देख्न पाइन्छ ।


विवाहलाई नयाँ जीवनको सुरुवात मानिन्छ । तर, महिलाका लागि ‘अन्त्य’ पनि भइदिन्छ । आमा बनेपछिको बन्धन अझ कठोर हुन्छ । खेलजस्तो शारीरिक तन्दुरुस्ती आवश्यक पर्ने करिअर त बलिदानी नै दिनुपर्छ । अन्य कथित सामाजिक र पारिवारिक सीमा छँदैछन् । आफ्नो सपना तुहाएर घरमा सिमित ‘आमा’को प्रतिनिधि हुन्, ‘पंगा’की जया निगम (कंगना रनावत) ।


कबड्डीको राष्ट्रिय टिमको कप्तानी सम्हालिसकेकी जया विवाहपछि पनि खेललाई निरन्तरता दिन्छिन् तर छोरा पाएपछि सबथोक रोकिन्छ । रेल्वे स्टेसनको जागिर र छोराको स्याहारसुसारमै समय बित्छ । उनी आफैंले ‘कबड्डी खेलाडी हुँ’ भन्ने बिर्सिसकेकी हुन्छिन् । तर, ३२ वर्षको उमेरमा कबड्डीमा फर्कने प्रेरणा मिल्छ उनलाई । त्यो पनि अरु होइन, आफ्नै छोराबाट । पति प्रशान्त (जस्सी गील)ले पनि साथ दिन्छन् । तर, उनी न मानसिक रुपमा तयार छिन्, न शारीरिक । खेलको माहोल बदलिसकेको छ, उनको हिजोको कीर्तिमानको कथा कसैलाई वास्ता छैन । यस्तो निरस परिस्थितीमा कबड्डीमा फेरि कमाल गर्न जया सक्षम होलिन् ? फिल्म उनकै संघर्षको फेहरिस्त हो ।


तपाईंले ‘पंगा’को ट्रेलर हेर्नुभयो ? यदि छ भने तपाईंले कथाको रुपरेखा पक्कै आँकलन गर्नुभएको होला । त्योभन्दा खास भिन्न छैन, फिल्म । तैपनि हेरुन्जेल आँखा र मन पर्दाबाहिर टहलिदैनन । फिल्मले दर्शकमा एकखालको आत्मविश्वास सञ्चार गर्छ । त्यसको एउटै कारण हो, संवेदनाले भरिएका पात्र र तिनीहरुको भोगाईको सन्तुलित सम्प्रेषण । यो फिल्म जीवनसँग नजिक छ, विश्वसनीय प्रस्तुतिले थप सशक्त बनाएको छ । यसको पटकथा अश्विनी र निखिल मेहोत्रा मिलेर लेखेका हुन् । त्यसमा नितेश तिवारीको पनि योगदान छ । नितेश उनै हुन्, जसले ‘दंगल’ बनाएका थिए । ‘दंगल’ र ‘पंगा’को मेरुदण्डचाहिँ उही हो– महिला सशक्तीकरण ।


प्रायः फिल्ममा खेलाडी बनेर सन्तानले आमाबाबुको सपना पूरा गर्छन्, मैदानमा सन्तान खेल्दा बाहिर आमाबाबु हुटिङ गर्छन् । ‘पंगा’मा विपरीत छ । छोरा र पतिको साझा सपना पूरा गर्न जया कबड्डीमा फर्किएकी छन् । अर्थात्, जसका कारण उनको खेल रोकियो, उसैको खुशीका लागि ‘कमब्याक’ गर्नुपरेको छ । हिजो खेलबाट टाढा बस्नुपर्दाको पीडा, आज फर्कदा गर्नुपरेको संघर्ष । त्यसमाथि आमा र पत्नीका रुपमा पनि उनी उत्तिकै प्यारी छन् । मूल पात्रसँग दर्शकको प्रेम जागृत गराएपछि कथालाई गति दिन निर्देशक अश्विनीलाई सहज भएको छ । जया र उनको छोराबीचको सम्बन्ध प्रेमील लाग्छ । त्यसबाट उत्पन्न भावनालाई केन्द्रिय कथासँग प्रभावकारी शैलीमा जोडिएको छ ।


एक दृश्यमा जया भन्छिन्– ‘म एउटी आमा हुँ र आमाको सपना हुँदैन ।’ त्यस्तै हो त ? पक्कै होइन, हरेक आमाको आमा बन्नुबाहेक पनि सपना हुन्छ तर त्यसलाई पहिल्याएर अगाडि बढ्ने वातावरण हुन्न । हाम्रो समाजका आमआमाहरुको नियति हो यो । परिवारको साथ पाउने हो भनेचाहिँ आमाहरु स्वअस्तित्व निर्माणमा काबिल हुन्छन् । भोपालजस्तो सानो सहरकी मध्यम वर्गीय जयामार्फत यो सन्देश प्रवाह गरिएको छ । यो महिलाप्रधान फिल्म हो तर यसमा पुरुषको अतिरञ्जित र नकारात्मक चित्रण गरिएको छैन । बरु रेल्वे स्टेसनको हाकिमबाहेक पर्दामा देखिने पुरुष पात्रहरु जयाको पुनरागमनका लागि सारथी बन्छन् । अर्थात्, जयाको असली पंगा समाज वा अरु कोही होइन, आफैंसँग हुन्छ ।


फिल्ममा कमजोरी पनि छन् । जस्तो : मध्यान्तरअघि पति र छोराप्रति जयाले स्नेह दर्शाएका लम्बेतान दृश्यहरु छन् । त्यति बाठो छोरालाई आमाको सुनौलो विगतबारे थाहै हुन्न । उनलाई राष्ट्रिय टिममा छानिएको तौरतरिका खास चित्तबुझ्दो छैन । त्यसमाथि अन्तिमतिरमात्र खेल्ने मौका दिइन्छ । सासुससुरा र परिवारको अन्य सदस्यहरु बुहारीको सपनामा भाँजो हाल्छन् तर जयाको सासुससुराको उपस्थिति छैन, यसबाट थपिनसक्ने द्वन्द्वको अभाव महसुस हुन्छ ।


तर, जया र उनीसँग जोडिने अनेक पात्रमार्फत् निर्देशकले हाम्रो सामाजिक मनोविज्ञान प्रष्ट्याउने प्रयास गरेकी छन् । जसलाई कंगनाको स्वभाविक अभिनयले जीवन्त बनाएको छ । आमा, पत्नी र खेलाडीको बहुआयामीक चरित्रमा उनले आफूलाई सर्लक्कै ढालेकी छन् । पारिवारिक दायित्वले करिअरबाट विमुख महिलाका लागि जया ‘आदर्श’ हुन् । उनी किन पनि विशेष लाग्छिन् भने फिल्ममा उनको त्यस्तो दृश्य छैन, जुन वास्तविक जीवनमा अनुसरण गर्न नसकियोस् । एकदमै व्यावहारिक चरित्र ।


शालिन पति बनेका जस्सी गील उम्दा लाग्छन् । पञ्जाबी फिल्मका स्टार जस्सीको यो बलिउड डेब्यु हो । भूमिका छोटो भए पनि कंगनाको दबदबाबाट बचेर छाप छोड्न सफल छिन्, ऋचा चड्डा । उनी विन्दास र साहसिक छन् । कथाको मुडअनुरुप गीतहरु आउँछन् । चमकधमक नभए पनि बहुसंख्य दृश्यभित्र आत्मा छन्, जसको व्यवस्थित बुनाईले फिल्मलाई संवदेनशील बनाएको छ । ‘बरेलीकी बर्फी’ बनाएर वाहवाही बटुलेकी अश्विनीले ‘पंगा’मार्फत निर्देशन कुशलताको नयाँ उचाई पस्केकी छन् ।


वास्तविक जीवनमा कंगनाको प्रायः पंगा परिरहन्छ । त्यसमा सबै सधैं उनको पक्षमा नहुनसक्छन् । तर पर्दाको ‘पंगा’मा भने जोकोही कंगनाको टिममा हुन्छन् । महिला सशक्तिकरणमाथि यति सशक्त सिनेमा बलिउडले पनि कमै पाउँछ ।

प्रकाशित : माघ १०, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?