कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तम पनि सुतना छौ कि छाउपडीका गोठ ?

डीआर पन्त

(डडेलधुरा) — पछिल्लो पटक गौरा महोत्सवमा उनले महिला कलाकारसँग डेउडा गाउँदाको गीत हो यो ।

तम पनि सुतना छौ कि छाउपडीका गोठ ?

डाँको लाउ कि हृदयमै व सुन्तली बोट

तम पनि सुतना छौ कि छाउपडीका गोठ

यसको अर्थ हुन्छ– ‘यो कुप्रथाको पीडा सुनिदिने कोही छैन । सुन्तला टिप्दै बोटसँग गुनासो गर्दै हृदयदेखि डाँको छोडेर रुने गर्छु । के तिमी पनि छाउपडीका गोठमा सुत्छौ ?’ उनले डेउडामार्फत सोधेको प्रश्नको डेउडीया महिलाले यसरी उत्तर दिइन्–

पहिली बाटी चलिआयो परम्परा बाबा रिसाउने हुन्

छुयो खुवाउन निको होइन देउता रिसाउने हुन्

तीन घण्टा लगातार चलेको डेउडा दोहरीमा छाउपडीका कुरा मात्र आएनन् । सुदूरपश्चिमको संस्कृतिभित्र रहेका कुप्रथा, कुरीति जातीय विभेद, महिलाप्रति हुने हिंसा र विविधखाले विभेदका विषयमा उनले डेउडा भने । दर्शक मुग्ध भए । कुरीति र कुप्रथा समाजका लागि सबैभन्दा डरलाग्दो रोग भएको उनले डेउडाबाटै चर्चा गरे । उनी अर्थात् पछिल्लो समय सुदूरपश्चिमका चर्चित युवा डेउडा गायक केशव पाण्डेय ।


उनका हालसम्म कुनै एल्वम बजारमा आाएका छैनन् । व्यावसायिक रूपमा पनि उनी गाउँदैनन् । तर चाडपर्व, मेलाजात्रा, संघसंस्थाले आयोजना गरेका कार्यक्रम र खासगरी हुक्का चिलिममार्फत उनी दैनिक डेउडा गाउँछन् । जहाँ पुग्छन् सामाजिक परिवर्तनका लागि डेेउडाका माध्यमले कुरीति र कुप्रथाविरुद्ध दरिलो प्रहार गर्छन् । मायाप्रीतिका गीत गाएर मनोरञ्जन गर्ने, गराउने र साथी दौँतरीसँग खेल्ने, घुम्ने उमेरमा पाण्डेयले परिवर्तनका गीत लेखे । संस्कृति र सभ्यताको संरक्षणका लागि डेउडा गाए । कुरीति र कुप्रथाकाविरुद्ध अभियान सञ्चालन गरे । दशकअघि उनी लोकप्रिय हुक्का चिलिम कार्यक्रमसँग जोडिएपछि परिवर्तनका लागि गाउने अभियान नै सुरु गरे । समाजको एउटा तप्कामा डेउडिया पाण्डेयको अभियानले यस्तो गहिरो छाप पर्‍यो कि श्रोताको सहयोगले ४३ बर्षको युवा उमेरमा उनले डेउडा महाकाव्य लेख्न सके ।


डोटेली संस्कृति र सभ्यता, यस क्षेत्रका परम्परा, सुदूरमा रहेका पौराणिक, पुरातात्त्विक महत्त्वका स्थल तथा इतिहाससँगै समाजमा रहेका कुप्रथाका विषयमा डेउडा लेख्दालेख्दै १० हजार बढी गीत भएको डेउडा साहित्यको पुस्तक ‘तिलहरी’ महाकाव्य बन्यो । पाण्डेयले डेउडामै सुदूरको वैदिक, पौराणिक, ऐतिहासिक र आधुनिक कालको वर्णन गरेका छन, तिलहरी डेउडा महाकाव्यमा । कुन कालखण्डमा समाज कस्तो थियो ?, प्रथा र परम्परा कस्ता थिए ?, किन हाम्रा सांस्कृतिक प्रथा परम्परा कुप्रथामा परिणत भए ? लगायतका धेरै प्रश्नको उत्तर पाउन सकिन्छ यस महाकाव्यमा ।


डडेलधुरामा रहेको धार्मिकस्थल भागेश्वर धुरानजिकै चुल्ल गाउँमा उनी जन्मिएका हुन् । ३ वर्षको उमेरमै आमा गुमाएका पाण्डेयले पहिलो पटक ११ वर्षको उमेरमा असिग्राम माध्यमिक विद्यालय रुपालमा डेउडा गाएपछि तत्कालीन प्रधानाध्यापक हिक्मत ठकुराठीले उनलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने घोषणा गरेका थिए । डेउडीया पाण्डेयले भने, ‘पहिलो पटक गाएर प्रथम भएपछि सबैले हौसला दिए । तर घरमा बुवाले हप्काउनुभयो ।’ बाहुनको छोराले भाँणले जस्तै गाउँदै हिँड्ने भन्न थालेको उनले बताए । ‘बुवाले हप्काएपछि मेरो मनमा जातीय विभेदप्रति गहिरो चोट लाग्यो,’ पाण्डेय भन्छन्, ‘संयोग यस्तो जुट्यो कि डेउडा गाउने प्रेरणाका पात्र बने जगी लुहार ।’ बुबा दामोदर पाण्डेय कट्टर सनातनी ब्राह्मण । त्यसैमा रुढिवादी कुप्रथाले गाँजिएको तत्कालीन सुदूरको समाजमा जगी लुहारहरूसँग डेउडा गाउँदागाउँदै धेरै कुरा जान्ने सुन्ने भएपछि यसैलाई आफ्नो जीवनको लक्ष्य बनाएको उनले सम्झिए ।


डेउडा डेढ पाइलाको खेल मात्र होइन । न त यो मनोरञ्जनको उच्छृंखल माध्यम हो । पाण्डेयले भने, ‘डेउडा सिंगो संस्कृति हो । जसले कर्णालीदेखि सुदूरपश्चिम हुँदै भारतको कुमाउ गडवाल र हिमाञ्चलसम्मलाई सांस्कृतिक रूपमा जोड्ने गर्छ ।’ प्राचीन डोटी राज्यको इतिहास, संस्कृति र सभ्यताको संगम हो डेउडा । उनले भने, ‘स्मार्ट सभ्यता सुरु भएदेखिको मौखिक लोककाव्य पनि हो डेउडा ।’ दुधेभाषा अमर हुन्छ, जसले मानव सभ्यताको पहिचान गराउँछ । डेउडा पनि सभ्यताको परिचय गराउने माध्यम हो । मौखिक रूपमा इतिहास जीवन्त राख्ने लोक इतिहास हो डेउडा । पुर्खाको ज्ञान र सीप बाँड्ने सजिलो माध्यम पनि हो डेउडा । पाण्डेय भन्छन्, ‘पछिल्लो पुस्ताले यसलाई विकृत बनाउँदै उच्छृंखल मनोरञ्जनको साधनका रूपमा विकसित गर्ने प्रयास गरिरहेका छन् ।’


‘पछिल्लो पुस्ताबीच पाण्डेयले डेउडाको परिभाषा नै परिवर्तन गर्न थालेका छन्,’ वरिष्ठ डेउडा गायक शालीभान पाल भन्छन्, ‘धेरैले मनोरञ्जन र पेसागत रूपमा गाए । तर कलिलो उमेरमै पाण्डेयले भने डेउडालाई परिवर्तनको माध्यम बनाएर देखाए ।’ डडेलधुरा मात्र होइन सुदूरका हरेक जिल्लामा हुने जात्रा र पर्वमा उनी पुग्छन् । परिवर्तनका लागि गाउँछन् । वरिष्ठ गायक शालीभानले भने, ‘मैले ७२ वर्षसम्म डेउडा गाएर पनि सन्तुष्ट हुन सकिनँ । तर पाण्डेयले गाउने डेउडाले धेरै पटक मुग्ध भएको छु, तृप्त भएको छु ।’


डेउडा गायनका नायक शालीभान मात्र होइन । पाण्डेयका डेउडा सुन्ने र पढ्ने धेरै उनको क्षमता अनि तुरुन्तै गीत रचेर गाउने कला देखेर मुग्ध हुन्छन् । डडेलधुरा, बैतडी, दार्चुला, बाजुरादेखि डोटी अछामसम्मका धेरै मेला जात्रामा उनले गाएका परिवर्तनका डेउडा गाइने गरिन्छ । सामाजिक विकृति र विसंगतिका विरुद्ध हुने हरेक कार्यक्रममा उनले रचेका डेउडा सुन्न सकिन्छ ।


सुदूरका जुनसुकै जिल्लामा हुने ठूला–साना सांस्कृतिक कार्यक्रम, जात्रा र मेलाका प्रमुख आकर्षण हुन्छन् उनी । आधुनिकताका नाममा आफ्नो संस्कृति र सभ्यतालाई बिर्संदै गएको युवा पुस्ताकामाझ आफ्नो संस्कृति र सभ्यता संरक्षणमा आफ्नै मौलिकता बोकेर पनि चर्चित हुन सकिन्छ भन्ने प्रेरणाका पात्र पनि बनेका छन् डेउडीया पाण्डेय । कुराकानी सक्ने क्रममा उनले गाए–

‘दुई बिसी तीनका फेर अव मेरी हिटाइ

हौस र रंगका दिन बाइगे कति छटाइ’


प्रकाशित : माघ १०, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?