२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अनमोलको ‘एन्टी-हिरो’मा जसिता अनुबन्ध तर फिल्म बन्छ कहिले ?

काठमाडौँ — अनमोल केसीले हरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्दै आएका छन् । डेब्यु फिल्म ‘होस्टेल’मा प्रकृति श्रेष्ठदेखि पछिल्लो फिल्म ‘ए मेरो हजुर ३’ मा सुहाना थापासम्म । होमप्रोडक्सनको ‘एन्टी हिरो’मा भने दुई फिल्म खेलिसकेकी जसिता गुरुङ अनुबन्ध भएकी छन् । जसिता यसअघि ‘लिलीबिली’ र ‘लभ स्टेशन’ मा देखिएकी थिइन् ।

अनमोलको ‘एन्टी-हिरो’मा जसिता अनुबन्ध तर फिल्म बन्छ कहिले ?

‘लिलीबिली’मा जसिताको उपस्थिति सुखद भए पनि ‘लभ स्टेशन’मा उनको अभिनय तारिफयोग्य थिएन । व्यापार पनि नाजुक रह्यो तर उनलाई फिल्म खेलाउन चाहने निर्माता/निर्देशकको कमी छैन । त्यस्तैमध्ये एक थिए, भुवन केसी । उनले पहिल्यै जसितालाई अनुबन्ध गर्न खोजेका थिए तर रेनेशा राईको ‘आई एम ट्वान्टी वान’मा उनी व्यस्त हुने खबरसँगै भुवन पछि हटे ।

जसिताको विकल्पमा आँचल शर्मा वा स्वस्तिमा खड्का लिने तयारी गरियो । तर, पूर्वघोषित समयमा ‘आई एम ट्वान्टी वान’ नबन्ने भयो । यही मौकामा भुवनले ‘एन्टी हिरो’मा जसितालाई भित्र्याएका हुन् । लामो कसरतपछि जसिताको प्रवेश त भएको छ तर यो फिल्म पनि कहिले बन्छ, त्यसको टुंगो भने छैन । वैशाखबाट सुटिङ सुरु गर्ने निर्माणपक्षको दाबी पत्याउन मुस्किल पर्छ । किनभने, फागुनको मध्यबाट अनमोल ‘ए मेरो हजुर ४’को छायाँकनमा व्यस्त हुनेछन् । यसको सुटिङका लागि दुई महिना त लागिहाल्छ, लगत्तै ‘एन्टी–हिरो’का लागि अनमोल तयार होलान् ?

फिल्म जहिले बने पनि तत्कालका लागि जसिताको अनुबन्धले भुवनलाई राहत मिल्नेछ । उनले ‘एन्टी हिरो’को ओभरसिज राइट बेचिसकेका थिए । काठमाडौं र मोफसल रिलिजका लागि वितरकबाट पैसा लिइसके । त्यतिबेला ‘ए मेरो हजुर ४’ को कुरै आएको थिएन । भुवनको वाचा थियो– तिहारपछि छाँयाकन सुरु गर्ने । तर, तिहार सकिएको अढाई महिना बितिसक्दा पनि कुनै सुरसार भएन । त्यसमाथि ‘ए मेरो हजुर ४’ आयो, त्यसैले भुवनमाथि दबाब बढेको थियो । तर जसिताको आगमनले वितरकलाई मन बुझाउने बहाना बन्न सक्छ ।

यहीबीच अनुबन्ध भएर पनि ‘धुपौरे’बाट अनमोल अलगिए । अब माधव वाग्लेको फिल्ममा उनी खेल्ने सम्भावना पनि असाध्यै न्यून रहेको बताइन्छ ।

प्रकाशित : माघ ९, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?