“समलिंगी” आयुष्मान

काठमाडौँ — बितेको वर्ष बलिउडमा सबैभन्दा बढी कसैलाई सफलता मिल्यो भने त्यो अभिनेता आयुष्मान खुरानालाई नै थियो । सन् २०१२ मा ‘विक्की डोनर’ बाट डेब्यु गर्दै उनी वीर्यदाताको भूमिकामा देखिएका थिए ।

“समलिंगी” आयुष्मान

चुनौतीपूर्ण भूमिकालाई पहिलो कदमबाटै सफलता चखाएका आयुष्मानले त्यसपछि यस्तै पृथक शैलीका भूमिका मात्रै रोजेनन्, ती चरित्र र भूमिकालाई दर्शकमाझ चर्चित नै बनाइदिए । २०१७ को ‘शुभ मंगल सावधान’ मा यौनरोगी, २०१८ को ‘अन्धाधुन’ मा दृष्टिविहीन र गतवर्षका ‘ड्रिम गर्ल’ मा युवती र ‘बाला’ मा तालु खुईले युवकको चरित्रमा एकपछि अर्को गर्दै भिन्नाभिन्नै शैलीमा देखिएका आयुष्मान अहिलेका सर्वाधिक सफल अभिनेता हुन् ।


तिनै आयुष्मान २०२० मा पनि रोकिने छाँटकाँटमा छैनन् । भर्खरै उनको नयाँ फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलरले नै उधुम मच्चाइसकेको छ । कारण, यस फिल्ममा उनी पुरुष समलिंगी ‘गे’ को भूमिकामा देखिँदै छन् । पूर्वीय समाजमा अझै पनि समलिंगी हुनु र त्यसलाई व्यक्त गर्नु ठूलो जोखिमको विषय मानिन्छ । सहजै स्वीकार गरिँदैन । जेहोस्, सफलताको चाङमाथि बसेका आयुष्मानले रिलमै भए पनि गे बन्न सहजै स्वीकार गरिदिए ।


फिल्म समीक्षक अनर्ब बनर्जी स्टार एक्टरले प्राय: जोखिम मोल्न नचाहने गरेको धारणा राख्दै भन्छन्, ‘हरेक कलाकारका लागि सुरुवाती फिल्म छान्नु जुवा खेले बराबर हुन्छ । तर आयुष्मान भने ‘विक्की डोनर’ जस्तो फिल्मबाटै अलग परिचयसहित कमाल देखाएका कलाकार हुन् ।’ उनका फिल्मका विषय गम्भीर तर प्रस्तुति हास्य रसले भरिएका हुनाले पनि दर्शकले सहजै बुझ्ने र मज्जा लिने खालका हुने गर्छन् । अब त फरक विषयवस्तुमा कसैले फिल्म बनाउन चाह्यो भने नै ती प्रोजेक्ट सिधै आयुष्मानसमक्ष ठोक्किन आउने अवस्था रहेको बताइन्छ । जब कि कैयौं कलाकारहरू फरक खालका कथा, पटकथाको खोजीमा भौंतारिरहेका हुन्छन् ।


हुन त फिल्ममा गे चरित्र दर्शकका लागि नौलो हैन । ‘अलिगढ’ मा मनोज बाजपेयी, ‘स्टुडेन्ट अफ द इयर’ मा ऋषि कपुर, ‘कपुर एन्ड द सन्स’ मा फब्बाद खानजस्ता कलाकारले सहायक चरित्रका रूपमा समलिंगी भूमिका पस्किसकेका छन् । तर नेसनल अवार्ड विजयी अभिनेता भईकन पनि आयुष्मानले गे चरित्रलाई मुख्य भूमिकामा नै अपनाएर यसपटक निडरता प्रस्तुत गरेका छन् ।

प्रकाशित : माघ ९, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?