कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

“म भुइँमान्छे हुँ”

सुशील पौडेल

काठमाडौँ — भनिन्छ, फिल्महरू कि क्लास (विशिष्ट दर्शक) का लागि कि मास (आमदर्शक) का लागि बनाइन्छन् । प्रायः व्यावसायिक फिल्म मास अडियन्सको स्वादलाई ध्यानमा राखेर बनाइन्छ । क्लासका लागि बन्ने फिल्मलाई अलग धारका वा आर्ट फिल्म पनि भन्ने गरिन्छ । माघ २४ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सेल्फी किङ’ मझधारबाट हिँड्न खोजेको छ ।

“म भुइँमान्छे हुँ”

टेलिभिजनको पर्दामा ‘सेल्फी किङ’ को उपनामले परिचित गोपाल दाहाल नामको एक कमेडियनमाथि फिल्म बनाएका हुन्,


विशाल सापकोटाले । जुन चरित्रको बागडोर सम्हाल्ने जिम्मा अभिनेता विपिन कार्कीले पाएका छन् ।


अमेरिकामा फिल्म अध्ययन गरिरहेका सापकोटालाई फिल्म निर्देशन गर्ने ठूलो हुटहुटी थियो । उनी प्रायः कमर्सियल एक्सन फिल्मका स्क्रिप्ट लेखिरहन्थे । लेखिसकेपछि निर्देशक दिनेश राउतसँग सल्लाह गर्थे । ‘तर उहाँ (राउत) ले मलाई फस्ट फिल्म अफबिटको बनाऊ, कमर्सियल नबनाऊ भनेर सल्लाह दिनुहुन्थ्यो । ‘सेल्फी किङ’ को आइडिया सुनाएपछि त उहाँ कन्भिन्स्ड मात्रै हुनुभएन, आफैंले पैसा हालेर फिल्म बनाउन तयार हुनुभयो,’ निर्देशनमा डेब्यु गर्न लागेका सापकोटाले अन्ततः भर्खरै मात्र ‘प्रसाद’ बाट सफलता चाखेका निर्देशक राउतको परिचय नै बदलिदिए, निर्माताका रूपमा ।


फिल्ममा एउटा हास्य कलाकारको पारिवारिक र व्यावसायिक सम्बन्धबीच आउने द्वन्द्वको कथा त छ नै, साथै यसमा त्यो चरित्रको तीनदिने एउटा यात्रा–संस्मरण पनि हो भन्छन्, सापकोटा । फिल्मको स्क्रिप्ट पनि उनैले लेखेका हुन् । भन्छन्, ‘टेलिभिजनमा परिचित गोपाल दाहाल नामको हास्य कलाकारको त्यो तीन दिनलाई दर्शकले सूक्ष्म तरिकाले हेर्न पाउनुहुन्छ । उसले कसरी सोच्छ ? समकालीनलाई हेर्ने उसको नजर, फ्यानलाई हेर्ने तरिकालाई फिल्ममा मिहिन रूपमा केलाउन खोजिएको छ । ‘सेल्फी किङ’ गोपाल दाहालको पोट्रेट हो ।’


पहिलो फिल्मको सफलता र असफलतालाई लिएर सापकोटालाई ठूलो चुनौती छ यतिबेला । ‘च्यालेन्ज छ तर डर छैन,’ निर्देशक सापकोटाले कान्तिपुरसँगको कुराकानीमा भने, ‘जे बनाउन भनेर हामी लागेका हौं, त्यसलाई दर्शकलाई रुचि लाग्ने तवरले भन्यौं कि भनेनौं भन्ने च्यालेन्ज छ तर फिल्म राम्रो बनेको छ भने सफल भइन्छ, नत्र असफल । त्यसैले डराएर फाइदा पनि छैन ।’


विपिन अहिलेका भर्सटाइल एक्टर हुन् । उनी पर्दामा चरित्र जिउन माहिर छन् । त्यसैले पनि उनी र उनका फिल्मप्रति दर्शकको पहिल्यै एकखाले भरोसा रहन्छ । ‘यही कुराले पनि मलाई सधैं अब कस्तो फिल्म गर्ने होला भन्ने परिरहन्छ,’ अभिनेता कार्कीले सुनाए, ‘यसको पनि ‘प्रसाद’ कै सुटिङताका दिनेशजीले सुनाउनुभएको थियो । यो टिमले गर्ने फिल्ममा मेरो पनि विश्वास थियो । पछि स्क्रिप्ट पढेपछि यत्तिको फिल्म गर्दा दर्शकले गाली नै चाहिँ गर्नुहुन्न भन्ने लाग्यो । म आफैंले पनि चरित्रमार्फत उकास्न सक्छु भन्ने कन्फिडेन्ट भएपछि खेल्न राजी भएँ । स्क्रिप्टमा एकखाले पकड पहिल्यै थियो ।’


तर यतिबेला विपिनको लुक्सले पनि कतिपयलाई हलिउड फिल्म ‘जोकर’ जस्तै त हैन भनेर झस्काइदिएको छ । स्क्रिप्ट पढ्दा विपिनलाई पनि यस्तै लागेको थियो रे । ‘मैले निर्देशकलाई सोधेको पनि थिएँ । तर पछि के कुरामा विश्वस्त भएँ भने आखिर संसारभरिका कलाकारका कुरा त लगभग उस्तै नै हुन् । समाज, चरित्र र पात्र त जहाँका भए पनि उही नै त हो । तर ठानिएको कुरा र पछि देखिने कुरामा धेरै फरक लाग्नेछ ।’ उनले आफू ‘सेल्फी किङ’ मा चंखेको चरित्रमा भएकाले मेकअप गर्दा ‘जोकर’ लाग्नु स्वाभाविक पनि मान्छन् । ‘तर हामीले मेकअपलाई एउटा व्यंग्यात्मक रूपमा पनि प्रस्तुत गर्न चाहेका हौं । दर्शकलाई हँसाउनका नाममा झिलीमिली कपडा र पूरै अनुहार मेकअपले पोतेर विचित्र देखिन र जबरजस्ती हँसाउनका लागि त्यो चरित्रले यो सबै गरेको हो । मेकअपले उक्त चरित्रको व्यक्तिगत पीडालाई दर्शकबाट छोप्न पनि सघाउँछ ।’


विपिनले ‘जोकर’ लागिरहेकाका लागि अहिल्यै स्पष्टीकरण दिइरहन आवश्यक ठान्दैनन् । ‘एउटा जोकर पात्र मात्रै मिल्न गएको हो । जब कि हामी ‘जोकर’ आउनुअघि नै सुटिङमा थियौं । ‘जोकर’ मलाई पनि राम्रो लागेको फिल्म हो । त्यस्तो फिल्मसँग हाम्रो तुलना हुँदा कलाकारका नाताले त मलाई एक हिसाबले खुसी पनि लागेको छ,’ विपिनले थपे । फिल्ममा एउटा संवादमा सेलिब्रेटीलाई क्षणिकतामा दाँजिएको छ । विपिन भने क्षणिकताको वाहवाहीमा बाँच्न चाहँदैनन् । रंगमञ्चदेखि अभिनयको लामो यात्रा तय गरिसकेका उनी भन्छन्, ‘म जहिल्यै काममा मात्रै आफूलाई केन्द्रित गर्न चाहन्छु । हो, मैले हिजो राम्रै काम नगरेको भए आज चिनिने पनि थिइनँ । कामले नै चिनिएको हुँ । कामलाई नै प्राथमिकतामा राख्छु । योभन्दा अझै राम्रो काम गरूँ, सफलता कमाऔं भन्ने त कुन कलाकारले चाहँदैन होला र ? तर म जति ठूलो सर्कलमा चिनिए पनि मेरो आदत फेरिँदैन । म भुइँमान्छे नै हुँ । यस्तैमा रहनुमा नै मलाई आनन्द लाग्छ ।’


संयोग, विपिनले निर्वाह गरेका चरित्र पनि उनीजस्तै भुइँमान्छे नै छन् । तर कलाकारका रूपमा भने उनलाई सधैं भुइँमान्छेकै मात्र भूमिकामा खेलौं भन्नेचाहिं लाग्दैन रे । ‘म जे भूमिका गर्न आफूलाई चुनौती हुन्छजस्तो लाग्छ, त्यस्तैमा खेल्न बढी रुचाउँछु । पूर्वनिर्धारित मान्यतालाई गलत सावित गर्न सकें भने न म आफूलाई अझ सशक्त कलाकार प्रमाणित गर्न सक्छु ।’

प्रकाशित : माघ ८, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?