कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गान्तोकमा ग्लोबल फिल्म

मनोज बोगटी

दार्जिलिङ — भारतीय राज्य सिक्किमको राजधानी गान्तोकमा पहिलोपल्ट तीनदिने ग्लोबल फिल्म महोत्सव हुने भएको छ । सिक्किम फिल्म कोअपरेटिभ सोसाइटीले फिल्म फेडरेसन अफ इन्डियासितको सहकार्यमा महोत्सव गर्ने भएको हो । मनन केन्द्रमा २८ फ्रेबुअरीदेखि १ मार्चसम्म हुने महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गरी ४० फिल्म प्रदर्शन हुनेछ, जसमा नेपाललगायत भारतको निकटवर्ती राष्ट्रका फिल्महरू संलग्न हुने बताइएको छ ।

गान्तोकमा ग्लोबल फिल्म

‘महोत्सवमा बलिउडका चर्चित कलाकार र फिल्म निर्माताहरूको विशेष सहभागिता हुनेछ,’ महोत्सवका संयोजक चुनिलाल घिमिरेले कान्तिपुरसित भने, ‘अहिलेसम्म सुवास घई, आशा पारेख, रनवीर कपुर, राहुल रावेललगायतका कलाकार, निर्देशक आउने कुरा पक्का भइसक्यो ।’

सिक्किममा धेरै कलाकार, फिल्म निर्माता, निर्देशक रहे पनि यहाँका फिल्महरूले भनेजस्तो व्यवस्थापन प्राप्त गर्न सकिरहेको छैन । अन्तर्राष्ट्रियस्तरमा नै सिक्किम फिल्म बनाउनेहरूको निम्ति उत्तम ‘लोकेसन’ बन्न सक्छ । यसैले सिक्किम सरकारको प्रायोजनामा सिक्किमलाई अन्तरौष्ट्रियस्तरमा फिल्मसित जोड्न र यहाँका कलाकार र फिल्मको प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको घिमिरेले जनाएका छन् ।

‘प्रख्यात निर्देशक सुवास घईले स्थानीय फिल्म निर्माताहरूको निम्ति स्क्रिप्ट लेखनमाथि कार्यशाला चलाउनेछन् । रुचि भएकाले यसमा सहभागिता हुन् सक्नेछन्,’ घिमिरेले भने, ‘प्रसिद्ध कलाकार आशा पारेखलाई आयोजकको पक्षबाट लाइफ टाइम एचिभमेन्ट अवार्डसमेत प्रदान गरिनेछ ।’

महोत्सवमा निम्त्याइने फिल्म, अतिथि, कलाकारबारे फिल्म फेडरेसन अफ इन्डियाले जिम्मेवारी लिएको छ । फेडरेसनका अध्यक्ष एफ हसन अनि सचिव सप्रेन सेनसित सोसाइटीका प्रतिनिधिहरूले कोलकतामा बैठक गरेर कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका मोडल, फेसन डिजाइनरसमेत झिकाउने अनि सके जति बलिउड र अन्य क्षेत्रका सेलिब्रिटीलाई निम्त्याउने सहमति भएको घिमिरेले जनाएका छन् । महोत्सवमा स्थानीय फिल्म र डकुमेन्ट्री फिल्म प्रदर्शनीको पनि व्यवस्था गरिएको छ ।

‘सिक्किम र वरिपरिका कलाकार र फिल्म निर्माताहरूका लागि यो महोत्सव ठूलो अवसर बनोस् भन्ने हाम्रो चाहना हो,’ घिमिरेले भने, ‘सिक्किमका फिल्महरूको बजार व्यवस्थापन र ठूला फिल्महरूमा स्थानीय कलाकारहरूका लागि अवसर निर्माण हुनेछ भन्ने विश्वास पनि छ ।’ महोत्सवमा आफ्ना फिल्म प्रदर्शनी गर्न चाहनेहरूले फेडरेसनको वेबसाइटमार्फत २५ जनवरीसम्ममा फिल्म पठाउन सक्ने बताइएको छ ।

प्रकाशित : माघ ६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?