कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्यारासाइट : सहर, सपना र आक्रोश

६ वटा विधामा ‌ओस्कर मनोनित कोरियन फिल्मको समीक्षा

काठमाडौँ — फिल्मविज्ञ ग्लेन हृवीपले ‘एलए टाइम्स’मा लेखेका थिए– यो वर्ष ‘प्यारासाइट’ले सबै ओस्कार अवार्ड जित्नुपर्छ तर एउटै नजित्न पनि सक्छ ।’

प्यारासाइट : सहर, सपना र आक्रोश

सबै त होइन तर केही अवार्डचाहिँ जित्ने सम्भावना बढेको छ । वा, ग्लेनले भनेजस्तै कुनै नजित्न पनि सक्छ । मनोनयनमै सही, रेकर्ड भने राखेको छ । उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको ओस्कार मनोनयनमा पर्ने यो पहिलो कोरियन फिल्म हो । यीसँगै ६ विधामा मनोनित छ । निर्देशक हुन्, वोङ जो हु ।


ओस्कार मनोनयनअगावै ‘प्यारासाइट’ले व्यापार र अवार्डमा अनेक उपलब्धि हासिल गरेको थियो । जस्तो ः ११ मिलियन बजेटको यस फिल्मले १ सय ३७ मिलियन व्यापार गर्‍यो । कान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भयो र कानमा पाम डि’अर (सर्वोकृष्ट फिल्म)को अवार्ड जित्ने पहिलो कोरियन फिल्म बन्यो । गोल्डन ग्लोबको ७२ औं संस्करणमा उत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भयो । ओस्कार यात्रापछि यसको डिजिटल राइट्सको भाउ आकासिदै छ ।


हामीकहाँ एउटा सोच व्याप्त छ– अवार्ड/फेस्टिभलमा जाने फिल्मले पैसा कमाउँदैनन् । अर्थात, बक्सअफिसमा हिट फिल्म फेस्टिभल पुग्दैनन् । तर ‘प्यारासाइट’ले यसलाई गलत सावित गर्‍यो । कोरियन भाषामै बनेर संसारकै फिल्म समीक्षक, शुभेच्छूकको मन जित्यो, अमेरिका, क्यानडा र युरोपका सिनेमा हलमै चल्यो, लामो समय । नेपालमा चाहिँ रिलिज भएन ।


आखिर के छ ‘प्यारासाइट’मा जसले यसलाई नाम र दामको धनी बनायो ? फिल्म पण्डितहरु भन्छन्– यो ‘आर्ट’ र ‘कमर्स’को गज्जबको समीश्रण हो । पात्र, तिनीहरुको उकुसमुकुस, विभेदकारी संरचनाजस्ता समाजका यावत् कठोर नियतिको सशक्त चित्रण छ । जहाँ कमेडी छ, लभ छ । र, सस्पेन्स पनि । एकपछि अर्को दृश्यको पर्दा उघार्दै अब के होला भन्ने प्रश्नले दर्शकलाई बाँध्दै लान्छ ।


फिल्मको केन्द्रमा छ– वर्गीय अन्तरले निम्त्याउने आक्रोश ।


‘प्यारासाइट’ दुई परिवार किम र पार्कको कथा हो । किमको परिवार गरिब छ, खानलाउनै धौ–धौ । पार्कचाहिँ सम्पन्न । किमको छोराले पार्ककी छोरीलाई घरमै अंग्रेजी पढाउने काम पाउँछ । घरभित्रको वैभवले उसलाई मोहित पार्छ । पार्कको चकचके छोराको ‘आर्ट थेरापिस्ट’ बन्छिन्, किमकी छोरी । त्यसपछि किम आफैं पार्कको ड्राइभर बन्छन्, उनकी पत्निचाहिँ घरेलु सहयोगी । उनीहरु एकअर्कालाई नचिनेझैं गरेर योजनाबद्ध ढंगले पार्कको घर छिरेका हुन्छन् । यहाँसम्म कथा सरल बाटोमै हिँड्छ ।



पार्कको परिवारै घुम्न निस्केको बेला त्यही घरकी पहिलेकी कामदारको आगमनपछि भने रहस्य थपिदै र खुल्दै जान्छ । घरभित्रको बंकर खुलेपछि चाहिँ शान्त तलाउमा ढुंगा हानेझैं हुन्छ । यहीबेला पार्कको परिवार एक्कासी घर फर्कन्छ । यो परिस्थितीलाई निर्देशकले रोचक र अर्थपूर्ण शैलीमा सुरक्षित अवतरण गरेका छन् । यही कारण हुनुपर्छ, फिल्म सकिएपछि दिमागमा अनेक सवाल सल्बलाउँछन् ।


सहर उही भए पनि फरक आर्थिक हैसियतमा बाँचिरहेका पात्रको आनीबानी र मनोविज्ञान फरक छ । सम्पन्नताले देखावटी नै सही व्यक्तिलाई संस्कारी बनाएको छ, पारिवारिक प्रेम छ । अभावले चाहिँ किमको परिवारभित्रै झैंझगडा जन्माउँछ । तर, उनीहरुमा पनि टन्न पैसा कमाउने सपना छ । त्यसैले आपसी हेलमेलमै चातुर्यपूर्वक पार्कको सम्पत्तिमाथि आँखा लगाउँछन् । किमको परिवारले पार्कको घरमा पार्टी गरेको दृश्य गरिबीभित्रको कुन्ठाको प्रतिबिम्ब हो । विपन्नताले नचाहँदा–नचाहँदै गलत कर्मतिर डोर्‍याउँने विवशताको विश्वसनीय चित्रण फिल्मको सशक्त पाटो हो । निर्देशकले पात्रको मनोविज्ञान र चालढाललाई हास्यशैलीमै व्यक्त गर्छन्, तर यसको संवदेनशीलता मर्न दिँदैनन् ।


उत्तर कोरियासँगको युद्धले आक्रान्त भएपछि दक्षिण कोरियाका धनीमनीले लुक्नका लागि घरमुनी बंकर बनाएका थिए । आज पनि ती बंकरहरु अस्तित्वमा छन् । वर्गीय विभेदको यो कथाको मेरुदण्डझैं लाग्छ, बंकर अनि त्यसपछि जन्मने घटनाक्रम । घरमुलीलाई थाहै नदिई सहयोगी महिलाले आफ्नो पति बंकरभित्र लुकाउनु परेको छ किनभने उनले चर्को ब्याजदरमा लिएको ऋण चुक्ता गर्न सकेका छैनन् । अर्थात्, युद्धबाट बच्न धनीले बनाएका बंकरहरुमा आज गरिबहरु लुक्दैछन् । तर स्वयः घरमुलीलाई यसको पत्तो हुन्न । बंकरभित्र हत्या भइरहँदा बाहिर जन्मदिनको भव्य उत्सव हुँदैछ । यसरी निर्देशकले अनेक कोणबाट गरिबी र त्यसले जन्माउने विष्मयमाथि कटाक्ष गरेका छन् ।


आलिसान महलमा बसे पनि पार्ककी छोरीलाई एक्लोपनले सताएझैं लाग्छ, उनी छिट्टै आफ््नो शिक्षकसँग प्रेममा पर्छिन् । जसले उनको मन हैन, धनमा आँखा लगाएको छ । पार्ककी पत्नीलाई स–साना समस्याले पनि धेरै सताउँछ ।

सानो छोरासमेत बेचैन छ । प्रकृति फरक भए पनि किमको परिवार पनि छटपटाइरहेको छ । बंकरभित्र लुक्नेको पीडा त अथाहा छ । कोरियन समाजको व्यथा भए पनि यी पात्रहरु विश्वव्यापी हुन् । त्यस्तै, दैनिक जीवनमा हुन नसक्ने मनग्ये घटनाहरु छन्, फिल्ममा । तर त्यसको निर्माण, प्रस्तुति र कलाकारको जीवन्त अभिनयले पूरापूर विश्वसनीय बनाइदिएको छ । पात्रको पीडालाई आत्मसात् गर्न सकिन्छ । सिनेमाको खुबी भनेकै यही हो । मूलधारका नाम चलेका कलाकारबाट निकै जीवन्त अभिनय गराएकाले पनि निर्देशक हुले अतिरिक्त प्रसंशा कमाएका हुन् ।


रातभरको वर्षाले भाडाको कोठा भरिएपछि किम र उनको छोराको बिचल्ली हुन्छ । त्यहीबेला पार्कले छोरालाई भन्छन्, ‘योजना कहिल्यै बनाउनुहुन्न । योजना भएन भने केही नराम्रो हुँदैन, भइहाल्यो भने पनि केही फरक पर्दैन ।’

धनी हुने योजना/सपनाकै कारण किमको परिवारमा ठूलो विपत्ती आइलाग्छ । तर पनि हराएको बुबालाई सम्झदै धनी हुने सपना बुनिरहन्छ, छोरा । आखिर, गरिबले देख्ने भनेकै सपना हो । र, सपनाले नै हो, मान्छेलाई बाँच्न प्रेरित गरिरहने । यो मानवीय स्वभावलाई दृश्यमार्फत अभिव्यक्त गर्नु निर्देशक वोङको सबभन्दा ठूलो खुबी हो ।

प्रकाशित : माघ ५, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?