त्रिशाला भन्छिन्- अब हेलमेट किन्छु !

पठाओ भन्छ- बीमा छैन
रीना मोक्तान

काठमाडौँ — नेपाल मेडिकल कलेजमा काम थालेको झण्डै डेढ महिना भएको थियो । भर्खरै डाक्टर बनेकी गायिका त्रिशाला गुरुङलाई  ९ बजे अस्पताल पुग्नुपर्छ । सँधैझैं ८: ४५ मा उनले राइड सेयरिङ एप पठाओ प्रयोग गरेर पठाओ बाइक डाकिन् ।

त्रिशाला भन्छिन्- अब हेलमेट किन्छु !

चाबहिलको घरमै उनलाई लिन एकैछिनमा पठाओ राइडर आइपुगे । बाइकमा उनी गन्तव्यतिर हुँइकिइन्।

सिमेसिमे पानीले बाटो चिप्लो थियो । सरस्वती नगरबाट आरुबारी जाने बाटोमा बाइकको अगाडि अचानक कुकुर आइपुग्यो । राइडरले दुवै ब्रेक बेस्सरी समातेपछि पछाडि बसेकी त्रिशाला बाइक अगाडि हुत्तिइन् । 'एकछिन दिमागै शून्य भयो,' उनले भनिन् । सबै सामान छरपष्ट भुइँमा । टिफिन बक्स, पर्स, स्टेथोस्कोप यत्रतत्र छरिए । त्रिशालाको मोबाइल भने हातबाट उछिट्टिएन । सहयोग गर्न आउनेहरुको आवाज उनको कानमा ठोक्कियो, 'ए आफैं नै डाक्टर रहेछ ।'

त्रिशालाले हत्त न पत्त ठोकिएको निधार छामिन् । भूईंमा ददारिएर औंलाहरु दुखिरहेका थिए । देब्रे आँखामाथिको भाग सुन्निएर ठूलो भएको थियो । उनी आत्तिइन्-कतै मासु पो निस्कियो कि ? त्यसपछि भक्कानिन थालिन् । 'निधार त सुनिएर ठूलो टुटुल्को भाको थियो । माथि अलिकति काटेको थियो । रगत पनि बग्न थाल्यो । त्यसपछि अस्पताल जान्छु भन्दै म रुन थालें,' उनी सम्झिन्छिन् । राइडर डराइसकेका थिए । त्रिशालाले आफ्नो दुर्घटनाबारे अस्पतालकै एक स्टाफलाई खबर गरिन् । उनकै निर्देशनमा राइडरले त्रिशालालाई अस्पताल कुदाए ।

इमरजेन्सीमा सबैले ढाडस दिएपछि बल्ल रुन छोडिन् । उनको मनमा निधारमा ठूलै चोट लाग्यो कि भन्ने डर थियो । साथीले निधारको फोटो खिचेर देखाएपछि भने उनले लामो सास फेरिन् । 'नयाँ भिडियो सुट गर्नु थियो । अनुहार बिग्रियो कि भनेर कत्ति डर लाग्यो । हातखुट्टा भाँचिए पनि हुन्थ्यो तर मुखै बिग्रियो, टाँका लगाउनु पर्‍यो भने भिडियो कसरी बनाउने भनेर चिन्तित थिएँ । त्यही भएर पनि रोइरहेको थिएँ के म,' मुसुक्क मुस्कुराउँदै सुनाइन् ।

अस्पताल पुगेपछि आफ्नो काम देखाउँदै राइडर फुत्किन खोजेका थिए । 'उहाँ ४५ वर्षको हुनुहुन्थ्यो सायद । राइडर त तर्सिरहनु भएको थियो नि दुर्घटनापछि । जान्छु भन्दै हुनुहुन्थ्यो । तपाईं अस्पताल जानु भएन भने मेरो उपचार हुँदैन । पुलिस रिपोर्टको लागि तपाईं हुनुपर्छ भनें उहाँलाई । बरु तपाईंलाई म केही पनि भन्दिनँ,' सोह्रखुट्टेमा रहेको स्टुडियोमा त्यो दिनको घटना सुनाउँदै छिन् त्रिशाला 'दाईको पनि त्यस्तो गल्तीचाहिँ थिएन । तर बिस्तारै ब्रेक लगाको भएचाहिँ हुने । अब दशा लागेको होला ।'

उपचार सकेपछि फेसबुकमा भएका फलोअरलाई हेलमेटको आवश्यकताबारे बोलेर स्टोरी पनि राखिन् । स्टोरी राख्न साथ पठाओबाट उनलाई फोन आयो । राइडरलाई मोबाइल होल्डर, हेलमेट दिए पनि लापरबाही गरेर त्यो नबोकेको उनीहरुले स्वीकारे । माफी पनि मागे । १ महिनाको लागि पठाओमा प्रोमो कोड(सहुलियत) दिने बताएका थिए । तर त्रिशालालाई त्यसले लोभ्याएन । उनीहरुले क्षतिपूर्तिको कुरा पनि गरेनन्, न त्रिशालाले नै ।

'बाइकमा हिँड्दा हेलमेट कति आवश्यक छ भन्ने मलाई थाहा भयो,' उनले दुर्घटनाले सिकाएको पाठ बताइन् । 'टाउको फुटेर म मर्न पनि सक्थें । मलाई हेलमेट अति आवश्यक लाग्यो । अब म हेलमेट किन्छु,' उनले भनिन् ।

पठाओको बीमा छैन

राइड सेयरिङ कम्पनी पठाओले अहिलेसम्म यात्रु सुरक्षाका लागि कुनै बीमा सुविधा राखेकै छैन। त्यसैले यात्रु दुर्घट्ना भइहाले, पठाओले कुनै खर्चको भार उठाउँदैन । अब भने यात्रु बीमाका लागि बीमा कम्पनीसँग कुरा भइरहेको पठाओमा मार्केटिङ हेरिरहेकी सुर्खिया हमाल बताउँछिन् । 'इन्सयुरेन्स कम्पनीसँग कुरा भइरहेको छ । यस्तोखालको पोलिसी छैन रहेछ कम्पनीसँग पनि,' उनले फोन सम्पर्कमा भनिन् । तर, चालकहरुलाई सुरक्षित यात्राको लागि भने राइडरलाई पहिल्यै ट्रेनिङ दिएको हुने उनले बताइन् ।

'दुर्घट्नामा पर्‍यो भने राइडर वा पठाओले त्यस्तो कुनै कुरा व्यहोर्दैन,' एक राइडरले भने । यसबारे पठाओको कस्टमर केयरमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित : पुस २५, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?