कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

फिल्ममा प्रहरीलाई हिरो किन देखाउने ? 

'पुलिसलाई हिरो देखाउँदा निर्मलाजस्ता केसमा अन्याय हुँदैन ?'
रीना मोक्तान

काठमाडौँ — फिल्म ‘वडा नम्बर ६’ सेन्सरको एउटा घटना दीपकराज गिरी सम्झिन्छन् । फिल्ममा प्रहरीलाई ढुङ्गा हानेको एउटा दृश्य थियो। फिल्म हेरिसकेपछि सेन्सर सदस्यका रुपमा रहेका गृह मन्त्रालयबाट प्रतिनिधिले फिल्मका निर्माता तथा मूख्य कलाकार गिरीलाई सोधे, ‘पुलिसलाई किन ढुंगा हानेको ? ।' 

फिल्ममा प्रहरीलाई हिरो किन देखाउने ? 

'म त तिनको प्रश्न सुनेर छक्क परें,' दीपक भन्छन्, 'उनले यसरी सोधे मानौं मैले ड्युटीमा बसेके कुनै प्रहरीलाई साँच्चै ढुंगा हानेको छु ।'

....

निर्देशक मनोज पण्डितको फिल्म ‘वधशाला’ले सेनालाई गलतरुपमा प्रस्तुत गरेको भन्दै प्रदर्शन अनुमति पाएन । सेनाले पत्रै पठाएर सेन्सर पास नगर्न दबाब दिएको थियो। विवाद बढ्दै जाँदा सेनाको बदनामी हुने भएपछि फिल्ममा एक महिलामाथि भएको दमन र यातनाको दृश्य हटाउन लगाएर मात्र प्रदर्शन अनुमति दिइएको थियो ।

‍....

फिल्ममा प्रहरीको बर्दी अनि प्रहरीलाई नै गलत तरिकाले प्रस्तुत गरेको भन्दै पछिल्लो समय धेरै टिकाटिप्पणी भए । सेनाको विषयमा त अनुमति नलिइ बनाउनै नपाउने कानुनको तयारी भइरहेको छ ।

प्रहरीको गुनासो पनि कम छैन । प्रहरीले सँधै भन्दै आयो, 'हामीलाई फिल्ममा खराब पात्रको रुपमा देखाइयो । अब हामीलाई हिरो बनाएर प्रस्तुत गरिदिनु पर्‍यो ।' उता फिल्मकर्मी भन्छन्, 'हामीले समाजमै भएका प्रहरीलाई फिल्ममा देखाउन नपाउने ?'

सोमबार चलचित्र प्राविधिक संघद्वारा आयोजित अवार्ड घोषणा कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फिल्ममा प्रहरीलाई नकारात्मक भूमिकामा प्रस्तुत गरेको भन्दै गुनासो गरे । उनले प्रहरीलाई फिल्ममा सकरात्मक भूमिकामा देखाउन आग्रहसमेत गरे ।

के नेपाली फिल्मले प्रहरीलाई खराब नै प्रस्तुत गर्दै आएको हो त ? वा प्रहरीलाई नकारात्कम देखाउन नहुने नै हो त ?

महानिरीक्षक खनालको भनाइ थियो, 'हलिउड र बलिउड फिल्मले जसरी नेपाली फिल्मले पनि प्रहरीलाई सकरात्मक भूमिकामा देखाउनुपर्‍यो । हलिउड र बलिउडमा प्रहरीको रोललाई सकारात्मक ढंगले प्रस्तुत गर्छ । कप्स भनेपछि अपराधी डराउनुपर्‍यो। यो युनिफर्म लगाउनसाथ नराम्रो नै गर्छ भन्ने होइन,' आफूले लगाएको युनिफर्म देखाउँदै उनले भने, 'नेपाली फिल्मले आगामी दिनमा नेपाल प्रहरीले राम्रो काम गरेको पनि देखाओस् । यो युनिफर्म देख्नासाथ प्रहरी हाम्रो हो भन्ने सन्देश फिल्मबाट जाओस् ।'


हिरो देखाइदेउ भन्ने होइन, बनेर देखाउने हो : मनोज पण्डित

नेपाली फिल्मलाई अहिले नायक आवश्यक रहेको बताँछन् निर्देशक मनोज पण्डित । तर, समाजमा त्यस्ता नायक नै नरहेको उनी तर्क गर्छन् । 'अहिलेको सिनेमाले नायक खोजिरहेको छ । त्यस्तो अवस्थामा प्रहरीले समाजमा नायकको भूमिका खेलिदियो भने आफ्नो नायकचाहिँ नेपाल प्रहरीको बर्दी लगाएको देखाउन नेपाली सिनेमा किन पछाडि पर्थ्‍यो र ?' प्रतिप्रश्न गर्दै पण्डित भन्छन्, 'पहिला प्रहरीहरु नायक बनुन् समाजमा, त्यसपछि नेपाली सिनेमाले प्रहरीलाई फिल्ममा नायक बनाइदिन्छ नि ! अहिलेको अवस्थामा नेपाल प्रहरीलाई नायक मान्न सकिदैन । कतिपय ठाउँमा त खलनायक नै बनेको अवस्था छ । त्यस्तो अवस्थामा नेपाली सिनेमाले प्रहरीलाई नायक बनाउन सक्दैन ।'

पुलिसलाई हिरो देखाउँदा निर्मलाजस्ता केसमा अन्याय हुँदैन ? : दीपकराज गिरी

त्यस्तै, कलाकार दीपकराज गिरी पनि प्रशासनभित्रै भएको समस्यालाई फिल्ममेकरले फिल्ममा देखाउने गरेको बताउँछन् । उनले महानिरीक्षक खनाललाई इंगित गर्दै भने 'कुनै पनि देश समृद्ध नहुनुमा कमजोर प्रहरी प्रशासनको ठूलो भुमिका हुन्छ । प्रहरी प्रशासन कमजोर हुनुमा फेरि राजनीतिज्ञकै हात हुन्छ । प्रहरी महानिरिक्षक हुनलाई पार्टी नेताहरुमाझ कति दौडधुप हुन्छ भनेर खनालले थाहा पाउनु भयो होला । पार्टीले महानिरीक्षक बनाउँछ भने उसले पार्टिको लागि काम गर्नुपर्ने हुन्छ । त्यसरी काम गर्दा पार्टीको गलत कुरालाई पनि समर्थन गर्दै जानुपर्ने हुन्छ । अनि त्यो चिज हामी फिल्ममा देखाउँछौं ।'

फिल्ममा देखाउने कुरा मनगढन्ते नहुने उनले दाबी गरे । वास्तविकतामै टेकेर मेकरले फिल्म बनाउने गरेको उनी बताउँछन् ।'फिल्ममा प्रहरीले आहा, कस्तो राम्रो काम गरेको भनेर माला लगाएर देखायौं भने निर्मलाजस्ता केसलाई अन्याय हुन्छ,' उनले भने ।

कति फिल्मकर्मीले भने कुनै अनुसन्धानबिना नै प्रहरीलाई हाउडे तरिकाले प्रस्तुत गर्दै आएको उनी स्वीकार्छन् । अहिलेसम्म प्रहरीले प्रशंसालायक काम नै नगरेकाले प्रहरीलाई अझसम्म फिल्मको हिरो प्रस्तुत गर्न नसकेको उनी दाबी गर्छन् ।

निर्देशक पण्डितले प्रहरीले समाजमा बनाएको अवधारणा नै नेपाली फिल्ममा फिल्मकर्मीले देखाउँदै आएको बताउँछन् । महानिरीक्षकको पदबाट खनालले गरेको ‍आग्रह प्रहरी संगठनका लागि दयनीय अवस्था रहेको उनी बताउँछन् । समाजमा प्रहरीले जस्तो छवि बनाएको छ त्यस्तै फिल्ममा प्रतिबिम्ब हुने उनको तर्क छ ।

'उहाँले आग्रह गरिराख्नु पर्दैन । प्रहरीमा भ्रष्टचार र अराजकता सिद्धिएको दिन फिल्ममेकरले आफैं पुलिसलाई हिरो बनाउँछन् । यदि आग्रह नभएर निर्देशन दिइरहनु भएको छ भने त्यो त अलोकत्रान्तिक छ । सत्ताले जब फिल्मलाई चलाउन खोज्छ त्यसले सत्तालाई घाटा लाग्छ ।'


चित्त दुख्छ : पूर्व डिआइजी रमेश खरेल

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल एक्सन अभिनेता निखिल उप्रेतीले पछिल्लो समय गरेको 'भैरव'जस्ता फिल्म हेर्दा गौरवानुभूति हुने गरेको बताउँछन् । तर, फिल्ममा प्रहरीलाई नकरात्मक भूमिकमा देखाइँदा भने नमज्जा लाग्ने गरेको उनले बताए । बलिउडले समाजमा प्रहरीको भूमिका र एउटा व्यक्तिका रुपमा प्रहरीले बोक्ने संवेदना झल्काउने 'ग‌ंगाजल' जस्तो फिल्म बनाएको भन्दै नेपाली फिल्ममेकर पनि त्यो तहमा जानु पर्ने उनी बताउँछन् ।

'एक प्रकारले फिल्म त शिक्षा दिने माध्यम पनि हो । कुनै प्रहरी अपराधीसँग मिलेको पनि हुन्छ देशमा । बदमास प्रहरी पनि छन्, राम्रा पनि छन्। राम्रा प्रहरीले पर्दामा भिलेन रोल गरेको प्रहरी हेर्न मन पराउँदैन । मलाई चाहिँ असाध्यै पीडा हुन्छ त्यस्तो हेर्दाखेरी । प्रहरीको नेगेटिभ रोल देख्दा चित्त दुख्छ ।' त्यस्ता नकारात्मक भूमिकाको फिल्म हेरिसकेपछि प्रहरीले आफैलाई पनि मूल्यांकन गर्नुपर्ने उनी बताउँछन्।

फिल्ममा देखिने पात्र प्रतिनिधि होइनन् : निश्चल बस्नेत

निर्देशक निश्चल बस्नेत फिल्मले देखाएको पात्र सबैको प्रतिनिधि पात्र नरहेको बताउँछन् । प्रहरीले राम्रो काम गर्‍यो भने त्यो अवश्य पनि फिल्ममा देखिने उनको भनाई छ । 'काम राम्रो भइसकेपछि त सायद ‍टिकाटिप्पणी त्यस्तो नहुनु पर्ने हो । हामी फिल्म बनाउने बेलामा नै जस्तो प्रहरी, आर्मी कुनै निजामति कर्मचारी देखाउँछौं भने त्यो फिल्मको एउटा पात्र हो । किनकि फिल्ममा जस्तो देखायो सबै मान्छे त्यस्तै हुन्छ भन्ने धारणा बनायो भने त फिल्म नै नबनाए हुन्छ,' उनले भने । फिल्मको सेन्सरमै प्रहरीको विषयमाथि काँटछाँट गर्ने गरेको उनको अनुभव छ ।

'प्रहरीको इमेज बिगार्छु भनेर कसैले फिल्म बनाउँदैन । प्रहरी प्रशासनभित्रै पनि राम्रो र नराम्रो प्रहरी हुन्छ । मलाई चाहिँ के दिक्क लाग्छ भने फिल्म हेरेर यीनीहरुले यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्नुहुन्छ,' निश्चलले भने, 'फिल्ममेकरले संगठनको होइन एउटा व्यक्तिलाई कुरा भन्ने हो ।'

हामी स्वतन्त्र भएर काम गर्न पाउनुपर्‍यो नि,' उनी थप्छन् 'उहाँहरुले जसरी फिल्म मेकरलाई औंला उठाउनुहुन्छ नि, आर्टलाई लिएर । यो गीत गायो भनेर हुल्दिने, यो लुगा लायो भनेर हुल्दिने । यस्तो सोच राख्यो भने कसैले कामै नगरे भइगो नि ।'

फिल्म समीक्षकहरु भने नेपाली फिल्मले प्रहरीलाई प्राय सकारात्मक भूमिकामा नै देखाउने गरेको बताउँछन् । बलिउड र हलिउडका फिल्मको तुलनामा नेपालमा प्रहरीलाई सकारात्मक नै देखाउने गरिएको उनीहरुको भनाइ छ । 'राजेश हमाल हुन् कि निखिल उप्रेती हाम्रो फिल्ममा हिरो पुलिस भयो भने पुलिस हिरो नै हुन्छ । अहिलेसम्म कुनचाहिँ हिरोले पुलिसको बर्दी लगाएर भिलेनको रोल गरेकाे छ र ?' एक समीक्षकले भने, 'कुनैकुनै फिल्ममा भिलेनहरुलाई पुलिस बनाइन्छ कुनैमा कमेडियन । त्यसलाई लिएर समग्र पुलिसकै छवि बिगार्‍यो भन्न मिल्दैन ।'

प्रकाशित : पुस २३, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?