२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भिक्टोरिया क्रस विजेता अब फिल्ममा

नवीन पोखरेल

लन्डन — स्वर्गीय कुलवीर थापा बेलायत सरकारको सम्मानित पदक ‘भिक्टोरिया क्रस (भीसी)’ पाउने पहिलो नेपाली हुन् । पाल्पामा जन्मिएका थापाले भारतीय सेनामा सेवारत रहँदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाए ।

भिक्टोरिया क्रस विजेता अब फिल्ममा


लुजको युद्धको सुरुमा २५ अप्रिल १९१५ मा उनी फ्रान्समा तैनाथ थिए । उनको सैनिक टोलीमाथि विपक्षी जर्मन सैनिकहरूले गोलाबारी सुरु गरे । लड्दै जाँदा उनी जर्मन नियन्त्रित क्षेत्रमा पुगिसकेका रहेछन् । उनी सामान्य घाइते पनि थिए ।

उनले बेलायतको लेस्टरसायर रेजिमेन्टको दोस्रो बटालियनका गम्भीर घाइते एक सैनिकलाई भेट्टाए । ती सैनिकले आफ्नो पर्वाह नगरी आफ्नो ज्यान जोगाउन थापालाई सुझाए तर थापा दुस्मनको क्षेत्रमा उनीसँगै एक रात, एक दिन बसे ।


सेप्टेम्बर २६ का दिन एकाबिहानै उनले जर्मनहरूले लगाएको तारबार नाघेर ती घाइते सैनिकलाई ल्याएर राखे । त्यसपछि फेरि दुस्मनको नियन्त्रणमा रहेको इलाकाभित्र पसेर उनले दुईजना घाइते गोर्खा सैनिकलाई पालैपालो सुरक्षित स्थानमा ल्याए । फेरि गएर घाइते ब्रिटिस सैनिकलाई पनि दिउँसो उज्यालामै उनले सुरक्षित स्थानमा ल्याए ।

यही बहादुरीका लागि बकिङघम राजदरबारमा आयोजित एक समारोहमा ब्रिटिस नरेश किंग जर्ज पाँचौंले थापालाई ‘भिक्टोरिया क्रस’ प्रदान गरेका थिए ।


सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पामा जन्मिएका यिनै भीसी विजेता थापा चलचित्र पर्दामा देखिने भएका छन् । बेलायत बसोबासरत भूतपूर्व ब्रिटिस गोर्खा सन्तानहरूले थापाको जीवनीमा आधारित ‘गोर्खाः बिनिथ द ब्रेभरी’ नामक चलचित्र बनाइरहेका छन् जुन अन्तिम चरणमा छ ।

चन्दा संकलनबाटै फिल्म निर्माणाधीन छ र चलचित्र युनिटले प्रदर्शनपछि हुने मुनाफा च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रस्टलाई दिने बाचा गरेको छ । चलचित्रमा अभिनय गर्ने सबै कलाकारले पारिश्रमिक पनि लिएका छैनन् ।


निर्देशक प्रदीप शाहीसहित अन्य कलाकार, क्यामेराम्यानलगायत चलचित्र युनिटमा आबद्ध धेरैजसो प्राविधिक पनि गोर्खा सन्तान हुन् ।

करिब सवा घण्टा लामो हुने चलचित्रमा समीर गुरुङले भीसी कुलवीर थापाको भूमिका निर्वाह गरेका छन् । माया अर्थात भीसीपत्नीको भूमिकामा गौमाया गुरुङ छिन् । त्यसैगरी, ओली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टिनो, रोबिन, चार्ली, ज्याक, लीलगायतले युद्ध मोर्चामा प्रत्यक्ष लडेका सेनाको भूमिका निभाएका छन् ।

सगरमाथा युथ यूके र वानआरजीआरको समेत अभिनयमा साथ छ । चलचित्रको

लागत करिब २५ हजार पाउन्ड निर्माण पक्षले जनाएको छ ।


फिल्मकी ब्रान्ड एम्बासडर मिस इंग्ल्यान्ड–२०१९ की सेकेन्ड रनर अप प्रतिष्ठा राउतले अझै केही रकम अपुग भएकाले सहयोगका लागि अपिल गरेकी छन् ।

चलचित्र लेखक तथा निर्देशक शाहीले थापाप्रति सम्मान मात्र नभई चलचित्रले भूतपूर्व गोर्खाको योगदान र उनीहरूले विश्वयुद्धमा निर्वाह गरेको ऐतिहासिक भूमिकाबारे नयाँ पुस्तालाई जानकारी दिने बताउँछन् ।


बेलायतमा हाल हजारौं भूतपूर्व गोर्खा र तिनका परिवार बस्छन् । २०० वर्षभन्दा पुरानो बेलायत–नेपाल सम्बन्धको प्रमुख आधार नै ब्रिटिस गोर्खा मानिन्छ । करिब ८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको चलचित्रलाई २०२० को जुलाईभित्र प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।

प्रकाशित : पुस १९, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?