३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आशा भोसलेले 'मोहनी लाग्ला है...' गीत सुनाएपछि...

सुशीला तामा‌ङ

काठमाडौँ — चर्चित भारतीय गायिका आशा भोसलेलाई सुन्न संगीत पारखीहरू तीन दिनदेखि प्रतीक्षारत थिए । शनिबार राजधानीस्थित होटल सोल्टीमा नेपाली युवा गायक–गायिकाहरूले झन्डै डेढ दर्जन गीत सुनाइसक्दा पनि सबैजना भोसलेकै पर्खाइमा थिए ।

आशा भोसलेले 'मोहनी लाग्ला है...' गीत सुनाएपछि...

जब उनी मुस्कुराउँदै स्टेज उक्लिइन्, हलमा सबैले ताली बजाए । नेपालीहरूको माया र सम्मानप्रति उनले आभार व्यक्त गर्दै सुरुमै भनिन्, ‘म नेपाललाई माया गर्छु, भाषा मात्रै आउँदैन ।’


विभिन्न भाषाका १० हजारभन्दा बढी गीत गाएबापत् गिनिज बुक वर्ल्ड रेकर्ड कायम गरिसकेकी यी गायिका सांगीतिक कार्यक्रम ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर’ लाई साथ दिन बुधबार नेपाल आएकी थिइन् । सयभन्दा बढी चर्चित नेपाली गीतमा स्वर दिएकी ८६ वर्षीया भोसलेले गाउनुअघि नेपालमा मिलेको आतिथ्यको बखान गरिन् । ‘म त एउटी गायिका न हुँ,’ उनले भनिन्, ‘कुनै भगवान् होइन तर त्यही दर्जामा मलाई एयरपोर्टदेखि नै माया र सम्मान मिल्यो । म धन्य भएँ ।’


‘स्वागत’ भन्ने एउटै शब्द नेपाल र भारतमा प्रयोग हुने थाहा पाएपछि दुवै मुलुकहरूबीचको अरू समानता पनि भेटिएको बताउँदै उनले भनिन्, ‘यहाँ पशुपतिनाथ छ, उता ज्योर्तिलिङ्ग छ ।’ आफ्ना लागि सबै समान भएको बताउँदै उनले मानवप्रेमले मात्र मानिस ठूलो हुने बताइन् । रञ्जित गजमेरको संगीतमा धेरैजसो नेपाली गीत गाएकी उनले पुराना दिन पनि सम्झिइन् । ‘हाम्रो सांगीतिक सहयात्राले पाँच दशक पूरा गरे पनि सम्बन्ध उस्तै सदावहार छ,’ उनले भनिन्, ‘हामी उनलाई प्रेमपूर्वक कान्छा भन्थ्यौं । गजमेर त पछि मात्रै थाहा पाएँ । म त अहिले पनि कान्छा नै भन्छु ।’ गजमेरकै सम्मानका लागि नेपाल आएको बताउँदै उनले ‘बाँसुरी’ फिल्मको ‘झझल्को लिएर आयो सावन...’ बाट सांगीतिक प्रस्तुति थालिन् । कुनै समय यही गीतबाट नेपाली संगीतका लागि गजमेर र भोसलेको सहकार्य अघि बढेको थियो । यसपछि उनले ‘मायालु’ फिल्मको ‘किन बढ्दै छ ढुकढुकी मुटुको...’ सुनाइन् ।


जब उनले डेनी डेनजोङ्गपासँग गाएको गीत ‘आगे आगे तोपैको गोला...’ सुनाउन थालिन्, हलको माहोल भिन्नै भयो । हल्ला गर्न र नाच्न नमिल्ने हलको नियमै थियो, दर्शकले तालीबाट साथ दिए । यसपछि गायक रामकृष्ण ढकालसँग उनले ‘चिनो’ फिल्मको गीत ‘मोहनी लाग्ला है...’ सुनाइन् । अन्त्यमा गुरुप्रति समर्पित भन्दै लता मंगेशकरकी यी बहिनीले हिन्दी गीत ‘दम मारो दम...’ मा जोसिलो प्रस्तुति दिइन् । साधना कला केन्द्रले गरेको कार्यक्रममा उनीअघि पाका गायक दीप श्रेष्ठसँगै मिलनसिंह खाती, रामकृष्ण ढकाल, बुद्ध लामा, प्राश्ना शाक्य, भारती घिमिरे, इन्द्रजित मिजार, टीका प्रसाईं, प्रविशा अधिकारी, सुरज थापा, मनोज राज, बानिका प्रधान, स्मिता दाहाल, शिला विष्ट सम्झना वली, राज सागर, गायत्री त्रिपाठी, सरस्वती खत्री, अजर जंगम, कमल किरण, विवेक श्रेष्ठलगायतले गजमेरकै संगीतमा प्रस्तुति दिएका थिए ।


मनोजराज र जिना रसाइलीले कुसुम गजमेरको शब्द तथा उदितनारायण र दीपानारायण झाको स्वर ‘कुसेमे रुमाल’ फिल्मको ‘सुन भन न..’ गाए । त्यस्तै कुसुमकै शब्द तथा भोसले र नारायण गोपालको स्वर रहेको गीत ‘पहाडको माथिमाथि...’ शिला विष्ट र सञ्जय तुमरुकले सुनाए । तुलसी घिमिरेको शब्द रहेको फिल्म ‘लाहुरे’ को गीत ‘वीरताको चिनो...’ तुमरुकले गुनगुनाउँदा गजमेरले नारायण गोपाललाई सम्झे । उनले भने, ‘नारायण गोपालले यो गीत निकै भावनामा डुबेर गाउनुभएको थियो ।’


‘कोसेली’ फिल्ममा रहेको गीत ‘तिमी मेरो म तिम्रो...’ मा भोसले र इन्द्रजित मिजारको स्वर रहेको थियो । कार्यक्रममा मिजारले गायिका सृष्टि हिङ्माङसँग उक्त गीत गाएर सुनाए । सोही फिल्मको अर्को गीत ‘यो बाटो कहाँ जाने हो...’ लाई इन्द्रजित र भारती घिमिरेले प्रस्तुत गरे । प्रस्तुति सँगसँगै गजमेरले नेपालीहरूको माया र सद्भावप्रति कृतज्ञभाव व्यक्त गरे । उनले भने, ‘तपाईंको आशीर्वाद र पशुपतिनाथको कृपाले मेरा सबै गीत राम्रा भए ।’


नेपाली संगीत उत्थानका लागि पुर्‍याएको योगदानको कदर गर्दै साधना कला केन्द्रले भोसले र गजमेरलाई सम्मान पनि गर्‍यो । दुवैलाई उप-राष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र अर्पण गरेका हुन् ।



प्रकाशित : पुस १३, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?