२०१९ का १० बलिउड फिल्म

(एजेन्सी)

वर्ष २०१९ को अन्त्य भएसँगै गएको साल बलिउडमा कुन कुन फिल्म सबभन्दा राम्रा रहे र कुनले धेरै व्यापार गरे भन्ने कुरा चर्चामा छ । हरेक वर्षजस्तै यसपाली पनि बलिउडमा केही राम्रा फिल्म, केहीले निकै राम्रो व्यापार गरे भने केही फिल्म दुवै कोटीमा परे ।

२०१९ का १० बलिउड फिल्म

हलिउड र बलिउड जस्ता ठूला फिल्म उद्योगमा राम्रो व्यापार गर्ने फिल्म र निकै कमाइ गर्ने स्टारहरुको संख्या बढ्दो छ ।

सबभन्दा पहिले कुरा गरौं समीक्षकबाट प्रशंसा पाएका १० फिल्मको ।


१. आर्टिकल १५

अनुभव सिन्हाको यो फिल्म गत वर्षको सबभन्दा चर्चित र प्रशंसित फिल्ममध्ये अग्रस्थानमा रह्यो । बक्स अफिसमा पनि राम्रो व्यापार गरेको यो फिल्मले आयुष्मान खुरानालाई यो वर्षको स्टार बनाउन जगको काम गर्यो । जनवरीमा प्रदर्शनमा आएको यो फिल्ममा आयुष्मान एक पुलिस अधिकारीको भूमिकामा छन् । गाउँमा खटिएको प्रहरीले कहिल्यै नसोचेको समाजको सामना गर्नु पर्दा के हुन्छ भन्ने यसको कथा हो । निकै थोरै ज्याला माग गर्दा बलत्कार गरी हत्या गरिएका दलित युवतीलाई न्याय दिलाउने उसको मिसनको यो कथाले भारतीय समाजमा जाति व्यवस्था र दमनको स्थितिको वर्णन गर्छ ।


२. गली ब्वाइ

जोया अख्तरको यो फिल्मलाई यसपाली भारतले ओस्करमा पठाएको थियो । ओस्कर दौडमा धेरै टिक्न नसके पनि यो फिल्मले निकै प्रशंसा पायो । विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा प्रमियर गरिएको रणवीर सिंह र आलिया भट्ट मूख्य भूमिकामा छन् । मुम्बइको स्लम एरिया धाराबीमा बस्ने केही निम्न आर्थिक हैसियतका युवाहरुले र्‍यापमार्फत् गर्ने विद्रोहको कथा यसमा छ ।



३. बदला

सुजोय घोषको यो फिल्म एक स्पेनी भाषाको फिल्म 'द इनभिजिबल गेस्ट' को रिमेक हो । फिल्मको केही भागमा यताउता चलाइएको भए पनि यसले हिन्दी फिल्मका दर्शकलाई बेग्लै किसिमको स्वाद दियो। एउटै कोठामा दुई पात्रको संवादलाई आधार बनाएर पनि राम्रो थ्रिलर बन्छ भन्ने यसले देखाइदियो । साथमा अमिताभ बच्चन, तापसी पनु र अमृता सिंहको अभिनयले पनि सबैको ध्यान खिच्यो ।


४. उरी

भारत र पाकिस्तान बीचको खराब सम्बन्धबारे बलिउडमा धेरै फिल्म बनिसकेका छन् । यस वर्ष आएको विक्की कौशलले मूख्य भूमिकामा अभिनय गरेको फिल्म 'उरी'ले भने समीक्षक र दर्शक दुवैको प्रशंसा पायो । केहीअघि भारतले पाकिस्तानमाथि गरेको भनिएको सर्जिकल स्ट्राइकको कथामा बनेको यो फिल्ममा सैन्य अधिकारीको रुपमा विक्कीले निकै प्रशंसा पाए ।


५ . बाला

आयुष्मान खुरानाले नै मूख्य भूमिकामा अभिनय गरेको अर्को फिल्म 'बाला' पनि यो सुचिमा पर्न सफल भयो । सानो उमेरमा नै कपाल झरेका कारण अवसादको सिकार भइरहेको युवाको कथा यसमा छ । प्रतीभा सम्पन्न व्यक्ति भए पनि टाउकोमा कपाल कम हुँदा कसरी मानिसको आत्मविश्वा डग्मगाउँछ भन्ने कथाले यसले भन्छ । फिल्ममा भूमि पेडनेकर र यामी गौतमको पनि प्रमुख भूमिका छ ।


६. सुपर ३०

ऋत्विक रोशनको यो फिल्म वास्तविक पात्रको कथामा आधारित छ । आनन्द कुमार नामक एक गणीत शिक्षकले गरेको मेहनत र संघर्षको कथा यसमा छ । क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना पाउँदा पनि आर्थिक अभावका कारण पढ्न जान नसकेको एक युवाले कसरी आफैं शिक्षक बनेर गरिब विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने काम गर्‍यो भन्ने प्रेरणादायी कथा यसमा छ ।


७. छिछोरे

'दंगल'जस्तो दशककै हिट फिल्म पछि नितेश तिवारीले निर्देशन गरेको दोस्रो फिल्म 'छिछोरे'ले पनि राम्रो प्रशंसा पायो । 'थ्री इडियट्स' बाट निकै नै प्रभावित देखिने यो फिल्म कलेज जीवनका साथीहरुको प्रौढ उमेरको कथा हो । फिल्मले एउटा व्यक्तिको जीवनमा कलेजको प्रभावदेखि त्यतिबेला बन्ने साथीको जीवनभरको सम्बन्धको कथा भन्छ । फिल्ममा सुशान्त सिंह राजपुत र श्रद्दा कपुरको मूख्य भूमिका छ ।


८. सेक्सन ३७५

गत वर्षको 'पिंक' जस्तै यस वर्ष 'सेक्सन ३७५' । यी दुवै फिल्म कोर्टरुम ड्रामा हुन् भने दुवैले आपसी सम्बन्धमा मर्जी र जबर्जस्तीको प्रश्नमाथि विवेचना गर्छन् । महिला र पुरुषबीचका सम्बन्धलाई राजीखुशी वा बलात्कारका रुपमा कसरी व्याख्या गर्ने भन्नेमै फिल्मको कथा छ । यो फिल्ममा अक्षय खन्ना र ऋचा चढ्ढाले वकिलको भूमिकामा अभिनय गरेका छन् ।


९. फोटोग्राफ

इरफान खानसँग 'लञ्चबक्स' बनाएर प्रसिद्दि कमाएका रितेश बत्राको दोस्रो फिल्म 'फोटोग्राफ' मानवीय सम्बन्धको कथा हो । युपी बिहारका गाउँबाट ठूलो सहरमा आएर ससाना काम गर्ने युवाहरुको सपनामाथि यो फिल्म बनेको छ । नवाजुद्दिन सिद्दिकी र सान्या मल्होत्राले फिल्ममा मूख्य भूमिकामा अभिनय गरेका छन् । एउटा सानो क्षण र एउटा तस्विरले मानिसको पूरै जीवन कथा कसरी बदल्छ भन्ने यसले देखाउँछ ।


१०. सोनचिरैया

'इश्कियाँ' बनाएर चर्चित भएका अभिषेक चौबेको 'सोनचिरैया' चम्बलका डाँकुहरुको कथा हो। तर, यो डाँकुको मात्रै कथा होइन, १९७५ को राजनीतिक संकटकाल र प्रहरी प्रशासनको व्यवहारको कथा पनि हो । बक्स अफिसमा असफल रहे पनि सुशान्तसिंह राजपुत, मनोज बाजपेयी, भूमि पेडनेकर, रणवीर शौरी र आशुतोष राणाजस्ता कलाकारले अभिनय गरेको यो फिल्मले निकै राम्रो समीक्षा पायो ।

प्रकाशित : पुस ११, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?