'छक्का पञ्जा'ले सलमानले पाएको आधा सो पनि पाउँदैन : दीपकराज गिरी
काठमाडौँ — दीपकराज गिरीले निर्माता रोहित अधिकारीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसमा सहतम हुँदै लेखे, 'सत्य कुरा ।
सही हो, देशै उताबाट चल्या छ । हलको के कुरा, निर्माताहरू हलवालासँग डराउँछन्, हलवाला बितरकसँग डराउछन्, बितरक उताको खान्छन् अनि यता कराउँछन् !'
निर्माता अधिकारीले भने सलमान खान अभिनित फिल्म 'दबंग ३'लाई धेरै 'सो' दिएको भनेर आलोचना गर्दै लेखेका थिए, 'हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नु भयो । यो दबंग भन्दा ४-५ गुणा बढी हाम्रो नेपाली फिल्म छक्का पञ्जाका सिरिजहरु चलेका थिए । तर सो चाहिँ ४-५ गुणा कम थियो । नेपाली फिल्म भएरै कम दिएको थियो ।'
यही स्ट्याटस सेयर गर्दै दीपकले हलवाला र बितरकको आलोचना गरेका हुन् । फेसबुकका वालमा खरो प्रस्तुत हुने दीपकसँग रीना मोक्तानले गरेको संवाद:
देश उतै (इन्डिया)बाट चलेको हो त ?
त्यो त 'इन्डिकेटसन' मात्रै हो । कुरा त सही नै हो । हामी राजनीतिक हिसाबले पनि आत्मनिर्भर छैनौं । सँस्कृतिका हिसाबले पनि आत्मनिर्भर छैनौं भन्न खोजेको हो त्यो खासमा ।
हलवाला र बितरकसँग यसरी खरो हुँदा गाह्रो हुँदैन ?
अँ, गाह्रो त हुन्छ । बोल्दा त गाह्रो पर्छ नि ! अब अलिअलि बोलिन्छ, अन्याय भएको कुरा लेखिन्छ । अरु त अन्याय सहन्छन्, तर मेरो त्यस्तो बानी छैन । मलाई त त्यसकै सजाय पनि होला आफ्नो फिल्म रिलिजको समयमा सो कम पर्छ । फिल्मलाई प्रभाव परिरहेको हुन्छ ।
'छ माया छपक्कै'लाई प्रभाव पर्यो भन्न खोज्नु भएको ?
हो, परेको थियो । सबै हलबाट त भएन । आधा हलबाट सहयोग त भयो । तर, आधा हलले सो कटौती गरिदिए । सोचेको भन्दा धेरै कम सो पायौं । सिधा कुरा के हो भने, सलमान खानलगायत अन्य फिल्मको दाँजोमा नेपालमा धेरै व्यापार गरेको फिल्म त 'छक्का पञ्जा' कै सिरिज हो । अनि मात्र हिन्दी फिल्म आउँछ । तर यहाँ त धेरै कमाउने फिल्मलाई नै सो दिन्नन् ।
हलवालाले यसरी काखापाखा गर्दा मिलेर जाउँ भन्ने हुँदैन ?
आफ्नो लागि मात्र हो भने समस्या छैन । तर, म अरुको पनि समस्या समाधान होस् भन्ने चाहन्छु । तपाईँ चाहिँ बाँच्नुस् अरुलाई मार्दिन्छु है भनेर कसरी हुन्छ त ?
हलवालाले त चल्ने फिल्मलाई बढी सो दिएको त हो । यसमा के समस्या ?
यसमा अलि बढी 'प्रोफेस्नल' चाहिँ क्यूएफएक्सको च्यानलका हलहरु छन् । क्यूएफएक्स ठूलो च्यानल भएका कारण बितरकको सिधा दबाब त्यसमा पर्दैन । 'कबड्डी कबड्डी कबड्डी'लाई धेरै सो दिएको थियो । त्यतिबेला हिन्दी फिल्म पनि त थिएन । उनीहरुसँग बिकल्पै थिएन ।
नेपाली फिल्म चलाएर मात्रै इन्डस्ट्री अघि बढ्छ त ?
मैले त्यस्तो भन्न खोजेको होइन । हो, कतिवटा नेपाली फिल्मलाई दिएको एउटा सो पनि चल्दैन, बन्द हुन्छ । २ वटा सो दिएको हुन्छ, २ वटामा १ वटा सोमा दर्शक आइदिँदैनन् । अब त्यसलाई नेपाली फिल्म भनेर हलमा टिकाइराख्नुपर्छ भनेर सिकाइरहनु पर्दैन । तर, त्यस्ता फिल्म जसले पहिल्यै प्रमाण गरिसकेको छ । त्यस्तोलाई बढी सो दिनुपर्यो । 'जात्रा'को कुनै सिरिज आउला भोली । त्यसलाई धेरै सो दिनुपर्यो । जुन ब्यानरले आफूलाई प्रमाण गरिसकेको छ, त्यसलाई त सो दिनुपर्यो नि । नेपालको बक्स अफिसमा सलमान खानले बढी व्यापार गरेको छ कि 'छक्का पञ्जा' ले ? अवश्य 'छक्का पञ्जा'ले । भनेपछि 'छक्का पञ्जा'ले सो पाउनु पर्यो । तर 'छक्का पञ्जा'ले सलमानले पाएको आधा सो पनि पाउँदैन । 'दबंग'लाई ८८ सो दिइयो, 'छक्का पञ्जा'लाई ४० मात्र दिइएको थियो ।
प्रकाशित : पुस ७, २०७६ १५:४७