सपना हराएको मान्छे- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सपना हराएको मान्छे

सुशील पौडेल

काठमाडौँ — मुलुकवासीका लागि राजधानी सपनाको सहर पनि हो । धेरैले धेरै सपना बोकेर सहर पस्छन् । कतिका सपना पूरा होलान्, कति सहरमै हराउलान् । तर त्यसको कुनै लेखाजोखा छैन तर यतिबेला त्यस्तै सपनाको झोला बोकेर कतार जान गाउँदेखि हिँडेको रुद्रप्रसाद पोखरेलको झोला काठमाडौंमा अचानक हरायो ।

भीसा लागेको पासपोर्ट र ऋण काढेर ल्याएको ८५ हजार नगदसहितको झोला काठमाडौंको भीडभाडबाट हराएपछि रुद्र बिलखबन्दमा परेको छ । झोला खोजेर आफ्नो सपना साकार पार्न रुद्रले गरिरहेको संघर्षको कथालाई समेटेर तयार पारिएको नाटक ‘झोला हराएको मान्छे’ बुधबारदेखि राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नियमित मञ्चनमा छ ।


स्लिम जीवनको लेखन तथा दीपेन्द्र शाहीको निर्देशन रहेको उक्त नाटकले झोलाको खोजीमा रहेको रुद्रमार्फत सहरी जीवनको चिरफार गर्ने प्रयास गरेको छ । राजधानीमा रुद्रले मगज हराएकादेखि, संस्कार हराएका र आवाज हराएकासम्मका अनगिन्ती लाचार पात्रहरू भेट्छ । घर बनाएर आमालाई पाल्ने मीठो सपना देखेर पैसा कमाउन कतार जान हिँडेको रुद्रको विदेश उड्नु अघिल्लो दिन नै झोला हराएको छ । झोला खोजिदिने आश्वासनमा गाउँले दाइले दुरुपयोग गर्छ । भाँडा मझाउनेदेखि आफ्ना खुद्रा व्यापारमा लदाउँछ । न झोला भेटिन्छ, न त रुद्रले विदेश जाने सपना त्याग्छ ।


नाटकले केही उपकथामार्फत राजधानी र राजधानीवासीमा हराउँदै गएको मानवीयता, सहयोगी भावना, सामाजिक संस्कारलाई कटाक्ष गरिदिएको छ । नाटकका एक पात्र भन्छन्, यहाँ हर चिजमा मिसावट छ । खुसीसँग दु:ख मिसिएको छ, आफ्नोपनसँग एक्लोपन, धूलोसित धूवाँ, सम्बन्धसँग स्वार्थ मिसिएको छ । रोजगारीको नाममा होस् वा पढाइको, पछिल्लो दशक देशबाट बिदेसिनेको संख्या बर्सेनि बढ्दो क्रममा छ । राजनीतिक अस्थिरता र त्यससँगै मौलाएको भ्रष्टाचार, कुशासनले विकास निर्माण ठप्प छ । युवा बेरोजगार टड्कारो समस्या हो । वियोगान्त शैलीमा प्रस्तुत गरिए पनि नाटक झोला हराएको मान्छेले युवालाई गाउँ फर्केरै आफ्नो सपना साकार पार्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिन खोजेको छ ।


झोला हराउने मूल पात्र रुद्रको भूमिकामा लेखक स्लिम स्वयं अभिनीत छन् । उनले आफ्नो लेखनलाई अभिनयमार्फत पनि पूरापूर न्याय गरेका छन् । केही दृश्य लामा छन् । जसले नाटकलाई विषयान्तर गराउन खोजे पनि दर्शकका लागि भने मनोरञ्जनात्मक छ । निर्देशकले नाटकमा पात्रको विविधता, संगीत र उपकथाको संयोजनलाई प्रभावकारी बनाएका छन् । अभिनयमा स्लिम जीवन उम्दा देखिएका छन् भने अन्य कलाकार पनि फिक्का लाग्दैनन् । रंगमञ्चमा प्राय: नयाँको बाहुल्य रहेको टिम भए पनि नाटकलाई गहकिलो ढंगले पस्किइएको छ ।


प्रकाशित : पुस १, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

मधेसीलाई आफ्नो भाषामा पढ्न दिइएन, अनपढले नै क्रान्ति गर्छन् 

कान्तिपुर संवाददाता

काठमाडौँ — बबरमहलको क्याफेमा कालो चियाको चुस्की लगाउँदै उनी सोध्छन्, ‘कुराकानी मैथिलीमा गर्ने ?’ ‘सिकाएन कसैले’– भन्छु । ‘अब सिक्नुस् त्यसो भए’ उनी जवाफको पनि जवाफ फर्काउछन् ।

अमेरिकाको लुइस विश्वविद्यालयबाट छोटो छुट्टिमा काठमाडौं आएका अंग्रेजी विषयका प्रोफेसर प्रमोद मिश्र पञ्चायत व्यवस्था, नेपालीभाषा र मधेस शिक्षामा कुराकानी गर्ने मुडमा रहेछन् । उनले पीएचडी पोस्टकोलोनियल साहित्यमा डयूक यूनिभर्सिटीबाट गरेका हुन् । प्रस्तुत छ उनीसँग रवीन्द्र ढकालले गरेको कुराकानी :

भाषाबाटै सुरु गरु न त, तपाईलाई स्कूलले कुन भाषा सिकायो त ?
म दुई कक्षामा पढ्थें। त्यसबेला विद्यालयमा महेन्द्रमालाको शृंखला नेपालीमा पढाइन्थ्यो । स्कूलले त नेपाली नै सिकाउँथ्यो घरमा भने म राजवंशी बोल्थें। म कक्षा तीनमा भाषाकै कारण फेल भएँ । फेल भएपछि बुबाले ट्यूशनको व्यवस्था गर्दिनुभयो । म पण्डितको छोरा थिएँ । आर्थिक अवस्था राम्रो थियो । ट्यूशन पढिसकेपछि कक्षा चारमा नेपालीमा लेखेर फस्ट नै भएँ । जेनतेन मैले कक्षा छसम्म नेपालीमा पढें । कक्षा सातबाट भारत गएँ । हिन्दीमा पढ्न थालें । त्यतिखेर भारतको शिक्षा नपाएको भए मेरो जीवन अझै पनि अधुरै हुन्थ्यो ।

कसरी अधुरो हुन्थ्यो र ?
मधेसमा सबैको बुवा पण्डित हुँदैनन् । सबैले ट्यूशन पढाउन सक्ने कुरा पनि भएन । मेरो बुवाले सधैँ भन्नुहुन्थ्यो, ‘नेपालीमा पढेर जागिर कसले दिन्छ ?’र त जागिर नपाउने डरले भारत पठाउनु भयो । हुन पनि त्यसबेला नेपाली भाषामा जेनतेन आइए, बिए पढेका मधेसीलाई कसले जागिर दिने ? राजवंशी र अरु माथिल्लो जातका फाट्टफुट्ट मानिसहरु अहेब र जेटिएसम्म पुग्थे । योभन्दा माथिको अवसर पाउन निकै गाह्रो वातावरण थियो । आम समुदायले त अझै पनि जागिर पाउँदैनन् ।

मधेसमा कहिलेदेखि नेपालीमा पढाइ हुन थाल्यो ?
बाहुन भएर पण्डित्याइको शिक्षा लिनु बाहेक २००७ सालसम्म शिक्षामा पहुँच थिएन । २००७ सालपछि विद्यालयहरु मधेसमा धमाधम खुल्न थाल्यो । २००७ सालदेखि २०१७ सालसम्म मधेसमा शिक्षाको कलिलो समय थियो । जस्तो बच्चाको कलिलो उमेर हुन्छ नि त्यस्तै । यस अवधिमा धेरै ठाउँमा हिन्दीमा पढाई हुन्थ्यो । २०२५ सालतिर बिए पास गर्ने विद्यार्थी धेरै थिए सप्तरीमा । यी सबै विद्यार्थीहरुले प्राय २०१७ सालभित्र विद्यालय शिक्षा पूरा गरेका थिए । त्यसबेला राष्ट्रिय पञ्चायतमा बिए पास गरेको मानिस छानिन्थ्यो । यसका लागि भोट स्नातक गरेकै मानिसले दिनुपर्ने प्रावधान थियो । यो भोट काठमाडौंपछि सप्तरीमा धेरै खसेको तथ्यांकले देखाउँछ ।

यसमा कसरी परिवर्तन भयो त ?
महेन्द्रको शासन सुरु हुनुभन्दा अघि भाषा नीति लागु भयो । सप्तरी पछाडि धकेलिने क्रम त्यसपछि आरम्भ भयो । अहिलेको नेपाल राज्यको ताजा तथ्य हेर्दा सप्तरी र आसपासका जिल्ला साक्षरता दर सबभन्दा पुच्छारमा पुगेको छ ।

कसरी पुग्यो त ?
सामुदायिक विद्यालयको हकमा नेपाली माध्यममा पढ्ने पहाडका नेपाली भाषी अंग्रेजीमा कति फेल हुन्छन् ? नेपाली भाषी विद्यार्थी धेरै फेल हुने अंग्रेजीमै हो । यही कुरा नेपाली भाषा नै दोस्रो भएका समुदायमा लागु हुन्छ ।

मधेसको लागि नेपाली भाषा दोस्रो भयो । यसको प्रभावको लेखाजोखा कसरी गर्ने ?
नेपाली भाषी त अंग्रेजी विषयमा मात्र फेल हुने भए । गणित, समाजिक शिक्षा लगायतका विषय त नेपालीमा नै पढाइ हुन्छ । जबकि मधेसका विद्यार्थीहरु जसको मातृभाषा नेपाली थिएन, जसले आफ्नो दैनिक जीवनमा नेपाली सुनेको थिएन उसले सम्पूर्ण विषय नै नेपालीमा पढ्नुपर्ने स्थिति छ । कसरी पढ्ने अब ? यो स्थितिमा मधेसी त सबै विषयमा फेल हुने भए नि ! यसको प्रभावको लेखाजोखा आफैँ गर्नुस् ।

महेन्द्रको शासनकाल र भाषा राजनीतिको लेखाजोखा गर्दा के शासकका रुपमा त्यो उनको गल्ती थियो भन्न मिल्छ ? नेपालमा मात्रै यस्तो भएको हो र ?
राज्य महेन्द्रको शासनमा प्रवेश गरिसकेपछि राष्ट्रियतालाई बलियो बनाउन नेपाली भाषा हरेक समुदायमाथि लादियो । महेन्द्रले बेनेडिक्ट एन्डरसनको राष्ट्रवादको परिभाषाका चरित्रलाई जस्ताको तस्तै कपि गरे । यसले एउटै देशका मानिसहरु दुईथरीका बनायो । एकथरिलाई यसले सुविधायुक्त वर्ग बनाइदियो । आर्कोपक्षलाई उसको भाषा खोसेरमात्र होइन छुट्टै भाषाको जन्जिर लगाइदिएर कमजोर तुल्याइयो । यस्तो स्थितिमा कसरी ती दुई समुदाय समान हुन्छन् ?

जब मधेसले पढ्ने बेला आयो । त्यतिखेर भाषाको ढोका लगाइयो । भाषाको ढोका अर्थात शिक्षाको ढोका । शिक्षाले वैचारिक र आर्थिक सम्भावनाको ढोका पनि लगाइदियो । यसरी महेन्द्रवादले ल्याएको क्षतिको हिसाब कुनकुन क्षेत्रको लागि कसरी गर्ने ? यसले कुनमात्रामा कुन कुन क्षेत्रमा क्षति पुर्‍याइराख्यो ? अझै कति पुर्‍याउछ ? यसको क्षतिपूर्तिको विवरण कहिल्यै उठाउन सकिँदैन ।

अहिले मातृभाषामा पढ्न पाउने संवैधानिक अधिकार दिइएको छ त । यो क्षतिपूर्ति होइन र ?
मधेसमा मानिस नपढ्ने, ड्रप आउट हुने समस्या छ । पढेर के हुन्छ ? भन्ने चलन छ । ड्रपआउटको तथ्यांकले पनि यही भन्छ । तथ्यांकले मधेस पछाडि परेको मात्र सोझो अर्थ दिन्छ । तर आर्को तरिकाबाट हेर्दा यसले महेन्द्रवादी राज्य जुन छ त्यसको विरोध गर्छ । यो तथ्यांक राज्यविरुद्धको अवचेतन प्रतिरोध पनि हो । किनभने एउटा ठूलो वर्ग पूर्ण तरिकाले राज्यमा समावेश हुन सकेको छैन । राज्यले त्यो स्थान नै कहिल्यै दिएन । राज्यले जब भाषालाई स्थान दिँदैन दुई–चार जना प्रमोद मिश्र पो आउँछ त ? तर, समुदाय त कतै आउँदैन । पुग्दैन । यो तथ्यांकको आर्को अर्थ हो–सामूहिक प्रतिरोध ।

यदि आधुनिक दृष्टिकोणले यो तथ्यांक हेर्ने हो भने यो एउटा पिछडापन होला । तर, माक्सवादीको हालिमुहाली भएको राज्यमा माक्सवादकै दृष्टिकोणले हेर्ने हो भने स्कूलको ड्रप आउट तथ्यांक महेन्द्रवादको प्रतिरोध हो ।

यसलाई कसरी प्रतिरोध मान्न सकिन्छ ?
जस्तै बिए पास भएकाहरु कतै नोकरीमा जान्छन् । उनीहरुले त क्रान्ति ल्याउदैनन् नि । तर, जो अनपढ जमात खडा भइराखेको छ । त्यो अनपढ जमात धेरै भयो भने त त्यसले क्रान्ति गर्छ । त्यसले राज्य फाल्दिन्छ । यो वर्गीय अवचेतनाले क्रान्तिको बाटो तयार गर्दैछ ।

हाम्रो समाज थुप्रै क्रान्ति गरेर अगाडि बढेको हो । अझै समाज क्रान्तिका लागि तयार छ भन्नुको अर्थ ?
आज झन् बढी महेन्द्रवाद लागू भएको छ । मातृभाषा एक/दुई कक्षामा पढाउने संविधानमा व्यवस्था गर्दैमा केही हुनेवाला छैन । जबसम्म राज्यले भाषागत संरचना परिवर्तन गर्दैन तबसम्म राज्यमा प्रवेश पाउन सकिन्न । अनि, प्रवेश नपाएपछि गर्ने त क्रान्ति नै हो ।

प्रकाशित : पुस १, २०७६ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×