कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संगीतसँगै मौलिक खाना

सीमा तामाङ

काठमाडौं — चिसो मौसम, कहिले घाम कहिले पानी । बौद्धस्थित होटल ह्यातको मैदानमा भने तामाङ संगीत र मौलिक खानपानको तातो लोभलाग्दो थियो । शुक्रबारदेखि जारी दुईदिने तामाङ सेलो तथा खाना महोत्सवमा पूर्वी तामाङ समुदायमा प्रचलित सेलोदेखि धादिङ, नुवाकोट क्षेत्रमा प्रचलित लोकभाका म्हेन्दोमाया र सिन्धुपाल्चोकमा प्रचलित खान्दुके भाकासम्मले सांगीतिक इन्द्रेणी निर्माण गर्‍यो ।

संगीतसँगै मौलिक खाना

एकाएक मौसममा आएको बदलावलाई समेत ख्याल नगरी तन्नेरीहरूले डम्फु र टुङ्नाको तालमा कम्मर मर्काए, बुजु (चामलको तोर्मा) खाए, तोङ्बा चाखे ।


तामाङ समुदायको लोकसंगीत परम्परा र मौलिक खानपान प्रवर्द्धन गर्ने ध्येयले तामाङ कलाकार संघले गरेको महोत्सवको दोस्रो दिन गायक रोज मोक्तानदेखि चन्द्रकुमार दोङ र गायिका इन्दिरा गोलेसम्मले स्टेज तताए । लोकलयमा आधारित तामाङ सेलोलाई आधुनिक बान्कीमा पस्किने कार्यमा अब्बल योगदान दिएका गायक/संगीतकार चन्द्रकुमार दोङ र गायिका इन्दिरा गोले मैदानमा भेला भएका हजारौंका माहोल देखेर फुर्किए । तामाङ कला क्षेत्रलाई संस्थागत गर्नसमेत योगदान दिएका चन्द्रकुमार दर्शकदीर्घाबाटै गाएर स्टेज उक्लिँदा दर्शक/श्रोता निकै उत्साहित देखिएका थिए । दर्शकको मनोविज्ञान बुझेर चन्द्रकुमार र इन्दिराले सेलो दोहोरी घन्काए–

आपा त गाङदान, मावली स्याङ्तान

के विना राम्रो होई मैच्याङ खेलाउँकी जुहारी

त्यसअघि नै लोकगायक जयनन्द लामाले स्टेज तताइसकेका थिए । ‘कलकत्ते काइँयो...’ का यी पुराना गायकलाई पनि दर्शकले राम्रै साथ दिए । सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डम्फु बजाएर उद्घाटन गरेको महोत्सवको पहिलो दिन प्रेम लोप्चान, बुद्ध लामा, मिलन लामालगायतले गीत गाएका थिए भने म्हेन्दोमाया कलाकार संघले नृत्य पस्केको थियो । दोस्रो दिन ताम्बा (संस्कृतिविद्) हरूले सेरग्याम गीत गाउँदै सांगीतिक महोल सुरु गरेका थिए । यसपछि रमला पाख्रिन, जोङबा कान्छा, लक्ष्मी स्याङ्तान र विना घलेले म्हेन्दोमाया लोक भाका सुनाए भने जमुना योञ्जन, सुरेश लामा, सन्तोष लामा, अविनाश घिसिङ, सुवास मोक्तान, अशोक लामा, मिङ्स लामा, प्रकाश तामाङ, उषा पाख्रिन, निमा पाख्रिन, ओम वाइबालगायतले स्टेज तताए । अनिता गोले र अभि लामाको समूहले नृत्य गर्‍यो ।


खाना र मौलिक भेषभूषाको समेत स्टलहरू राखिएको महोत्सवको आकर्षण तामाङ कुदाप (चुल्हो) को मेनुमा थियो । कुदापले मौलिक तामाङ परिकार, बुजु (तोर्मो), तेमे (तरुल), आलुम (पानीरोटी), गेङ (रोटी), फापरको फुलौरा, आइराक (रक्सी), नाकाला स्या (कुखुराको मासु) लगायत परिकार प्रस्तुत गरेको थियो । नयाँ पुस्तामा मौलिक सांस्कृतिक ज्ञान र सीप हस्तान्तरणको उद्देश्यले महोत्सव गरिएको संघका अध्यक्ष एवं गायक सञ्जीव वाइबाले बताए । महोत्सवले तामाङ समुदायभित्र प्रचलित थुप्रै सांगीतिक धारलाई समेत बाहिर ल्याएको महोत्सव संयोजक विश्व दोङले बताए ।


संघका सचिव रोशन फ्युबाका अनुसार पछिल्लो समय धादिङ, नुवाकोट र रसुवा भेकमा प्रचलित म्हेन्दोमाया लोकभाकामा एल्बम निकाल्ने थुप्रै कलाकार आइरहेका छन् । ‘नयाँ र पुराना कलाकारको पुनर्मिलनजस्तो पनि बन्यो यो महोत्सव,’ उनले भने ।

प्रकाशित : मंसिर २९, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?