२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

किम्फ सुरु, ३९ देशका ७९ फिल्म

काठमाडौँ — खासगरी हिमाली जनजीवन र विषयवस्तुलाई समेटेर तयार पारिएका फिल्महरू प्रदर्शनीको विशेषता बोकेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करण बुधबारदेखि राजधानीमा सुरु भएको छ ।

किम्फ सुरु, ३९ देशका ७९ फिल्म

अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसर पारेर डिसेम्बर ११ बाटै सुरु हुने किम्फको उद्घाटन सत्रमा बेलायती डकुमेन्ट्री ‘द एसेन्ट अफ एभरेस्ट’ देखाइयो । त्यसअघि महोत्सवका निर्णायक सदस्य र किम्फ अध्यक्ष वसन्त थापाद्वारा संयुक्त रूपमा महोत्सवको थिम्याटिक पोस्टर सार्वजनिक गर्दै औपचारिक उद्घाटन गरिएको थियो ।


एन्टोनेलो पाडोभानो निर्देशित ‘द एसेन्ट अफ एभरेस्ट’ मा सर्वप्रथम सगरमाथा आरोहण गर्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको यात्रा वर्णन समेटिएको छ । हिलारीमार्फत नै वाचन गरिएको वर्णनमा किन र कसरी सगरमाथा चढे भन्ने तथ्यका साथै केही दुर्लभ भिडियोहरू पनि समेटिएको छ । महोत्सवमा ३९ देशका ७९ फिल्महरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डका हलमा आइतबारसम्म चल्नेछन् । हिमाल एसोसिएसनको आयोजनामा सन् २००० देखि नियमित हुँदै आएको किम्फमा नेपाल पानोरामातर्फ १७ स्वदेशी फिल्मले प्रतिस्पर्धा गरिरहेका छन् ।


‘यस पटक किम्फमा रोचक र विविध विषयवस्तु समेटिएका ७९ फिल्मले दर्शकलाई मीठो स्वाद दिनेछन्,’ किम्फ अध्यक्ष थापाले पछिल्लो समय नेपाली फिल्म निर्माण पनि उत्साहप्रद रूपमा बढिरहेको जानकारी दिँदै भने, ‘यस पटक नेपाल पानोरामाका लागि ५५ फिल्महरू प्राप्त भएका थिए । यो हेर्दा छोटा फिल्म बनाउने नेपाली युवा फिल्मकर्मीहरूको जमात बढ्दो छ ।’ किम्फ निर्देशक रम्यता लिम्बूले पनि उद्घाटन सत्रमा बोल्दै महोत्सवमा सहभागी विविध विषयवस्तुका फिल्मले परिवर्तित समयलाई चित्रण गर्ने बताएकी थिइन् ।


पोल्यान्डकी ग्याब्रिएला कुन, दक्षिण कोरियाका ली जे क्यो, बेलायतका फिल कोट्स र नेपालकी अस्मिना रञ्जित निर्णायक रहेको किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम हुनेले २ लाख रुपैयाँ, द्वितीयले डेढ लाख र तृतीय हुने फिल्मले १ लाख रुपैयाँ जित्नेछन् भने नेपाल पानोरामातर्फको प्रतिस्पर्धामा उत्कृष्ट डकुमेन्ट्रीले ७५ हजार रुपैयाँ, उत्कृष्ट फिल्मले १ लाख रुपैयाँसहित १ लाख रुपैयाँकै अडियन्स अवार्ड, उत्कृष्ट माउन्टेन एड्भेन्चर अवार्ड पनि राखिएका छन् ।


त्यसैगरी एक फिल्म मेकरलाई टोनी हागन फाउन्डेसनले डकुमेन्ट्री निर्माणका लागि डेढ लाखको ग्रान्ट्स दिनेछ । किम्फको दोस्रो दिन बिहीबार नेपालका प्रणवनारायण मानन्धरको ‘पोट्रेट अफ माने’, नव विजय श्रेष्ठको ‘द कलरलेस बटरफ्लाई’, अनील न्यौपानेको ‘थर्स्टी’, धोन्डुप छिरिङको ‘अमा खान्डो’ सहित विदेशी फिल्महरू प्रदर्शनीमा छन् ।

प्रकाशित : मंसिर २६, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?