काठमाडौंमा सुरु भयाे किम्फ

काठमाडौँ — पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) १७ औं संस्करण बुधबारदेखि सुरु भएको छ ।

काठमाडौंमा सुरु भयाे किम्फ

बुधबार राजधानीको सभा गृहमा महोत्सवका निर्णायकहरु अस्मिना रञ्जित, ग्याब्रियला कुहृन, जेक्यु ली र आयोजक हिमाल एसोसिएसनका वसन्त थापाले संयुक्त रुपमा किम्फको पोस्टर सार्वजनिक गर्दै घन्टी बजाएर महोत्सवको उद्घाटन गरे

पछाडि पारिएकाहरुको आवाजनारासहित आयोजित महोत्सवको उद्घाटनमा निर्देशक एन्टोनेलो पाडोवानोको द एसेन्ट अफ एभरेस्ट फिल्म प्रदर्शन गरिएको थियो । एडमन्ड हिलारीको शताब्दी वर्षको अवसर पारेर प्रदर्शन गरिएको ५३ मिनेटको फिल्ममा सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका हिलारीले पहिलो पटक सगरमाथा आरोहणको दृश्यहरु समावेश गरिएको छ ।

उद्घाटन समारोहमा किम्फका अध्यक्ष वसन्त थापाले १७ औं संस्करणसम्म आइपुग्दा किम्फ तन्नेरी भएको बताए । यसपटक २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन गर्न लागिएको छ ।

महोत्सव निर्देशक रम्यता लिम्बूले यसपटक १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश भएको बताइन् । नेपाल पानोरमाअन्तर्गत १४ वटा फिल्म देखाइने छन् ।

बुधबार देखाइएको फ्रान्सका निर्देशक अरोरी लरेन्टको ५२ मिनेट लामो ग्राउलिङ माउन्टेनफिल्मले नेपाली समाजमा हेभी मेटल गीतको विकास र अवस्थाको चित्रण गरेको छ । अष्ट्रेलियाका कलानी गाकोनले निर्देशन गरेको ८० मिनेट लामो जर्नी टु द सेन्टर अफ द हर्टफिल्ममा आप्रवासी नेपालीको समस्या र वेदना समेटिएका थियो ।

महोत्सवलगत्तै विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को हिउँ चितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरिएको थियो । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् ।

महोत्सवको अन्तर्रार्ष्ट्राय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन् । त्यस्तै नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसपटक एसियाली कला संग्रहालयबारे फिल्ममेकर छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन् ।

प्रकाशित : मंसिर २५, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?