यस्तो छ, दीपिकाको 'छपाक'को ट्रेलर- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ, दीपिकाको 'छपाक'को ट्रेलर

कान्तिपुर संवाददाता

मुम्बई — कसैले एसिड हान्नु जति ठूलो अपराध हो त्यही अनुपातमा सजाय भएको पाइदैन । भारत र अन्य देशहरुमा सुनिने गरेको यस्तो आक्रमणका घटना अचेल नेपालमा पनि निकै हुन थालेका छन् ।

संगीता पुलामी, सीमा बस्नेतजस्ता किशोरीहरुले यसको पीडा भोगिरहेका छन् । तराइका सहरहुँदै राजधानी काठमाड‌ौंमा यस्ता घटना भइरहेका छन् ।


भारतमा यस वर्ष एसिड आक्रमण पीडितको संघर्षबारे एउटा फिल्म आउँदैछ, जुन घोषणा भएदेखि नै चर्चामा छ । यो फिल्म हो 'छपाक' । र, यसमा एसिड पीडित युवतीको मुख्य भूमिकामा छन् दीपिका पादुकोण । राजी र तलवारजस्ता फिल्म निर्देशन गरिसकेकी मेघना गुलजारले यसको निर्देशन गरेकी छन् ।


फिल्ममा पछिल्लो समयमा चर्चामा आइरहेका अभिनेता विक्रान्त मेसी पनि मुख्य भूमिकामा छन् ।

यो फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ । र, यसले निकै प्रश‌ंसा बटुलिरहेको छ । यो लक्ष्मी अग्रवाल नामक एसिड आक्रमणमा परेकी युवतीको जीवनमा आधारित छ । फिल्म जनवरीमा रिलिज हुँदैछ, त्यसैदिन अजय देवगनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'तानाजी' पनि आउँदैछ ।

प्रकाशित : मंसिर २५, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

आन्तरिक पर्यटकको आकर्षण झोलुंगे पुल

भवानी भट्ट

(कञ्चनपुर) — हिउँदको समय । पारिलो घाममा नाचगान गर्दै वनभोज खानुको मज्जै बेग्लै । महाकाली नदीमा निर्मित झोलुंगे पुल अवलोकन गर्न र वनभोज खान आउनेको संख्या दैनन्दिन बढिरहेको छ । हालका वर्षमा स्कुले बालबालिका र विभिन्न सहकारी संस्थाका लागि झोलुंगे पुल क्षेत्र वनभोजका लागि उपयुक्त स्थल बनेको छ ।

हिउँद सुरु भएसँगै यहाँ वनभोज खान आउनेको संख्या बढ्छ । वनभोज खाने क्रम झन्डै हिउँदभर जारी रहन्छ । कुनै दिन त १०/१२ ठाउँबाट समेत वनभोज खान तथा पुल अवलोकनका लागि आउने गरेका छन् । ‘झोलुंगे पुल हेर्न स्कुले बालबालिका निकै बढी हौसिन्छन्,’ वनभोजकै लागि बेलौरी ३ मा रहेको विष्णुधाम एकेडेमीका शिक्षक बलराम रावलले भने, ‘स्कुले बालबालिकाका लागि यो ठाउँ अवलोकन र पिकनिकका लागि अकर्षण बनेको छ ।’ उनका अनुसार महाकालीछेउमै वनभोज गर्दा बालबालिकाले नदीसमेत अवलोकन गर्न पाउँछन् ।

‘झोलुंगे पुलबारे धेरै सुनेका थियौं, तर पहिलोपटक हेर्न पायौं,’ ६ कक्षामा अध्ययनरत रूपेश कार्कीले भने, ‘यहां त निकै भिड पनि हुदो रहेछ । पुलमा हिँड्दा कुनै बेला त पिङ खेले झैं हुने रहेछ ।’ मंसिरयता दिनहुँजसो पुल अवलोकनका लागि आउनेको संख्या बढिरहेको छ ।

यहाँ दाङ, बांके, बर्दिया र कैलालीका विद्यार्थी, विभिन्न संघ–संस्थाका व्यक्ति सामूहिक रुपमा आउने थलोका रुपमा विकास भइरहेको छ । ‘कुनै दिन त पुलछेउ पर्यटकको मेलै लाग्छ,’ स्थानीय महेश भट्टले भने, ‘जुन हिसाबमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ, त्यसअनुसार व्यवस्थापन भने हुन सकेको छैन ।’ पुल आसपासका क्षेत्रमा शौचालयदेखि विश्रामस्थल र वनभोजकै लागि पनि उपयुक्त स्थल बनेको छैन ।

जीर्ण बन्दै पुल
पर्यटकीय आकर्षणको केन्द्रसँगै महाकाली पारीको दोधारा–चाँदनी क्षेत्रका लागि जीवनरेखाकै रुपमा रहेको झोलुंगे पुल दुईपांग्रे सवारीसाधनमा अनियन्त्रित मालसामान ढुवानी गर्दा जीर्ण बन्दै गएको छ । पुलका ठाउँ ठाउँमा नट–बोल्टहरू झरेका छन् । फलामका फ्ल्याक र डन्डीहरूसमेत आफैं झर्न थालेका छन् ।

‘बीच–बीचमा फ्ल्याकहरू बंगिएर र झरेर धेरै ठाउँमा खाल्डा परेका छन्,’ स्थानीय सुनील सेटीले भने, ‘अनियन्त्रित रुपमा भईरहेको मालसामान ढुवानी समयमै नरोकिए जुनसुकै बेला पनि ठूलो दुर्घटना हुन सक्छ ।’ उनका अनुसार झोलुंगे पुलबाट सिमेन्ट, मलखादलगायत मालसामान मोटरसाइकलमै ढुवानी हुन्छ ।

झन्डै दुई दशकअघि निर्माण भएको १५ सय मिटर लामो पुल संरक्षणमा स्थानीय तहले पनि चासो दिएका छैनन् । तत्कालीन जिल्ला विकास समितिले बेला–बेला मर्मत गरे पनि त्यसको उचित संरक्षण नहुँदा पुल जीर्ण बन्दै गएको छ । पछिल्लोपटक यसै सातादेखि पुल मर्मतको काम चलिरहेको छ । तर अनियन्त्रित रुपमा हुने मालसामान ढुवानी नरोकिए पुन: पुरानै अवस्थामा पुग्ने स्थानीय बताउँछन् ।

प्रकाशित : मंसिर २५, २०७६ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×