कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लुम्बिनीमा चिङ र मनीषा

मनोज पौडेल

(लुम्बिनी) — नेपाल भ्रमण वर्षकी सद्भावना दूत चिनियाँ अभिनेत्री सु–चिङ र बलिउड अभिनेत्री मनीषा कोइरालाले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । 

लुम्बिनीमा चिङ र मनीषा

चिङ बर्दिया निकुञ्ज भ्रमण गरेर यहाँ आएकी हुन् । कोइराला पनि यही बेला भ्रमणमा आएकी छन् । बिहान साढे ११ बजे मायादेवी मन्दिर प्रवेश गरेकी चिनियाँ अभिनेत्री चिङले दुई घन्टा बिताएकी थिइन् । दिउँसो उनी निस्कनासाथ अभिनेत्री कोइराला मायादेवी मन्दिर पुगेकी थिइन् । उनले एक घन्टा मन्दिरमा बिताइन् ।


चिनियाँ अभिनेत्री चिङ मायादेवी मन्दिरभित्र बुद्ध जन्मस्थलको पदचिह्न (मार्क स्टोन) नजिक ध्यान बसिन् । अशोक स्तम्भमा पूजाआजा गरिन् । परिसरभित्र रहेको मन्दिर, स्तूप र विहार भग्नावशेषको अवलोकन गरिन् । पुष्करणी पोखरी परिक्रमा गरिन् । उनलाई लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले मायादेवी मन्दिरको उत्खनन्, संरक्षण र गुरुयोजनाबारे जानकारी गराएका थिए । उनलाई मातृत्व दर्साउने मायादेवीको मूर्ति मायाको चिनो प्रदान गरिएको थियो । चिनियाँ कलाकार चिङ बौद्ध धर्मावलम्बी रहेकाले उनले श्रद्धापूर्वक पूजाआजा गरेकी थिइन् । शान्ति, मैत्री र करुणाप्रति समर्पित भई ध्यानमग्न भएको सूचना अधिकृत बस्नेतले बताए । ‘उनी शान्तिको अनुयायी रहेको पाइयो,’ उनले भने ।


बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार अभिनेत्री मनीषा कोइराला ।तस्बिर : कान्तिपुर


मन्दिर परिसरमा कोषका कर्मचारीले चिङको स्वागत गरेका थिए । त्यसैगरी सोमबार उनले राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएको प्राचीन कपिलवस्तु (तिलौराकोट) को पनि अवलोकन गरिन् । त्यहाँ उनलाई कोषका सूचना अधिकृत दिलीपसिंह राईले पथ प्रदर्शन गरेका थिए । सामाजिक सञ्जाल विबोमामा करिब १ करोड ६० लाख मानिसले पछ्याएका छन् । त्यस्तै उनको भ्लगलाई १ अर्ब १३ करोडले पछ्याएको देखिन्छ । सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’ मार्फत चिनियाँ फिल्मबाट डेब्यु गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आई लभ यु टु, ‘मिस्टर सिक्स’ लगायत दर्जनभन्दा बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।


अभिनेत्री कोइरालाले मायादेवी मन्दिरभित्र ५ मिनेट ध्यान गरिन् । अशोक स्तम्भ, पुष्करणी पोखरी र पुरातात्त्विक भग्नावशेषको अवलोकन गरिन् । उनलाई कोषका सूचना अधिकृत बस्नेतले सम्पदाबारे जानकारी दिएका थिए । कोइरालालाई बुद्धका ज्ञान र उपदेशबारे जानकारी भएकाले अभिरुचि देखिएको सूचना अधिकृत बस्नेतले बताए । पहिलो हिन्दी चलचित्र ‘सौदागर’ बाट हलिउड छिरेकी उनी चर्चित कलाकार हुन् ।


त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरको भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषलाई जानकारी नै नदिई उनी मन्दिर पुगेका थिए । आफैं गाडी चलाएर आएका उनले एक घन्टा मन्दिरमा बिताएको मन्दिर स्रोतले जानकारी दिएको छ ।


प्रकाशित : मंसिर २४, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?