कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

'किम्फमा फिल्म छान्नै गाह्रो'

काठमाडौँ — पर्वतीय विषयवस्तुमा आधारित भएर सन् २००० मा सुरू भएको थियो– काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) । यही बुधबार सुरु हुने १७ औं संस्करणको उद्घाटनमा किम्फले सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दाको क्षण कैद गरिएको बेलायती डकुमेन्ट्री ‘द एसेन्ट अफ एभरेस्ट’ छानेको छ । किम्फकै सेरोफेरोमा रहेर आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक तथा किम्फ अध्यक्ष वसन्त थापासँग कान्तिपुरकर्मी फूलमान वलले गरेको कुराकानी :

'किम्फमा फिल्म छान्नै गाह्रो'

किम्फले १९ वर्ष पार गर्न लागिरहेको बेला यसको प्रभावबारे तपाईंको अनुभूति कस्तो छ ?

खासमा यो लहडको सुरुवात थियो । यहाँसम्म आइपुगिन्छ भन्ने सोचेकै थिएनौं । तीनताक ‘हिमाल’ खबर पत्रिकामा पर्वतारोहणसम्बन्धी लेख्ने थुप्रै लेखक थिए । म पनि पर्वतारोहण संघको सचिव थिएँ त्यतिबेला । विभिन्न फोरममा पर्वतीय विषयवस्तुमाथि छलफल चलाउँदै पनि आइरहेका थियौं ।


युरोपमा हिमालसम्बन्धी फिल्म फेस्टिभल हुने, सगरमाथा भएकै देशमा चाहिँ नहुने भन्ने प्रश्नले चिमोट्थ्यो । इटलीमा ६८ वर्ष पुरानो पर्वतीय फिल्म फेस्टिभल छ । थुप्रै युरोपेली देशमा भइरहेकै छन् । हामी पनि सुरु गरौं भन्ने हुटहुटीले किम्फ जन्मेको थियो ।


नेपालमा स्वतन्त्र शैलीका फिल्म निर्माणमा किम्फको ठूलो भूमिका छ । त्यतिबेलासम्म डकुमेन्ट्री भनेको के हो भन्ने थियो । नेपाली फिल्मकै विधागत आयाम फराकिलो बनिरहेको थिएन । फिल्म भन्ने वित्तिकै उही मूलधारको भनिने डाङडुङे फिल्मको बुझाइ थियो । फिल्म बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने बुझाइ किम्फले स्थापित गर्‍यो । किम्फपछि नै नेपालमा थिम्याटिक फेस्टिभल हुन थाले । नेपालमा फिल्म फेस्टिभल संस्कृति निर्माणमा पनि किम्फको ठूलो योगदान रह्यो ।

नेपाली फिल्म उद्योगमा नयाँ अनुभवसहितको जनशक्ति निर्माणमा पनि सघायो नि हैन ?

पक्कै पनि । केसाङ छेतेन, मोहन मैनाली, ध्रुव बस्नेत, दीपक रौनियार, मीन भाम, गणेश पाण्डेदेखि भोजराज भाटसम्मका फिल्मकर्मी किम्फकै उत्पादन हुन् । किम्फमा उत्कृष्ट फिल्मले संसारभरका राम्रा फिल्म फेस्टिभल जितेका छन् ।


मीनको ‘बाँसुल्ली’, ‘कालोपोथी’, दीपक रौनियारको ‘सेतो सूर्य’, गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरू’, भोजराज भाटको ‘सुनाकली’ले संसारका थुप्रै फेस्टिभल जितेका छन् । यसरी राम्रा फिल्मकर्मी निर्माणमा पनि किम्फको उत्तिकै योगदान रहेको छ भन्न सकिन्छ । उपलब्धि सम्झिँदा आनन्द लाग्छ तर दुःखचाहिँ ठूलो छ । आर्थिक व्यवस्थापनका दृष्टिबाट किम्फलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे हामी चिन्तित छौं ।


यस्तो किन भयो ?

सधैं एक–दुईजनाको मेहनत र स्वयंसेवाबाट निरन्तरता दिन सकिँदैन भन्ने हो । राज्यको सहयोग र संलग्नता एकदमै प्रतीकात्मक मात्रै छ । मानिसहरू यो क्षेत्र नै बुझ्दैनन् । यसपालि मात्रै संसारभरका ६९ देशबाट फिल्म छानेका छौं । यति धेरै मुलुकबाट नेपाली फेस्टिभलमा फिल्म आउनु भनेको पर्यटन प्रवर्द्धनकै हिसाबले पनि ठुलै मौका हो । तर मुलुकको पयर्टन, संस्कृति र पहिचान प्रवर्द्धनमा भिजुअल मिडियाको प्रभावबारे धेरैसित फराकिलो ज्ञान छैन । फेस्टिभल त आफैँमा ज्ञान निर्माणको सिर्जनशील थलो हो नि । फेरि हामी हिमाली मुलुक, सगरमाथा भएको देश, हाम्रै विषयवस्तु प्रवर्द्धन गर्ने यो निकै अब्बल थलो हो तर हामी हाम्रै मुलुक चिनिरहेका छैनौं ।


काठमाडौंको सडकमा हिँडिरहेका हर कोहीलाई सोध्ने हो भने वरिपरिका चारवटा पहाडको नाम भन्न सक्दैनन् । हुन त पवर्तारोहण युरोपबाटै सुरु भएको हो । हामी त धेरैपछि उनीहरूको दोभासे र भरिया बन्न पुग्यौं । यो संस्कृति नै नेपालमा ढिला आयो । बाहिरी मुलुकतिर यस्ता फेस्टिभलको आर्थिक आधारको रूपमा माउन्टेनियरिङ क्लबहरू हुन्छन् । राज्यका विभिन्न निकाय हुन्छन् । हाम्रो त सबैतिर हात जोड्दै हिँड्नुपर्छ । यस्तो फेस्टिभल त चलचित्र विकास बोर्डले गर्नुपर्ने हो । यही फेस्टिभल पनि हामी सरकारलाई सुम्पिन तयार छौं ।

दुई दशकबीचमा किम्फमा जति फिल्म छानिए, तिनले उठाएका विषयवस्तुको आधारमा नेपाली पर्वतीय समाजमा आइरहेको परिवर्तन कसरी हेर्न सकिन्छ ?

धेरै ठूलो परिवर्तन आइरहेको देख्छु । ग्लोबल वार्मिङ, बसाइँसराइदेखि त्यसको सांस्कृतिक/आर्थिक प्रभावसम्मका विषय छन् । लेकमा हिउँ जम्न छाडेको छ । सहरमुखी बसाइँसराइ तीव्र छ । मानिस गाउँ फर्किन छाडेका छन् । यसले गर्दा हिजोको नेपालीपन जे हो, त्यसमा पहिरो गइरहेको छ । पानी माग्दा मोही दिने संस्कृति हराएको छ । अतिथि देवो भव : भन्ने मान्यता लोप हुँदै छ ।

भर्खरै सम्पन्न 'फिल्म साउथ एसिया' लाई आधार मान्ने हो भने नेपाली डकुमेन्ट्रीमेकरको उत्साह घट्दै गइरहेको हो कि भन्ने देखिन्छ । किम्फमा....?

फिल्म साउथ एसियामा डकुमेन्ट्री मात्रै हुने भएकाले त्यस्तो भएको हुन सक्छ । फिक्सन, ननफिक्सनदेखि सर्ट फिल्मसम्मको विधागत सुविधाले गर्दा किम्फलाई सजिलो छ । हरेक वर्ष फिल्म संख्या बढ्या बढ्यै छ । फिल्म यति धेरै पठाइरहेका छन् कि छान्नै गाह्रो हुने अवस्था छ ।


प्रकाशित : मंसिर २३, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?