कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गण्डकीका धुन

लोपोन्मुख नेपाली संस्कृति संरक्षणका लागि आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रचलनमा रहेका ९५ थरीका बाजा प्रदर्शन
विना थापा

(कास्की) — थारु समुदायको मौलिक संस्कृतिमा आधारित झरझरिया नाच विषेश गरी फागुपूर्णिमामा नाचिन्छ । तर, शनिबार पोखरेलीले यो नाच हेर्ने अवसर पाए । ‘नाच फागुपूर्णिमा मात्र नाचिने भए पनि महोत्सव र विशेष अवसरमा प्रदर्शनी र नाच प्रस्तुत गरिन्छ,’ पोखरामा भएको गण्डकीका धुनहरू कार्यक्रममा भेटिएका नवलपुरका पुरनराम गुरौले भने । 

गण्डकीका धुन

नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान र हिमाली संस्कृति परिवार कास्कीले गरेको ‘लोपोन्मुख बाजा सम्मेलन : गण्डकीका धुनहरू’ कार्यक्रममा उक्त नाच देखाइएको थियो । शनिबार सकिएको दुई दिने कार्यक्रममा सहभागी हुन पाएकोमा दंग गुरौले आफूहरूको नाचको प्रवर्द्धन भएको सुनाए । गुरौका अनुसार रामायण, कृष्ण लीला, विष्णु पुराण, शिव पुराणलगायतका अरु धार्मिक गीतसँगै मायाप्रीतिको गीत गाउने र नाच्ने गरिन्छ ।


कार्यक्रमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न सामुदायमा आधारित नाच मात्र नभएर सांस्कृतिक झाँकीसमेत देखाइएको थियो । एक सय ८ वटा घन्टी गलादेखि कम्मरसम्म लगाउने, रिठ्ठा, रुद्राक्षको माला, कौडा, कमलकत्ता र दुम्सीको काडा, कुखुराको प्वाँख, मजुरको प्वाँखलगायतबाट बनेको मुकुट लगाएर नाच्ने झाँक्री नाच पनि देखाइएको थियो । पोखराको रामबजारका तिलबहादुर रानाले यो नाच विभिन्न कार्यक्रममा प्रस्तुत गरिने जनाए । कार्यक्रममा पोखराको बाटुलेचौरका गन्धर्वले लोपोन्मुख साराङ्गीको धुनमा गीत पनि गाएका थिए । विभिन्न सामुदायका संस्कृतिले राष्ट्रियता झल्काउन सहयोग पुग्ने गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बताए । यसको संरक्षणका लागि पुस्तालाई समेत सिकाउनुपर्ने, राज्यका महत्त्वपूर्ण अंग सेना, प्रहरीमा समेत समावेश गर्नुको साथै राज्यले अपनत्व दिए, सबै संस्कृतिको संरक्षण हुने उनको भनाइ थियो ।


हिमाली सांस्कृतिक परिवार कास्कीका सचिव श्रीजङ गुरुङका अनुसार शनिबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न सामुदायमा आधारित १२ थरीका झाँकी र नाच प्रस्तुत गरिए । शुक्रबार विभिन्न सामुदायमा आधारित ९५ बाजा प्रदर्शन गरिएको थियो । गण्डकी प्रदेशका लोपोन्मुख नेपाली लोकबाजा संरक्षण र विकासका लागि यस्तो कार्यक्रम गरिएको संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले बताए । ‘यस्ता लोपोन्मुख अमूर्त संस्कृति संरक्षणमा हाम्रो विशेष चासो छ’, उनले भने, ‘हामी मौलिक नेपाली संस्कृति निर्माणको योजना बनाइरहेका छौं ।’


प्रकाशित : मंसिर २२, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?