सौगात–सृष्टि ‘सँगसँगै’ मा

काठमाडौँ — अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच झँगिएको प्रेमसम्बन्धले फिल्ममा समेत प्रभाव जमाउँदै गइरहेको छ । अफस्क्रिन जोडी फिल्ममा समेत लगालग जोडीका रूपमा देखिन थालेका छन् । सौगात अभिनीत ‘लालपुर्जा’ मा विशेष छोटो भूमिकामा देखिएकी सृष्टि अचेल भने सौगातकै जोडीका रूपमा फिल्ममा देखिन थालेकी छन् ।

सौगात–सृष्टि ‘सँगसँगै’ मा

केही साताअघि मात्रै दुई अभिनीत ‘पोई पर्‍यो काले’ प्रदर्शनमा आएको थियो भने यतिबेला सौगात अभिनीत ‘माछामाछा’ को एक गीतमा सृष्टि पनि नाचेकी छन् ।


सञ्जीवकुमार न्यौपाने निर्देशित ‘मासुभात’ मा समेत जोडीका रूपमा देखिन लागेका सौगात–सृष्टि पछिल्लो पटक ‘सँगसँगै’ मा पनि जोडीकै रूपमा दोहोरिएका छन् । मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको उक्त फिल्मको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा मुहूर्त गरिएको थियो । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने बताइएको उक्त फिल्मको पटकथा सञ्चारकर्मी लक्ष्मण सुवेदीले लेखेका हुन् ।


सौगात र सृष्टिको जोडीसहित मुकुन भुसाल र आश्मा गिरीको मुख्य भूमिका रहने ‘सँगसँगै’ विकास चापागाईं, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतका कलाकारले अभिनय गर्नेछन् । सुवानी फिल्मस्को ब्यानरमा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णुबहादुर क्षेत्रीले निर्माण गर्न लागेको उक्त फिल्मको छायांकन भने माघदेखि सुरु हुनेछ ।


शिव ढकालको छायांकन, ताराप्रकाश लिम्बूको संगीत रहने फिल्मले साथीत्व र दुई दशकदेखिको नेपाली समाजको कथालाई बुनिएको लेखक सुवेदीले बताए । सौगातले स्क्रिप्ट मन परेकोले अनुबन्ध भएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । अस्ट्रेलियामा समेत केही दृश्य छायांकन गरिने बताइएको छ ।

प्रकाशित : मंसिर २२, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?