३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भावना पोख्न कलाको सहारा

सुशीला तामा‌ङ

काठमाडौँ — विश्व विज्ञानमा अल्बर्ट आइन्सटाइन, सर आयज्याक न्युटनजस्तै स्टेफन हकिङको पनि नाम उचो छ । उनी शारीरिक रूपमा अशक्त थिए । विद्यार्थी जीवनमा नै मोटर न्युरोन रोगले ग्रसित भएपछि उनको शरीर निष्क्रिय भएसँगै आवाजसमेत बन्द भएको थियो । पछि उपकरणकै सहायताले आफ्ना विचारहरू राख्दै उनले सापेक्षतासम्बन्धी सिद्धान्त र ब्ल्याक होलको सिद्धान्त प्रतिपादन गरे ।

भावना पोख्न कलाको सहारा

उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ जस्ता विज्ञानसम्बन्धी लेखिएका पुस्तकहरूमार्फत ब्रह्माण्ड विज्ञानको ज्ञानबारे खोज गरे । प्रतिभा प्रस्फुटन गर्न र अगाडि बढ्न शरीरले रोक्न सक्दैन भन्ने कथनलाई उनी एक उदाहरणीय व्यक्तित्व हुन् ।


उनै खगोलविद् तथा भौतिक शास्त्रीका रूपमा विश्वमा चिनिएका हकिङलाई चित्रकार सुरक्षा वाग्लेले क्यानभासमा उतारेकी छन् । शारीरिक रूपमा उनका हात तथा खुट्टाका औंलाहरूमा केही समस्या छन् । हकिङको चित्रलाई ‘च्यालेन्जिङ लाइफ’ शीर्षक दिएर उनले आफ्नै जीवनका अनुभव र साहसलाई खोतल्ने प्रयास गरेको बताइन् । लहरा नै लहरा भएको रूखको माथितिर उनले हकिङलाई देखाइएकी छन् । ब्रह्माण्डकै पृष्ठभूमि झल्केको उनको चित्रमा हकिङ मुस्कुराइरहेका छन् । कसैको साथ र समर्थन भएमा मानिसले संसारमा नसक्ने केही छैन भनी दर्साउन लहरालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको उनले खुलाइन् ।


बिहीबारदेखि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी ‘सृजनशील पखेटाहरू’ शीर्षकमा ‘मनका सुन्दरता, सृजना सुन्दरता’ भावमा केन्द्रित हुँदै जारी चित्रकला प्रदर्शनीमा वाग्लेसहित १० जना शारीरिक रूपमा अशक्त चित्रकारहरूले आ–आफ्ना अभिव्यक्तिहरू चित्रबाटै पोखेका छन् । चित्रकारहरू लक्ष्मी दाहाल, रोशनकुमार श्रेष्ठ, राघव पोखरेलले शब्दमा केही व्यक्त गर्न सक्दैनन् र कसैको आवाजलाई सुन्न पनि दोभासेको सहायता लिनुपर्छ । तर प्रदर्शनीमा उनीहरूका चित्रले कतै धर्म, कतै समाज र कतै हाम्रै वरिपरि हराइरहेका प्रकृति, सम्पदाहरू बोलिरहेका छन् र उनै आवाजविहीनहरूको आवाज खोजिरहेका छन् । चित्रमा नै उनीहरूले आफूलाई शक्तिका रूपमा परिभाषित गरेका छन् ।


चित्रकार सञ्जय बान्तवाले यसपटक पनि घोडा सिरिजलाई निरन्तरता दिएका छन् । हृवीलचियरको सहायताले चलेको उनको झन्डै तीन दशकको कलायात्रामा आफूलाई घोडाकै रूपमा तुलना गर्छन् । शरीरले साथ नदिए पनि कलाकै माध्यममा उनी संसार घुमेको अनुभव गर्छन् । ‘म हिँड्न नसकेर के भो त, मेरो आत्मबल घोडाजस्तै दौडिरहेको छ,’ उनी भन्छन्, ‘त्यसैले मलाई यसकै प्रतिविम्ब उतार्न मन लाग्छ ।’ कला यात्राको संघर्षलाई उनी घोडाका आकृतिहरूमा नै बाँड्छन् । त्यस्तै चित्रकार दाहालले भारी बोकेर पहाडतिर उक्लिरहेको मानिसलाई चित्रको स्वरूपमा ढालेकी छन् । उनको यात्रालाई रंग र कुचीले प्रस्तुत गरेको छनक मिल्छ । अर्का चित्रकार श्रेष्ठले गौतम बुद्धलाई प्रस्तुत गरेका छन् । दोभासे रमा ढकालको सहायतामा उनी भन्दै थिए, ‘म जे देख्छु, जे भन्न मन लाग्छ चित्रमा नै व्यक्त गर्छु ।’ उनका अनुसार चित्र नै उनको साथी र प्रतिरूप हुन् । जसबाट उनले आफ्ना भावनाहरू सहजै पोख्न सक्छन् । उनीसँगै रहेका चित्रकार पोखरेलले भगवान् गणशेलाई सुन्दर बनाई चित्रमा ढालेका छन् । चित्र उनका लागि ‘म पनि सक्षम छु’ भन्ने आधार हो । दोभासे ढकालकै मद्दत लिँदै उनले यसैलाई सहयात्राका रूपमा निरन्तर अगाडि बढाउने बताए ।


हामी समावेशीको कुरा गर्दा कलामा पनि सबैलाई समान सहभागिता गराउनुपर्छ भन्ने उद्देश्यले प्रदर्शनी गरिएको चित्रकार बान्तवाले उल्लेख गरे । कुरा जति गरे पनि अपांगमैत्री वातावरण सबै ठाउँमा व्यावहारिक रूपमा लागू नभएकोमा उनले चिन्ता व्यक्त गरे ।


प्रदर्शनीमा रमेश खनाल, मिथिलादेवी यादव, लालकाजी लामा, शशी शाह, उमेश श्रेष्ठलगायत ४० जना चित्रकारहरूको ६० भन्दा बढी चित्रहरू प्रदर्शित छन् । प्रदर्शनी यही बुधबारसम्म जारी रहनेछ ।

प्रकाशित : मंसिर २२, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?