कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्षयकुमार कसरी बने हिट मेसिन ?

(एजेन्सी)

काठमाडौँ — अक्षयकुमारको एउटा फिल्म हलबाट उत्रिसकेको हुँदैन, अर्को फिल्मको ट्रेलर आइसक्छ । वर्षमा सरदर ४ फिल्म खेल्छन् नै । योभन्दा अचम्मचाहिँ उनका सबै फिल्म हिट हुन्छन् । पछिल्लो फिल्म 'हाउसफुल ४' लाई छोड्ने हो भने अक्षय अभिनीत फिल्मले समीक्षकबाट प्रशंसा पाएका छन् । मिसन मंगल, केशरी, गोल्ड, प्याडम्यान आदि–आदि ।

बलिउड हंगामाका अनुसार सन् २०१९ मा उनका तीन फिल्मले भारतभित्र ५ सय ५१ करोड भारु कलेक्सन गरेको छ । यो कमाइले उनलाई बलिउड अभिनेतामध्ये शीर्ष स्थानमा राखेको छ । ऋतिक रोशन, सलमान खान, विक्की कौशलजस्ता स्टारलाई उछिनेका छन् । अघिल्लो वर्षचाहिँ रनवीर सिंह एक नम्बरमा थिए ।


बलिउडमा तीन खान (शाहरूख, आमिर र सलमान) को साम्राज्य डगमगाइहेको छ । शाहरूखको करिअर त साँच्चै संकटमा छ । 'लालसिंह चड्डा'बाट आमिर साख फर्काउने प्रयासमा छन् । सलमानलाई 'भारत'ले राहत थियो । तर समकक्षी हिरो अक्षयचाहिँ संख्या र सफल दुवै हिसाबमा अग्रपंक्तिमा छन् । यही कारण हुनुपर्छ, यतिबेला उनलाई बलिउडमा ‘बक्सअफिस किङ’ को पगरी गुथाउन थालिएको छ । अक्षयप्रति आमदर्शकको प्रेम किन पनि घनीभूत हुँदै छ भने पहिले हल्का कमेडी र एक्सनमा मात्र सीमित हुन्थे, अहिले सार्थक सिनेमातिर फड्को मार्दै छन् । र, उनी आफैं पनि भन्न थालेका छन्, ‘बल्ल मैले चाहेकोजस्तो सिनेमा खेल्न पाउँदै छु ।’


अक्षयको संघर्ष नियाल्ने हो भने अहिलेको सफलताको बलियो हकदार लाग्छन् । तीस वर्षअगाडि ‘आज’ नामक सिनेमामा झुल्किएका थिए, पहिलोपटक । राज बब्बर र स्मिता पाटिलको मुख्य भूमिका रहेको यस फिल्मले उनलाई खास फाइदा दिलाएन । त्यसैले 'सौगन्ध'लाई उनको खास डेब्यु मानिन्छ । त्यसपछि केही फिल्म खेल्ने अवसर मिल्यो तर सबै फिल्ममा एक्सन भूमिका मात्र हुन्थ्यो । बलिउड फिल्ममेकरमा छाप बसिसकेको थियो, अक्षयले एक्सनबाहेक अरू रोल गर्नै सक्दैनन् । महेश भट्टजस्ता केही फिल्ममेकरले त मुखै फोरेर भनेका थिए, ‘एक्सन गराउनु छ भने अक्षयलाई लिनु, अभिनय गराउनचाहिँ नलिनु ।’ एक्सनकै कारण उनले टन्नै फ्यान त कमाए तर अभिनेताको रूपमा अनेक भूमिकामा

आफ्नो अभिनय क्षमता देखाउन पाएनन् ।


बीचमा केही कमेडी फिल्मलाई बिर्सने हो भने लगभग पाँच वर्षअगाडिसम्म अक्षय एक्सनमै सीमित थिए तर रुस्तमले उनको अभिनय कौशलको नवीन पाटो उघारिदियो । नत्र यसअघि त सिंह इज ब्लिंक, गब्बर इज ब्याक, बोस, इन्टरटेनमेन्ट, तीस मार खानजस्ता एक्सन–कमेडी फिल्ममा सीमित थिए । जोली एलएलबी २ पनि उनको ख्याति बढाउन सहायक बन्यो । 'ट्वाइलेट ः एक प्रेमकथा'ले चाहिँ अक्षयको छवि पूरापूर बदलिदियो, त्यो भनेको उनका सिनेमाका कथा र उनको चरित्र समाजसँग नजिक हुन थाले, जुन पहिले उनीसँग अपेक्षा नै हुँदैन्थ्यो । शौचालय नभएकै कारण पति–पत्नीबीच फाटो आउने दर्दनाक कथा बोकेको यस फिल्मले ३ सय ११ करोड भारु कलेक्सन गर्‍यो । ‘हिरोजस्तो नलाग्ने’ चरित्रमा समेत अक्षयले आफूलाई जीवन्त बनाए ।


प्याडम्यान, गोल्ड, केशरी हुँदै मिसन मंगलसम्म आइपुग्दा अक्षयले वास्तविक कथालाई रोजे । उडन्तेभन्दा समाजमा भएकै घटनामाथि फिल्म खेल्न/बनाउन दिलचस्पी राख्न थालेका छन् । तर सत्यकथा भए पनि उनका फिल्ममा गीत हुन्छन्, ‘हिरोइन’ हुन्छन्, फाइट पनि हुन सक्छ । भनूँ न, बजारले खोज्ने तत्त्वलाई पनि उत्तिकै समेट्छन् । र, यसो किन गर्नुपर्छ भन्नेमा पनि स्पष्ट धारणा छ उनको । इन्डियावेस्ट डटकमसँगको कुराकानीमा भनेका छन्, ‘म डकुमेन्ट्री बनाउन चाहन्नँ । त्यसैले गीत, डान्स, ड्रामा सबै राख्छु । व्यावसायिक मूल्य मुख्य कुरा हो ।’


अक्षयको अब लगत्तै रिलिज हुने फिल्म हो, गुड्न्युज । त्यसपछि सूर्यवंशी, लक्ष्मी बम्ब र पृथ्वीराज क्रमैसँग आउनेछन् । यति धेरै फिल्म खेल्ने समय र ऊर्जा कहाँबाट आउँछ ? उनले बरोबर सामना गनुपर्ने सवाल हो यो । जवाफ पनि उस्तै हुनेगर्छ, ‘फिल्म खेल्नेबाहेक मेरो अर्को काम छैन । मेरा लागि फिल्म अझ कम भयो ।’ प्रकाशित : मंसिर २०, २०७६ १३:१८

प्रतिक्रिया
पठाउनुहोस्

भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने    

रासस

चितवन — भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत आपूर्ति गराउने भएको हो । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवले पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत पुर्‍याइएको छ ।       

सौराहा लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफर्मरमा देखिने समस्याले पटक पटक विद्युत अवरुद्ध हुँदै आएको श्रीवास्तवले बताए । केन्द्रले सौराहालाई लक्षित गर्दै पर्साबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै तार तानेर नयाँ फिडरमार्फत विद्युत् वितरण गर्न लागेको हो । पर्सा सबस्टेशनमा हाल चारवटा फिडर रहेकोमा बढाएर छ वटा पुर्‍याउने तयारी गरिएको उनले बताए ।

भरतपुरबाट गएको ३३ हजार केभिए विद्युतले नपुगेपछि ११ हजार केभिएको छुट्टै तारमार्फत अहिले सौराहामा विद्युत् पुर्‍याइएको छ । श्रीवास्तवले पुसभित्रमा सौराहामा विद्युत् अवरुद्ध नहुने गरी व्यवस्थापन गरिसक्ने बताए ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सो क्षेत्रमा १सय २० होटल रहेका छन् । सौराहामा भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।

सौराहामा घोषित रुपमा विद्युतभार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ ।

प्रकाशित : मंसिर २०, २०७६ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×