रणवीर–आलियाको विवाह अर्को वर्ष

एजेन्सी

मुम्बई — बलिउडको प्रेमीजोडी रणवीर कपुर र आलिया भट्टको विवाह आउने वर्ष हुने समाचार आएका छन् । बलिउडसम्बन्धि न्युजपोर्टलहरुका अनुसार यो जोडीले २०२० को डिसेम्बरमा भारतबाहिर सानो समारोहमा बिहे गर्ने जनाइएको छ ।

ZenTravel

समाचार पोर्टल कोइमोइका अनुसार त्यो बेलासम्म आफ्ना फिल्मको काम सकेर दुवैले एक महिनाको छुट्टी लिनेछन् ।

Meroghar

हुन त यसअघि दीपिका पादुकोण र कट्रिना कैफसँग पनि रणवीरले विवाह गर्ने समाचार आएका थिए । दीपिकाले पोहोर नै रणवीर सिंहसँग विवाह गरिसकेकी छन् । कट्रिना कैफसँग ब्रेकअपपछि रणवीरको अफेयर आलियासँग शुरु भएको हो । केही दिनअघि फिल्म समीक्षक अनुपमा चोपडाको राउन्ड टेबलमा दीपिका पादुकोणले आलियाले चाँडै बिहे गर्न लागेको बताएकी थिइन् ।

रणवीर र आलियाले सँगै अभिनय गरेको फिल्म ‘ब्रम्हाश्त्र’ २०२० मा आउँदैछ । यसअलावा आलियाले ‘तख्त’, ‘सडक २’ र संजयलिला भन्सालीको फिल्म ‘गंगुबाइ खतीवाडी’मा पनि मूख्य भूमिकामा अभिनय गरेकी छन् । रणवीर ‘सम्सेरा’मा पनि देखिदैछन् ।

प्रकाशित : मंसिर १८, २०७६ १५:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गोली–ग्रिनेड बोक्दै जंगल चहारेकी अनुपमाले जितिन् सागमा स्वर्ण

घर त्यागेर भूमिगत भएकी अनुपमा मगर भन्छिन्, ‘अब दुखका दिन गए ।’
राजु घिसिङ

काठमाडौँ — लेखानी, उदयपुरकी अनुपमा मगरलाई माओवादीका कलाकारहरूले गाउँमा देखाउने नाच असाध्यै मनपर्थ्यो । माओवादी के हो र केका लागि सशस्त्र आन्दोलन गरिरहेको भन्ने उनलाई खासै थाह थिएन न त त्यसको मतलब नै गरे ।


तर, उनलाई ‘विद्रोही’ पक्षको गीत–संगीत र नाच मन छोयो, लोभ्यायो। त्यसैले ५ कक्षामा अध्ययनरत उनी आमाले रोक्दारोक्दै पनि जिद्दी गरेरै घर त्यागेर माओवादीमा गइन्। १४ बर्षको त्यो उमेरमा उनी लडाइ लड्ने अवस्थामा थिइनन् तर, युद्धको लागि आवश्यक गोली, बारुद, ग्रिनेडको भारीलाई थाप्लोमा राख्दै ओसारपसार गरिन्।

त्यो साल थियो २०६२। उनको बसाइ सेना, प्रहरीको आँखा छल्दै जंगलमै बढी हुन्थ्यो। बेला बेला गाउँ पस्ने पनि छँदै थियो। अर्को वर्ष जेठ २०६३ मा जनआन्दोलन सफल भयो। सबै दल मिलेर संसद ब्युँताए, राजा फाले, देशलाई लोकतान्त्रिक गणतन्त्र बनाए। त्यही राजनीतिक चक्रमा माओवादी लडाकु ‘जनमुक्ति सेना’ (पीएल) युद्धविरामपछि सात वटा शिविर बनाएर बसे। अनुपमा पुगिन्, सिन्धुली शिविरमा। त्यो बेला (२०६५ साल) मा उनी ६१ केजीकी थिइन्। तौल घटाउन शिविरमा कराते सिक्न थालिन्। ४९ केजीकी भइन्।

कमल वाइवासँग कराते सिक्न थालेकी अनुपमाले विस्तारै प्रतिस्पर्धामा पनि किकि–पञ्च प्रहार गर्न थालिन्। पीएलएको खेलाडी भइन्। पाँचौं राष्ट्रिय खेलकुद २०६५ मा काँस्य हात पारिन्। त्यही खेलकुदमा पीएलको सहभागितासँगै नेपाली सेनाले खेल बहिस्कार गरेपछि देशको राजनीतिमा ठूलै भूकम्प गएको थियो। माओवादी सत्ताबाट बाहिरियो। आमा बितेपछि घरलेखानी पुगेर १५ दिनमा काम सकाएर अनुपमा सिन्धुली शिविर फर्किइन्। उनलाई बस्नै मन लागेन र काठमाडौं आइन्। तर, उनी खेलबाट भने टाढिइनन्। बालाजु डोजोमा प्रशिक्षक ध्रुव विक्रम मल्लसँग कराते कला निर्खानिर लागिन्।


सातौं राष्ट्रिय खेलकुदमा रजत हात पारिन्। गत चैतमा आएर आठौं संस्करणमा स्वर्ण चुमिन्। कोरिया पुगेर पनि एसियाली खेलकुद (सन् २०१४) मा पहिलो चरणमै नकआउट भएकी अनुपमाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) भने सनसनीपूर्ण प्रदर्शन गर्दै बुधबार स्वर्णपदक चुमेकी छन्। उनले एसियाली खेलकुद २०१८ मा कांस्य जितेकी पाकिस्तानी हमिदुल्लाह नारगिसलाई फाइनलमा हराएर ६८ केजीमाथिको स्पर्धामा स्वर्ण कब्जा गरेकी हुन्। त्यसअघि उनले दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पहिलो भएकी श्रीलंकाली खेलाडीलाई पराजित गरेकी थिइन्।

‘त्यतिबेला संघर्ष गरेकी थिए, दुखका दिनहरु थिए, अब दुखका दिन गयो,’ सातदोबाटोस्थित कराते एकेडेमीमा पाएको सफलतापछि २८ वर्षीया अनुपमाले विगतललाई सम्झिदै भनिन्, ‘हरेक व्यक्तिले आफ्नो जीवनमा संघर्ष गर्नैपर्छ। मैले पनि त्यस्तै संघर्ष गरेको हो। तर, देशको लागि मेडल दिन पाउँदा एकदमै खुशी छु।’

सिन्धुली शिविरदेखि मीरा राईकी 'दोस्त'
उनले भूमिगत अवस्थाको माओवादी र पीएलएका साथीहरूलाई सम्झिइन्, ‘कोही बाहिर (बिदेश) हुनुहुन्छ, कोही यही (स्वदेश)। उहाँहरूलाई केही भन्ने शब्द नै छैन। सुरुमा कराते सिक्दा मेरो चाहना खेलाडी बन्नु थिएन। तर, उहाँहरुले मलाई खेललाई निरन्तरता दिनु राम्रो छ, जित्छौं सफल हुन्छौं भनिरहन्थे। हिजो जित्नुपर्छ, तिमी जित्छौ जित्छौ भन्नुहुन्थ्यो। तिम्रो गेम कहिले भनेर पीएलए र सँगै खेलेका साथीहरूले म्यासेज गरिरहनुभएको थियो। तिमी जित्त्छौ भनेर मलाई एकदमै उत्साह दिइरहनुभयो। त्यसकोलागि उहाँहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु।’


अनुपमाकी मिल्ने साथी हुन्, अल्ट्रा धावक मीरा राई। एक–अर्कालाई दोस्त भनेर बोलाउँछन्। यी दुई सिन्धुली शिविरमा सँगसँगै भलिबल, फुटबल, कराते खेल्थे, दौडन्थे। बालाजुमा पनि ध्रुव गुरुको घरमा साथै बस्छन्। ओमानमा दौडेर स्वदेश फर्केलगत्तै अनुको खेल हेर्न सातदोबाटो आइपुगिन्, मीरा। ‘मैले जित्दा दोस्त (मीरा) एदकमै खुशी हुनुभयो,’ अनुपमाले भनिन्, ‘मभन्दा बढी दोस्त उत्साहित हुनुहुन्थ्यो। निक्कै व्यस्त भउको बेला पनि मेरो खेल हेर्न आइपुग्नुभयो र मैले जितेलगत्तै निस्किनुभयो।’ उनले थपिन्, ‘मलाई कराते सिकाउने कमल गुरु, जीवन नै परिवर्तन गरिदिने ध्रुव गुरु, साथीहरू र परिवारलाई धेरै धेरै धन्यवाद।’

नरगिसको भिडियो युट्युबमा हेरेर गरिन् तयारी
अनुपमाले नरगिसले गत वर्ष एसियाली खेलकुदमा नेपाली खोलडी रिता कार्कीलाई हराएर कांस्पदक हात पार्दाको खेलको भिडियो युटुवमा हेरेकी थिइन्। दुई साताअघि भएको पाकिस्तानको राष्ट्रिय खेलकुदमा नरगिस च्याम्पियन हुँदा र यो सागको लागि प्रशिक्षण गरेको भिडियो पनि अनुपमाले नियालेकी थिइन्।

‘गाह्रो त गाह्रै भयो एसियाड मेडलिस्टलाई पराजित गर्न,’ अभ्यासमा अलि सुस्त देखिए पनि एरिनामा आक्रमक प्रदर्शन गर्ने अनुपमाले नरगिसविरुद्ध फाइनलमा ६–३ को जितपछि भनिन्, ‘उनको खेलको भिडियोहरू हेरेपछि सक्छु, जित्छु जस्तो लागेको थियो। उनले सुरुमै अग्रता लिइहाली। ओहो सक्दिन कि भन्ने भयो मनमा। जसरी पनि सक्नुपर्छ भन्ने अठोट गरे। अनि कोसिस गरे। अट्याक गरे। अग्रता लिए। उनको भिडियोहरू धेरैपल्ट हेरेकोले कमजोरी थाह पाएकी थिए। त्यसैले फाइनलमा गाह्रै भएपनि सफलता हात पारें।’

ढाकाको बदला काठमाड‌ौंमा

उनले सेमिफाइनलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रालाई ७–४ ले पराजित गरेकी थिइन्। यिनै बान्द्राले अनुपमालाई दुई साताअघि ढाकामा भएको पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको फाइनलमा पराजित गरेर स्वर्ण जितेकी थिइन्। ‘ढाकामा मेरो सानो गल्तीले फाइनलमा हारेकी थिए। त्यस्तो गल्ती गर्नुहुन्न भन्ने लाग्यो,’ अनुपमाले भनिन्, ‘यसपाली बान्द्राविरुद्ध सुरुबाट अग्रता लिए। गल्ती गरिन। उनले खुलेर खेल्न खोजिन्, त्यही मौकामा मैले हानिहाले। र, खेल जित पनि।’

ब्ल्याक बेल्ट तेस्रो डानकी अनुपमाले ११ औं साग २०१० को छनोटमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। ‘त्यस बेला गेम राम्रोसँग बुझेकी पनि थिइन,’ तारा गुरुङ (हालका प्रशिक्षक) सँग छनोटमा हारेकी उनले भनिन्, ‘दाइहरूले सागमा मेडल ल्याउँदा मैले पनि ल्याउनुपर्छ, उहाँहरूले जस्तै मैले पनि देशको झण्डा हल्लाउनुपर्छ भन्ने लाग्यो। त्यसैले सागमा खेल्नलाई मिहिनेत गरिरहेकी थिए। अहिले सफल भएकी छु, मेडल (स्वर्ण) जिते। देशको झण्डा फहराए। एकदमै खुशी छु।’

तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित : मंसिर १८, २०७६ १५:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×